Jul 30 2026 | २०८३, साउन १४ गते

Jul 30 2026 | २०८३, साउन १४ गते

Follow us
‘तत्काल सुधार कार्ययोजना-२०८२’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ‘मास्टर प्लान’ स्वीकृत

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ‘मास्टर प्लान’ स्वीकृत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेवा प्रवाहलाई सहज, सरल, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले  ‘मास्टर प्लान’ सार्वजनिक गरेको छ। उद्योगमन्त्री अनिल सिन्हाले ‘तत्काल सुधार कार्ययोजना-२०८२’स्वीकृत गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बुधबार मन्त्रिस्तर निर्णयबाट कार्ययोजना स्वीकृत भएको हो। नयाँ कार्ययोजना मन्त्रालय र मातहतका निकायहरूबाट प्रदान गरिने सेवामा सुधार ल्याउने दिशामा एक महत्त्वपूर्ण कदम हुने विश्वास मन्त्रालयले गरेको छ।

हालको परिवर्तित प्रशासनिक र आर्थिक परिवेशमा सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले नयाँ कार्ययोजना निर्माण गरिएको पनि मन्त्रालयले जनाएको छ।  जसमा उद्योग क्षेत्रसँग सम्बन्धित २० वटा, वाणिज्य क्षेत्रसँग सम्बन्धित ८ र आपूर्ति क्षेत्रसँग सम्बन्धित ११ वटा गरी कुल ३९ वटा सुधारका क्षेत्र समावेश गरिएका छन्। 

यी सुधारका कार्यहरू सम्बन्धित निकायको वार्षिक बजेट र कार्यक्रमको सीमाभित्र रहेर कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ। कार्ययोजनाको माध्यमबाट मन्त्रालयले पारदर्शिता, जवाफदेहिता र कुशल औद्योगिक तथा व्यवसायिक वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ। यसले आर्थिक समृद्धि, लगानी प्रवर्द्धन र सुशासनलाई सुदृढ पार्ने विश्वाससमेत मन्त्रालयले लिएको छ। 

सुधार कार्ययोजना लागू भएपछि सेवाग्राहीले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति पाउने दाबी मन्त्रालयको छ। 

मन्त्रालयका प्रवक्ता बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिकलाई परिवर्तनको प्रत्यक्ष अनुभुति दिलाउन चुस्त, दुरुस्त र उच्च मनोबलका साथ यस कार्ययोजनाको कार्यान्वयनमार्फत लगानीमैत्री वातावरण निर्माण तथा व्यावसायिक सुरक्षाको प्रत्याभूति गर्दै उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं सहज आपूर्ति व्यवस्थापन गर्न मन्त्रालय तथा मातहतका निकाय, निजी क्षेत्रका छाता संगठन, वस्तुगत संघ संगठनहरु र सबै उद्योगी एवं व्यवसायी महानुभावहरु, आम नागरिक लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुको सक्रिय एवं अर्थपूर्ण सहभागिता र सहकार्यका लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार