यो संसार सबैको लागी हो । पृथ्वीमा भएका सबै प्राणीहरूः मानिसहरु, जनावरहरु, बोटबिरुवाहरू, र अन्य जीवित चीजहरू –सबै यस संसारका हिस्सा हुन् र यहाँ बाँच्न पाउने अधिकार छ । कसैलाई पनि यो संसारमा अरूभन्दा बढी अधिकार छैन । संसार साँच्चै सबैको लागि हो तथापि शक्तिको इच्छा, स्रोतहरुको अभावको कारण अस्वस्थ प्रतिस्पर्धा, जटिल सामाजिक संरचना र असमानता, असुरक्षा, भिन्न विचारधारा र विश्वास, लालच जस्ता मानविय स्वार्थका कारण आजको विश्वमा उत्पन्न जटिल सामाजिक, मनोवैज्ञानिक र ऐतिहासिक कारकहरूको परिणाम न्यूनीकरणका लागि समानता, न्याय र सबैको लागि समान अवसर भएको संसारको परिकल्पना अपरिहार्य छ ।
हामी सबै एकअर्कामा निर्भर छौं र यो ग्रह साझा हो त्यसैले हामीले एकअर्काको सम्मान गर्नुपर्छ र यो संसारलाई सबैको लागि राम्रो बनाउन मिलेर काम गर्नुपर्छ । आजको विश्व बजारमा हरेक व्यक्ति आ–आफ्ना लक्ष्य सहित अगाडि बढिरहेको देख्न सकिन्छ जसको ध्येय मुलतः जीवनको गुणस्तरमा निहित छ । जीवनको गुणस्तर एक बहुआयामिक र व्यक्तिपरक छ, जसले व्यक्तिको समग्र कल्याण र आफ्नो मूल्यमान्यताको सन्दर्भमा जीवनका विभिन्न पक्षहरूसँगको सन्तुष्टिलाई प्रतिबिम्बित गर्दछ । यद्यपि यसको कुनै विश्वव्यापी रूपमा सहमत सूची छैन ।
शारीरिक स्वास्थ्य, मनोवैज्ञानिक/मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध, वातावरण, स्वतन्त्रताको स्तर, व्यक्तिगत विकास, आर्थिक/व्यावसायिक स्थिति, आध्यात्मिक कल्याण, जस्ता घटकहरूको सापेक्षिक महत्व व्यक्तिहरू, संस्कृतिहरू र जीवनका चरणहरूमा उल्लेखनीय रूपमा भिन्न हुन सक्छ । जीवनको गुणस्तर एक गतिशील र व्यक्तिगत अनुभव हो । विश्व स्वास्थ्य संगठन (WHO) जस्ता संस्थाहरूले यी मुख्य क्षेत्रहरूमा व्यक्तिको जीवनको गुणस्तरको धारणा मूल्याङ्कन गर्न WHOQOL–BREF जस्ता उपकरणहरू विकास गरेका छन् जसको माध्यमबाट गुणस्तरीय जीवनको मापन गरी व्यक्तिको समग्र कल्याणलाई बुझ्न र अन्ततः सबै मानिसहरूको जीवनस्तर सुधार गर्नका लागि उपयोगीसिद्ध हुन्छ ।
“समृद्ध गुणस्तरीय जीवन'' केवल आर्थिक सम्पन्नता मात्र नभई मानव जीवनका आधारभूत आयामहरु हुन, जसको कारण व्यक्तिको अस्तित्वका विभिन्न पक्षहरूमा विकास र प्रचुरताको अवस्थालाई दर्शाउँदछ । गुणस्तरीय जीवनका सरोकारवालाहरू धेरै हुन्छन्, जसले व्यक्तिको कल्याणका विभिन्न पक्षहरूलाई समेट्छ । यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चासो राख्ने सबै व्यक्ति, समूह वा संस्थाहरू सरोकारवाला हुन् । व्यक्ति, परिवार र हेरचाहकर्ता, स्वास्थ्य सेवा प्रदायक र संस्थाहरू, समुदाय र स्थानीय सरकारहरू, राष्ट्रिय सरकारहरू र अन्तर्राष्ट्रिय संगठनहरू, रोजगारदाता र व्यवसायहरू, शैक्षिक संस्थाहरू, अनुसन्धानकर्ता र शिक्षाविद्हरू, वकालत समूहहरू तथा भावी पुस्ताहरू समेतमा मनोवैज्ञानिक, सामाजिक, वातावरणीय र आर्थिक प्रभाव पार्न सक्ने जो कोही पनि गुणस्तरीय जीवनका सरोकारवालाहरु हुन । तसर्थ कानुनद्वारा सिर्जित देशका कृषक, कालिगड, श्रमिक, न्यून आय समूह एव सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्ने, समुदायमा आधारित, सदस्य केन्द्रित लोकतान्त्रिक, स्वायत्त र स्वशासित सहकारी संस्थाहरु जसका माध्यमबाट आत्मनिर्भर, दिगो एव समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने परिकल्पना गरिएको हुन्छ तिनीहरु त सरोकारवाला भित्र नपर्ने कुरै आएन ।
यद्यपि, हाल देशमा विकसित सहकारी प्रतिको धारणलाई नियामक निकाय समेतको दृष्टिकोणबाट सदस्यहरुको गुणस्तरीय जीवनको महत्वपूर्ण भुमिकामा रहेको सहकारी संस्थाको रुपमा नभै केवल आंशिक रुपमा घटेका केही प्रतिनिधि घटनाहरुमा आधारित भई समग्र सहकारी संस्थालाई एउटै बाकसमा राख्ने र सहकारीको स्वायत्तता, स्वनियमन, अन्तर्राष्ट्रिय सिद्धान्तमा अंकुश लगाई अर्थतन्त्रमा लागेको ग्रहणका कारण सहकारी नै हुन् भन्ने गलत भाष्य निर्माण गरेको पाइन्छ । तर सहकारी संस्थाहरुमा नै गरिब, विपन्न, पिछडिएका व्यक्तिहरु, महिला, बालबालिकाहरुको पहुँचमा पुगी उनीहरुको नाममा बचत खाता खोली आर्थिक क्रियाकलापमा सहभागी भएको दृष्टान्तलाई स्विकार नर्गन खोज्नु केवल दिवास्वप्न मात्र हुन्छ ।
सहकारी संस्थाहरू सदस्य–केन्द्रित र समुदाय–आधारित भएकाले सदस्यहरूको आवश्यकता र आकांक्षालाई सम्बोधन गर्न विशेष रूपमा सक्षम छन् । सहकारीमार्फत समानता, न्याय र सबैका लागि संसारको परिकल्पना सम्भव छ । आजको बदलिदो परिवेशमा आर्थिक उपलब्धि मात्रले गुणस्तरीय अनि समुन्नत जीवनको परिकल्पना सम्भव छैन, जसको निमित्त आर्थिक, सामाजिक, मानवीय र मनोवैज्ञानिक पूँजीको सन्तुलित विकास अपरिहार्य छ । सहकारी संस्थाहरुनै समग्र पूँजी (वित्तीय, सामाजिक, मानविय र मनौवैज्ञानिक) व्यवस्थापन गरी सन्तुलित जीवन पद्धतिको द्योतक बन्न सक्दछन् ।
क) वित्तीय पुँजी
वित्तीय पुँजीले व्यक्तिको आर्थिक सुरक्षाको सुनिश्चित गर्दै आधारभूत आवश्यकताहरूमा पहुँच पुर्याइ आर्थिक स्थिरताको माध्यमबाट तनाव कम गर्दछ । सहकारी संस्थाहरूले सदस्यहरूलाई वित्तीय समावेशीकरणको माध्यमबाट नियमित तथा धन सृजना गर्ने खालका बचत गर्न प्रोत्साहित गरी आवश्यकता परेको बेला ऋण सापटीको सुविधा समेत उपलब्ध गराउँछन् । यसले सदस्यहरूलाई आर्थिक रूपमा स्थिर हुन र अप्रत्याशित खर्चहरू सामना गर्दै आर्थिक स्तरमा सुधार गर्न मद्दत गर्दछ । सहकारी संस्थाहरुनै नै त्यस्तो वित्तीय कारोबार गर्ने संस्था हुन् जसले आफ्ना सदस्यहरुलाई स्थापना कालदेखि नै वित्तीय व्यवस्थापन, बजेट बनाउने, बचत गर्ने तरिका, ऋणको सही उपयोग जस्ता विषयमा शिक्षा र तालिम प्रदान गर्दछन् । सहकारी संस्थाहरुले सदस्यहरूलाई आफ्नो आर्थिक मामिलाहरू राम्रोसँग बुझ्न र सही निर्णय लिन सक्षम बनाउदै सामूहिक रूपमा व्यवसाय सञ्चालन गर्न, उत्पादन बढाउन र बजारको पहुँच प्राप्त गर्न सहयोग गर्दछन् । यसले सदस्यहरूको आय वृद्धि गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्दछ ।
ख) सामाजिक पुँजी
बलियो सामाजिक सम्बन्ध तथा सञ्जालले भावनात्मक समर्थन, सहयोग र आत्मबल प्रदान गर्दछ । सामाजिक पुँजीले एक्लोपन र सामाजिक विभेदको भावनालाई कम गर्दछ, जसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । आवश्यक परेको बेला सहयोग र स्रोतहरू जुटाई समुहिक सक्रियता, स्वामित्व र उद्देश्यको भावना बिकास गर्दछ । सहकारी संस्थाहरूले सदस्य बिचको ऐक्यवद्धता, समुदायमा सहयोग, सहकार्य र स्वामित्वको भावना विकास गरी सामाजिक सम्बन्धहरू बलियो बनाउँदछन् । सदस्यहरूलाई सामाजिक रूपमा सुरक्षित महसुस गर्नुको साथै विपन्न, पछिपरेका समुदाय एवं महिलाहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गरेर आर्थिक तथा सामाजिक अवसरहरू प्रदान गर्दै सामाजिक सेवाहरूमा पहुँच तथा किफायती बनाइरहेका हुन्छन् ।
ग) मानव पुँजी
शिक्षा, सीप र ज्ञानका साथै स्वास्थ्य र कल्याण पनि मानव पुँजीको महत्वपूर्ण हिस्सा हो, जसले शारीरिक र मानसिक रूपमा परिपक्व बनाउदै रोजगारीका अवसरहरू सिर्जना, स्वस्थ जीवनयापन, उच्च आय आर्जनद्वारा व्यक्तिगत विकास र आत्म–सम्मान बढाउँछ । सहकारी संस्थाहरूले सदस्यहरूको स्वास्थ्य, सुरक्षा तथा पर्यावरण संरक्षणमा अतुलनीय योगदान दिदै दिगो विकासका लक्ष्य अनुसार सदस्यहरूको जीवनयापनमा सुक्ष्म रुपान्तरण गराइ वातावरणलाई स्वस्थ र सुरक्षित रुपमा भावी पुस्तान्तरणका लागि योग्य अवस्था निर्माण गर्दछन् ।
घ. मनोवैज्ञानिक पुँजी
आत्मविश्वास, आशावादिता, लगनशीलता र लचिलोपन जस्ता मनोवैज्ञानिक गुणहरूले जीवनमा आइपर्ने कठिनाइहरूको सामना गर्न र लक्ष्यहरू प्राप्त गर्न, सकारात्मक सोच र मानसिक दृढताको विकास गरी तनाव र नकारात्मक भावनाहरूलाई कम गर्दछ । उच्च मनोवैज्ञानिक पुँजी भएका व्यक्तिहरूले नयाँ अवसरहरू खोज्न र जोखिमहरू लाई अवसरमा बदल्दै समग्रमा खुसी र सन्तुष्ट जीवन जिउन अग्रसर गराउँदछ । सहकारी संस्थाहरूले सदस्यहरूको स्वामित्वमा सञ्चालन हुने भएकाले निर्णय प्रक्रियामा सहभागी हुने सदस्यहरुको अवसरले आत्मविश्वास र आत्मसम्मान बढाउने, सामाजिक पहिचान र समर्थन प्राप्त हुने हुँदा एक्लो महसुस हुन दिँदैन र मानसिक शान्ति प्रदान गर्दछ ।
अतः समुदाय–आधारित र सदस्य–केन्द्रित सहकारी संस्थाहरुले सदस्यहरुलाई आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र वातावरणीय क्षेत्रमा सहयोग गरेर गुणस्तरीय जीवनस्तर यापनमा महत्वपूर्ण सहयोग गर्दछन् । विभिन्न प्रकारका पुँजी एकअर्काका परिपूरक हुन् र एकसाथ मिलेर व्यक्तिको जीवनको गुणस्तर निर्धारण गर्दछन् । समग्र पूँजी मध्ये कुनै एक पुँजीको कमी भयो भने, यसले जीवनस्तरमा नकारात्मक प्रभाव पार्न सक्छ ।
त्यसैले, गुणस्तरीय जीवनयापनका लागि सांस्कृतिक, आध्यात्मिक, मनोवैज्ञानिक, भौतिक, प्राकृतिक पुँजीहरु समेतको समग्रतालाई सन्तुलित विकास र व्यवस्थापन गर्नु आवश्यक छ जसले व्यक्तिको कल्याण र जीवनको सन्तुष्टि निर्धारणमा मद्दत गर्दछ । गुणस्तरीय जीवन गतिशील प्रक्रिया हो जुन समय र परिस्थितिसँगै व्यक्ति अनुसार हुने व्यक्तिगत भिन्नता, अनुभव, सामाजिक–सांस्कृतिक पृष्ठभूमि र जीवनका परिस्थितिहरुका कारण फरक हुन सक्दछ । तथापि, सहकारी मुनाफाको निम्ति मात्र संचालित नहुने एक विशिष्ट संगठन हो । यो जीवनयापनको पद्धति हो, ऐक्यवद्धताको नमुना हो अनि समतामुलक समाजको प्रतिविम्ब हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com