Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
सिएमसी काभ्रेमा नयाँ समिति

'सहकारी व्यवस्थापन समूहको क्षमता तथा व्यावसायिकता अभिवृद्धि पहिलो प्राथमिकता'

'सहकारी व्यवस्थापन समूहको क्षमता तथा व्यावसायिकता अभिवृद्धि पहिलो प्राथमिकता'

काठमाडौं । सहकारीको उर्वर भूमि काभ्रेका सहकारी व्यवस्थापनमा संलग्न मानव संशाधनको सक्षमता विकास तथा व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले स्थापित कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रे (सिएमसी काभ्रे) को तेश्रो अध्यक्षका रुपमा ज्योति मिर्मिरे सामूहिक साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल निर्वाचित हुनुभएको छ ।

सिएमसी काभ्रेको २०८२ बैशाख ७ गते बनेपामा सम्पन्न तेस्रो वार्षिक साधारण सभाले आगामी २ वर्षको लागि दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा ठाकुरनाथ अधिकारी, सचिव सुभाष वैद्य, कोषाध्यक्षमा मनोज रायमाझी सँगै सदस्यहरुमा अरुण थापा, पार्वती थापा, यशोदा बोगटी, केसी, गौतम प्रजापति र अनन्त तिमल्सिना सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

यसैबीच, नवनिर्वाचित अध्यक्ष दाहालले धिप्री डटकमसँग कुरा गर्दै जिल्लाका सबै प्रकृतिका सहकारीमा काम गर्ने सबै तहका मानव संशाधनको क्षमता अभिवृद्धि क्लबको पहिलो प्राथमिकता हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘काभ्रेका सहकारी व्यवस्थापकहरुको यो लुज फोरमको प्रमुख उद्देश्य भनेकै सहकारीमा काम गर्ने मानव संशाधनको निरन्तर क्षमता विकास तथा व्यावसायिकता अभिवृद्धि हो । सहकारी भित्रको मानव संशाधन तिखारिएको, सुधारिएको र सबल भएको हेर्ने हाम्रो लक्ष्य हो । यसले मुलुकको सहकारी अभियानलाई नै टेवा पुग्दछ ।’

उहाँले जिल्लाका बचत तथा ऋण मात्र नभई सबै प्रकृतिका सहकारीमा कार्यरत सबै तहको मानव संशाधनको सक्षमता विकासमा जोड दिई जिल्लाको सहकारी व्यवस्थापनलाई बलियो बनाउनेनै सिएमसी काभ्रेको काम भएको उल्लेख गर्नुभयो । ‘यसका लागि सिएमसी काभ्रेले गर्ने काम भनेकै समसायिक विषयवस्तुमा तालिम, शिक्षा र जागरण अभिृद्धि हो ।’ सँगै सहकारी अभिायानका समसमयिक विषयहरुमा बहसपैरवीमा जिल्लास्थित संघहरु, प्रदेश तथा केन्द्रीय संघसँग ऐक्यबद्धता जाहेर गर्ने पनि भएको उहाँले बताउनुभयो । दाहालले भन्नुभयो, ‘यी सबै विषयहरु अन्ततोगत्वा मुलुकको सहकारी अभियानको विकाससँग जोडिएका छन् । यस्ता लुज फोरमहरु पारस्परिकता र सहकारिता प्रवर्धन गर्ने साझा मञ्च हुन् ।’ 

खासगरी सहकारी ऐनमा भएको संशोधन तथा सहकारीका नयाँ संरचनाहरु निर्माणसँगै यस क्षेत्रका व्याप्त समस्याहरु र सम्भावनाहरु केलाउँदै जिल्लाको सहकारी व्यवस्थापन समूहलाई तत्तत् विषयमा अद्यावधिक गराउने र आफ्नो संस्था सञ्चालनमा सहजता पैदा गराउन सिएमसी काभ्रेले सकारात्मक भूमिका निर्वाह गर्ने दाबी अध्यक्ष दाहालले गर्नुभयो । उहाँले भन्नुभयो, ‘सहकारीको छवि सुधारका लागि मानव संशाधनको भूमिका अहम् हुने भएकाले नै सिएमसी काभ्रेले काममा दक्षता र व्यवहारमा निपूर्णता ल्याउने काममा आफ्ना योजनाहरु केन्द्रीत गर्नेछ ।’

२०७८ साल भदौ २ गते दर्ता भएको गैरनाफामूलक प्रकृतिको सिएमसी काभ्रेमा  हाल ६५ जना सदस्य छन् । अबको योजना सदस्यता विस्तार समेत भएको दाहालले सुनाउनुभयो । ‘हामीसँग साधारण र सहयोगी गरी दुई प्रकारको सदस्यता छ, ’ उहाँले भन्नुभयो, ‘सहकारीका व्यवस्थापन प्रमुखहरु साधारण सदस्य रहने र अधिकृत स्तरका कर्मचारीहरु सहयोगी सदस्य रहने व्यवस्था गरिएको छ ।’ दाहालले नयाँ टीम जुझारु र केही गरौं भन्ने खालको बनेको भन्दै त्यसले आफूलाई थप उर्जा मिलेको प्रतिक्रिया जनाउनुभयो ।

दाहाल भन्नुहुन्छ, ‘नयाँ टीममा पनि सबै प्रकृतिका सहकारीको सहभागिता छ भने महिला सहभागिता तथा महिलाहरुले सञ्चालन गरेको सहकारीका व्यवस्थापकहरुको पनि उपस्थितिले सिएमसी काभ्रेलाई सहभागितापूर्ण र समावेशी बनाएको छ ।’

सिएमसी काभ्रेका संस्थापक अध्यक्ष बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत विवेक राज ठकुरी हुनुहुन्छ भने त्यसपछि यसको नेतृत्व सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले गरिसक्नुभएको छ ।

491405324_3957285747820421_6635104136269741456_n.jpg

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार