काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा कवि एवं लेखक तीर्थप्रसाद श्रेष्ठलाई मनोनयन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्ष समेत रहनुभएका मन्त्री खडक राज पौडेल (गनेस) ले असार १७ र १८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार लेखक श्रेष्ठलाई सदस्य सचिव पदमा नियुक्त गरेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
पर्यटनमन्त्री खड्कराज पौडेलले १८ गते बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रेष्ठलाई मनोनयन पत्र हस्तान्तरण गरेका हुन् । मन्त्रालयले गत वैशाख ३१ गते सदस्यसचिवसहित कोषका पदाधिकारी तथा सदस्यका लागि खुला आवेदन आह्वान गरेकोमा थियो। कोषको सदस्यसचिवका लागि ४ सय ७६ जनाले आवेदन दिएका थिए। आवेदनमध्येबाट सदस्यसचिव, कोषाध्यक्ष र सदस्य गरी सात जनालाई मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।
पोखरास्थित विन्ध्यवासिनी मन्दिरको व्यवस्थापनमा अनुभव हासिल गरेका श्रेष्ठलाई बधाई दिँदै मन्त्री पौडेलले पशुपति क्षेत्रको संरक्षण, व्यवस्थापन र विकासमा प्रभावकारी नेतृत्व दिन शुभकामना व्यक्त गरे । मन्त्रालयले पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम श्रेष्ठलाई सदस्यसचिवमा मनोनयन गरेको हो। ऐनअनुसार सदस्य–सचिव कोषको प्रशासकीय प्रमुख हुने व्यवस्था छ। यद्यपि, श्रेष्ठको कार्यकाल अवधि भने मनोनयन पत्रमा उल्लेख गरिएको छैन।
यसैगरी मन्त्रालयले मिनाकुमारी श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको छ। काठमाडौंको गौरीघाट निवासी श्रेष्ठ यसअघि ललितपुर इन्जिनियरिङ कलेजको प्रशासन शाखामा कार्यरत थिइन्। त्यस्तै, कोषको सदस्यमा गंगासागर बानियाँ, रूप शाही बास्तोला, सङ्गीताकुमारी राम, केदारमान भण्डारी र राम सोवित नायकलाई मनोनयन गरिएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ। सदस्यसचिव र कोषाध्यक्षले सरकारका सचिवसरह मासिक तबलभत्ता पाउने व्यवस्था रहेको छ भने अन्य सदस्यले बैठक भत्ता मात्र पाउनेछन्।
पशुपति क्षेत्र विकास कोष सन् १९८७ (वि.सं. २०४४) मा स्थापना भएको संस्था हो । करिब २६४ हेक्टर क्षेत्रफलमा फैलिएको पशुपति क्षेत्रको संरक्षण, व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संवर्द्धन र विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको समग्र विकास गर्ने जिम्मेवारी कोषको रहेको छ ।
नियुक्तिपछि सदस्य सचिव श्रेष्ठले पदबहाली पनि गरेका छन् । पदबहालीपछि छोटो प्रतिक्रिया दिदै उनले पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण, कोषका सबै काम कारबाहीमा पारदर्शिता र पशुपति क्षेत्रका धर्म, संस्कृति एवं परम्पराको संरक्षणमा काम गरिने बताए ।
विसं २०१६ कार्तिक १६ गते सोमबार माता स्व.योगमाया श्रेष्ठ र पिता स्व.धर्मप्रसाद श्रेष्ठको कोखबाट जन्मेका श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट, पाइलाका नीवहरुले (संयुक्त कविता संग्रह ÷मन्जुल र कुमार आलेसँग), महाभारतका गीतहरू (मुक्तक संग्रह), मेरै हिमाल जस्तो (गीत संग्रह), जिन्दगीको गोधूलीमा (मुक्तक संग्रह), धर्सैधर्साको चक्रव्यूहमा (कविता संग्रह), आमा (कविता संग्रह – मन्जुल र शिव गौतमसँग संयुक्त), ज्ञानगुनको कुरा (तीर्थ श्रेष्ठ –विशेषांक ,भाग१÷२ र श्रीजा (कविता प्रधान त्रैमासिक) तीर्थ श्रेष्ठ कविता विशेषांक प्रकाशित छन् ।
नव नियुक्त सदस्य सचिव श्रेष्ठले नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको संस्थापक सदस्य सचिव, तरलवादी आन्दोलनको प्रवर्तक मध्ये एक, पोखरेली युवा सांस्कृतिक परिवारको पूर्व अध्यक्ष (तीन कार्यकाल), पोखरा बहुमुखी क्याम्पसको संस्थापक सदस्य÷पूर्व अध्यक्ष, कन्या क्याम्पस पोखराको संस्थापक सदस्य (एक दशकसम्म संचालक सदस्य), बिन्दुबासिनी संस्कृत विद्यापिठको संस्थापक उपाध्यक्ष, पोखरा नगर पन्चायतको उप– प्रधानपंच (२०४४–४६ं), महेन्द्रपुल पुनःनिर्माण समितिको सचिव, पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य (२०३९–२०४५) र बिन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिको सचिव भएर पनि काम गरिसकेका छन् ।
यसैगरी भैरब सांस्कृतिक संरक्षण समितिको सल्लाहकार, नेपाली लेखक संघको पूर्व केन्द्रीय अध्यक्ष, संगीत प्रशिक्षण केन्द्र पोखराको सल्लाहकार, नेवा खलः कास्कीको उपाध्यक्ष, क्षेत्रीय न्यायिक समितिको पूर्व सदस्य, संस्कृत माध्यमिक विद्यालय, पोखरा व्यवस्थापन समितिको पूर्व अध्यक्ष, सिर्जनशील कलाकार समूहको पूर्व सल्लाहकार, अन्नपूर्ण सेंक्चुरी पर्यटन व्यवसायी समितिको पूर्व सल्लाहकार, जे के आर्ट ग्यालरी – समितिको सदस्य, राष्ट्रकवि माधव घिमिरेको सप्ताहव्यापी अभिनन्दन तथा रथारोहण समारोह समितिको संयोजक, पोखरा सांगीतिक कलाकार संघको सल्लाहकार, भूपी स्मृति ग्रन्थको सम्पादक, पोखरा महानगरपालिका सल्लाहकार परिषदको सदस्य, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको चयन समिति सदस्यका साथै उनी विभिन्न सामाजिक ,सांस्कृतिक तथा शैक्षिक संघ संस्थामा संलग्न छन् ।
राष्ट्रिय प्रतिभा पुरस्कार, मोती युवा पुरस्कार, शिरोमणि पुरस्कार, बासुशशी स्मृति पुरस्कार, पहलमान सिंह स्वांर स्मृति प्रतिभा पुरस्कार, भूपी स्मृति साहित्य पुरस्कार, प्रबल जनसेवा श्री पदक, गद्दी आरोहण रजत महोत्सव पदक, तत्कालीन पोखरा उपमहानगर नगरपालिकाबाट अभिनन्दित, पोखरा महानगरपालिकाबाट अभिनन्दित, हिमाली सांस्कृतिक परिवारबाट पनि उनी भइसकेका छन् ।
लायन्स शताब्दी सम्मान, ,सुदुर पश्चिमान्चल साहित्य समाजबाट सम्मानित, .आरोहण गुरुकुलबाट काव्यारोहण सम्मान, कविडांडा साहित्य समाज चितवनबाट सुबर्ण तुलसी काव्य पुरस्कार, गण्डकी प्रज्ञा संस्कृति सम्मान, महाकवि देवकोटा साहित्य पुरस्कार २०८२ (नेपाल सरकार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), प्रतिभा पुरस्कार बिराटनगर २०८२, पोखरा नवरत्न सम्मान (दुईलाख नगद पुरस्कार सहित २०८२) पनि उनले पाइसकेका छन् ।
पोखरा, बिराटनगर, हेटौंडा, भरतपुर, काठमाडौंँमा एकल कविता तथा मुक्तक वाचन पनि कवि श्रेष्ठले गरिसकेका छन् । यसैगरी.बेल्जियममा एकल कविता वाचन, हङकङमा संयुक्त कविता वाचन (सरुभक्त र स्व.प्रकट पगेनी शिवसंग) गरिसकेको श्रेष्ठका दुई दर्जनभन्दा बढी गीतहरु रेकर्डिङ (फत्तेमान ,अन्जु पन्त,उदितनारायण ,नेपथ्य लगायतबाट स्वरबद्ध) भएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com