Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'अब नेपाल युवाहरुले हाँक्नुपर्छ'

'अब नेपाल युवाहरुले हाँक्नुपर्छ'

काठमाडौं । प्रसिद्ध धर्मगुरु बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले अब नेपाल युवाहरुले हाँक्नुपर्ने बताउनुभएको छ । वृद्ध नेताहरुबाट मुलुकको द्रुततर विकास सम्भव नभएको जिकिर गर्दै उहाँले युवाहरुले देशको नेतृत्व लिनुपर्ने बताउनुभएको हो । 

तीन साता लामो अमेरिका भ्रमण सकी नेपाल आउनुभएका बाबाले आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उमेर घर्किसकेका अहिलेका नेताहरुबाट मुलुकमा शान्ति, स्थिरता र विकास हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'अब युवाहरुले नेपालको विकासको जिम्मा लिनुपर्छ ।'

युवा जोश, जाँगर र सक्रियताले मात्र नेपाल विकासको गतिमा अघि बढ्ने काली बाबाको भनाइ थियो । उहाँले 'सेवा ही परमो धर्म' लाई अंगिकार गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । क्रोध, लोभ, मोह जस्ता विकार त्याग गरेर सबैको हितका लागि काम गर्नुपर्ने आजको समयको माग रहेको समेत उल्लेख गर्नुभयो ।

एक अर्को प्रसङ्गमा काली बाबाले भगवान शिवजीले धारण गरेको रुद्राक्ष आफूलाई प्यारो भएको बताउनुभयो । जसरी महिलाहरुलाई गहना लगाउँदा आनन्द मिल्छ आफूलाई पनि रुद्राक्ष धारण गर्दा आनन्द आउने तर भारी नहुने विचार उहाँले व्यक्त गर्नुभयो । सन् १९८४ बाट आफूले अन्न छोडेको बताउँदै बाबाले भन्नुभयो, मेरो दैनिक भोजन दुई समय नरिवल पानी मात्र हो । आज दिउँसो महत्वपूर्ण भेटघाटमा व्यस्त रहनुभएका काली बाबा आजै भारत फर्कनुभएको छ ।

करीब ३ हप्ता अमेरिका रहँदा उहाँले टेक्सास, कोलोराडो, जर्जिया, न्यूजर्सी, मेरिल्याण्ड, भर्जिनिया र फ्लोरिडा राज्यका हिन्दू धर्मावलम्बी र भक्तजनसँग प्रत्यक्ष भेट गरेर धर्म, दर्शन र अध्यात्म बारे प्रवचन दिनुभएको थियो । अमेरिकामा रहँदा उहाँले फेरि अनुकूल मिलाएर अझ धेरै हिन्दू धर्मावलम्बी र भक्तजनहरुका माझ पुग्ने चाहना रहेको बताउनुभएको थियो ।

नेपाल आए लगत्तै उहाँ हिजै पोखरा जानुभएको थियो । फर्केर काठमाडौं आउनुभएका बाबा आज भेटघाटमा व्यस्त रहनुभयो ।  नेपालमा तरल राजनीतिक अवस्थामा बाबाको अमेरिका भ्रमण, नेपाल आगमन र पोखरा बसाइलाई अर्थपूर्ण रुपमा महत्वका साथ हेरिएको छ । त्यसो त भारतीय संस्थापन पक्षसँग बाबाको खास सम्बन्ध रहेको चर्चा गरिन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार