ललितपुर । एशियाली ऋण महासंघ (अकू) की प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी) ले सहकारी अभियानले कस्तो नेतृत्व खोजेको हो भन्ने प्रश्नको उत्तर खोतल्ने प्रयास गरेकी छिन् । एशिया प्रशान्त क्षेत्रको बचत तथा ऋण सहकारी अभियानमा विगत तीन दशकदेखि कुशल व्यवस्थापकीय नेतृत्वमार्फत आफूलाई बारम्बार पुष्टि गर्दै आएकी लेनीले नेपालको सन्दर्भमा बचत तथा ऋण सहकारी अभियानले खोजेको नेतृत्व बारे आफ्ना अनुभवजन्य धारणा प्रस्तुतीकरणमार्फत प्रष्ट पारिन् ।
नेफ्स्कूनले हिजो ललितपुरमा आयोजना गरेको साकोस शिखर गोष्ठी २०८२ अन्तर्गत सहकारीमा नेतृत्व पुनर्जागरणको विषयमा प्रस्तुतीकरण गर्दै लेनीले सहकारी अभियानमा आजको आवश्यकता उच्चमार्गी नेतृत्व (हाइरोड लिडरशीप) भएको स्पष्ट पारिन् । ‘आजको सहकारी अभियानको खोज उच्चमार्गी नेतृत्व हो, ’ लेनीले भनिन्, ‘त्यो भनेको मूल्य र सीपको सही संयोजन सहितको नेृतत्व हो ।’ सही मूल्य र सही सीप भएको सहकारी लिडर हुँदा मात्र सदस्यहरुको वास्तविक उत्थान सम्भव हुने भन्दै उनले त्यस्तो लिडर नै उच्चमार्गी नेतृत्व (हाइरोड लिडर) भएको स्पष्ट पारिन् ।
सही मूल्य र खराब सीप हुँदा नेतृत्वले सदस्यको सहयोग गर्न नसक्ने, यसैगरी कुशल सीप र खराब मूल्य हुँदा लिडरले आफ्ना सदस्यहरुलाई चाहेअनुसार नियन्त्रण गर्न सक्ने भन्दै उनले खराब सीप र खराब मूल्य हुँदाको चौथो प्रकारको नेतृत्वले आफ्ना सदस्यहरुलाई समेत खाल्डोमा हाल्ने स्थिति उत्पन्न हुने लेनीले बताइन् ।
लेनीले मध्यमार्गी र निम्नमार्गी समेत गरी कुल तीन प्रकारको नेतृत्वको चर्चा गरिन् । यीमध्ये उनले विश्व सहकारी अभियानको आजको आवश्यकता उच्चमार्गी नेतृत्व भएको विषयमा विभिन्न दृष्टान्तसहित ३९ वटा स्लाइडको सहायतामा पुष्टि गर्ने प्रयत्न गरिन् । र सहभागी बचत तथा ऋण सहकारी अभियानकर्मीहरुलाई स्वमूल्याङ्कनका लागि समेत समेत आग्रह गरिन् । १२ वटा मूल्यहरुमा प्रत्येकका लागि १ देखि १० अंकको बीचमा रहेर स्वमूल्याङ्कन गर्न लेनीले लगाइन् ।
हाइरोड लिडरशीप विविध विचारधाराको सम्मान गर्ने फराकिलो सोचयुक्त व्यक्ति हुने भन्दै लेनीले भनिन्, ‘अर्काको धारणा सुन्ने र सम्मान गर्ने संस्कृति हाइरोड लिडरको हुन्छ । उसले वास्तविक आफू बन्ने प्रत्यत्न गर्दछ । उच्चमार्गी नेतृत्व कृत्रिमतामा (बनावटीपनामा) नभई वास्तविकतामा विश्वास गर्दछ ।’ हाइरोड लिडर जस्तो हो त्यस्तै देखिनुपर्ने उनको भनाइ थियो ।
यस कुरालाई टिप्पणीकर्ताका रुपमा रहेका राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले पनि स्वीकारे । उनले भने, ‘हामी सबैले हाइरोड लिडर हुन नसकेपनि त्यतातर्फ उन्मुख हुनुपर्ने परिस्थिति छ । अन्यथा सहकारी क्षेत्रलाई सुशासनयुक्त बनाउन कठिन देखिन्छ ।’
लेनीले १२ वटा मूल्यहरु चर्चा गरिन् र सँगै सक्षमता र आवश्यक गुणहरु बारे पनि चर्चा गरिन् । सहकारी नेतृत्वमा आफ्नो कामप्रति जवाफदेहीता आवश्यक हुने भन्दै हाइरोड लिडरले सदस्यलाई वा अरु कसैलाई दोष नदिई आफ्नो कामको जिम्मेवारी र जवाफदेहिता आफैले लिने प्रष्ट पारिन् । ‘जब हाम्रो संस्थामा भाखा नाघेको ऋण बढ्छ, त्यो सदस्यको होइन हाम्रो गल्ती हो, ’ लेनीले भनिन्, ‘हामी हाइरोड लिडर हो भने हाम्रो कामको जिम्मेवारी हामीले लिनुपर्छ ।’
उनले सहकारीका नेतृत्वलाई सम्झाइन्, ‘हामीले काम सही गर्नुपर्छ, सही निर्णय लिनुपर्छ, परिपक्वता प्रदर्शन गर्नुपर्छ र सही कुरामा अडान लिनुपर्छ अनि समय व्यवस्थापन गर्नुपर्छ अन्यथा हामी हाइरोड लिडर बन्न सक्दैनौं । समस्या हामी नै हौं अरु कोही होइन ।’
उनले भनिन्, ‘अरुको उपलब्धिमा हामीले इष्र्या गर्ने होइन खुसी मनाउनुपर्छ । परिणाम र प्रतिफलहरु जस्तो प्राप्त हुन्छ त्यो सहर्ष स्वीकार्ने शक्ति हाइरोड लिडरमा हुनुपर्छ । लेनीले सुनाइन्, ‘हाइरोड लिडरहरुले सदस्यहरुको बृहत्तर हितलाई केन्द्रमा राख्छन् । र उनीहरुले पुरस्कार, सम्मान, पद र अंकहरुमा उपलब्धि खोज्दैनन् । पदलोलुप हुँदैनन् । व्यक्तिगत प्रगति र प्रतिफलको महत्वाकांक्षा राख्दैनन् ।’
हाइरोड लिडरका लागि गोल्डेन रुल नभइ उनीहरुका लागि प्लाटिनम रुल भएको बताउँदै उनले त्यसको ब्याख्या गरिन्, ‘मानिसहरुलाई तिमी कस्तो व्यवहार गर्न चाहन्छौं त्यो रुपमा व्यहार गर्ने होइन बरु उनीहरु आफूलाई कस्तो रुपमा व्यहार गरियोस् भन्ने चाहन्छन् त्यो अनुरुप तिमीले व्यहार गर्नुपर्छ ।’
अरुको सर्वोपरी हितमा निर्णय लिने काम हाइरोड लिडरले गर्नुपर्छ । लेनीले एक ट्याक्सी चालकले आफूलाई घाँटी दुखेको र खोकी लागेको अवस्थामा दुई वटा क्यान्डी दिएर सहयोग गरेको दृष्टान्त जोड्दै भनिन्, ‘जसरी त्यो ट्याक्सी चालकले उसको लागि नभई मेरो लागि सोच्यो र क्यान्डी दिने निर्णय गर्यो त्यसरी नै हाइरोड लिडरले अरुको सर्वोत्तम हितलाई ध्यानमा राखी निर्णय लिनसक्नुपर्दछ । मलाई घाँटीमा समस्या थियो र म खोकी रहेकी थिएँ त्यो देखेर ट्याक्सी चालकले मलाई हित हुने निर्णय लियो ।’
यस्ता मूल्यहरु हाइरोड लिडरमा आवश्यक हुने उनले सम्झाइन् । त्यस्तै, सामना शक्ति भएको लिडरको उनले कुरा गरिन् । सानो तिनो समस्या आउँदैमा त्यसबाट भाग्ने व्यक्ति सहकारीको हाइरोड लिडर नहुने उनले बताइन् । ‘समस्यासँग जुध्ने सामर्थ्र्य हाइरोड लिडरसँग हुन्छ, ’लेनीले भनिन्, ‘समस्यामा हात छोड्दिने काम हाइरोड लिडरले गर्दैन ।’ आफूले भेटेको ट्याक्सी चालकले आफ्नो समस्याप्रति चासो मात्र नराखी क्यान्डी दिएर सहयोग समेत गरेको बताइन् ।
आफ्ना एजेण्डाहरुलाई बारम्बार ध्यान दिइ के म राम्रो काम गरिरहेको छु भनेर लिडरले आफैले आफैलाई सोध्नुपर्ने लेनीले बताइन् । ‘के म मेरा सदस्यहरुमा ध्यान केन्द्रीत गरिरहेको छु ?’ भनेर प्रश्न गर्न छोड्न नहुने उनले बताइन् ।
भावना शक्ति वृद्धि गर्न उनले नेतृत्वलाई आग्रह गरिन् । संवेदनाहरुलाई नियन्त्रण गर्ने शक्ति विकास गर्नुपर्नेमा उनको जोड थियो । व्यक्तिगत स्वार्थलाई नभई सदस्य सेवालाई प्राथमिकतामा राख्ने । के गर्दा सदस्यलाई सेवा पुग्छ त्यसमा ध्यान दिने व्यक्ति नै हाइरोड लिडर भएको लेनीको भनाइ थियो ।
क्रेडिट युनियन अभियानले हाइरोड लिडरहरु खोजेको भन्दै लेनीले ओकूले यही विषयमा ३ दिने तालिम कार्यक्रम निकट भविष्यमै नेपालमा सञ्चालनको तयारी गरिरहेको जानकारी गराइन् ।
साकोस शिखर गोष्ठी २०८२ मा हिजोको लेनीको प्रस्तुति नेफ्स्कून नेतृत्वलाई लिडरशीप बुटक्याम्प झैं लाग्थ्यो । सहकारीभित्र सफ्ट स्किलका कुराहरु लिडरहरुलाई सुनाएझैं लाग्थ्यो । बुटक्याम्पकै विषयवस्तुहरु अटाएको हिजोको उनको प्रस्तुति ‘बुटक्याम्प रिभिजिटेड’ जस्तो लाग्थ्यो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com