३५ वर्षीया बबिता कार्की र उनकी एक मात्र सन्तान १६ बर्षीया एजेलिया कार्कीसँग धिप्री डटकमको भेटको संयोग २०८२ पुस २३ गते बुधबार साँखुस्थित शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायण मेलाको पाँचौ दिन मध्यान्ह जुरेको थियो ।
घाम तापिरहेको व्रतालुहरुको एउटा सानो समूहमा धिप्री डटकमले एजेलियालाई देख्यो । अत्यधिक चिसोका कारण ओठ राम्रैसँग फुटेको थियो उनको । सानी उमेरकी नानी त्यसरी व्रत बसेको देख्दा धिप्री डटकमले जिज्ञासा नराखिरहन सकेन र अनुमति लिएर संक्षिप्त संवाद गरेको थियो । मध्यान्हको पुजाको समय भएकाले लामो वार्ता गर्न नपाएपनि बबिता भन्दै थिइन् व्रत सकिएपछि यसको अनुभव साटुला । त्यसपछि धिप्रीले पनि पछि सत्संग गर्ने वाचासहित नम्बर लियो ।
भगवानको वुलावा
तीनकुने स्थित भीएस निकेतनबाट स्कूल र प्लस टु सकेकी एजेलिया एमबीबीएसको तयारीमा छिन् । तर, उनी हाल एक महिने स्वस्थानी व्रत बसिरहेकी छिन् त्यो पनि साँखुमै बसेर । आफू स्वेच्छाले स्वस्थानी व्रत बसेको उनले बताइन् । भनिन्, ‘भगवानको बुलावा ।’
‘केही वर्षदेखि हामी अलिक आध्यात्मिक नै छौं, ’आमा बबिताले भनिन्, ‘बिष्णु भगवानलाई म दाइ नै मान्छु । भाइटिकानै नारायणथानमा गएर लगाउँछु । छोरी चाहिं बालगोपाल (कृष्णको बालस्वरुप) लाई भाइ मान्छिन् ।’
कसरी बने आमाछोरी आध्यात्मिक ?
साँच्चै भन्ने हो भने धेरै वर्ष अघि मम्मीले त धर्म वा पूजा पाठमा त्यति विश्वास गरिसिन्न थियो । म पनि त्यस्तै थिएँ । एक्कासी एउटा घटना घट्यो । अनि हाम्रो बाटो मोडियो । एजेलियाले बोल्दै गर्दा उनले कुरा मेसो मिलाएर अभिव्यक्त गर्न सक्दिनन् कि भनेर बिचमै आमा बबिताले बोलिन्, ‘हामी भगवानको पुजा नै गर्दैनथ्यौं । खासमा भगवान भनेको ह्रदयमा हुन्छ, आत्मामा हुन्छ । अरुको चित्त दुखाउनुहुँदैन भन्ने लाग्थ्यो । बाहिरी पूजा अर्चनाभन्दा आत्मिक पूजा अर्चनामा विश्वास थियो । तर, २०७७ सालको घटना हो ।
उनले खुल्दुली बढाइन् । र भनिन्, ‘मलाई पलाञ्चोक भगवती आमाको कृपा भयो, । भक्तिभाव जाग्यो । म आफूले आफूलाई श्रीहरिहर अनुरागी नै भन्छु । त्यहीं भएर कृपा भएपछि विगत ५ वर्षदेखि मैले व्यापार, व्यवसाय, जागीर केहीमा ध्यान दिएको छैन ।’
रोचक थियो बबिताको स्टारी । उनले सुनाउँदै गइन, ‘म निजी विद्यालयमा शिक्षण गर्थेँ । भक्तपुरमै । तर, सबै छोडेर अध्यात्म साधनामै लागेकी छु । नित्य पशुपति जाने, बाबाको सेवा गर्ने र पूजापाठ, साधना यस्तै हो । मैले मेरो आमा नै पलाञ्चोक भगवनी, दाइ नै श्रीहरि (विष्णु) अनि श्रीमान् नै पशुपति मानेकी छु ।’ मानिसको खोजी शान्ति हो र यदि शान्ति चाहिन्छ भने अध्यात्मनै त्यो बाटो भएको बबिताले दाबी गरिन् ।
‘२१औं शताब्दीमा जतिनै भौतिक सुख भएपनि, धन दौलत ऐश आराम भएपनि मनैदेखिको शान्ति सबैभन्दा महत्वपूर्ण छ, ’उनले भनिन्, ‘र, त्यो शान्ति तपाईं जहाँ जानुहोस् पाउनुहुन्न, ह्रदयको शान्तिको लागि आफूले आफूलाई बुझ्नै पर्छ । मेरो प्रभाव स्वाभाविक रुपमा छोरीलाई पनि परेको हो ।’
किन स्वस्थानी व्रत ?
कम बोल्ने छोरीको तर्फबाट आमा बबिताले नै हामीलाई बताइन्, ‘हालैको घटना हो । एक रात छोरीको सपनामा माधवनारायणले स्वस्थानीको ब्रत बस भन्नुभयो । शालीनदीमा बसेर ब्रत लिन आउ भनेर बोलाउनुभयो । अनि त्यहीं भएर हामी दुबै ब्रत बसेका हौं ।’
साँखुमै एक महिनाभर बसेर श्रीस्वस्थानीको ब्रत बसेको बबिताको यो समेत गरी तीन पटक पुग्छ । छोरीलाई सहज हुने भएकाले र सँगै आराधना, साधना, पूजा भनेपछि आमालाई पनि मोहित पार्ने भएकाले दुबैजाना सँगै बसेको बबिताले बताइन् ।
फेरि स्थायी घर खोटाङ भई हाल भक्तपुरमा आमाछोरी मात्रै बस्ने भएकाले पनि आमाका लागि छोरीलाई साथ दिनुजस्तो ठूलो कर्तव्य के पो भयो र ? बबिताले पहिलो पटक साँखुमै बसेर व्रत गरिन् । स्थानीय समितिले लगातार एउटै व्यक्तिलाई भन्दा नयाँलाई मौका उपलब्ध गराउने भएकाले उनले दोस्रो पटक एक्लै साधना गर्छु भनेर दुधमात्रै लिएर एक महिना सालीनदिमै बाहिर कोठा लिएर नित्य स्नात तथा पूजा आराधना गरेर व्रत बसिन् । साधनामा उनको समय बित्यो ।
एजेलिया भन्छिन्, ‘यो पाँच दिन एकदम आनन्दपूर्वक बितेको छ ।’ समवयी साथीहरुमा अध्यात्म, धर्म, पूजापाठ, साधना आदिप्रति त्यति लगाव हुँदैन नि भन्ने प्रश्नमा उनी भन्छिन्, ‘सबैको आ–आफ्नो विचार हुन्छ । मलाई यही विचारले तान्यो ।
के छ व्रत विधि ?
एजेलियाले सुनाइन्, बिहान हामी करिब ४ बजेतिर उठ्छौं । करिब साढे ५ बजेतिर अन्य व्रतालुसँगै स्नानको लागि तयार हुन्छौं । सबै व्रतालुलाई यहाँ समितिले बोलाएपछि एकैपटक स्नान गर्छौं । त्यसपछि केही समय आगो ताप्छौं । पूजा गर्छौ, साधना गर्छौं । मध्यान्ह १ बजे पूजा हुन्छ । अरु समय पूजासामान मिलाउने, बत्ती कात्ने, भगवानलाई सम्झने, घाम ताप्ने, बेलुकीको तयारी गर्ने आदि ।
साझ पर्नु अगावै नित्य पूजा हुन्छ । त्यसको लागि सबै व्रतालुले एकैपटक जल लिनुपर्छ । करिब ४५ मिनेट चल्छ नित्य पूजा । त्यसपछि भगवानसँगै हामी सबै साँखु परिक्रमा गर्छौं र जल चढाउँछौं । त्यसपछि आएर खाना बनाएर खाने गर्छौं । मोबाइल कोठामा पुगेपछि मात्रै चलाउन पाइन्छ ।
भगवानको कृपा पर्यो हो तिमीलाई भन्ने हाम्रो प्रश्नमा एजेलिया भन्छिन्, ‘भगवानसँग प्रेम छ । कृपा त थाहा छैन । प्रेम गहिरो भएपछि अवश्य कृपा हुन्छ होला ।’ यो व्रत सकिएपछि झन् त्यो प्रेम गहिरो हुन्छ भन्ने विश्वास दुबै आमा छोरीको छ ।
‘तपाईं आएकै दिनमा महशूस गर्न सक्नुहुन्छ, ’बबिता थप्छिन्, ‘यहाँ यस्तो हुन्छ कि तपाईंले केही गल्ती गर्नुभयो भने एक महिना बस्दाबस्दै त्यो अनुभूति तपाईंलाई हुन्छ । अनि हामी यहीं व्रतको सयममा हिडेर पशुपति शेषनारायण, पनौतीसम्म पनि जानुपर्छ । सबै व्रतालुले । नसक्नेहरुलाई स्ट्रेचरमा समेत हालेर लगिन्छ । महिनावारी भएकाहरुले पनि जानुपर्छ ।’
आमाछोरीको कुरा मिल्छ, मन मिल्छ र भगवान भक्ति पनि । त्यहीं भएर बबिता प्रशन्न छिन् । उनी आफूलाई संसारकै सबैभन्दा भाग्यमानी आमा ठान्छिन् । हर्षविभोर बबिताले धिप्री डटकमलाई सुनाइन्, ‘छोरीलाई जन्म दिएका कारण उनको जन्मदिने आमा र प्रथम गुरु म भएँ । त्यसपछि उनलाई नर्सरी, एलकेजी, यूकेजीदेखि कक्षा २ सम्म आफै ग्रेड टिचर भएर शिक्षा दिएँ, त्यसहिसाबले शैक्षिक गुरु पनि भएँ । र, अहिले अध्यात्ममा पनि अभिप्रेरित गरेँ । आध्यात्मिक गुरु पनि भएँ । सांसारिक गुरु, शैक्षिक गुरु र आध्यात्मिक गुरु पनि । एउटा आमाको लागि यो भन्दा ठूलो खुसी अरु के नै हुन्छ र ?’
यति भएपछि छोरीमा जीवनबोध भएको आमा बबिताको ठम्याइ छ । ‘अब उ जीवनमा हार खाँदिनन्, बबिताले विश्वास बोलिन्, ‘असफलताबाट पनि पाठ सिकेर सफल हुन सक्छिन् । अब उनलाई जस्तै पीडा भएपनि अध्यात्मले खुशी हुन सिकाउँछ । यति बुझ्यो भने त जीवन सरल भैहाल्यो नि !’

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com