काठमाडौं । छलफल, कुराकानी गर्ने हेतुले थालिएको ‘अन्तर–विधा’ मार्फत् रिमा केसीको नवीनतम कविता संग्रह वगावतनामा माथि हिजो काठमान्डौमा संक्षिप्त अन्तक्रिया गरिएको छ । प्रेम र विद्रोहका दुई बृहत् पाटाभित्र गुजुल्टिएर बसेका अनेक विषयहरु छन् यसमा । यहाँ पोतिएको छ चिया मजदुर जस्ता अगोचर दुःखीजनका उहापोह । हार्दिक प्रेमको अपरिमित आह्वान । विद्रोहको दुन्दुभि । सामाजिक विभेदका अनेक कुव्यवस्थाविरुद्दका ललकार । अन्य नरमकरम भावको प्रकटीकरण । अध्ययन, अवलोकन, अनुभूति र अनुशीलनका तहगत माध्यमबाट खारिएर अन्तस्करणबाट कविता जन्माएकी छन् उनले । यस अर्थमा हाम्रा समाजका अनेक परिघटनाका साक्षी कविताझैं लाग्छन् । साथै विद्यमान निकृष्टताविरुद्दको सम्झौताहीन प्रहार पनि हो यो संग्रह ।
संग्रहवारे अभियन्ता तथा लेखक राधा पौडेलले भनिन्, ‘हामीलाई कहिले हिंसात्मक वलात्कार गर्छन्, कहिले भावननात्मक वलात्कार गर्छन् । राजनैतिक घोषणापत्र समेत महिलाका विषयमा मौन रहेको यो वेला यी कविताले छुटेका यस्तै विषयहरुलाई समेटेको छ । यी कविताहरुले छद्म चरित्रका मान्छे र प्रर्वत्तिको प्रतिवाद गरेका छन् । कविताले समाजमा रहेका विभेद, क्रूरताको विरोध मात्र गर्दैनन्, विभेदरहित समाजको लागि अपील पनि गर्छन् ।’
त्रिविमा प्राध्यापनरत डा हेम भण्डारीको हेराइमा यी कविताहरुले परम्परागत लेखन मान्यतालाई भत्काएर प्रतिरोधलाई कविताको नयाँ शैली र सौन्दर्यका रुपमा स्थापित गरेका छन् । परम्परागत व्याकरण नै भत्काइदिएका छन् यी कविताले । दोहोरो चरित्रमा बाँचेका, विषाक्त पितृसत्ता तथा सामाजिक विभेदका वाहकलाई कविताबाटै चुनौति दिएकी छन् कवि रिमाले । उनको अभिव्यक्ति साधारण छ तर व्यंग र कटाक्ष मिश्रित यी कविता वडो असरदार छन् । वगावतनामा शीर्षकको सार्थकता राम्ररी झल्कन्छ ।
संग्रहका कवितावारे आफ्नो धारणा राख्दै कवि लक्ष्मी रुम्वाले थपिन्, ‘यी कविताले तल्लो तहमा रहेका तथा वर्गीय उत्पीडनको पीधमा रहेकाहरुप्रति देखाएको समभाव कम अत्यन्तै गाढा छ । वारम्वार पढ्दा पनि कम हुँदैन । सामाजिक घटनाको सूक्ष्म अवलोकनमा आफ्नै अनुभूति मिसाएर लेख्छिन् कवि रिमा । आक्रोश त पोखिएका छन् यहाँ तर अतिरन्जित लाग्दैन । लोभलाग्दो लाग्छ उनको साधारण शब्द चयन तर सशक्त अभिव्यक्ति ।’
कार्यक्रममा सहजीकरण गर्दै गणेश खनियाले वक्ता त्रयसँग संक्षिप्त प्रश्नहरु राखेका थिए । वीचवीचमा दर्शक दीर्घाबाट कवि रिमा तथा तीन वक्ताहरुलाई प्रश्न पनि सोधिएका थिए । अन्तक्र्रियात्मक यस कार्यक्रमको अन्त्यमा कवि रिमाले आफ्नो पहिलो कृति यात्रामा अक्षर बाट एउटा कविता समेत वाचन गरेकी थिइन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com