Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
१२औं भानुजयन्ती

नेपाली भाषालाई समुन्नत बनाउन भानुभक्तको योगदान अतुलनीय : राष्ट्रपति पौडेल

नेपाली भाषालाई समुन्नत बनाउन भानुभक्तको योगदान अतुलनीय : राष्ट्रपति पौडेल

काठमाडौं । आज २१२औं भानु जन्मजयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ ।

नेपाली भाषा र साहित्यको एकीकरणमा भानुभक्त आचार्यको ऐतिहासिक योगदान रहेको छ । नेपाली भाषालाई लेखनको माध्यममा उतारी जनसाधारणको भाषा बनाउने काममा उहाँको योगदान रहको छ । रामायण जस्तो धार्मिक ग्रन्थलाई नेपालीमा अनुवाद गरी आमजनतासम्म पुर्‍याएका कारण भानुभक्तलाई नेपाली साहित्यको आदिपुरुषको रूपमा मानिन्छ ।  

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित गर्नुभएको थियो ।

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा विसं १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबिच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताउनुभएको छ ।

“भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्‍याउन र यसलाई अझ समुन्नत तुल्याई नेपाली भाषा, साहित्य एवम् संस्कृतिको संवर्धनका निम्ति अतुलनीय योगदान पुर्‍याएको पाइन्छ”, आइतबार आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ, “नेपाली कविताका आदिकवि र भाषाका प्रवर्धक भानुभक्तलाई नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा पनि चिनिन्छ ।”

भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबिच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

भानुभक्तीय रामायण नेपाली भाषा लिपिको प्रवर्धन गर्ने तथा धर्म, कर्तव्य, निष्ठा, सेवाभाव आदि विषयलाई मानवीय जीवनमा उपयोग गर्न सहयोग पुर्याउने रचना भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ ।

भानुभक्तको जन्मस्थललाई साहित्यिक तथा आदिकविको ऐतिहासिक सांस्कृतिकस्थलका रूपमा विकास गर्न सकेमा नै उहाँप्रति हाम्रो सच्चा सम्मान हुने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । उहाँले भानुभक्त आचार्यलाई सम्मानका साथ स्मरण गर्दै सबै नेपालीबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै भाषा संस्कृतिप्रतिको प्रेम, सम्मान एवम् संरक्षण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

नेपालसँगै भारतको दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका देश तथा स्थानहरूमा पनि भानु जयन्ती उत्साहका साथ मनाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार