सन् २०२४ जुन १९ मा संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाउने घोषणा गरेको हो । मंगोलिया र केन्याले दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ सम्बन्धी प्रस्ताव राष्ट्रसंघीय बैठकमा पेश गरेका थिए । सुखद संयोग नै मान्नुपर्छ, २०१२ लाई सर्वप्रथम अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने प्रस्ताव राष्ट्रसंघको महासभामा प्रस्तुत गर्नेमा पनि उलनबटोर थियो ।
राष्ट्रसंघले दीगो विकासका लक्ष्यहरू हासिल गर्ने दिशामा सहकारी क्षेत्रले निर्वाह गर्न सक्ने अहम् भूमिका र प्रचुर सम्भावनालाई दृष्टिगत गरी दिएको महत्व हो–आईवाईसी २०२५ । राष्ट्र संघको यो मान्यता विश्वका एक सय ९३ मुलुकले सहकारी क्षेत्रलाई दिएको मान्यता पनि हो । सहकारी क्षेत्रमार्फत् समृद्धिको यात्रा सम्भव छ भन्ने उनीहरूको साझा र सामूहिक प्रतिबद्धता ‘कमन कलेक्टिभ कमिटमेन्ट’ हो । सन् २०१२ लाई पहिलो संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाएको विश्वले यो अंग्रेजी वर्ष ‘सहकारीले समुन्नत समाज निर्माण गर्छ’ भन्ने नारालाई सार्थकता दिने प्रयास अघि सारेको छ ।
आईसीए सदस्य धेरैजसो मुलुकका सहकारी अभियानले भव्य कार्यक्रम गरी आईवाईसी–२०२५ को विधिवत् सुरुवात गरेका छन् । छिमेकी भारतसँगै विश्वभरका थुप्रै मुलुकले तत्तत् देशका उच्चपदस्थ सरकारी अधिकारी, सहकारी अगुवा र सरोकारवालाको सहभागितामा भव्य कार्यक्रम गरी आईवाईसी २०२५ प्रारम्भ गरिसकेका छन् । उनीहरूले आईवाईसी सफल पार्न के कस्ता कार्यक्रम आयोजना गर्ने भन्ने विषयमा चरणबद्ध छलफल गरी आईवाईसी २०२५ क्यालेन्डर सार्वजनिक गरेका छन् ।
भारतमा प्रभावशाली गृहमन्त्री अमित शाहसँगै भारतीय राष्ट्रिय सहकारी संघ (एनसीयूआई) का अध्यक्ष दिलीप सांघानी लगायतको उपस्थितिमा समारोह आयोजना गरी आईवाईसी क्यालेन्डर सार्वजनिक गरिएको छ । नयाँ दिल्लीले आईवाईसी २०२५ को औपचारिक घोषणाको अवसर पनि विश्व अभियन्ताहरूको उपस्थितिमा आफ्नै भूमिबाट गर्ने अवसर पनि जुटायो । यस्तै, अष्ट्रेलिया, बेलायत, अमेरिका, केन्या, नाइजेरिया, मंगोलिया, फिलिपिन्स, इन्डोनेसिया लगायत थुप्रै मुलुकहरूले आईवाईसी २०२५ लाई सफल बनाउन आयोजना गरिने कार्यक्रम सार्वजनिक गरेका छन् । त्यो सँगै उनीहरूले सहकारीमार्फत् प्राप्त उपलब्धिहरूको मापन गर्ने मेकानिजम, टुल्स, टेक्निक र टेक्नोलोजी पनि विकास गरी प्रमाणहरू प्रस्तुत गरेका छन्, गर्दैछन् र गर्ने रणनीतिक मार्गचित्र तयार गरेका छन् ।
अभियानको छैन ध्यान
आईवाईसी जति विश्वका १ सय ५ मुलुकको सहकारी अभियानका लागि सुर्वण अवसर हो, त्यति नै नेपालको सहकारी अभियानका लागि पनि । यसलाई ‘खेर गएको अवसर’ बन्न नदिन हामीले संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाउने घोषणा गरेसँगै तयारी थाल्नुपथ्र्यो । तर, अंग्रेजी नयाँ वर्ष २०२५ को ‘फस्र्ट क्वार्टर’ सकिनै लाग्दासम्म पनि आईवाईसी २०२५ के कसरी र किन मनाउने ? कस–कसको सहभागितामा मनाउने ? के कस्ता कार्यक्रमहरू राख्ने ? भनेर न सहकारी अभियान न त सरकार ले नै केही बोलेका छन् ।
यसबारे महासंघको अगुवाईमा बृहत् सहभागितात्मक अन्तरक्रिया पनि भएको छैन । विश्व सहकारी मञ्चमा धेरै अघि बढेको नेपाल, आईसीएको सञ्चालक समितिमासमेत ऐतिहासिक र महत्वपूर्ण प्रतिनिधित्व गरेको दाबी गर्ने नेपालको सहकारी अभियानले आईवाईसी २०२५ लाई प्राथमिकतामा नराखेको स्पष्ट हुन्छ । इतिहास र विरासतको गीत गाएर कहिल्यै नथाक्ने हामी वर्तमानलाई भविष्यले गर्व गर्न सक्ने बनाउने अभियानबाट टाढा जाँदैछौँ । भावीपुस्ताले दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई नेपालले कसरी मनाएछ भनेर गर्व गर्न सक्ने गरी अर्थपूर्ण, मितव्ययी तर दीगोपनामा भूमिका खेल्ने कार्यक्रम बनाउनेतर्फ सोच नगएको पक्कै हो ।
अर्थपूर्ण बनाउने अवसर
अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई नेपालको सहकारी अभियानको सन्दर्भमा सहकारी शुद्धीकरणको वर्ष, सदस्य काँटछाँट (शुद्धीकरण) को वर्ष, सदस्यता विस्तारको वर्ष, नीतिगत अनुकूलना तथा बहसपैरवीको वर्ष, एकीकरणको वर्ष, भाखा नाघेको ऋण व्यवस्थापनको वर्ष, बचत सुरक्षण अभियानको वर्ष, मानव संशाधनको स्तरोन्नतिको वर्ष, आदिका रुपमा मनाउने गृहकार्य गरिसक्नुपथ्र्यो । यदि यसो होइन भने ‘स्पेसिफिक’ नभइ माथि उल्लेखितसँगै थप केही मुलभूत विषयमा यो वर्ष गरिने कामहरूलाई निश्चित सूचकहरूका आधारमा मापन गरी नतिजा प्रकाशन गरेर आईसीएलाई बुझाउने भन्न सकिन्थ्यो ।
विश्व सहकारी अभियानका लागि पनि यो दस्तावेज पठनीय सन्दर्भ सामाग्री हुनसक्थ्यो । यो आईवाईसी २०२५ मनाउने सर्वोत्तम र सर्वोत्कृष्ट तरिका हुनसक्थ्यो । यसका लागि मानक स्थापित गरेका अनुसन्धानमा संलग्न संस्थाहरूसँग सहकार्य गर्न सकिन्थ्यो । तर, हाम्रो ध्यान यस्तो गुदी विषयभन्दा मञ्च व्यवस्थापन, अतिथि व्यवस्थापन र सत्कार, सम्मान कार्यक्रम, शुभकामना सन्देश, उद्घाटन र समापन, अघिल्लो लहर व्यवस्थापन, पछिल्लो लहर व्यवस्थापन, ब्यानरमा लोगो व्यवस्थापन, मर्यादाक्रम मिलान, सञ्चारमाध्यममा समाचार व्यवस्थापन, सामाजिक सञ्जालमा फोटो व्यवस्थापन, आदि बोक्राहरूतर्फ केन्द्रित हुन्छ ।
हामी कतिवटा कार्यक्रम कहाँ–कहाँ कति खर्चमा को को अतिथि र सहभागीहरू राखेर सम्पन्न गर्नेमा जुट्छौँ, तर ती कार्यक्रमले के कस्तो र कसरी परिवर्तन ल्याउँछ भन्ने विषयमा घोत्लिदैनौँ । यो कार्यक्रमहरूको संख्या, अभियन्ताहरूको लाइन, भाषणको भारी र बजेटको बोझ सदस्यहरूलाई बोकाउने समय होइन ।
हामी कार्यक्रमहरू र सहभागीहरूको संख्याका आधारमा उपलब्धि गन्छौँ, तर विश्व सहकारी अभियान परिवर्तनका वस्तुगत प्रमाणहरूको आधारमा परिणाम खोज्छ । उपलब्धिहरू मापन गर्न उनीहरू अंकको आधार खोज्छन्, हामी अक्षरमा अलमलिन्छौँ । अन्य मुलुकको सहकारी अभियान र हाम्रो मुलकको सहकारी अभियानबीच यहीँ भिन्नता छ । यो खाडल बोलेर पुरिँदैन, कामै गरे मात्र सम्भव हुन्छ । अनि, कामैले नेपालको सहकारी अभियानको योगदान र भूमिकाको वस्तुगत मापन सम्भव छ । यस्तो विषय विश्व सहकारी अभियानको खोजी पनि हो । विश्व सहकारी अभियान बलियो बन्दै गर्दा नेपालको सहकारी अभियान पनि कमजोर छैन भन्ने विश्वासिलो, पत्यारिलो प्रामाणिक सन्देश कम्तिमा आईवाईसी २०२५ ले दिन सक्नुपर्छ ।
सोचनीय विषय
हाम्रो मुलुकको सहकारी अभियानको ध्यान अहिले आईवाईसी २०२५ मा छैन । सहकारीका सदस्यहरूको बचत सुरक्षण कसरी गर्ने, सहकारी सञ्चालकहरूलाई कसरी सुशासित र सदस्यप्रति उत्तरदायी बनाउने, सदस्यहरूलाई सहकारीको सुन्दरता के हो भनेर शिक्षा प्रदान गर्ने, सहकारीका कर्मचारीहरूलाई सदस्य र समुदाय केन्द्रित उद्यम भनेको के हो भनेर आधारभूत विषयहरूभन्दा पर अभियानको ध्यान जानै सकेको छैन । अनि सरकार र प्रत्यक्ष सरोकारवालाको ध्यान पनि यिनै विषयहरूमा रहेको छ । एकातिर महासंघ तथा विषयगत संघहरू आफूअनुकूल ऐन, नीति, कार्यविधि, निर्देशिका, मापदण्ड र सूचना आदि जारी गराउन सहकारी विभाग तथा मन्त्रालयको मुलढोकामा लाइन लागेर बसेका छन् । अर्कोतर्फ त्यस्तै अर्को लाइन ‘असहकारी’ बाट प्रताडित ‘बचतकर्ता’को छ ।
संघीयताको आलोकाँचो अभ्यास गर्दै गरेको मुलुकका प्रादेशिक र स्थानीय सरकारहरू त झन् सहकारी बुझ्दै छन् । करिब ७० वर्षको हाम्रो सहकारी अभियानको यो टिठलाग्दो अवस्था किन र कसरी भयो भनेर गम्भीर समीक्षा गर्नु आवश्यक छ । दोषारोपण होइन, समाधानका उपायहरूको वृक्षारोपण गर्ने बेला हो ।
संविधानमा अटाएको सहकारी आमनेपालीहरूको मन मस्तिष्कमा अटाउने वातावरण निर्माण अबको आवश्यकता हो । मुलुकको मुल कानुनदेखि शाखा प्रशाखा कानुनहरूमा जताततै भेटिने सहकारी प्रत्येक नेपालीको मन र मुटुका अन्तरकुन्तरमा नमेटिने गरी नभेटिएसम्म सहकारी अर्थतन्त्र बलियो हुँदैन । कानुनका बेमेलहरू त बहसपैरवीले सम्भव होला, गराउन खोजिएका ‘केही’ काम अलिकति राजनीतिक दबाब अनि अलिकति आर्थिक प्रभावले फत्ते होला तर आमनेपालीको मानसपटलमा ठाउँ बनाउने विषय भने उनीहरूको जीवनले परिवर्तनको अनुभूति गर्नेबाहेकका उपायहरूले सम्भव हुँदैन । यो ध्रुव सत्य सरह हो ।
सहकारी मूल्य, मान्यता, सिद्धान्त, कानुनहरूसँगै सुशासनका सर्वग्राह्य विधिपद्धति अधीनमा रही केही सय पिछडिएका सदस्यहरूको जीवनमा साँच्चिकै अनुभूति गर्नलायक परिवर्तनका लागि काम गरेका विश्व अभियान देखाउनलायक स्वशासित, मर्यादित, पारदर्शी र सदस्यकेन्द्रित सहकारी संस्थाहरू दश औँलामा गन्न पनि पुग्दैनन् । ७० वर्षको सहकारी अभियानमा हामीले ७० वटा संस्था पनि विश्व सहकारी अभियानलाई देखाउन सक्ने बनाएका रहेनछौँ । यो तीतो लाग्ने तर साँच्चिकै सोच्नुपर्ने सत्य हो ।
विश्व खेलजगतमै सर्वाधिक लोकप्रिय भारतीय क्रिक्रेटर विराट कोहलीले एकपटक अन्तर्वार्तामा भनेका थिए, ‘व्यक्तिगत माइलस्टोनमा रमाउने मान्छे भएको भए वा त्यस्तो खोज्ने व्यक्ति भएको भए म टेनिस, गल्फ, चेस, वा अन्य कुनै खेल खेल्थेँ । तर, म टीमको जीत खोज्ने र समूहको शक्तिमा रमाउने व्यक्ति भएका कारण क्रिकेटमा लागेँ । त्यसकारण मेरो टीमले के कति खेल कसरी जित्छ र कस्ता माइलस्टोन हासिल गर्छ, त्यसले अर्थ राख्छ । यदि टीमको माइलस्टोन बन्नेक्रममा व्यक्तिगत माइलस्टोन बन्छन् भने त्यो सेकेन्डरी खुसीको कुरा हो । प्राइमरी खुसी त टीमको जीत नै हो ।’ कोहलीले भनेझैं सहकारीमा पनि समूहको वा संस्थाको जीत मुख्य विषय हो । सहकारी ‘कलेक्टिभ बार्गेनिङ प्रावेस’ हो ।
सहकारीका सञ्चालक तथा सिईओहरूको सामाजिक प्रोफाइल बढेको जस्तो देखिने, संस्थाको घर, जग्गा, गाडी तथा भौतिक सम्पत्ति बढेको देखिने तर सदस्यहरूको ऋण तिर्न सक्ने क्षमता दिनानुदिन क्षीण हुँदै जाने, पिछडिएका सदस्यहरूको जीवनस्तर कहिल्यै उकालो नलाग्ने हो भने त्यो सफलताको उकालो होइन, असफलताको आरोलो यात्रा हो । जब ‘साँच्चिकै’ केही नभएका व्यक्तिहरूको जीवन सहकारी सदस्य बनेपछि ‘साँच्चिकै’ परिवर्तन हुन्छ, अनि मात्र सहकारी ‘साँच्चिकै’ सहकारी बन्छ । विश्व सहकारी अभियान त्यस्ता ‘साँच्चिकै’ सहकारीहरूको ‘साँचो स्टोरी’ को खोजीमा छ । शुद्धीकरणमार्फत्् सवलीकरण र सशक्तिकरणतर्फ लाग्नुपर्ने सहकारी अभियान श्रृङ्गारिकरणतर्फ लागेका कारण पनि समस्याहरू देखिँदै र बल्झिएका हुन् । यसका लागि सामूहिक सोच, सुशासन, सार्थक शक्ति, स्रोत, र सामथ्र्य खर्च गर्नुपर्ने प्राथमिकत आवश्यकता देखिन्छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महानिर्देशक गिलबर्ट एफ होङ्बु भन्छन् –‘हामी सबै मिलेर आईवाईसी २०२५ मार्फत सहकारीको नयाँ युगको सुरुवात भएको विश्व सन्देश दिन सकौँ । न्यायिक र समावेशी अर्थतन्त्र निर्माणको लक्ष्यनजिक पु¥याउने माध्यम हामीलाई सहकारी बनाऔं ।’
यस्तै, आईसीएका महानिर्देशक एरोन डलगलस भन्छन्, ‘सहकारीमार्फत् समुन्नत समाज निर्माणमा के कस्ता गर्व गर्नलायक काम भएका छन्, तीबारे विश्वलाई जानकारी गराऔँ । अनुभव बाडौँ । यस्ता कामबाट नै सहकारीहरूले आईवाईसी–२०२५ को फाइदा लिन सक्छन् ।’
‘मिस्ड अपरच्युनिटी’ नबनाऔँ
आईवाईसी २०२५ सन् २०१२ मा गर्न नसएिका र नगरिएका प्रयासहरू गर्ने मौका हो । दिगो विकासमा योगदान गर्ने अवसर हो । विश्व सहकारी अभियानको ध्यान आफ्नो मुलुकको सहकारी अभियानतर्फ आकर्षित गर्ने अवसर हो । अर्कोतर्फ, आईवाईसी २०२५ सँग पूर्व मेचीदेखि पश्चिम महाकालीका सहकारीका आमसदस्य कसरी जोडिन्छन् भन्ने मुलुभूत विषय हो ।
आईवाईसी २०२५ ले नेपालका सहकारीहरूमा सदस्य बनेकाको जीवनमा के परिवर्तन ल्याउँछ वा त्यसका लागि के गर्न सकिन्छ भन्ने सहकारीका अगुवाहरूले सोच्नुपर्ने विषय हो । जब सदस्यले यो वर्ष आफ्नो संस्थामार्फत् नयाँपन वा परिवर्तनको अनुभूति गर्छन् तब आईवाईसीको अर्थ रहन्छ । हामीले यो अवसरलाई सदुपयोग गर्नुपर्छ । हाम्रो अभियान सङ्लो हुँदैछ, सफल बन्दैछ र सशक्त हुँदैछ भनेर विश्वलाई आफ्ना कामहरू देखाउने यो ‘गोल्डेन अपरच्युनिटी’ लाई ‘मिस्ड अपरच्युनिटी’ बन्न नदिन सबैले लाग्नुपर्ने समय घर्किँदै पो गएको हो कि ?
(आईवाईसीबारे विस्तृत जानकारीका लागि अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले छुट्टै वेबसाइट निर्माण गरेको छ । 2025.coop मार्फत् आईवाईसीका सम्पूर्ण गतिविधि थाहा पाउन सकिन्छ ।)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com