विषय प्रवेशः
मानव सभ्यताको विकाससँगै विभिन्न आर्थिक प्रणालीहरू उदय भएका छन् । ती आर्थिक प्रणालीहरू उत्पादन–वितरणका साथै समाज, राजनीति र संस्कृति, मुल्य प्रणाली, श्रम, रोजगार, शिक्षा, स्वास्थ्य, जीवनस्तर, प्रविधि, नवप्रवर्तन र समग्र विकासका स्वरूपसँग जोडिएका हुन्छन् । विभिन्न आर्थिक प्रणालीहरु मध्ये मुख्य रुपमा समाजवाद र पूँजीवाद दुई विपरीत धारमा अगाडि बढिरहेका आर्थिक प्रणाली वा विचारधाराहरु हुन् ।
समाजवाद एक सामाजिक आर्थिक विचारधारा हो । जसको मुख्य मुल्य समानता, सामुहिक स्वामित्व र सामाजिक न्याय हो । समाजवादी विचारले उत्पादनका साधनहरु (जस्तै भुमि, पूँजी, प्राकृतिक स्रोत, श्रम) को स्वामित्व प्रत्यक्ष वा परोक्ष रुपमा केही पूँजीपतिहरुमा निहित नभई राज्य, समाज वा सहकारीमा हुनुपर्दछ भन्ने मान्यता राख्दछ । फलस्वरुप, आर्थिक असमानता (पूँजीको पहुँचमा) न्यून हुँदै जान्छ ।
सहकारी र समाजवाद दुबैको आधारभूत दर्शन समानता, सामूहिकता, सहयोग र सामाजिक न्यायमा आधारित छ । समाजवादले सिद्धान्तगत रूपमा वर्गविहीन समाजको परिकल्पना गर्छ भने सहकारीले त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने सूक्ष्म आर्थिक इकाइको रूपमा काम गर्छ । त्यसैले, सहकारीलाई “समाजवादतर्फको व्यावहारिक बाटो” भनेर व्याख्या गर्न सकिन्छ ।
यद्यपि, सहकारी न समाजवाद मात्र हो, न त पूँजीवाद मात्र । यो दुवै विचारधाराको टकराव र अन्तरक्रियाबीच उभिएको एउटा “मध्य बाटो” हो । नेपालको सन्दर्भमा राज्यले मिश्रित अर्थब्यवस्था (Mixed Economic System ) अगिंकार गरेको छ । यसर्थ, नेपाल न त शुद्ध पूँजीवादी मुलुक हो न त पूर्ण समाजवादी । नेपालको अर्थतन्त्र बजार नियन्त्रित अर्थव्यवस्था (Capitalist) र राज्य नियन्त्रित अर्थव्यवस्था (Socialist) दुबैको मिश्रणबाट सञ्चालन हुन्छ ।
नेपालको संविधानले सहकारीलाई “अर्थतन्त्रको तेस्रो खम्बा” भनेर परिभाषित गरेको छ, जस अनुसार सरकारी, नीजि र सहकारी क्षेत्रको सहकार्ययुक्त मिश्रित अर्थतन्त्र हो । मिश्रित अर्थव्यवस्थाभित्र आजको वास्तविकता के छ भने सहकारीहरू पूँजीवादको ओगमा परिरहेका छन् । पूँजीवादी बजार, प्रतिस्पर्धा, नाफामुखी सोच र पूँजीको असमान पहुँचका कारण सहकारीको मौलिकता चुनौतीमा परेको छ । त्यसैबीच, सहकारीहरूले अझै पनि समाजवादी मूल्यको यात्रा जारी राख्ने संघर्ष गरिरहेका छन् ।
सहकारीको समाजवादी आधार (The Socialist Basis of Cooperatives)
१. समानता (Equality)
समाजवादः सबै व्यक्तिलाई बराबरी अवसर र स्रोतमा पहुँच दिने पक्षधर हुन्छ ।
सहकारीः “एक सदस्य, एक मत” को सिद्धान्तमा आधारित हुन्छ । सदस्यको लगानी धेरै वा थोरै भए पनि निर्णयमा बराबरी अधिकार हुन्छ ।
यसरी दुवैमा समानताको मूल्य निहित छ ।
२. सामूहिक स्वामित्व (Collective Ownership)
समाजवादः उत्पादनका साधनहरू (भूमि, कारखाना, स्रोत) सामूहिक स्वामित्वमा राखिन्छन् ।
सहकारीः सहकारी संस्था सदस्यहरूको सामूहिक स्वामित्वमा हुन्छ । सदस्यले पूँजी जोडेर संस्था सञ्चालन गर्छन्, नाफा वा सुविधा पनि सामूहिक रूपमा बाँडिन्छ ।
सामूहिक स्वामित्व समाजवाद र सहकारी दुवैको आधारभूत मूल्य हो ।
३. सामाजिक न्याय (Social Justice)
समाजवादः वर्गीय शोषण अन्त्य गरी सबैलाई सामाजिक तथा आर्थिक न्याय दिलाउने उद्देश्य राख्छ ।
सहकारीः नाफाभन्दा बढी सेवामुखी हुन्छ, गरिब, श्रमिक, किसान वा सीमान्तकृत वर्गलाई आर्थिक र सामाजिक रूपले सबल बनाउन खोज्छ ।
सहकारीले व्यवहारमा समाजवादको सामाजिक न्यायलाई मूर्त रूप दिन्छ ।
४. लोकतान्त्रिक सहभागिता (Democratic Participation)
समाजवादः श्रमिक र आमजनताले राजनीतिक, आर्थिक निर्णय प्रक्रियामा सीधा सहभागिता जनाउनुपर्ने मान्यता दिन्छ ।
सहकारीः सदस्यहरूले लोकतान्त्रिक रूपमा प्रतिनिधि छान्छन्, सभा–बैठकमार्फत निर्णय गर्छन्, पारदर्शी शासन प्रणाली कायम हुन्छ ।
लोकतान्त्रिक सहभागिता दुवैमा समान हुन्छ ।
५. सहयोग र पारस्परिकता (Cooperation and Mutual Help)
समाजवादः मानिसबीच सहयोग, परस्पर विश्वास र सहकार्यलाई महत्व दिन्छ ।
सहकारीः सदस्यबीच आपसी सहयोग र सहकार्यकै आधारमा संस्था टिक्छ। व्यक्तिगत भन्दा सामूहिक हित प्राथमिक हुन्छ ।
समाजवादको सहयोगको मूल्य सहकारी जीवन्त अभ्यास हो ।
६. आर्थिक लोकतन्त्र (Economic Democracy)
समाजवादः आर्थिक निर्णयहरू जनताले गर्ने व्यवस्थालाई जोड दिन्छ ।
सहकारीः सदस्यहरूकै लगानी, श्रम र निर्णयबाट सञ्चालन हुन्छ । लाभांश वा सुविधा सदस्यमै बाँडिन्छ ।
यसरी सहकारी समाजवादको आर्थिक लोकतन्त्र को व्यावहारिक मोडल हो ।
७. शिक्षा र चेतना (Education and Awareness)
समाजवादः सामाजिक चेतना र वर्गीय सचेतनाको विकासलाई अनिवार्य ठान्छ ।
सहकारीः सहकारी शिक्षा, तालिम र जानकारीमार्फत सदस्यलाई सचेत, सीपयुक्त र सक्षम बनाउन खोज्छ ।
चेतना अभिवृद्धिको लक्ष्य दुवैमा साझा हुन्छ ।
पूँजीवादको ओग (The Grip of Capitalism)
१. प्रतिस्पर्धा र नाफामुखी सोचको हावी
सहकारी संस्थाहरूले पनि बजारमा प्रतिस्पर्धा गर्नुपर्छ । यसका लागि दक्ष व्यवस्थापन, नाफा कमाउने योजना र लगानीमैत्री रणनीति आवश्यक हुन्छ । तर यसै क्रममा धेरै सहकारीहरू शुद्ध नाफामुखी बन्न पुगेका छन् । सदस्यको जीवनस्तर सुधार भन्दा संस्थाको नाफा ठूलो लक्ष्य बनेको हो कि भन्ने देखिएको छ ।
२. पूँजीको असमानता
ठूला पूँजीपति वा सम्पन्न सदस्यले सहकारीभित्र पनि प्रभुत्व जमाउने प्रवृत्ति देखिन्छ । धनी सदस्यले सजिलै ऋण सुविधा पाउँछन्, ऋण प्राप्त गर्न सजिलै योग्य ठहरिन्छन्, गरिब सदस्य भने प्रक्रियागत अड्चनमा अड्किन्छन् । यो पूँजीवादी असमानताको प्रभाव नै हो ।
३. बजारको दबाब
सहकारी संस्थाहरू पूँजीवादी बजारसँग प्रतिस्पर्धा गर्दा त्यही बजार संस्कृतिमा रुमल्लिन पुगेका छन् । व्याजदर, लगानीका निर्णय, नाफा वितरणका नीति पूँजीवादी वित्तीय संस्थासँगै प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताले प्रभावित हुन्छ ।
सहकारीहरुको उद्देश्य सामुहिक स्वामित्व सहितको आर्थिक गतिविधिमार्फत सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउनु हो, न कि मुनाफा वितरणमा प्रतिश्पर्धा गर्नु । नेपालको विद्यमान कानुनी प्रावधान कै कारण पनि सहकारीहरु शेयर पूँजी बृद्धि गर्न बाध्यछन्, जसकारण ठुलो राशीको शेयर पूँजीमा प्रतिफल दिनको लागि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था विद्यमान छ ।
समाजवादी यात्रामा सहकारीको संघर्ष
१. मौलिकता जोगाउने चुनौती
सहकारीको लक्ष्य सामूहिक हित हो । तर जब पूँजीवादी अभ्यास भित्रिन्छ, व्यक्तिगत हित प्रमुख बन्न थाल्छ र सहकारीहरूले आफ्नो मौलिकता जोगाउँदै समाजवादी मूल्यलाई कायम राख्न गाह्रो हुन्छ ।
२. लोकतान्त्रिक अभ्यास
सदस्यको सहभागिता, समान अधिकार, पारदर्शिता सहकारीको आत्मा हो । तर पूँजीवादको प्रभावले केही व्यक्तिको नियन्त्रणमा सहकारी सिमित हुने खतरा बढेको छ ।
३. सामाजिक न्यायको निरन्तरता
सहकारीले गरिब, सीमान्तकृत, महिलालाई पहुँच दिलाउन निरन्तर प्रयास गरिरहेको छ । पूँजीवादी सोच हावी हुँदा पनि सहकारी अझै सामुदायिक विकासमा समाजवादी स्वर जोगाइराख्न सक्षम छन् ।
सहकारीमा पूँजीवाद हावी हुने रूपहरू
१. व्यक्तिगत नाफाको खोजी – सञ्चालक वा धनी सदस्यले सामूहिक पूँजीलाई निजी स्वार्थका लागि प्रयोग गर्ने ।
२. असमान सेवा वितरण – कमजोर सदस्यलाई ऋण नदिने तर सम्पन्नलाई प्राथमिकता दिने वा सेवा वितरणमा र दरहरुमा असमानता ।
३. राजनीतिक हस्तक्षेप – सहकारीलाई राजनीतिक पार्टीगत फाइदाका लागि प्रयोग गर्नु ।
४. सञ्चालन शैली – सहकारीलाई शेयर बजारमा सूचीबद्ध कम्पनी जस्तै मात्र सञ्चालन गर्ने प्रवृत्ति ।
५. पूँजीपतिहरुको केन्द्रियताः सहकारी संस्था, संघ हुँदै समग्र सहकारी अभियान भित्र समिति, उपसमिति, पदाधिकारी र कयौं अवस्थामा कर्मचारीको रुपमा पूँजीपतिहरुको नियन्त्रण र केन्द्रियता ।
सहकारीको समाजवादी यात्रालाई सबल बनाउन अबको बाटो
१. सदस्य–केन्द्रित रणनीति
सहकारीको पहिलो प्राथमिकता सदस्यको जीवनस्तर सुधार हो । सेवा, सुविधा र लाभ सदस्यलाई नै लक्षित गर्नुपर्छ । साथै संस्थाको व्यवस्थापन एवम् नेतृत्व बुझ्न र गर्न सक्ने गरी सदस्यहरुलाई नै सशक्तिकृत बनाउनुपर्दछ ।
२. पारदर्शिता र सुशासन
नियमित आन्तिरिक एवम् स्वतन्त्र बाह्य लेखापरीक्षण, सदस्यलाई समयमै सूचना दिने, आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउने ।
३. प्रविधिको प्रयोग
डिजिटल बैंकिङ, मोबाईल एप लगायत नविन प्रविधि प्रयोग गरेर पारदर्शिता र सदस्य पहुँच बढाउने ।
४. राज्यको सहजीकरण
सरकारले सहकारीहरुको नियमनका साथ साथै सहकारीलाई प्रविधि, तालिम, वित्तीय सुदृढीकरणमा सहयोग मार्फत आन्तरिक स्वनियमिनलाई सुदृढ गर्नुपर्छ ।
५. समाजवादी मूल्य र पूँजीवादी दक्षता बीच सन्तुलन
सहकारीले समाजवादी मूल्य–समानता, न्याय, सामूहिकता–लाई नछोडी पूँजीवादी दक्षता–व्यावसायिकता, नवप्रवर्तन, प्रतिस्पर्धा–लाई आत्मसात् गर्न सक्नुपर्दछ ।
निष्कर्षः
सहकारी संस्था आज पूँजीवादको ओगमा परेर पनि समाजवादी यात्रामा अडिएको छ । पूँजीवादले सहकारीलाई बजारमैत्री बन्न बाध्य बनाएको छ भने समाजवादले सहकारीलाई सामाजिक न्याय, समानता र सामूहिकताको बाटो देखाइरहेको छ । यही संघर्षभित्र सहकारीको भविष्य लुकेको छ ।
सफल सहकारी त्यो हुनेछ जसले पूँजीवादको दबाबलाई अवसरमा रूपान्तरण गर्दै समाजवादको सपना जोगाउन सक्छ । यदि सहकारीहरूले सामूहिकता भन्दा व्यक्तिगत नाफा वा व्यक्तिगत वा पूँजीपतिहरुको रजगज रोजे भने उनीहरू पूँजीवादी कम्पनी सरहमा सीमित हुनेछन् र यो नै सहकारी अभियानको अवरोहको कारक बन्नेछ । तर यदि सहकारीहरूले सदस्यलाई केन्द्रमा राखी समाजवादी मूल्यमा यात्रा जारी राखे भने, सहकारी संस्था नेपालको मात्र नभई विश्वकै अर्थतन्त्रमा एक सबल वैकल्पिक शक्ति बन्न सक्छ । त्यसैले अबको बाटो स्पष्ट छ, सहकारीहरूले समाजवादको सपना जोगाउँदै पूँजीवादको संघर्षलाई अवसरमा रूपान्तरण गर्नुपर्छ ।
(सहकारी अभियानमा लामो समय उच्च व्यवस्थापनमा रही अनुभव बटुल्नुभएका श्रेष्ठ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का पूर्व सहायक कार्यकारी अधिकृत हुनुहुन्छ ।)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com