नेफ्स्कूनको कार्यकाल
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) अध्यक्षका रुपमा कैलाशभक्त प्रधानाङ्गले करिब १४ वर्ष व्यतित गर्नुभयो–२०५० फागुन १० बाट २०६४ मंसिर १६ सम्म । संघ दर्ता हुँदा बखतको अध्यक्ष भएकाले सुरुवाती चरणमा उहाँले सामान्य भन्दा सामान्य खर्च गरेर कार्यालय व्यवस्थापन र न्यूनतम सेवा सुविधामा कर्मचारी व्यवस्थापन गरेको पाइन्छ । नेपालस्थित यूएससी क्यानाडाका निर्देशक श्रीराम श्रेष्ठ (पछि नेफस्कून महासचिव) को पहलमा एशियाली ऋण महासंघ (अकू) सँग समन्वय भएको थियो । अकूसँगको समन्वयको श्रेय श्रेष्ठलाई जान्छ । सोही अकूले प्रारम्भमा नेफ्स्कून र प्रारम्भिक संस्थाहरु (साकोस) को क्षमता र दक्षता अभिवृद्धिका लागि सहयोग उपलब्ध गराएको थियो ।
बि.सं २०५३-०५४ सालतिर एशियाली ऋण महासंघको प्राबिधिक सहयोगमा Institutional Development Credit Union in Asia ( INDECUA) program शुरु गरेको पाइन्छ र त्यही कार्यक्रममार्फत नै नेपालमा PEARLS भित्रिएको पाइन्छ । तत्पश्चात ACCU ले Business Development Center (BDC ), Credit Union Micro finance innovation (CUMI), Professionalization, INDESACCOS हुँदै ACCESS program को शुरुवात गरेको इतिहास छ । त्यसबखत नेफ्स्कून लाई राम्रै वैदेशिक सहयोग प्राप्त भएको थियो ।
खासगरी ठूलो सहयोग ACCU बाट थियो भने Canadian Cooperative Association (CCA), Agritera Netherland, CECI Asia, Helvetas, Gtz, USC Canada, UNFPA आदि साथै नेपाल सरकार सहकारी बिभाग समेतबाट आर्थिक एवम् प्राविधिक सहयोग प्राप्त भएको रेकर्ड पाइन्छ ।
शुरुमा आवद्ध संघ संस्थाहरुले एक सय रुपैयाँको मात्र शेयर खरिद गर्ने नीतिगत व्यवस्था र मासिक बचत नाम मात्रको थियो । त्यसपछि, २०५५ सलाबाट आवद्ध संघ संस्थाहरुले एक सयका दरले कम्तिमा १० थान सेयर खरिद गर्नुपर्ने, मासिक एकसय रुपैयाँ नियमित बचत गर्नुपर्ने र अन्तरलगानी कार्यक्रममा आवद्ध हुन ईच्छुक संघ संस्थाहरुले कम्तिमा रु १० हजारको शेयर खरिद गर्नुपर्ने नियम लागु भएपछि मात्र वासलातको साइज बढेको देखिन्छ । उहाँको कार्यकालमा हरि घिमिरे र सुमन खनाल र पछिल्लो वर्ष शिव अधिकारीले प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरेका थिए ।
२०५५ सालमा नेपालमा पहिलो पटक एशियाली ऋण महासंघको फोरम र साधारण सभा नेपालमा भएको थियो त्यसैगरी बि.सं २०६० सालामा नेपाल सरकार सहकारी विभाग र नेफ्स्कूनको संयुक्त आयोजनामा Poverty Alleviation सम्बन्धी राष्ट्रिय गोष्ठी समेत आयोजना गरिएको थियो । बि.सं २०५८ सालमा साकोसहरुमा लघुवीत्त कार्यक्रमलाई सहयोग गर्ने गरी ACCU को सहयोगबाट चितवनको भरतपुरमा Business Development Center (BDC) बि.सं २०६० सालमा Institutional Development Savings & Credit Cooperative Society (NDESACCOS ), CCA को सहयोगबाट सुनसरीको ईटहरीमा फिल्ड अफिस र बि.सं २०६३ सालमा साकोसहरुमा लघुवित्त कार्यक्रमलाई सहयोग गर्ने गरी Agritera Netherland को सहयोगमा फिल्ड अफिस संचालनमा ल्याइएको थियो ।
उहाँ नेफ्स्कूनमा अध्यक्ष रहदा दुर्गम क्षेत्र बिकास कोषको स्थापना गरिएको र उक्त कोषबाट दुर्गम क्षेत्रमा सहकारीसँग सम्वन्धित कार्य गर्ने भन्नेनै रहेको थियो । उक्त कोषबाट शुरुमा हुम्लामा केही रकम स्थानीय साकोस मार्फत सहयोग स्वरुप पठाइंएको थियो ।
करिब १४ वर्ष नेफ्स्कून अध्यक्षको जिम्मेवारीमा रहँदा उहाँले कुनै सेवा सेवा सुविधा लिनु भएन र आफ्नो कार्यकालको अन्त्यतिर करिब २०६३ सालमा क्यानेडीयन परियोजनाबाट सहयोग प्राप्त गाडी पनि कार्यालयको कामको प्रयोजनमा मात्र प्रयोग गर्नुहुन्थ्यो । नेपाल सरकार, नेपाल राष्ट्र बैक, सहकारी मन्त्रालय, अर्थ मन्त्रालय लगायत, सहकारी बिभाग सहकारीसँग सम्वन्धित सबै निकायहरुसँग अत्यन्तै राम्रो सम्बन्ध बनाउनु पर्दछ भन्ने उहाँको मुख्य सोच रहेको थियो । नेफ्स्कूनमा आवद्घ संघ संस्थाको पनि अत्यन्तै ख्याल राख्नुहुन्थ्यो ।
उहाँले बिगत एक दशक देखि यौटा अभियान चलाउनुभएको थियो जसको नाम छ “एक रुपैया गरिबका लागि मेरो सहयोग सधैंका लागि” । उक्त अभियान चलाएर कोषको वृद्धि गरी उक्त कोषबाट धेरै गरिबहरु माँझ पुगेर सहयोग पुर्याउनु भएको थियो । दोलखामा एकजना भुकुम्प पिडितका लागि पनि त्यही कोषबाट घर निर्माण गरिएको थियो । नेफ्स्कूनमा अध्यक्ष रहेकै बखत नमूना जिल्ला संघ/नमूना साकोसको अवधारणा ल्याउनु भई उक्त संघ/संस्थाहरुलाई बिशेष सुपरीवेक्षण गर्ने व्यवस्था पनि गर्नु भएको थियो । गहिरो अध्ययन, हरेक ऐन, नीति, नियमहरुको जानकार उहाँ डकुमेन्टेसनमा अत्यन्तै विश्वास गर्नुहुन्थ्यो र हरेक डकुमेन्टेसनहरु उहाँले शुरक्षित राख्दै डकुमेन्टेसनको आधारमा मात्र आफ्नो विचार राख्नुहुन्थ्यो ।
उहाँले प्रतिनिधित्व गर्ने बैठक, गोष्ठी, सेमिनार लगायतलाई अत्यन्तै महत्व दिनुहुन्थ्यो, उहाँले बोलेको कुरामा सितिमिति टिप्पणी गर्ने आँट कसैमा हुदैनथ्यो । सञ्चालक समिति, लेसुस, व्यवस्थापन अझ सहायक कर्मचारीहरु सबैलाई उहाँले अत्यन्तै प्यारो गर्नुहुन्थ्यो । कसैलाई कुनै किसिमिको दुःख परेमा सोको हल पनि गरिदिनिहुन्थ्यो । उहाँ अध्यक्ष हुँदा बाहिर जिल्लाबाट आउने सहकारीकर्मीहरुको खानपिन, बसोबास, सुखदुःख आदिबारे निक्कै हेक्का राख्नुहुन्थ्यो । अभियानकर्मीहरुको हर किसिमको आवश्यकतामा उहाँ साथ दिनुहुन्थ्यो ।
नेफ्स्कूनको कार्यक्रममा प्रमुख अतिथि डाक्दा अत्यन्तै विचार पुर्याएर डाक्ने भन्नुहुन्थ्यो किनभने प्रमुख अतिथिले दिएको सुझाव कार्यान्वयन गर्नुपर्छ भन्ने उहाँहो अवधारण थियो । एक पटक नेफ्स्कून स्थापना दिवसमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा.यूवराज खतिवडालाई प्रमुख अतिथि निमन्त्रणा गरिएको थियो । उहाँले मन्तव्यको क्रममा 'सहकारी संस्थाहरु सेवा दिने निकाय भएको हुँदा सेवा शुल्क भनेर शिर्षक राख्न मिल्छ र ?' भनेर जिज्ञासा पनि राख्नु भएको थियो । 'ऋण लगानी गर्दा सेवा शुल्क भनेर शुल्क लिनु राम्रो कुरा होइन, बरु अलिकति व्याज बढाउँदा हुन्छ' भनेपछि त्यसको भोलिपल्टबाटै नेफ्स्कूनले पनि ऋणमा सेवा शुल्क नलिने र संस्थाहरुले पनि सदस्यहरुसँग ऋण लगानी गर्दा सेवा शुल्क नलिनको लागि अनुरोध गर्ने निर्णय गरेको थियो । साथै, सदस्य संघ संस्थाहरुलाई पनि ऋण लगानी गर्दा सेवा शुल्क नलिन अनुरोधसहित पत्राचार गरिएको थियो ।
नेफ्स्कूनका कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरुलाई कार्यक्रम समापन समयमा विशिष्ट खालका सामानहरु उपहार दिने भन्नुहुन्थ्यो । साथै उहाँहरुले मन्तव्य राख्दा बखतको फोटो राम्रो फ्रेमिङ गरेर धन्यवाद पत्र सहित आफैले उहाँहरुलाई भेटेर एक हप्ता भित्र उपलब्ध गराउनुहुन्थ्यो । उहाँले नेफ्स्कूनको कार्यक्रममा आमन्त्रण गर्नुहुने प्रमुख अतिथिलाई उहाँको समय अनुसार जतिबजे बिदाई गर्ने भनेर समय लिनुहुन्थ्यो सो कुरा कार्यक्रममको शुरुवातमै जानकारी गराउनुहुन्थ्यो र सोही समयमा प्रमुख अतिथिलाई बिदाई गरिन्थ्यो । अलि समय बस्नुहोस, पख्नुहोस भन्ने काम कहिले पनि गर्नु भएन ।
उहाँले अत्यन्तै मसिना कुराहरु पनि याद गर्नुहुन्थ्यो । जस्तै, नेफ्स्कूनको कार्यक्रमहरुमा अतिथिहरुले सम्बोधन गर्दा मुन्टो पछाडि फर्केर ब्यानर पढदै सम्वोधन गर्नुपर्ने भएको हुँदा यौटा सानो व्यानर ड्यासबाट सिधा अगाडि देखिने गरेर पनि राख्नुहुन्थ्यो, जसले गर्दा वक्ताहरुलाई सम्बोधनमा सहजता हुन्थ्यो । जुनसुकै कार्यक्रम गर्नुभन्दा एकदिन पहिलानै सम्पूर्ण तयारी सकेर बस्नुपर्दछ भन्ने उहाँको धारणा रहन्थ्यो ।
नेफ्स्कूनको यौटा कार्यक्रममा अतिथिहरुलाई खादा माला लगाउने जिम्मेवारी लेसुसस सदस्य नानीबाबु बुढाथोकी सरलाई थियो तर उक्त कार्यक्रममा उहाँले कालो कोट लगाएर आउनु भएको हुँदा ‘ल, तपाईले कालो कोट लगाएको हुँदा यो जिम्मेवारी अरु संचालकलाई नै दिन्छु,’ भनी हाँसेर भन्नुभयो । सबैले मन्द मुस्कानसहित उहाँको विचारलाई अनुमोदन गरे । भन्नुको मतलब उहाँ अत्यन्तै स सानो विषयमा पनि अत्यन्त ध्यान र विचार गर्नुहुन्थ्यो ।
उहाँले संघ संस्थाहरुको साधारण सभा तथा अन्य कार्यक्रमहरुमा कै कतै सलाई कोरेर उदघाटन गर्नुपर्ने अवस्थामा पनि यौटा मात्र सलाईको काटी कहिल्यै कोर्नु भएन २ वटानै कोर्नुहुन्थ्यो । एकजनाले गर्न खोजेको राम्रो काममा कम्तिमा पनि अर्को एकजना साक्षी हुनुपर्दछ भन्ने सन्देश रहेछ । यसैगरी उहाँलाई निमन्त्रण गरिने कार्यक्रममा १० मिनेट अगाडि पुग्नु पर्दछ भन्नुहुन्थ्यो र सकिए पछि पनि सकेसम्म १० मिनेट पछाडि त्यहाँबाट हिडने भन्नुहुन्थ्यो किन भनेर जिज्ञासा राख्दा भन्नुहुन्थ्यो, ‘१० मिनेट अगाडि पुग्दा कार्यक्रमको व्यवस्थापन कसरी गरिरहेको छ थाहा हुन्छ र समापन पछि १० मिनेट बस्दा पनि समापन पछिको व्यवस्थापन कसरी गरिदो रहेछ भन्ने थाहा हुन्छ ।’
नेफ्स्कूनले मुख्यतया फिल्डमा बचतका विषयहरु सिकाऊने हुँदा हरेक बिशेष कार्यक्रममा खुत्रुकेमा बचतको प्रतिक स्वरुप सिक्का खसालेर उदघाटन गर्ने प्रचलन २०६० सालबाट शुरुवात गराउनु भयो । साथै बचत तथा ऋण सहकारी सञ्चालनसम्बन्धी ओकूको विगतको ९ सिद्धान्तहरु रहेको र सोको रंग झल्कने गरी ९ वटा राम्रो खालको डल्ले मैनबत्तीहरु विशेष खालको स्ट्याण्डमा राखेर बाल्ने प्रचलन पनि उहाँले नै शुरुवात गर्नु भएको थियो । उहाँकै कार्यकालमा नेफ्स्कूनमा संचालकहरुको आचार संहिता बनाइएको थियो । जसमा सञ्चालकहरुले पदीय जिम्मेवारी अनुसार वार्षिक रुपमा शुल्क बुझाउनु पर्दथ्यो।
उहाँले बिभिन्नि कार्यक्रमहरुमा नेफ्स्कून र आवद्ध संघ संस्थाहरुमा शुसासन रहेको र कै कतै राज्यको निकायहरुलाई शंका लागेकमा अख्तियार आएर हेर्न र थप सुझाव दिन समेत अनुरोध गर्नुहुन्थ्यो । उहाँ सहकारी र यससँग सम्बन्धित विषयका अक्सफोर्ड यूनिभर्सिटी नै हुनुहुन्थ्यो । सहकारीसँग सम्वन्धित कुनै महत्वपूर्ण डकुमेन्टहरु अन्त पाइएन भने अवश्य कैलाश सरसँग हुनुपर्दछ भन्ने सबैमा सोच मात्र होइन विश्वासनै हुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘कुनैपनि मानिसलाई यौटा दुःखपछि अर्को दुःख छिट्टै आउन सक्दछ होस पुर्याउ । तर यौटा सुख पछि अर्को सुख आउन समय लाग्न सक्छ ।'
समग्रमा भन्नुपर्दा उहाँको नेतृत्वमा सदस्यता प्रदान गर्ने विषयमा केही कडा नीति अवलम्बन गरिएको थियो । अत्यन्तै शुसासनमा रहेका संस्थाहरुलाई मात्र सदस्यता प्रदान गरिन्थ्यो । त्यसैले सदस्य थोरै थिए, सदस्य थोरै भएपछि संघमा प्राप्त हुने बचत सेयर, शुल्कहरु प्नि कमनै भयो त्यसैले कारोबार पनि कम भयो तर समग्र शुसासनमा, Lobbying and Advocacy अत्यन्तै उच्च स्तरको रहेको थियो, वित्तीय अनुशासन पूर्ण रुपमा पालना भएको थियो, आवद्ध संघ, संस्थाहरु सबै स्वनियमनमा थिए । नेपाल सरकारदेखि बिदेशी निकायहरुमा समेत राम्रो समन्वय र छवि थियो । नेफ्स्कूनलाई कहीकतै कसैले पनि गिराएर बोल्न सक्ने थिएन । उनीहरुको आँट हुने थिएन । सस्तो लोकप्रियतामा उहाँले कहिल्यै विश्वास गर्नु भएन । हरेक विषयका रेकर्डहरु अपडेटेड हुन्थे, चुस्तदुरुस्त व्यवस्थापन हुन्थ्यो ।
संघका नीति नियमहरु अत्यन्तै ओझपूर्ण थिए, नेफ्स्कूनले नेफ्स्कून समाचारदेखि स्मारिकासम्म प्रकाशन गरेको थियो, अहिले जस्तो साधारण सभाको मिति पहिल्यै नतोकिए पनि जब सञ्चालक समितिले साधारण सभा तोक्थ्यो उक्त साधारण सभा व्यवस्थापनका लागि बोर्ड र व्यवस्थापन राम्रोसँग खटथ्यो, काठमाडौबाट बाहिर पनि अर्थात गोरखाको गोरखा बजार, मोरङको लेटाङ र बिराटनगर, कास्कीको पोखरा साथै बाँकेको नेपालगन्जमा पनि वार्षिक साधारणसभा आयोजना गरिएका थिए । सञ्चालकहरु, व्यवस्थापनका अधिकृतहरुले दातृ निकायको सहयोगमा वैदेशिक तालिम तथा भ्रमण राम्रोसँग पाएका थिए, उहाँकै कार्यकालमा नेफ्स्कून सीसीयूएलबी एक्पोजर भिजिटको शुरुवात भएको थियो । समग्रमा भन्नुपर्दा उहाँको नेफ्स्कूनको कार्यकाल गर्व गर्न लायक थियो ।
जीवन्त वाणी, जीवन्त व्यवहार
“सहकारीको अपरिहार्यता ईमान्दारीता र पारदर्शिता” र “सहकारीकर्मीको पहिचान स्वावलम्वी र स्वाभिमान” जस्ता उहाँका थुप्रै वाणीहरु सहकारीको जीवनमा सधैं कसै न कसैले उच्चारण गरिरहन्छन् । सहकारीमा अत्यन्तै गरिब वर्गलाई सदस्य बनाएर अघि बढनुपर्छ र सहकारी भित्र सुशासन हुनुपर्दछ भन्ने ऊहाँको मान्यता थियो ।
उहाँमा रहेको शालीनता, बौद्धिकता, व्यावहारिक पक्ष, नेतृत्वका हुनुपर्ने गुण, इमान्दारीता, सहयोगी भावना, दुरदृष्टि आदि गुणहरु अवर्णनीय छन् । यस लेखमा मैले केही मात्र उत्खनन गर्न खोजेको हुँ । उहाँका विषयहरुमा उल्लेखित मितिहरु उहाँले करिब एकवर्ष अघि मलाई उपलब्ध गराउनु भएको बायोडाटाको आधारमा तयार गरेको हुँ ।
खबरदारी
गरिब जनताको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न कोहीसँग सम्झौता नगर्ने उहाँ सहकारीमा राजनीति गर्नु हुदैन र सहकारीमा राजनीति भयो भनेर तिखो प्रहार गर्ने व्यक्ति हुनुहुन्थ्यो । प्रायः जसो राजनैतिक व्यक्तिहरुको प्रवेशले सहकारी क्षेत्रलाई दुषित बनाएको छ, सहकारी संघ संस्थाहरुमा सहकारी बुझेका व्यक्तिहरु भन्दा पनि राजनिीतिक पार्टीले आफ्ना नेता तथा आसेपासेलाई टिकट दिने पद्घतिले गर्दा विकृति फैलिएको चिन्तन गर्नुहुन्थ्यो । सहकारीमा राजनीति हावी भएको हुँदा सहकारी दुर्घटनामा पर्न सक्दछ भनेर सार्वजनिक ठाँउमा पटक,पटक बोल्नुहुन्थ्यो अनि लेख्नुहुन्थ्यो पनि । सहकारीलाई राजनीतिबाट अलग राख्ने र सङ्लो बनाउने विषयमा उहाँ सदैव खबरदारी गर्नुहुन्थ्यो ।
सहकारी लगाव
उहाँको डिएनएमै सहकारी पाइन्थ्यो । नशा नशामा सहकारी रगत सञ्चार हुन्थ्यो । सहकारीका विषयमा अध्ययन, खोज, अनुसन्धान र लिखित प्रमाणहरुलाई आधार मानेरै आफूलाई अपडेटेड राख्नुहुने प्रधानङले नेपालमा वि.सं. २००० साल भाद्र महिनामा बनेपा, काभ्रेमा राजदाश बादेको नेतृत्वमा ल्याण्ड मोर्टेज बैंक एण्ड कोओपरेटिभ सोसाइटी गठन भएको र यो सहकारीनै नेपालको पहिलो सहकारी हो भन्ने प्रमाण संकलन गरेर नेपाल सरकार लगायत सम्बन्धित निकायलाई लिखित रुपमा जानकारी गराउनु भएको थियो । यद्यपि, राज्यले बि.सं २०१३ साल चैत्र २० गते लाई नै राष्ट्रिय सहकारी दिवसका रुपमा मान्यता प्रदान गरेको अवस्था छ ।
वि.सं. २०२० साल देखि सहकारीमा प्रवेश गरेर जीवनको अन्तिम घडी सम्म पनि सहकारी मार्फत ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक सांस्कृतिक अवस्था सुधार गर्नुपर्दछ भनी यही कार्यमा उहाँ लागि पर्नुभयो । ठूलो सहकारी भन्दा पनि सुशासनले चलेका सहकारीहरु हुनुपर्दछ भन्ने उहाँको मान्यता थियो । त्यसैले सहकारी सदैव समुदायमा आधारित र सदस्य केन्द्रीत हुनुपर्दछ भन्नेमा उहाँको विशेष जोड थियो ।
उहाँले सहकारीकर्मी मित्रहरुलाई आफ्नै घरको परिवारको सदस्यको रुपमा व्यवहार गर्नुहुन्थ्यो । सहकारीमा अहोरात्र खटने व्यक्तिलाई आर्थिक रुपमा समस्या पर्यो भने हल गर्न उहाँ सधै तत्पर रहनुहुन्थ्यो । आर्थिक, भौतिक लगायत हर किसिमिका सहयोग गर्न पनि सधै अगाडि रहनुहुन्थ्यो । उहाँले दुर्गम क्षेत्रमा सहकारीका सदस्यहरुका साना सन्तानहरुलाई केन्द्रित गरेर छात्रवृत्ति र स सानो भएपनि सहयोग गर्नु भएको पाइन्छ ।
प्रारम्भिक जीवन
बि.सं १९९६ साल साउन १८ गते नगदेश, भक्तपुरमा पिता चन्द्रभक्त प्रधानङ्ग र माता श्रवण कुमारी प्रधानङ्गको कोखबाट जन्मनु भएका कैलाशभक्त प्रधानङ्ग नेपालको सहकारीको श्रोत, शिक्षप्रेमी, सामाजिक भावना भएका दुरदर्शी साथै बिद्धत व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको २०८१ साल फागुन २३ गते देहान्त भएको थियो । ऊहाँले बिए पास गर्नु भएको थियो, ऊहाँको धर्मपत्नी पनि स्थानिय माविमा प्रधानाध्यापक हुनहुन्थ्यो हाल सेवाबाट अवकास हुनुहुन्छ भने २ छोरा र १ छोरी सन्तानको रुपमा रहनु भएका छ, संयुक्त परिवारमा सबैजना आ आफ्ना विषयका विज्ञ साथै सहयोगी भावनाका धनी हुनुहुन्छ । उहाँले आफ्नो जिवनकालको अधिकांश समय सहकारी क्षेत्रमानै बिताउनुभयो भने सँगै उहाँले सामाजिक, शैक्षिक र राजनैतिक जिम्मेवारी पनि कुलशतापूर्व वहन गर्नुभयो ।
शैक्षिक क्षेत्रकै कुरा गर्नुपर्दा उहाँले आदर्श माध्यमिक विद्यालय ठिमीका संस्थापक सदस्य, त्यसपछि सचिव हुँदै प्रधानाध्यापक, गणेश माध्यमिक विद्यालय नगदेशको व्यवस्थापन समिति अध्यक्ष बि.सं २०१९ सालदेखि लगातर रुपमा रहनु भएको थियो भने बि.सं २०३७ सालबाट सिद्धि गणेश माध्यमिक विद्यालय (बिहान) को व्यवस्थापन समिति संस्थापक अध्यक्ष, रात्री माध्यमिक विद्यालय (सिद्धिदास मा.वि.) को व्यवस्थापन समिति संस्थापक सचिव तथा प्रधानाध्यापक र सोही विध्यालयको अध्यक्ष बि.सं २०३६ साल देखि, विनायक शिक्षा निकेतनको इङ्गलिस सेकेण्डरी स्कुलको संस्थापक सदस्य , जिल्ला शिक्षा समिति भक्तपुरको सदस्य बि.सं २०४१ असार २९ देखि बि.सं २०४४ सम्म र हिमालय उच्च माध्यमिक विद्यालय काठमाडौंको व्यवस्थापन समितिको सदस्य समेत रहनु भएको थियो ।
सामजिक क्षेत्रमा उहाँलाई सम्झनु पर्दा आदर्श युवक क्लवको स्थापना बि.सं २०३२ सालमा भएको र तत बखत देखि ऊहाँको जीवनको अन्त्य सम्मनै उक्त क्लवको अध्यक्ष रहनु भयो, नेपाल क्षयरोग निवारण संघ जिल्ला कार्य समिति भक्तपुरको सदस्य बि.सं २०३९–२०४५ सम्म, नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य, नेपाल परिवार नियोजन संघको आजीवन सदस्य, नेपाल बाल संगठन जिल्ला कार्य समिति भक्तपुरको उपाध्यक्ष बि.सं २०४४ देखि २०४८ सम्म एवम् आजिवन सदस्य ।
अन्तर्राष्ट्रिय युवा वर्ष २०४१ राष्ट्रिय समिति नेपालको युवा स्वंयमसेवक कार्यक्रम उपसमिति सदस्य, नगदेश कला संस्कृति विकास समाजको संस्थापक अध्यक्ष, बि.सं २०५५ सालदेखि थिमि कला परिषद्को कार्य समितिको सदस्य, मध्यपुर कला परिषद्को सल्लाहकार, बि.सं २०५५ साल पौष ३ मा स्थापना भएको सहयोगी आँखा उपचार सेवा केन्द्रको संस्थापक अध्यक्ष हुदै जीवनको उत्तरार्धसम्म पनि उक्त संस्थाको अध्यक्ष रहनु भयो । बि.सं २०५५ सालबाट न्हुदं सिरपा समितिको कोषाध्यक्ष, नेपाल फण्ड रेजिङ्ग ग्रुप (NFRG) का सदस्य, बि.सं २०४९ साल देखि २०५४ साल सम्म विकास निकाय संघ नेपाल (ADAN) का उपाध्यक्ष रहनुभयो । त्यस्तै, बि.सं २०६१ साल देखि २०६३ सालसम्म भक्तपुर अस्पताल विकास समितिको अध्यक्ष साथै बि.सं २०६६ सालदेखि जेष्ठ नागरिक सेवा उप समितिको संयोजकको जिम्मेवारीमा रहनु भएको थियो ।
सहकारी क्षेत्रमा उहाँलाई सम्झनु पर्दा जीवनको उर्जाशील समय अर्थात २४ वर्ष देखि अन्तिम घडी सम्म पनि अर्थात ८६ वर्षको उमेरसम्म खर्चनुभयो । आफू पदमा रहेर होस वा पदमा नरहेको अवस्थामा पनि उहाँले सहकारी सम्झिरहनुभयो । उहाँ बि.सं २०२० सालबाट सिद्धि गणेश बहुउद्देश्यीय सहकारी संस्था नगदेशको सचिवबाट सहकारी क्षेत्रमा प्रवेश गर्नु भएको देखिन्छ । त्यसपछि, जिल्ला सहकारी संघ भक्तपुरको सचिव बि.सं २०२३ –०२४ सालमा, सिद्धि गणेश बहुउद्देश्यीय सहकारी संस्था नगदेशको सञ्चालक बि.सं २०४७ साल देखि बि.सं २०५० साल सम्म, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून).को अध्यक्ष बि.सं २०५० साल फागुन ११ देखि बि.सं २०६४ साल मंसिर १६ गते सम्म भने बि.सं २०४८ साल माघ ११ .बाट बि.सं २०५० फागुन १० सम्म नेफ्स्कूनमानै लेसुस सदस्य रहनु भएको थियो ।
यस्तै, बि.सं २०४७ सालमा जिल्ला सहकारी संघ भक्तपुरको सञ्चालक, बि.सं २०५३ साल देखि २०६४ साल सम्म राष्ट्रिय सहकारी संघको सञ्चालक सदस्य, स्थापनाकालदेखि अर्थात बि.सं २०४८ सालबाट सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्थाको अध्यक्ष, राष्ट्रिय सहकारी विकास बोर्डको संचालक बि.सं २०५७ साल जेष्ठ ११ देखि बि.सं २०५९ जेष्ठ १० सम्म र राष्ट्रिय सहकारी विकास बोर्डको पुनः निर्वाचित सञ्चालक बि.सं २०६१ आश्विन २५ देखि बि.सं २०६३ आश्विन २४ सम्म र यसैगरी बि.सं २०६७ सालबाट जिल्ला सहकारी संघ लि. भक्तपुरको सल्लाहकार र ०६७ साल देखि जेष्ठ नागरिक कार्य समितिको उपाध्यक्ष समेत उहाँ रहनु भएको थियो ।
राजनीतिक क्षेत्रमा पनि उहाँले देशलाई शिरमा राखेर कर्तव्यनिष्ठका साथ कार्य गरेको जानकारहरु बताउनुहुन्छ । बि.सं २०१९ सालबाट बि.सं २०२२ सालसम्म नेपाल युवक संगठन जिल्ला कार्य समिति भक्तपुरको सदस्य र बि.सं २०२३ सालबाट करवि एक दशक अध्यक्ष रहनुभयो । यस्तै, बि.सं २०२३ सालबाट २०३२ सालसम्म नगदेश गाउँ पञ्चायत भक्तपुरको सदस्य र बि.सं २०२४ साल मंसिर ४ देखि मिति बि.सं २०३० श्रावण १७ गते सम्म भक्तपुर नगर पञ्चायतको सदस्य साथै बि.सं २०३३ सालबाट बि.सं २०३६ साल सम्म गाउँफर्क राष्ट्रिय अभियान जिल्ला समितिको सदस्य, बि.सं २०३९ सालदेखि बि.सं २०४६ सालसम्म भक्तपुर जिल्ला पञ्चायतको सदस्य, बि.सं २०४४ मंसिर ४ बाट बि.सं २०४६ सम्म नेपाल प्रौढ संगठन केन्द्रीय कार्य समितिको कोषाध्यक्ष, बि.सं २०४८ सालदेखि बि.सं २०५३ सालसम्म जिल्ला विकास समितिको सदस्य र मिति २०५४ जेष्ठ १५ बाट मिति २०५९ असार ३२ सम्म मध्यपुर ठिमी नगरपालिकाको वडाध्यक्ष रहनु भएको थियो ।
सम्मान पुरस्कार
राजा वीरेन्द्र बाट शुभ राज्याभिषेक पदक २०३१ सालमा, शुभ राज्याभिषेक युवा महोत्सव स्वर्ण पदक २०३१, राष्ट्रिय शिक्षा पदक २०४१ सालमा शिक्षा मन्त्रालयबाट, दैवी प्रकोप पीडित उद्दार पदक २०४५ सालमा, गद्दी आरोहणको रजत महोत्सव पदक २०५३ सालमा, विश्व वातावरण दिवस २०५४ सालमा नगद र कदरपत्रबाट पुरस्कृत (जनसंख्या तथा वातावरण मन्त्रालय), प्रवल गोरखा दक्षिण बाहु २०५७ सालमा, गणेश मा.विको अध्यक्षको नाताले २०५८ सालमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्रशंसा पत्र, बीरेन्द्र ऐश्वर्य सेवा पदक २०५९ सालमा ,शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्रशंसा पत्र २०६९ सालमा प्राप्त गर्नुभयो ।
नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्थापना गरेको अक्षेरुपी एकलाख नगद सहितको पुरस्कार २०७४ चैत्र २० गते प्रधानमन्त्रीबाट र बि.सं २०७६ आश्विन १४ गते २९ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट स्थापना गरिएको एकलाख नगद धनराशि सहितको पुरस्कार राष्ट्रपतिबाट प्राप्त गर्नुभएको थियो साथै देशका धेरै सहकारी संघ ÷संस्थाहरु लगायत अन्य निकायहरुबाट सम्मान साथै नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँले प्राप्त गर्नु भएको अधिकांश नगद पुरस्कार सम्बन्धित संघ/संस्थाहरुमानै गरिब, न्यून आय र विपन्न सदस्य लक्षित कार्यक्रम गर्ने गरी आफूले निजी रुपमा समेत थप गरेर जम्मा गरिदिनु भएको र नेपाल सरकारबाट प्राप्त नगद पुरस्कारहरु र अन्य केही संस्थाहरुबाट प्राप्त नगद रकमबाट अक्षय कोष स्थापना गरी सोहि कोषबाट बिभिन्न विधामा खाशगरी सहकारी क्षेत्रमा उत्कृष्ट कार्यगर्ने व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्नुभएको पाइन्छ ।
प्रकाशनहरु
नेपालमा सहकारी ऐनहरूको विकास, सहकारीको झण्डा, सहकारीमा गैर सहकारी शब्दहरूको प्रवेश, सहकारीको साधारणसभा आदि छन् ।
विदेश भ्रमण
सबैभन्दा पहिले सन् १९७० नोभेम्बरमा सिङ्गापुरमा– Youth and Family Planning Seminar मा सहभागिता जनाउनु भएको थियो भने ततपश्चात विश्वका ५० भन्दा बढी मुलुकमा भ्रमण गर्नुभएको पाइन्छ ।
र, अन्त्यमा
उहाँ भविष्यवेत्ता हुनुहुन्थ्यो । दुरदर्शीपना उहाँमा झल्कन्थ्यो । सायद अनुभव, लगाव र बुझाइको निखारताले होला । उहाँले सहकारी क्षेत्रमा अब यस्तो स्थिति आउँछ, यस्ता समस्या र सम्भावना छन् र अब यस्तो हुन्छ भनेका कुरा धेरै हदसम्म मिल्थ्यो पनि । अनि, आफ्नो जीवनको बारेमा पनि उहाँले भविष्यवाणी गर्नुभएको थियो । उहाँले फागुन ११ गते बिहान ९.३४ मा (स्वर्गवास हुनभन्दा १२ दिन पूर्व मलाई मोबाइलमा म्यासेज गर्नु भएको थियो जुन मेसेज अहिले पनि मेरो मोबाइलमा सुरक्षित छ । ) उहाँले लेख्नु भएको थियो, ‘शिवजी, म रहुँला नरहुँला, मेरो अवस्था फागुनको मसान्त सम्म होला........।
(लेखक अधिकारी नेफ्स्कूनका पूर्व का.मु प्रमुख कार्यकारी अधिकृत हुन् । )
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com