Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

नास्टको ४० करोड ४७ लाख ९५ हजारको वार्षिक बजेट पारित

नास्टको ४० करोड ४७ लाख ९५ हजारको वार्षिक बजेट पारित

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४९औँ प्राज्ञसभाले सभाले आर्थिक वर्ष २०८२/०८३ मा नेपाल सरकारबाट प्राप्त र अन्य स्रोतबाट जुट्ने गरी कूल रु ४० करोड ४७ लाख ९५ हजारको वार्षिक कार्यक्रम बजेट पारित गरेको छ। उक्त बजेटमध्ये चालुतर्फ रु ३४ करोड ९४ लाख, पूँजीगततर्फ रु २ करोड ८३ लाख तथा वैदेशिक, अन्य सहयोग र आन्तरिक स्रोतबाट रु २ करोड ७१ लाख ४० हजार समावेश गरिएको छ। 

सभाले आर्थिक वर्ष २०८२/०८३ मा प्रतिष्ठानमा सञ्चालन गरिने कार्यक्रमहरू हिजो स्वीकृत गरेको हो । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिष्ठानका सहकुलपति महावीर पुनको उपस्थिति हिजो सम्पन्न सभाले प्रतिष्ठानको आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमको प्रगति समीक्षा गरी स्वीकृत गरेको छ।

यसैगरी, सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनमा औँल्याइएका विषयहरूमा ध्यान दिँदै आगामी वर्षमा आवश्यक सुधारका लागि निर्देशन दिएको छ। प्राज्ञसभाले प्रतिष्ठानबाट २०८२ सालमा विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरूलाई पुरस्कृत गर्ने महत्त्वपूर्ण निर्णय पनि गरेको छ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले नास्ट स्थापनाको चार दशक पार गरिसकेको अवस्थामा विज्ञान तथा प्रविधिको क्षेत्रमा के कति योगदान दिन सकियो भन्ने विषयमा स्वमूल्याङ्कन गर्न प्रतिष्ठानलाई आग्रह गरिन्।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले नियमित अनुसन्धानका अतिरिक्त युवाहरूमा अनुसन्धान क्षमता वृद्धि गर्न तालिम तथा नवप्रवर्तन र उद्यमशीलतामा प्रेरित गर्न अभिमुखीकरणजस्ता कार्यक्रमहरू प्रभावकारीरूपमा सञ्चालन भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार