Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

महाशिवरात्रि पर्व २०८२ को अवसरमा आज प्रभातफेरी (शोभायात्रा)

महाशिवरात्रि पर्व २०८२ को अवसरमा आज प्रभातफेरी (शोभायात्रा)

काठमाडौं । महाशिवरात्रि पर्व २०८२ को अवसरमा आज प्रभातफेरी (शोभायात्रा) कार्यक्रम गरिएको छ । पशुपति क्षेत्र विकास कोष अन्तर्ग महाशिवरात्रि व्यवस्था मूल समारोह समिति २०८२ को आयोजनामा पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट शुरु भएको शोभा यात्रा पशुपति, गौशाला, वनकाली, आदि हुँदै पुनः पशुपतिमै पुगेर सम्पन्न भएको थियो ।

शोभायात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवम् कर्मचारीहरु, स्वदेश विदेशबाट आउनुभएका साधुसन्त महात्माहरु, नेपाली सेना, शसस्त्र प्रहरी, पशुपति वेद विद्याश्रमका शिक्षक एवम् छात्राहरु, लगायत स्थानीय एवम् श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।

DSC07632_11zon.jpg
undefined

पशुपति आगमनको सन्देश प्रवाह गर्न प्रभातफेरी आयोजना गरिएको कोषले जनाएको छ । फागुन ३ गते आइतबार यस वर्षको महाशिवरात्रि पर्व मनाइँदैछ । पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको कोषले जनाएको छ । महाशिवरात्रिका लागि कोषले सम्पूर्ण व्यवस्थापन कार्य पनि उच्च प्राथमिकताका साथ गरेको हिजो पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो ।

 कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले यसपटक महाशिवरात्रि पर्व उल्लासमय वातावरणमा मनाइँने र मनोरञ्जनात्मक भजनकीर्तन पनि गरिने बताए । पशुपति क्षेत्र फूल र बत्तीले आकर्षक रूपमा सिँगार्न थालिएको छ भने रंगरोगन पनि गरिएको छ ।

DSC07679_11zon.jpg
undefined

महाशिवरात्रि पर्वमा नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति रहेको छ । व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्था गर्नका लागि आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने निर्णय भएको जोशीले बताउनुभयो । कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसै अनुरूप काम गरिएको भन्दै उहाँले दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न आह्वान गर्नुभयो । दर्शनका लागि लामो समय प्रतीक्षा गर्न नपर्ने गरी व्यवस्थापन गरिएको जानकारी गराइएको थियो ।

 पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि महाशिवरात्रिकै लागि प्रभावकारी बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ । दर्शनार्थीको सुरक्षामा विशेष ध्यान दिइएको छ । साधुसन्त, महन्थ र भक्तजनको सुरक्षा गर्दै अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।

DSC07749_11zon.jpg
undefined

 सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरी महाशिवरात्रि पर्वलाई सहज रूपमा व्यवस्थापन गर्न लागिएको छ । भक्तजनका लागि स्वास्थ्य सेवाको उचित व्यवस्था गरिएको छ । अस्पतालमा शैया बुक गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, औषधी र एम्बुलेन्स तयार अवस्थामा राखिएको छ । साधुसन्तको व्यवस्थापन मन्दिर परिसरमा गरिएको छ । मन्दिर परिसरस्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ । तिलगंगासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निस्शुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ । यी स्थलमा हजारौँ भक्तजनको भीड जम्मा हुन थालेको छ । 

 भगवान् पशुपतिनाथको दर्शन, चन्दन वितरणसहित दर्शनार्थीको सम्पूर्ण सेवालाई व्यवस्थित गर्नेगरी महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको छ । महाशिवरात्रि पर्वलाई विशेष बनाउन मन्दिर परिसरलाई आकर्षक रूपमा सिँगारिएको छ । 

 पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई फेरि पनि आउने गरी आकर्षित गर्ने गरी तयारी गरिएको छ । पशुपतिनाथ मन्दिर आउने भक्तजनलाई फागुन कृष्ण एकादशी अर्थात् शुक्रबारदेखि नै गुठी संस्थानले खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरेको जनाइएको छ ।

 कोषले विश्व शान्ति शिवतत्वबाट नै हुने भएकाले विश्व शान्तिसँग जोडेर महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको जनाएको छ ।

DSC07740_11zon_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार