Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
अन्तर्वार्ता

‘पुरस्कारले कार्यमा उत्प्रेरणा, यात्रामा सावधानी र जोखिममा संघर्ष सिकाउँछ’

‘पुरस्कारले कार्यमा उत्प्रेरणा, यात्रामा सावधानी र जोखिममा संघर्ष सिकाउँछ’

नेपालको सहकारी अभियानमा परिचित नाम हो-इन्द्र घिमिरे । २०५५ सालमा २३ वर्षको उमेरमै सहकारी क्षेत्र प्रवेश गर्नुभएका उहाँ ललितपुरको लगनखेल मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. को प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । साविक हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट उहाँको सहकारी यात्रारम्भ भएको थियो । सहकारी क्षेत्रमा 'सिल्भर जुब्ली' कटाइसक्नुभएका घिमिरेसँग सञ्चालकीय तथा व्यवस्थापकीय दुबै भूमिकाको यथेष्ट अनुभव छ ।

उहाँले ACCU CEO Workshop, इन्टरनेशनल राइफाइसन युनियन (IRU), Swiss Sustainable Finance, CICTAB, IFFCO लगायतका अन्तर्राष्ट्रिय निकायसँगै थुप्रै घरेलु निकायबाट समेत सहकारी सञ्चालनसम्बन्धी प्राविधिक एवम् नेतृत्वदायी तालिमहरु लिइसक्नुभएको छ । घिमिरेलाई हालै नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) ले ३८औं स्थापना दिवसको अवसरमा बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत समेत गरेको छ । यो सम्मानले जिम्मेवारी र चुनौती बढाएको उहाँ बताउनुहुन्छ । जिज्ञासु, स्पष्टवक्ता र मिजासिलो स्वभावका सिईओ घिमिरेसँग धिप्री डटकमले इमेल अन्तर्वाता गरेको छ । प्रस्तुत छ, उक्त अन्तर्वार्ताको सम्पादित अंशः

पुरस्कार प्राप्त गर्दाको अनुभूति बताइदिनुहोस् न ? पुरस्कारले खासमा के गर्छ भन्ने लाग्छ ?
संस्थागत रुपमा हाम्रो साकोसले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेपनि व्यक्तिगत तवरमा सहकारी क्षेत्रबाट प्राप्त यो पहिलो सम्मान पनि हो । त्यसअर्थमा खुसी लाग्नु स्वाभाविक हो । सँगै, जिम्मेवारी र चुनौतीहरु थपिएको महसुश भएको छ ।

मलाई  लाग्छ, पुरस्कारले कार्यमा उत्प्रेरणा, यात्रामा सावधानी र जोखिममा संघर्ष गर्न सिकाउँछ । यो उपलब्धि उत्कृष्टताका लागि नभएर उत्कृष्ट प्रयासका लागि हो भन्ने मेरो बुझाइ छ । अहिलेको सिंगो सहकारी अभियानले सामना गरिरहेको चुनौतीपूर्ण समयमा सहकारी क्षेत्रमा लामो समयदेखि उत्कृष्ट कार्यसम्पादन सहित संस्थागत छवि उच्च बनाउने धेरै मित्रहरु नै यो पुरस्कारको हकदार पनि हुनुहुन्छ । मेरो हकमा उत्कृष्टता भन्दा पनि संस्थागत छवि निर्माणका लागि निरन्तर प्रयास गरेको बाहेक खास केही छैन । 

कसैले तपाईंले ढिलो सम्मान पाउनुभयो पनि भनेको पाइयो ? सहकारी अभियानबाट व्यक्तिगत तवरमा भन्नुपर्दा तपार्ईंले सम्मान पाउन ढिलै भएकै हो भन्ने लाग्छ ?
ढिला सम्मान पाएको होइन अझै केही समय बाँकी थियो जस्तो लाग्छ । संस्थागत रुपमा धेरै सूचकहरुमा बृद्धि गर्न बाँकी नै छ । 

आफूलाई अब भने एउटा कुशल सिईओ बनेँ भन्ने लाग्छ ?
काम गर्ने तथा व्यवस्थापनमा कुशल भन्नु भन्दा पनि एउटा निरन्तर अभ्यासमा लागेको विद्याथी जस्तो लाग्छ । व्यक्तिगत रुपमा त व्यक्तिगत मुल्याँकनहरु पनि हुन सक्छन् । हाम्रो मुख्य लक्ष्य संस्थागत नै हो संस्थालाई त्यो स्टेजमा पु¥याएर संस्थाबाट बिदा हुने चाहना छ । 

सिईओको रुपमा आफूलाई अपडेट र अपग्रेड गरिरहनुपर्छ, होइन ?
हामी दैनिक रुपमा अपडेट हुनुपर्छ । नयाँ नीति तथा नियामकीय प्रबन्धहरुको अध्ययन तथा अभ्यास, व्यवस्थापनको तर्फबाट पारदर्शी सञ्चार, रणनीतक प्रतिबद्धता र सदस्य विश्वासको निर्माणमा ध्यान केन्द्रित गर्नुपर्दछ ।

सहकारी अभियानकै अन्य सिईओको तुलनामा आफूले सिक्नुपर्ने कुराहरु के हुन् जस्तो लाग्छ ? के गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ?
हामी अभियानका साथीहरु बिच तुलना गर्ने होइन । हाम्रो जस्तो बहुल विशेषता भएको समाजमा संस्था संस्था बिच फरक फरक विशेषता हुन्छन् तर विधि र पद्धति एउटै हुनु पर्दछ र हुन्छ । अन्य संस्थाका असल अभ्यासहरु हाम्रा लागि मार्गदर्शक रणनीतिका रुपमा हामीले ग्रहण गर्नुपर्छ । सिक्ने कुराहरु धेरै नै छन र त्यो सिकाइ निरन्तर भइ नै रहेको छ । हामीले सिक्नु पर्ने विषय धेरै छन् । सिकाइमा विश्राम भयो भने त जीवनको ढोका त्यही दिन देखि नै बन्द भइ हाल्यो नी ! 

535886175_1340341601426042_3055384397812553715_n.jpg
सम्मानसँगै सिईओ घिमिरे

सहकारी क्षेत्रका व्यवस्थापकहरुको सीप तिर्खान के गर्नुपर्छ ? 
सहकारी क्षेत्रका ब्यवस्थापकको सीप वृद्धिका लागि नेफ्स्कूनले गरेका प्रयासहहरुप्रशंसनीय छन् । व्यवस्थापकीय ज्ञान सीप र क्षमता अभिबृद्धि तालिम तथा नवप्रवर्तनका कुराहरुमा हामी सधै तयार रहनु पर्दछ । 

सहकारी अभियानलाई थप व्यावसायिक बनाउन तपाईहरु जस्तो जानेबुझेको अनि सम्मान पाएको सिईओहरुको जिम्मेवारी के हुन्छ ? 
हाम्रो जिम्मेवारी व्यक्तिगत र संस्थागत मात्र सिमित हुनु हुन्न । अहिले सिंगो सहकारी क्षेत्रमा देखिएका साझा समस्या समाधानमा सबै संस्थाहरु संस्थागत सुशासन र व्यवस्थापकीय सुधारमा लागि पर्नुपर्दछ । यसका लागि व्यवस्थापनमा आवद्ध साथीहरुको ऐक्यबद्धता आवश्यक पर्दछ, जसका लागि हामी सक्रिय रहनु पर्दछ । 

तपाईंलाई सिईओ भन्दा पनि अभियन्ताका रुपमा बढी चिन्छन् किन होला ?
सहकारी अभियानमा सिईओहरुको पनि भूमिका हुनु पर्दछ । प्राविधिक कुरा नेतृत्वलाई बुझाउन सकेको अवस्थामा अभियानले सही भूमिका निर्वाह गर्छ भन्ने मेरो मत हो । नेतृत्वले कतिपय नीति तथा सहकारी सञ्चालनका विषयमा लबिङ गर्दा संस्थाहरुको व्यवस्थापकीय नेतृत्वसँग परामर्श गर्नुपर्छ भन्ने विषयमा मत राख्दा त्यस्तो अनुभूति भएको हुन सक्छ ।  

देशभरका सहकारीका सिईओहरुलाई के भन्न चाहनुहुन्छ ? (खासगरी तपाईजति एक्स्पोजर, सीप र अनुभव नभएकाहरुलाई)
सहकारी क्षेत्रका हामी ब्यवस्थापन प्रमुखहरु तलबका लागि मात्र सहकारीमा आवद्ध हुनुभएको भए यसक्षेत्रबाट आफुलाई समयमा नै अलग गर्नुहोस् भन्न चाहन्छु । तपाई हाम्रो सामाजिक भूमिका महत्वपूर्ण हुन्छ । सिंगो संस्थाका सदस्य र समुदायले तपाई हामीलाई सामजिक र आर्थिक रुपान्तरणको नेतृत्व गर्ने पात्रका रुपमा हेरेका हुन्छन । 

पछिल्ला नियामकीय व्यवस्थाहरुलाई सिईओ रुपमा हेर्दा समस्या के छन् सहजता के छन् ?
साच्चै आत्मसात् गर्ने हो भने सहकारी संस्थाहरुलाई दशकौं सम्म स्वायत्त र स्वतन्त्र भन्दा पनि स्वच्छन्द रुपमा काम गर्न बानी परेको नै हो । जति संस्थाहरु नेफ्स्कुनको स्तरीकरण कार्यक्रममा आवद्ध भए ती संस्थाहरु नियामकीय परिवर्तनको लयमा छिट्टै आउँछ् । नियामकीय ब्यवस्थाहरु एक्कासी परिवर्तन भएका छन । परिवर्तित व्यवस्थाहरुमा अनुकुलन र समायोजनको समय थोरै भएमा यसले प्रतिस्थापन र विस्थापनमा लैजाने खतरा रहन्छ । मुख्य विषयहरु हिजो पनि कानूनमा नभएका होइनन, एकाध संस्थाले पालना गर्न खोज्दा पनि ती विषयहरु पालनाको वातावरणमा असहज थियो । 

एउटा उदाहरण हामीले ६५/६६ तिर कर्जा जोखिम व्यवस्था गर्दा जरिवाना तिरेका छौ । सहकारी संस्थाको नेतृत्व, व्यवस्थापन र सदस्यमा नाफा, बोनस र खर्चिलो साधारण सभा नगरे संस्था रहदैन भन्ने भ्रम चिर्न नसकेमा नियामकीय प्रबन्धहरु कार्यान्वयनका लागि पुनः चुनौतीहरु थपिनेछन । 

मुलुकको सहकारी क्षेत्रको व्यवस्थापनका मुख्य समस्याहरु, मुख्य कमजोरीहरु के हुन् र तिनको समाधान के कसरी सम्भव छ ?
समग्र सहकारी क्षेत्रको व्यवस्थापनमा अहिले देखिएका मुख्य चुनौतीहरु, न्यून व्यावसायिक दक्षतायुक्त जनशक्ति, अपारदर्शी वित्तीय कारोबार, बोर्डबाट हुने राजनैतिक हस्तक्षेपले व्यवस्थापनमा बायस, सिमित बजार भएको समुदायमा धेरै संख्याका सहकारी रहेका कारण सदस्यहरु अति नै विभाजित भई सदस्य र सदस्यको कारोबारको व्यवस्थापनमा समस्या हुनु र नियमन तथा लेखापरिक्षण नै अप्रभावकारी देखिनु, वित्तीय व्यवस्थापनमा हुने अपारदर्शिता र न्यून सदस्य सहभागिता नै अहिलेका मुख्य चुनौती हुन् । कोभिड पछि नेपालकै विभिन्न व्यापारिक क्षेत्रमा आएका संकुचनका कारण सहकारी क्षेत्रमा ऋण नतिर्ने सदस्यहरुको संख्यामा बृद्धि भएको छ । ऋण असुलीका सबै उपायहरु समेत प्रभावकारी देखिएका छैनन् । 

समाधानका रुपमा हामीले सदस्यँंगको  भेटघाटलाई नियमित बनाउनु पर्दछ । नीतिमा आधारित संस्था सञ्चालन पद्धति बसालियो भने भविष्यमा समस्याहरुको पुनरावृत्ति हुदैन । व्यवस्थापनमा रहने सबै कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि प्रभावकारी तालिम, सदस्य शिक्षा र तालिम, असल अभ्यासहरुको अनुसरण र राजनैतिक हस्तक्षेपको अन्त्य गरी सहकारीको स्वच्छता कायम गर्न सकिन्छ । 

एउटा व्यवस्थापकको चक्षुबाट हेर्दा सहकारी अभियान शुद्ध र सङ्लो बनाउन के गर्नुपर्ला ?
सहकारी संस्थाहरु लामो समय सम्म स्वनियमनका नाममा नो नियमनमा रहेर काम गरेकै हो । सिमित संस्थाहरु स्वनियमनमा रहे । हामी पनि धेरै पछि एक्सेस कार्यक्रममा अवद्ध भएर यसको अभ्यास शुरु गरेका हौं । अझ पूर्ण रुपमा गर्न सकेका छैनौं । यसलाई सफा बनाउन यस अभियानमा लागेका प्रत्येक सदस्यले आफुलाई सफा राख्ने प्रयत्न गर्नु पर्दछ, त्यसबाट नै यसलाई शुद्ध बनाउने नैतिक बल प्राप्त हुन्छ र सफलता पनि मिल्छ । 

देशभरकै उत्कृष्ट सिईओ कहिले बन्ने ?
देशभरको उत्कृष्ट सिईओ बन्ने भन्दा पनि आफ्नो संस्थालाई आगामी ४ वर्ष भित्र पूर्ण सुरक्षित संस्थाको रुपमा स्थापित गर्ने चाहना छ । 

नेफ्स्कूनले के सिकायो ?
सबै कुरा नेफ्स्कूनले सिकायो । २०७० साल तिर नै एक्सेस कार्यक्रममा जान नेफ्स्कूनका हालका प्राचार्य बल्लभ तिमल्सिना, हाल बागमती प्रोस्कूनका सिइओ केशव दाहलले गर्नु भएको सहजीकरणलाई संस्थागत रुप दिन नसकिएकोेमा मलाई अहिले पनि अलिक फरक महशुस हुन्छ । जब हामी नेफ्स्कुनमा स्तरीकरण कार्यक्रममा जोडियौं, नीतिगत र कार्यप्रणालीमा ब्यापक परिवर्तन आएको छ । विषम परिस्थितिमा पनि हामीले संस्थालाई सहज सञ्चालन गर्न सक्ने बनाएको नै नेफ्स्कुनले गर्दा हो । 

बागमती प्रोस्कूनको सञ्चालक कहिले र किन छोड्नुभयो ? 
बागमती प्रोस्कून दर्ता गर्दा संस्थाको सचिव थिएँ र संघ दर्ताका समयमा संघको सचिवालयले गर्ने प्रायः सबै कार्य मैले गरेको थिएँ । एक कार्यकाल सञ्चालक बन्ने कुरा आयो । तर, म संस्थामा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएँ पश्चात व्यवस्थापकीय जिम्मेवारी लिएको मान्छेले अभियानको नेतृत्व गर्नु हुन्न भन्ने महसुस भयो । सँगै सुशासनको दृष्टिकोण पनि जोडियो । यी दुबै कारणले जिम्मेवारी छाडेँ ।

अबको ५ वर्षपछि इन्द्र घिमिरेलाई हामी कहाँ पाउँछौं ?
अबको ५ वर्ष पछि पनि मलाई सहकारी क्षेत्रमा नै पाउनु हुन्छ तर भूमिका फरक पनि हुन सक्छ । तर सहकारी क्षेत्रका विषयमा नै कर्म गरिहेको हुनेछु । 

अबको ५ वर्षपछि हाम्रो साकोसलाई हामी कहाँ पाउँछौ ?
अबको ५ वर्ष भित्र हाम्रो साकोसलाई ब्राण्डेड संस्थाको रुपमा पाउनु हुनेछ । 

साँच्चै ब्राण्ड पाउने चाहिं कहिले ? ब्राण्ड पाउनलाई चुनौती के के छन् ?
काम गर्दै जाउ कुनै न कुनै दिन ब्राण्ड पाइन्छ । कम्तिमा ४ वर्ष त कडा परिश्रम गर्नैपर्छ । सुशासनका विषयहरुमा हाम्रो साकोसको बोर्ड र व्यवस्थापन स्पष्ट छ । चुनौतीहरु प्रशस्त छन आजका चुनौती भोलिका अवसर हुन् । यिनलाई चिर्दै अघि बढ्नु पर्छ । 

यो वर्षको संस्थाको नीति, कार्यक्रम तथा व्यावसायिक लक्ष्य के छन् ?
नियामकीय प्रबन्धहरुमा परिवर्तनसँगै नीति तथा व्यावसायिक योजना परिमार्जन गर्दैछौ । यो वर्ष गैह्र बित्तीय सम्पत्ति व्यवस्थापन र खराब कर्जा असुली मुख्य विषय रहेका छन् । साथै परिवर्तित नियामकीय व्यवस्थाहरुसँग बोर्ड र व्यवस्थापनलाई समायोजन गर्द अघि बढ्नु पर्ने महत्वपूर्ण विषय छन् । 

यो वर्षको क्लोजिङ कस्तो भयो ? सदस्यहरुले अपेक्षा के गर्ने ?
यो वर्षको क्लोजिङ खासै उत्साहजनक भएन । कर्जा जोखिम र गैह्र वित्तीय सम्पत्ति जोखिम खर्चका कारण सदस्यले चाहे जस्तो लाभांश प्रदान गर्न सक्ने अवस्था छैन । गैह्र वित्तीय सम्पत्तिको जोखीम ब्यवस्थापन थप चुनौतीपूर्ण छ । मासिक बचतमा ब्याज बृद्धि गरेका छौ र ऋणी सदस्यहरुको हकमा ऋणको ब्याजदर घटाएका छौ ।  प्रविधिहरु मार्फत छिटो छरितो सेवाहरु प्रदान गरेका छौं । सहकारी नाफा भन्दा सेवाका लागि हो भन्ने कुरा सदस्यहरुलाई बुझाउँदै छौं ।

संस्था स्थापना  २०५५ साल फागुन १३ गते 
सदस्य संख्या ७३०१
पुरुषः  ४५२९ 
महिला २७७२
बाल बचतकर्ता ४२५
शेयर पुँजी १३ करोड ६२ लाख
बचत १३३ करोड
ऋण लगानी ११९ करोड
संस्थागत पूँजी  १६ करोड ४ लाख
नेफ्स्कूननमा आवद्ध २०६५ साल
एक्सेसमा आवद्धता २०७८ साल
कार्यक्षेत्र काठमाण्डौ, ललितपुर, भक्तपुर






 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार