Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
आहतमा राहत

भक्तपुरको पारिजात साकोसद्वारा राहत कोषमा ४ लाख ४० हजार ४ सय सहयोग

भक्तपुरको पारिजात साकोसद्वारा राहत कोषमा ४ लाख ४० हजार ४ सय सहयोग

काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका ५ स्थित पारिजात बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख ४० हजार ४ सय रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष टंकराज काफ्लेले धिप्री डटकमलाई बताउनुभयो । उहाँका अनुसार सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, सल्लाहकार, कर्मचारी र शेयर सदस्यहरुको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्दै पारिजात साकोसले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको हो ।

यसैगरी, संस्थाका निवर्तमान अध्यक्ष एवम् जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुव रायमाझीले विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी गराउनुभयो । पूर्व अध्यक्ष रायमाझीले सहकारीको मूल मर्म, सिद्धान्त र धर्मले पनि राष्ट्रिय संकटको वर्तमान समयमा व्यक्तिगत एवम् संस्थागत रुपमा जे जति जसरी सकिन्छ गर्नुपर्ने भएकाले पारिजात साकोसले त्यही धर्म निर्वाह गरेको बताउनुभयो । 

पारिजात साकोसले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। अध्यक्ष काफ्ले एवम् पूर्व अध्यक्ष रायमाझीले भन्नुभयो, 'यो दुःख घटनामा परी दिवंगत हुनुभएका सबैमा हार्दिक श्रद्धार्पण गर्दछौं र घाइतेहरुको शीघ्र उपचार, बेपत्ताहरुको खोजीमा प्राथमिक रुपमा सरकारको ध्यान जाओस् । सहकारी अभियानको तर्फबाट हामी पनि सरकारको प्रयासमा हातेमालो गर्न तयार छौं ।'

साथै उहाँहरुले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार