सनातन धर्ममा पीपललाई रुखको राजा भनिन्छ । शास्त्रानुसार यस रुखमा सबै देवी–देवता र हाम्रा पुर्खाहरुको पनि वास भएको मानिन्छ । पीपलको रूख भगवान् विष्णुको जीवित र पूर्ण रुप हो । भगवान् श्रीकृष्णले गीतामा भनेका छन् – ‘अश्वत्थः सर्ववृक्षम्’ अर्थात् ‘सबै रूखहरुमा म पीपलको रुख हुँ’ यस भनाइमा उहाँले आफूलाई पीपलको रूखसँग मिल्दोजुल्दो बताउनुभएको छ । त्यसैले यो रुखलाई धार्मिक क्षेत्रमा श्रेष्ठदेव रुखको उपाधि प्राप्त भयो र यसको औपचारिक पूजा शुरु भयो ।
पद्मपुराणानुसार पीपलको रुखलाई पूजा गरी परिक्रमा गर्नाले व्यक्तिको आयु लामो हुन्छ र पीपलको रुखमा जल चढाउनाले सबै पापबाट मुक्ति मिल्छ र स्वर्ग पनि प्राप्त हुन्छ । शनिदेवको पीडालाई शान्त पार्न पीपलको रूखको पूजा गर्ने विधि पनि उल्लेख गरिएको छ । धार्मिक ग्रन्थअनुसार हरेक व्यक्तिले जीवनमा पीपलको रुख लगाउनु पर्छ । पीपलको रुख रोप्ने मानिसलाई जीवनमा कुनै प्रकारको समस्या आउँदैन । यो बिरुवा रोपेपछि आइतबार बाहेक नियमित रुपमा पानी चढाउनु पर्ने मान्यता छ । यो रुख बढ्दै जाँदा घरमा सुख–समृद्धि पनि बढ्छ । पीपलको रुख रोपेपछि त्यसको पूरै ख्याल राख्नुपर्छ जबसम्म त्यो बढ्दैन, तर ध्यान रहोस् कि पीपललाई घरबाट टाढा रोप्नुपर्छ, ताकी घरमा छायाँ नपरोस् ।
वैज्ञानिक दृष्टिकोणले पनि यो निकै महत्वपूर्ण वृक्ष मानिएको छ । वातावरणीय प्रदूषक र कीटाणु नष्ट गर्ने भएकाले पीपललाई देवत्व मानिन्छ । वैज्ञानिक दृष्टिकोणले पीपल एकमात्र अचम्मको रुख हो, जसले दिनरात २४ घन्टा लगातार अक्सिजन प्रदान गर्छ, जसको नजिक बस्दा जीवन शक्ति बढ्छ । यसको छायाँ गर्मीमा चिसो र जाडोमा तातो रहन्छ, यसका साथै पीपलको पात, फलफूल आदिमा पाइने औषधीय गुणका कारण यो रोग निवारक पनि हो ।
undefined
वर, पीपल, बेल, समी, पारिजात, रूद्राक्ष आदि वृक्षारोपणको ठूलो महत्व छ । तलाउको वरीपरि रोप्नुको सबैभन्दा बढी महत्व छ । सामान्य स्थानमा भन्दा लाखौं करोडौं गुना बढी फल पाइन्छ । तलाउ, धारो, कुवा, चौतारी, मान्छेको आवतजावत हुने ठाउँ, देवालय आदिमा वरपीपल वृक्षारोपण गर्दाको शितलता मृत्युपछि आफूले प्राप्त गर्न सकिन्छ । त्यसमा पनि पीपल वृक्षरोपेमा अझ बढी पुण्य प्राप्त हुनेछ । त्यसैले पोखरीका छेउमा वरपीपल लगाउने काम हाम्रा पुर्खाहरुले गर्दै आए । जल पोखरी तलाउ भएको ठाउँ स्थानमा देवता पितृहरुको पनि आगमन हुन्छ भनिन्छ । त्यसैले वृृक्षारोपण र तलाउ एकै स्थानमा भए वढी पुण्य मिल्छ । पीपलको वृक्ष सर्न कठीन हुने रहेछ । पीपलको मूल फेदमा विष्णु, माझमा शिव र अग्रभागमा ब्रह्मा निवास गर्ने भएकोले स्वस्थ पीपल रोप्न शुभ धर्मप्रद मानिन्छ ।
सोमबार अौँशीमा नबोली नुहाएको पुण्य हजार गाईदान गरेको फल तलाउ बनाएको वरपीपल रोपेको बगैंचा बनाएको बराबर हुन्छ आठवटा बेल रोपे बराबर एउटा पीपल रोपेको फल मिल्छ भनिएको छ । वृक्ष रोप्नु अघि सर्वोषधी मिश्रित जलसेचन गर्नु गोकुल धुप बालेर सुगन्धित पार्नुपर्छ । बेल वरपीपल, समी, पवित्र पारिजातलाई रोप्नु हुर्काउनु पुण्य कर्म मानिन्छ । यज्ञ अनुष्ठान गर्दा पीपलको वरको पात चाहिन्छ । यज्ञको अग्नि पीपलको हाँगोमा घोटेर निकाल्ने चलन छ ।
यज्ञ अनुष्ठानमा आप, वर, पीपलको पातसहित पञ्चपल्लव अनिवार्य चाहिन्छ । मृत्यु संस्कारमा पीपलको सुकेको हाँगो चितामाथि राखेर संस्कार गरिन्छ । हवन आदि कार्ममा नवग्रहको हवनमा पीपलको हाँगा प्रयोग गरिन्छ । व्यासजीको मतमा वृक्ष रोपण सम्भव भएसम्म नदी, सरोवर, तलाउको वरीपरी गर्नु । अन्यत्र भन्दा करोड गुणा बढी फल पीपल वृक्ष रोप्नाले पाइन्छ । गर्मीमा शीतलता प्रदान गर्ने वरपीपल वृक्ष रोपणको पुण्य अझ बढी छ ।
पानी नपाउने स्थानमा कुवा बनाउँदा र पीपल रोपेको पुण्य बराबर हुन्छ । फलफूलका वृक्ष रोपेको फल खाने र शीतल ताप्नेले पनि रोप्नेलाई नै पुण्य प्रदान गर्दछन् । वरपीपल रोप्नेले विधिपूर्वक विवाह पनि गर्नुपर्दछ । विशेष परिस्थितिमा अरुले पनि गर्दा हुन्छ ।
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com