Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कागेश्वरी धाममा भक्तजनहरुको भीड, दर्शनार्थ व्यवस्थापन चुस्त बनाइएको नगरपालिकाको दाबी

कागेश्वरी धाममा भक्तजनहरुको भीड, दर्शनार्थ व्यवस्थापन चुस्त बनाइएको नगरपालिकाको दाबी

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज धूमधामपूर्वक मनाइँदै छ ।  आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित वडा नं १ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि मेला लागेको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले विशेष महत्व बोकेको कागेश्वरी धाममा भाद्र शुक्ल अष्टमीका दिन प्रत्येक बर्ष भब्य मेला लाग्ने गर्दछ ।

मन्दिरमा आवतजावत सहजताका लागि यातायात सेवा सहज बनाउने व्यवस्था गरिएको नगरपालिकाले जानकारी गराएको छ । नगरपालिकाले लाइन व्यवस्थापन, आकस्मिक अवस्थाको तयारी, सुरक्षा प्रबन्ध र सहजता लगायतका विषयमा आवश्यक सबै प्रबन्ध मिलाएको दाबी गरेको छ । पर्वको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाभर सार्वजनिक बिदा पनि दिइएको छ ।

कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वाससमेत रहेको छ ।

श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरी महादेव मन्दिरमा नचढाए धार्मिक यात्रा पूरा नहुने जनविश्वास रहेको छ ।

DSC05268_11zon.jpg
कागेश्वरी धाम


मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यसलाई नेपालकै ठूलो कागको मूर्ति भनिन्छ । कागेश्वरी मनोहरामा पर्ने लोकतान्त्रिक सहिद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ । एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् ।

यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ ।

DSC05255_11zon.jpg
कागेश्वरी मन्दिर

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गरेको कागेश्वरी मन्दिर व्यवस्थापन एवम् पर्यटन विकास समितिका सचिव पुष्कर प्याकुरेलले धिप्री डटकमलाई जानकारी गराउनुभयो । उहाँले विगतका वर्षहरुमा ४ लाख भक्तजनहरुले महादेव मन्दिरको दर्शन गर्ने तथा मेला भर्ने गरेको भन्दै यो वर्ष पनि त्यस्तै हाराहारीमा हुन सक्ने मध्यान्ह तीन बजेतिर हामीलाई बताउनुभयो ।

DSC05300_11zon.jpg
पुष्कर प्याकुरेल

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । देशका अन्य स्थानमा रहेको कागेश्वरी मन्दिरमा पनि आज पूजा, आराधना गर्न भक्तजन पुग्ने गर्छन् ।

DSC05247_11zon.jpg
कागेश्वरीमा मेला

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार