काठमाडौं । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले पशुपति क्षेत्र विकास कोषसँग सहकार्यका विभिन्न आयाम समेटिएको ११ बुँदे प्रस्ताव आज सदस्य सचिव तीर्थप्रसाद श्रेष्ठलाई बुझाएको छ । रेक्जोनका अध्यक्ष राष्ट्रिय समाचार समितिका पत्रकार पूर्ण प्रसाद मिश्र, उपाध्यक्ष गौरी मासिकका सम्पादक अर्जुन लामिछाने लगायतको टोलीले सदस्य सचिव श्रेष्ठलाई उहाँकै कार्यकक्षमा भेटी आर्थिक वर्ष २०८३/८४ मा सहकार्य गर्न सकिने ती विषयहरुमा ध्यानाकर्षणसहितको लिखित प्रस्ताब हस्तान्तरण गरेकोे हो । धार्मिक, सांस्कृतिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धिदेखि लेखनवृत्ति तथा पुस्तकालय र पुरस्कारको स्थापनासँगै विभिन्न कार्यक्रमहरुमा सहकार्यको प्रस्ताव रेक्जोनले गरेको छ ।
रेक्जोनले धार्मिक, सांस्कृतिक पत्रकार अभिमुखीकरण, लेखनवृत्ति तथा पुरस्कार स्थापना, धार्मिक, सांस्कृतिक पुस्तकालय स्थापना, मिडिया सेन्टर स्थापना, कोषका महत्वपूर्ण कार्यक्रमहरुमा मिडिया सहकार्य, पर्व विशेष संवाद कार्यक्रम आदि सञ्चालन गरिनुपर्ने प्रस्ताव गरेको छ ।
यसैगरी, रेक्जोनले पशुपति क्षेत्रका मूर्त अमूर्त सम्पदाको तस्बिर एवम् श्रव्यदृश्य अभिलेखीकरण, पशुपति क्षेत्रको खोजमूलक समाचार लेखनमा प्रोत्साहन, धार्मिक, सांस्कृति एवम् पुरातात्विक तस्बिर प्रतियोगिता आयोजना, मुल मन्दिरसँगै रेक्जोन कार्यालयका लागि स्थान उपलब्ध गराउने आदि विषयमा पनि कोषको सहयोग अपेक्षित रहेको जनाएको छ । कोषसँगको सहकार्यले पशुपति क्षेत्रको विश्वव्यापी प्रचारप्रसारमा सञ्चारमाध्यमहरुको प्रभावकारी र गुणस्तरीय भूमिका अभिवृद्धिका दिशामा सहयोग पुग्ने विश्वास रेक्जोनले लिएको छ । कोषमा श्रेष्ठ नेतृत्वको नयाँ समिति गठन भएपछिको रेक्जोनको यो दोस्रो भेट हो ।
यसअघि साउन ८ गते शुक्रबारको भेटमा भएका मौखिक छलफललाई आधार मानेर सहकार्यसम्बन्धी लिखित प्रस्तावहरु आज बुझाइएको भन्दै रेक्जोन अध्यक्ष मिश्रले यिनको कार्यान्वयनमा तदारुकता प्रदर्शनको अपेक्षा व्यक्त गर्नुभएको छ । यसैगरी, सदस्य सचिव श्रेष्ठले रेक्जोनले गरेका प्रस्तावहरुलाई सकारात्मक रुपमा लिदैं कोष पदाधिकारीहरुसँग छलफल गरी उचित निर्णय गरिने विश्वास दिलाउनुभयो ।
यस्तो छ रेक्जोनको प्रस्ताव:
१. धार्मिक, सांस्कृतिक पुस्तकालय
धर्म, संस्कृतिको विधामा मूलधारका आम सञ्चार माध्यममा कार्यरत पत्रकारका लागि खोजमूलक तथा गहन समाचार सामग्री तयार पार्न आवश्यक पुस्तकालय एवं स्रोत सामग्रीको अभाव छ । त्यसको पूर्तिका लागि स्रोत सामग्री केन्द्रका रुपमा धार्मिक, सांस्कृतिक पुस्तकालयको प्रस्ताव गरिएको हो । यसका लागि विसं २०८२ को शुभ दीपावलीमा रेक्जोनले देउसी भैलो कार्यक्रम गरी करिब रु ३५ हजार बजेट समेत व्यवस्थापन गरिएको छ । दाताहरुबाट महत्वपूर्ण विधाका करिब ५०० थान पुस्तक पनि प्राप्त भएको छ ।
कोषसँगको सहकार्यमा धार्मिक, सांस्कृतिक पुस्तकालय स्थापना गर्न रेक्जोनका तर्फबाट अनुरोध छ । यसका लागि गुह्येश्वरीस्थित टिकट काउन्टर रहेको भवनलाई उपयोग गर्न सकिन्छ । कोषसँगको सहकार्यमा जहाँ अहिले रेक्जोनले आफ्नो कार्यालयका रुपमा सञ्चालन गर्दै आएको छ । पुस्तकालय स्थापनाका लागि कोषबाट वैधानिक निर्णय, पुस्तक राख्ने केही थान यग र कोषबाट प्रकाशित विविध पुस्तकमध्ये कम्तीमा एक/एक थान उपलब्ध गराइदिनुहुन अनुरोध छ ।
पुस्तकालय सांस्कृतिक विधामा काम गर्ने पत्रकारका साथै यस विषयमा खोज, अनुसन्धान गर्ने अनुसन्धाताका लागि पनि स्रोत केन्द्रका रुपमा रहनेछ । यसले पशुपति क्षेत्रजस्तो महत्वपूर्ण स्थानमा हुनुपर्ने धार्मिक, सांस्कृतिक पुस्तकालयको आवश्यकता पनि पूर्ति गर्नेछ । जसबाट धार्मिक, सांस्कृतिक विषयमा पशुपति क्षेत्रमै आएर अध्ययन गर्न चाहनेको इच्छा पूरा हुनेछ । यो पुस्तकालयले धार्मिक, सांस्कृतिक क्षेत्रको सार्वजनिक पुस्तकालयको आवश्यकता पनि पूर्ति गर्नेछ ।
२. धार्मिक, सांस्कृतिक पत्रकार अभिमुखीकरण
मूल धारका आम सञ्चारमाध्यममा कार्यरत धार्मिक, सांस्कृतिक विधाका पत्रकारको क्षमता अभिवृद्धिका लागि विषयगत ज्ञान, सीप प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिनेछ । यो कार्यक्रमले धार्मिक, सांस्कृतिक विषयमा कलम चलाउने पत्रकारलाई पुनर्ताजगी गरी दक्षता अभिवृद्धि गर्नेछ।
यो कार्यक्रममा एउटा कक्षा पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदालाई प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने विषयमा केन्द्रित गराइने छ । पशुपति क्षेत्रका धेरै सम्पदा अहिले पनि ओझेलमा छन् । तिनको यथोचित प्रचारप्रसार हुन सकेको छैन । धार्मिक, सांस्कृतिक पत्रकारिताको विधामा कार्यरत पत्रकारलाई स्थलगत अध्ययन गराई त्यस विषयमा जानकारी दिएर प्रचारप्रसार गराई पशुपति क्षेत्रको महत्व विश्वव्यापी रुपमा प्रचारप्रसार गर्न कार्यक्रमबाट सहयोग पुग्नेछ ।
३. मिडिया सेन्टर स्थापना गर्ने
विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव भगवान् श्री पशुपतिनाथ नेपालको राष्ट्रदेवका नाममा पूजिनुहुन्छ । यहाँ दैनिक हजारौं भक्तजनको लाम लाग्छ । अझ चाडपर्वका बेला दिनमै लाखौँ भक्तजनले भगवान् श्री पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्छन् । यहाँ हुने साना साना गतिविधि पनि विश्वभरका वैदिक सनातन धर्मावलम्बीका लागि खोजी खोजी पढिने समाचारको विषय बन्छ ।
विश्वका जुनसुकै कुनामा रहेका वैदिक सनातन हिन्दू धर्मावलम्बी जीवनमा कम्तीमा एकपटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन् । कतिलाई पशुपतिनाथका विषयमा थाहा छ, कतिलाई थाहा छैन । त्यस विषयमा व्यवस्थित रुपमा प्रचारप्रसार गराउन पशुपतिनाथको मूल मन्दिरसँगैको प्राङ्गणमा अत्याधुनिक प्रविधिसहित मिडिया सेन्टरको आवश्यकता छ ।
पर्व विशेषमा पशुपति क्षेत्रबाट दर्जनौँ आम सञ्चारमाध्यमले प्रत्यक्ष रुपमा प्रचारप्रसार गरिरहेका हुन्छन् । तिनका लागि पनि मिडिया सेन्टर उपयोगी हुन्छ । जसबाट पशुपति क्षेत्रका विषयमा समयमा सही सूचना सार्वजनिक भएर पशुपति क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्छ । पशुपति क्षेत्रको प्रस्तावित गुरुयोजनामा पनि सानो सदावर्त रहेको स्थानमा मिडिया सेन्टर स्थापना गर्ने विषय उल्लेख भएको जानकारीमा आएको छ । पशुपति क्षेत्रमा सञ्चालन हुने मिडिया सेन्टर सञ्चालनको जिम्मेवारी रेक्जोनलाई दिएमा प्रभावकारी हुनेछ । विधागत पत्रकारितामा काम गरिरहेको यो संस्थाले यस विषयमा राम्रोसँग काम गर्न सक्नेछ ।
४. कोषका सबै गतिविधिको मिडिया सहयोगी
पशुपति क्षेत्रमा कोषले सञ्चालन गर्ने सबै गतिविधिको मिडिया सहयोगीको जिम्मेवारी रेक्जोनलाई दिएमा प्रचारप्रसारमा सहज हुनेछ । विधागत पत्रकार आबद्ध हुने संस्था भएकाले पनि समन्वय गर्न सजिलो हुन्छ ।
विभिन्न पर्व विशेषमा गठन गरिने प्रचारप्रसार समितिको जिम्मेवारी रेक्जोनलाई दिन सकिन्छ । यसबाट विधागत पत्रकारलाई सम्पर्क गर्न सकिन्छ । यसले सम्बन्धित पर्व व्यवस्थापनमा पनि कोषलाई सजिलो हुन्छ । यसमा कोषका तर्फबाट समन्वय र संयोजनको काम गर्न सकिन्छ । अरु कामको जिम्मेवारी रेक्जोनले लिन्छ ।
५. पर्व विशेष संवाद कार्यक्रम
अहिले साउन महिना चलिरहेको छ । साउन महिना भगवान् श्री पशुपतिनाथको महिना मानिन्छ । यसैले यहाँ यो महिनामा आउने भक्तजन धेरै हुन्छन् । यसैगरी सोमबार भगवान् श्री पशुपतिनाथको बार भएकाले सोमबार आउने भक्तजन पनि धेरै हुन्छन् । यसैले साउनको सोमबार भगवान् श्री पशुपतिनाका साथै देशभरका शिवालयका लागि महत्वपूर्ण दिन हो ।
यसको महत्व बुझाउने गरी विषय विज्ञलाई बोलाएर संवाद कार्यक्रम गरी आम सञ्चारमाध्यमबाट त्यसको प्रचारप्रसार गरेमा पशुपति क्षेत्रमा आउने धार्मिक पर्यटकको सङ्ख्या अझै बढ्छ । यस्तो संवाद कार्यक्रम साउन महिनाका साथै हरितालिका (तीज), गणेश उत्पत्ति दिवसमा चन्द्रविनायक, दुर्गा पक्षमा गुह्येश्वरीलगायत पशुपति क्षेत्रका शक्तिपीठको महत्वका बारेमा गर्ने गरी सञ्चालन गर्न सकिन्छ ।
यसैगरी गुरु नानक जयन्तीमा निर्मल अखडा, भष्मेश्वर अखडा, बालाचतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, बुद्ध जयन्तीमा चारुमती विहारको महत्वलगायत पर्वमा पनि यस्ता संवाद कार्यक्रमको आयोजना गरी पशुपति क्षेत्रको महत्व उजागर गर्न सकिन्छ । यो जिम्मेवारी पनि रेक्जोनलाई दिन प्रस्ताव गरिन्छ ।
६. मूल मन्दिरसँगैको कुनै स्थानमा रेक्जोन कार्यालय
पशुपतिनाथ मूल मन्दिरसँगैको कुनै स्थानमा धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल ( रेक्जोन) को कार्यालयका लागि स्थान उपलब्ध भएमा पशुपति क्षेत्रको समाचार सङ्कलन गरी यस क्षेत्रको प्रचारप्रसारमा प्रभावकारी रुपमा काम हुन सक्छ । यसैले अहिले खाली रहेको शङ्करनारायण सत्तल वा त्यस वरपरको अन्य कुनै भवनमा रेक्जोनको कार्यालय स्थापनाको व्यवस्थापन मिलाउन प्रस्ताव गरिन्छ।
मूल मन्दिरसँगैको कुनै स्थानमा रेक्जोनको कार्यालय स्थापना गर्न सकेमा धार्मिक, सांस्कृतिक विधामा मूलधारका सञ्चारमाध्यममा कार्यरत पत्रकारको आउजाउ भई यस क्षेत्रको समुचित प्रचारप्रसारमा सहयोग पुग्ने भएकाले कार्यालय स्थापनाको वैधानिक निर्णयका लागि अनुरोध गरिन्छ ।
७. धार्मिक, सांस्कृतिक पत्रकार लेखनवृत्ति र पुरस्कार स्थापना
धर्मिक, सांस्कृतिक विषयमा कलम चलाउने पत्रकारका लागि पत्रकार लेखनवृत्ति र राम्रो लेख्ने पत्रकारका लागि वार्षिक रुपमा पुरस्कार दिई यो बिटको पत्रकारिताको प्रवर्द्धनका लागि अनुरोध गरिन्छ । तुलनात्मक रुपमा यो बिटमा काम गर्ने पत्रकार कम रहेको सन्दर्भमा बिटमा कायम राखी पत्रकारिता क्षेत्रमा सक्रिय बनाइरहन धार्मिक, सांस्कृतिक पत्रकार लेखनवृत्ति र पुरस्कार स्थापना गरेर यो विधालाई स्थापित गराउन कोषलाई अनुरोध गरिन्छ ।
पत्रकार लेखनवृत्ति र पुरस्कार पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन र प्रचारप्रसारमा योगदान दिने पत्रकारका लागि दिने गरी व्यवस्था गरेमा विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीलाई यस विषयमा जानकारी हुने गरी समाचार सामग्री प्रसारण एवं प्रकाशन भइरहन्छ । यसले पशुपति क्षेत्रको महत्व स्थापित गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेछ।
८. धार्मिक, सांस्कृतिक विषय केन्द्रित सञ्चार माध्यमलाई विज्ञापन
धार्मिक, सांस्कृतिक विषयमा केन्द्रित भएर प्रकाशन एवं प्रसारण हुने सञ्चार माध्यम टिकाउनु फलामको च्यूरा चपाउनु जत्तिकै कठिन छ । यसरी विधागत रुपमा केन्द्रित भई प्रकाशन एवं प्रसारण हुने सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन जसरी नै कोष सञ्चालक परिषद्बाट आवश्यक नीति, नियम बनाएर धार्मिक, सांस्कृतिक स्थलको संरक्षण, संवर्द्धन एवं सफा राखौ, फोहर नगरौं लगायत जनचेतना केन्द्रित सन्देश विज्ञापनका रुपमा दिने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।
यो व्यवस्थाले कोष र धार्मिक, सांस्कृतिक विषय केन्द्रित आम सञ्चारमाध्यमकाबीच सुमधुर सम्बन्ध स्थापित भई पशुपति क्षेत्रलाई विश्वका धार्मिक पर्यटकको आकर्षक गन्तव्य स्थलका रुपमा स्थापित गर्न सहयोग मिल्छ ।
९.मूर्त, अमूर्त सम्पदाको तस्बिर एवं श्रव्यदृश्य अभिलेखीकरण गर्ने
पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाको तस्बिर एवं श्रव्यदृश्य सङ्कलन गरी अभिलेखीकरण गरेर राखेमा भावी पुस्ताका लागि पनि कुन समयमा त्यसको अवस्था कस्तो थियो भन्ने थाहा पाउन सहज हुन्छ । यस्ता सामग्रीको राष्ट्रियस्तरका आम सञ्चारमाध्यमबाट प्रचारप्रसार गरेमा पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाका विषयमा धेरै जनमानसलाई जानकारी हुन्छ । विशेषगरी श्रव्यदृश्य सामग्रीको प्रभाव रहेको अहिलेको युगमा यसको प्रभाव महत्वपूर्ण हुन्छ ।
मूर्त, अमूर्त सम्पदाको साना साना श्रव्यदृश्य सामग्री बनाएर टिकटकलगायत सामाजिक सञ्जालबाट प्रचारप्रसार गरी नयाँ पुस्तालाई पनि मौलिक धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका विषयमा जानकारी गराउनुपर्ने आवश्यकता छ । यसबाट प्रविधिमा अभ्यस्त नयाँ पुस्ता स्व धर्म, संस्कृतिका बारेमा जानकार हुने वातावरण बन्ने छ ।
१०. पशुपति क्षेत्रको खोजमूलक समाचार लेखनमा प्रोत्साहन
पशुपति क्षेत्रका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका धेरै विषयको अझै उजागर हुन सकेको छैन । खोजमूलक समाचार लेखनका लागि प्रोत्साहन गरेर पनि त्यस्ता विषय सार्वजनिक गराउन सकिन्छ । जसबाट अहिलेसम्म सार्वजनिक नभएका पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाको महत्वका बारेमा प्रचारप्रसार भएर यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्छ ।
पशुपतिनाथका नाममा रहेका श्री सम्पत्ति एवं गुठी जग्गालगायत विषयमा खोजमूलक समाचार उत्पादनका लागि प्रोत्साहन गर्ने गरी कोषले कार्यक्रम बनाउन आवश्यक छ । जसका कारण कोष अन्तर्गत रहेका भगवान् श्री पशुपतिनाथका सम्पत्ति पारदर्शी भई नागरिकलाई जानकारी हुन्छ ।
११. धार्मिक, सांस्कृतिक एवं पुरातात्विक तस्बिर प्रतियोगिता
पशुपति क्षेत्रका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाका बारेमा महत्व झल्काउने विषयका तस्बिर प्रतियोगिता गरेर पनि यस क्षेत्रको गरिमा झल्काउन सकिन्छ । यसबाट पशुपति क्षेत्रका सम्पदाका बारेमा आम मानिसलाई जानकारी गराउन सजिलो हुन्छ ।
लेखिएका शब्द, बोलिएका श्रव्य एवं खिचिएका श्रव्यदृश्य सामग्रीका माध्यमले पनि बुझाउन नसकिएका विषय तस्बिरका माध्यमबाट सजिलै जानकारी गराउन सकिन्छ । हजार शब्दले पनि भन्न नसक्ने विषयलाई एउटै तस्बिरले बताउन सक्छ भन्ने पत्रकारिताको मान्यता अनुसार गरिने यस्ता तस्बिर प्रतियोगिताले पशुपति क्षेत्रतर्फ विश्वको ध्यानाकर्षण गराउँछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com