Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

चालु आर्थिक वर्षको आज अन्तिम दिन, भोलिबाट नयाँ बजेट कार्यान्वयनमा

चालु आर्थिक वर्षको आज अन्तिम दिन, भोलिबाट नयाँ बजेट कार्यान्वयनमा

काठमाडौं । चालु आर्थिक वर्ष आज बुधबारबाट सकिँदैछ । भोलि बिहीबारबाट नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन शुरु हुनेछ । यसका लागि गत जेठ १५ गते उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्बको बजेट सार्वजनिक गर्नुभएको थियो । सरकारले आगामी वर्षमा चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजनासहित बजेट छुट्याएको छ ।

उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोरिने सरकारी योजना छ । यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने योजना छ।

अर्थ मन्त्रालयले नयाँ वर्ष कार्यान्वयनका लागि बजेट कार्यान्वयन मार्गदर्शन बनाइसकेको छ । साउन १ गते नै सबै मन्त्रालय, विभाग, निकायहरुलाई सर्कुलर गरेर बजेट कार्यान्वयनमा लैजाँदैछ । सोही सिलसिलामा आर्थिक वर्ष सकिनु एक साताअगावै  सरकारी खाता  रोक्का गरिएको छ । असार २५ गते रातिदेखि अत्यावश्यक प्रयोजनबाहेक कुनै पनि खर्चको भुक्तानी भएको छैन । कानुनमा राखिएको विषय भएकाले प्रलेनिका र कोलेनिकालाई खाता रोक्काका लागि परिपत्र गरिएको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि मलेनिकाको सहमति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा रहेको छ ।

सरकारले गत जेठ १५ मा २०८२/८३ का लागि ल्याएको बजेटमध्ये कर सम्बन्धी व्यवस्था कार्यान्वनयमा गइसकेका छन् । बजेट संघीय संसदबाट पास भइसकेकाले बिहीबारबाट कार्यान्वयनमा लैजान सरकारलाई कुनै अप्ठ्यारो नरहेको बताइएको छ ।

सरकारले साउन १ गतेबाट बजेट कार्यान्वयनमा लगेर आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको लगानी वृद्धि, रोजगारीको अवसर वृद्धि, पूर्वाधार आयोजना निर्धारित समयमै सम्पन्न हुनेसहित ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार