काठमाडौं । बिजुलीबजारको 'क्रिस्टल पार्टी भेन्यू' बाट २०८२ साल पुस २६ गते शनिबारदेखि विलोप भएको नेपाल सहकारी पत्रकार समाज (सीजेएन) अन्ततः २०८२ माघ ११ गते आइतबार अनामनगरस्थित 'युनियन हाउस' मा भेट्टिएको छ । त्यसबीच, नयाँ बानेश्वर र अनामनगरका ‘इटरी’हरुमा भएका सघन सिटिङहरुले अन्ततः सार्थकता पाएको छ । हराएको सीजेएन खोज्न पूर्व अध्यक्षहरु सम्मिलित सल्लाहकारहरुको ‘सामूहिक प्रयास’ ले अन्ततः सार्थकता पायो । नेपाल सहकारी पत्रकार समाजको कार्यालयको आडैमा रहेको युनियन हाउसले अर्जुन खतिवडा नेतृत्वको कार्यसमिति त्यो पनि सर्वसम्मत निर्वाचित गर्यो ।
पुस २६ गते शनिबारका लागि १५औं वार्षिक साधारणसभा तथा अधिवेशनको सार्वजनिक सूचना जारी गरेर पुस ७ गते गुप्तबासमा गएको सीजेएन ‘ब्रिफ स्टिन्ट अफ ब्रेक’ पछि माघ ११ गते भेटिएको हो । सीजेएनको आधिकारिक फेसबुक पेजमा त समाचार वा सूचना अझै अपडेट भएको छैन । बरु, सहकारी अभियानमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्नो आधिकारिक फेसबुक पेजमा बधाई तथा अनलाइन समाचारपोर्टल साकोस आवाजमा समाचार प्रकाशित गरिसकेको छ ।
१५औं स्थापना दिवसमा झकिझकाउ फोटाहरु अपलोड गरेको सिजेएन पेज अझै ‘सिरियस स्ट्रोक’ मा देखिन्छ । सिजेएनको नयाँ कार्यसमितिका समाचार पनि केही अधिकारी र पूर्व अधिकारीहरु आवद्ध सञ्चारमाध्यममा मात्रै अहिलेसम्म प्रकाशनमा आएको देखिन्छ । जे होस्, माघको जाडोले पनि धेरै नछोएको सीजेएनको नयाँ कार्यसमिति निर्वाचनको रस्साकस्सीले ‘लाख प्रयासपछि’ अब २ वर्षका लागि आफ्नो लाइन ‘लाउड एण्ड क्लियर’ गरेको छ । अधिवक्ता अर्जुनको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति सर्वसम्मत चुनिएको छ ।
समाजका अन्य जिम्मेवार निकाय हराउँदा धुइपत्ता लागेर ब्रेकिङ, फ्ल्यास वा स्कुप मार्न तम्सिने पत्रकारहरु आफ्नै छाता संघ ‘मिसिङ’ हुँदा मौन रहे । सहकारी अभियान पनि सार्वजनिक वृत्तमा बोलेन । कसो सिजेएनका पूर्व अध्यक्ष (वर्तमान सल्लाहकार) खिलानाथ दाहालले माघ ६ गते (२० जनवरी) फेसबुकमा, 'एकादेशमा नेपाल सहकारी पत्रकार समाज भन्ने संस्था थियो, आजकल कता गएछ, के भएछ !’ भनेर पोष्ट सम्म गर्ने आँट गरे र अरुलाई ज्ञात भयो ।
त्यसको केही दिनपछि उनैले नयाँ कार्य समितिलाई बधाई दिदैं गरेको पोष्टको कमेन्टमा एक पत्रकारले प्रश्न गरेका छन्, ‘एकादेशमा नेपाल सहकारी पत्रकार समाज भन्ने संस्था थियो,आजकल कता गएछ के भएछ ? भनेर सोध्दै हुनुन्थ्यो। साथिहरु 'हामी यता छौं' भन्दै आई त हाले । राम्रो गरून्, पत्रकारको संस्था बन्न र बनाउन सकुन शुभकामना ।’ त्यसको प्रतिकमेन्टमा उनले लेखे, ‘खोजी गरेकोले भेटियो पनि !’
हो, अनि भेटियो सीजेएन
सीजेएनको चुनावी मैदानमा अध्यक्षका लागि दुई आकांक्षी देखिए–निवर्तमान उपाध्यक्ष अर्जुन र सचिव सन्तोष रोकाया । दुबैको उम्मेदवारी समेत परेको थियो । अन्य पदमा समेत बहु आकांक्षीहरु देखिने स्थिति आयो । सहमति र सहकार्यको प्रयास परसर्दै गएपछि सभा र निर्वाचन कार्यतालिका बिथोलिएको थियो । मुख्यतः नेतृत्वको विषयमा पुस २६ गतेको साधारणसभा टुङ्गोमा पुग्न सकेन । त्यसपछि केही दिन हराएको थियो सीजेएन ।
गएको शुक्रबारबाट नयाँ सिराबाट अधिवेशनको पुनः प्रयास गरेपछि आइतबार अर्जुनका लागि फलिफाप सिद्ध भयो । तर, त्यसबीच, सीजेएन व्यवस्थापनमा सल्लाहकारहरुलाई हम्मेहम्मे परेको थियो । सल्लाहकारहरुको सुझबुझपूर्ण ‘लबिङ एण्ड एड्भोकेसी’को नतिजाले सीजेएन धेरै लामो समयसम्म हराउन पाएन । बेलैमा भेट्टियो । नवनिर्वाचित कार्यसमितिमा ४ जना ‘फ्रेसर’ ले इन्ट्री मारेका छन् । एक महिलापनि अटाएकी छिन् ।
यस्तो बन्यो समिति
अर्जुन नेतृत्वको सीजेएनको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नमिता दुलाल, सचिवमा माधव खड्का, सह–सचिवमा हिरा बस्नेत र कोषाध्यक्षमा प्रविण राउत चयन भएका छन् भने इश्वर ढुङ्गेल र श्रीराम दाहाल सदस्यमा समेटिएका छन् । ७ सदस्यीय सीजेएन कार्यसमितिमा केवल एक महिला छिन् । अघिल्लो कार्यसमितिमा २ जना थिए दुलाल र सुधा देवकोटा । नवनिर्वाचित सहसचिव, कोषाध्यक्ष र दुवै सदस्य कार्यसमितिमा नवप्रवेशी हुन् । अब अध्यक्षको प्रस्तावमा २ जना कार्यसमिति सदस्य थपिनेछन् । त्यसमा समावेशीता र सन्तुलनको प्रयास हदैसम्म गर्ने अध्यक्ष अर्जुनले बताए । एक पूर्व अध्यक्ष भन्छन्, ‘आवेदन नै नपरेकोले समावेशी बन्न नसककेको हुनुपर्छ ।’
अर्जुनको काँधमा अभिभारा
२०६८ सालमा स्थापना भएको सीजेएनको पाँचौं अध्यक्ष बने अर्जुन । त्यो पनि सर्वसम्मत । निर्वाचनमै जानुपर्ने अवस्था रोक्न सके । त्यसले थुप्रै 'अरु' मध्ये एउटा राम्रो सन्देश भने दिएको छ । सदस्यबाट सीजेएन प्रवेश गरेका अर्जुन ४ वर्ष सहसचिव, त्यतिनै वर्ष सचिव र पछिल्लो २ वर्ष उपाध्यक्ष भई यो पटक अध्यक्ष चुनिए । अनुभवी अर्जुनले सीजेएनलाई थप व्यावसायिक बनाउन सम्वद्ध पत्रकारहरुको सीप, सक्षमता र सोच सुधारका लागि रणनीतिक योजनासहित कार्यक्रम र सोही अनुरुप बजेटहरु जुटाउनुपर्ने हुन्छ । सदस्यता वृद्धि, असन्तुष्टीहरुको सम्बोधन र संयोजन तथा स्रोतहरुको सुनिश्चिततामा उनले काम गर्नुपर्ने हुन्छ । त्यसमा उनको टीम र सल्लाहकारहरुको सहयोग वाञ्छनीय छ । सँगै अभियान र सरोकारवालाहरुको पनि । यसतर्फ बेलैमा अर्जुनको अर्जुनदृष्टि जानुपर्छ ।
अर्जुनले धिप्री डटकमसँग भने, ‘लोकतान्त्रिक संस्थामा निर्वाचन सम्मुख केही चहलपहल हुनु स्वाभाकि हो । तर, अब सबै मिलेको छ । साथीहरुले मेरो नेतृत्वमा सर्वसम्मत समितिलाई विश्वास गर्नुभएको छ । अब सबैलाई मिलाएर लाने, आवश्यक भूमिका प्रदान गर्ने र सीजेएनलाई थप सशक्त बनाउने काममा नयाँ कार्यसमिति लाग्नेछ ।’
संस्थापक अध्यक्ष यादव हुमागाईले २ वर्ष र त्यसपछिका तीन अध्यक्षहरु क्रमशः डिल्ली सापकोटा, खिलानाथ दाहाल र काजी श्रेष्ठ प्रत्येकले दुई कार्यकाल (४ वर्ष) पूरा गरेको सीजेएनको इतिहासलाई थप उचाइमा लान अर्जुनको काँधमा साँच्चिनै गहन जिम्मेवारी आएको छ । यसलाई उनी स्वीकार्छन पनि । खासगरी, अधिवेशन लम्बिएपछि उब्जिएका आशंका र प्रश्नहरुको दीर्घकालीन समाधान अबको आवश्यकता पनि हो । अघिल्ला निर्वाचनहरुमा यस्तो भएका थिएन । अब सिजेएन हुर्कदै बढ्दै र बलियो हुँदै गएपछि ‘पाइन’ देखाउने अवस्थामा पुगेको हुनुपर्छ । यस विषयमा थप प्रष्ट र सन्तुलित टिप्पणी तयारीका लागि निवर्तमान अध्यक्षसँगको सम्पर्क प्रयास सफल भएन ।
ओखलढुङ्गे अध्यक्ष अर्जुन लामै समयदेखि पत्रकारितामा छन् । केही समयअघि मात्र एक वर्ष अघि अधिवक्ता भएका अर्जुनले दुबै हातमा लड्डु पाएका छन् । दुई डुङ्गामा खुट्टा राखेका उनले सन्तुलन स्थापित गर्ने सूत्र के विकास गर्लान् त्यो भने हेर्न बाँकी छ ।
अर्जुनले मारे बाजी, बिदा भए काजी
अघिल्लो कार्यकालमा उपाध्यक्ष निर्वाचित अर्जुन अब त आफ्नो पालो भनेर ‘अध्यक्ष इन वेटिङ’को रुपमा तम्तयार थिए । केही समयअघि अधिवक्ता बनेका उनलाई अध्यक्ष बन्न पाए पोर्टफोलियो उक्सिन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो । र, उनका लागि कर्म र भाग्य दुबैले साथ दियो यो पटक ।
निवर्तमान अध्यक्ष काजी श्रेष्ठ दुई कार्यकाल पूरा गरी सिजेएनको सल्लाहकारमा उक्लिए । उनको कार्यकालको समीक्षा स्वयं सीजेएन र अभियानले गर्नेनै छ । दुई पटक निर्वाचित हुने बेला र भएलगत्तै गरेका प्रतिबद्धताहरु उनले के कति पूरा गरे । त्यसको उचित र सापेक्ष मूल्याङ्कन गरिनुपर्दछ ।
अनि, करिब ९० हाराहारी सदस्यीय भएको भनिएको सीजेएन झनै साँघुरिदै गएको हो कि भन्ने हामी बाहिर बसेकालाई लागेको हुनसक्छ । नयाँ समिति निर्वाचित हुँदा पनि सदस्यहरुको सहभागिताको सार्वजनिक प्रमाणहरु नभेट्दा प्रश्न उठाउनु ‘धर्म’ बन्छ । सँगै फोटो फ्रेममा निवर्तमान सचिव पनि अटाउन सकेको भए सन्देश झन् स्पष्ट हुन्थ्यो कि ! अध्यक्ष अर्जुनले भने, ‘सहमतिको प्रयास हदैसम्म गरिएको हो । तर, अब निर्णय भैसकेपछि त्यो च्याप्टर क्लोज भयो नयाँ ढंगबाट सबैलाई मिलाएर हामी अघि बढ्छौं । ’
राजनीति ‘ओम्निप्रेजेन्ट’ छ । त्यसमाथि पत्रकारहरुको छाता संगठनमा राजनीति हुँदैन भन्नु, साँझमा सूर्यास्त र बिहान सुर्योदय हुँदैन भन्नु सरह ‘युनिभर्सल ट्रुथ’ मा परिणत भैसक्यो । तर, सिजेएनमा यसरी सतहमै आएको थिएन । यो वर्षबाट श्रीगणेश भयो ।
अब फेरि नहराओस्
‘लस्ट एन्ड फाउन्ड’ सिजेएन अबका दिनमा खोज्न अलिक टाढा जान नपरोस् । बिजुलीबजारबाट हराएको सीजेएन नजिकै अनामनगरमै भेट्टिदा त ठीकै हो धेरै पर गएको थियो भने चाहिं समस्या हुन सक्थ्यो । तर, जे होस् राम्रै भयो । भोलिपल्ट पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको दिन नै नयाँ समिति ‘अफिसिएट’ हुन पाएको भए त्यसले प्रवाह गर्ने सन्देश निःसन्देह अझ फरक हुन्थ्यो । यद्यपि, अबका दिनमा फेरि सीजेएन नहराओस् र बारम्बार भेट्टिने अवसर हामी बाहिर भएकाहरुलाई पनि मिलोस् । अर्जुन नेतृत्वको टीमलाई हार्दिक शुभेच्छा अनि शुभकामना ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com