Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

लघुवित्त, सहकारी र मिटरब्याज पीडितहरुको आन्दोलनप्रति पूर्व राष्ट्रपतिको ऐक्यबद्धता, गम्भीर हुन सरकारलाई सुझाव

लघुवित्त, सहकारी र मिटरब्याज पीडितहरुको आन्दोलनप्रति पूर्व राष्ट्रपतिको ऐक्यबद्धता, गम्भीर हुन सरकारलाई सुझाव

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका वित्तीय पीडितहरूलाई भेट्दै उहाँले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ । उहाँले पीडितका मागहरूका बारेमा जानकारी लिएको उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर भएर समाधानका उपाय खोज्नुपर्ने सुझाउनुभयो ।

पीडितहरूका समस्या समाधानका लागि विगतको अन्तरिम सरकारले गरेका सम्झौताहरूको स्मरण गराउँदै भण्डारीले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो ।

 ‘धेरै आमा, दिदीबहिनी र नानीहरू केही दिनदेखि आन्दोलनमा हुनुहुन्छ भन्ने जानकारी पाएपछि उहाँहरूको स्वास्थ्य अवस्था बुझ्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन म यहाँ आएकी हुँ। यस समस्यालाई जरैदेखि समाधान गरेर दिदीबहिनीहरूको स्वास्थ्यमा प्रतिकूलता नआओस् र उहाँहरूले फेरि दुःख भोग्न नपरोस् भन्ने मेरो चाहना छ’ धर्नास्थलमा पीडितहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।

पीडितहरूले सरकारले आफ्नो माग र पूर्ववत् सहमतिको बेवास्ता गरेको गुनासो गर्दै  ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’, ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र सङ्घले देखोस् हाम्रो पीडा’ लेखेका प्लेकार्ड धर्नास्थलमा राखेका थिए ।

पीडितहरुले २०८२ माघमा तत्कालीन सरकारसँग भएका सहमति पूरा गर्न माग गर्दै आयोगमा गत साउन २९ गते ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछि आयोगको कार्यालयबाहिर धर्ना सुरु गरेका थिए ।

भण्डारीले सामाजिक न्यायका लागि भइरहेको यस आन्दोलनप्रति ऐक्यवद्धता समेत प्रकट गर्नुभएको छ । भेटका क्रममा आन्दोलनरत पीडितहरूले आफ्ना समस्या र पीडा सुनाएका थिए।

पीडितहरूका तर्फबाट एक सहभागीले आफूहरू विगत चार दिनदेखि धर्नामा रहेको र कतिपय पीडितहरू सुनसरीको इनरुवादेखि १९ दिनको पैदल यात्रा गरेर काठमाडौं आएको जानकारी गराउनुभएको थियो ।

विगत केही समयदेखि लघुवित्त र मिटरब्याजका कारण समस्यामा परेका सर्वसाधारणहरू न्यायको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार