काठमाडौं । भारतमा त्रिभुवन सहकारी विश्वविद्यालय (टीएसयू) सञ्चालनमा आएको छ । राज्य सभामा हिजो लिखित जवाफ दिदैं केन्द्रीय गृह एवम् सहकारिता मन्त्री अमित शाहले नवगठित त्रिभुवन सहकारी विद्यालय सञ्चालनमा आएको जानकारी गराउनुभएको हो । गत फेब्रुअरी ३ मा राज्यसभामा प्रस्तुत त्रिभुवन सहकारी विश्वविद्यालय विधेयक २०२५ संसदको गत मार्चको बजेट सत्रले पारित गरेको थियो । लोक सभा तथा राज्यसभा दुबै सदनबाट पारित भएसँगै मुलुकको पहिलो राष्ट्रिय सहकारी विश्वविद्यालय सञ्चालनको बाटो खुलेको हो । अमूल दुग्ध सहकारीका संस्थापक त्रिभुवन काशीभाई पटेलको योगदानको कदर गर्दै उहाँकै नाममा विश्वविद्यालय सञ्चालनमा ल्याइएको हो ।
सहकारीको क्षेत्रमा उक्त विश्वविद्यालयको स्थापना कोशेढुङ्गो हुने विश्वास भारतीय सरकारले लिएको छ । सरकारले विश्वविद्यालय स्थापना (भौतिक पूर्वाधार विकास) का लागि ५ सय करोड भारतीय रुपैयाँ (एक पटकका लागि) अनुदान उपलब्ध गराएको थियो ।
उक्त रकम भौतिक पूर्वाधार विकासमा खर्च गरिने जनाइएको छ । यही जुलाई ५ मा विभागीय मन्त्री शाहले गुजरातको आनन्द शहरस्थित १ सय २५ एकडमा बन्ने विश्वविद्यालयको सुविधासम्पन्न अत्याधुनिक भवनको शिलान्यास समेत गरिसक्नुभएको छ । अहिलेलाई भने इरमा (Institute of Rural Management Anand ) मै कक्षाहरु सञ्चालन गरिने जनाइएको छ ।
भारतमा बढ्दो सहकारी इकोसिष्टमको आवश्यकता पूर्तिका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी सहकारिता मन्त्रालयले लिएको छ । हाल उक्त विश्वविद्यालयले यसअघि इरमाले सञ्चालन गर्दै आएको एउटा र ३ नयाँ कोर्ष सञ्चालन गर्नेछ । भारत सरकारले सहकारी सम्बन्धी छोटो तथा लामो अवधिको कक्षा तथा तालिम प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको इरमालाई पनि त्रिभुवन सहकारी विश्वविद्यालयकै एक विद्यालयको रुपमा परिणत गरेको हो । त्यस्तै, पुणेस्थित भ्याम्निकम (Vaikunth Mehta National Institute of Cooperative Management) विश्वविद्यालयको सम्बन्धन प्राप्त गर्ने पहिलो शैक्षिक संस्था बनेको छ ।
उक्त विश्वविद्यालयमा हाल ४ वटा विषयमा ६ सय बढी सिटमा कक्षा सञ्चालन हुनेछ । विश्वविद्यालयले हाल डिप्लोमा तहमा २५, स्नातक तहमा ३० सीट, स्नातकोत्तरमा ५८३ र विद्यावारिधिमा १० सीटमा कक्षा सञ्चालन गर्नेछ । स्थापनको ४ वर्षपछि विश्वविद्यालयको विद्यार्थी संख्या र भर्ना संख्या उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको छ । ४ वर्षको प्रक्षेपण अनुसार डिप्लोमा तहमा १६,०००, स्नातक र स्नातकोत्तरमा गरी ९,६०० र विद्यावारिधिमा ६० सीट क्षमता पुग्नेछ ।
यसैगरी, हाल गुजरातमा अवस्थित उक्त विश्वविद्यालयको आफ्नैर आंगिक क्याम्पसहरु गरी देशैभर सेवा बिस्तार गरिने योजना रहेको छ । विश्वविद्यालयको शैक्षिक मार्गचित्र पनि राष्ट्रिय शिक्षा नीतिसँग मेल खाने गरी तयार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त विश्वविद्यालयका माध्यमबाट सहकारी क्षेत्रमा आवद्ध करिब २० लाख जनशक्तिलाई आगामी ५ वर्षभित्र दक्ष बनाउने लक्ष्य भारतीय सहकारी मन्त्रालयले लिएको छ । विश्वविद्यालयको उत्पादनले नेतृत्व विकास, प्रविधि साक्षरता, अनुसन्धानमूलक नीति निर्माण, सञ्चालन दक्षतामा निपूर्णता हासिल गर्ने विश्वास लिइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com