Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सहकारीमा काम छैन: दोहोरो पद र टुरिष्ट सञ्चालक

सहकारीमा काम छैन: दोहोरो पद र टुरिष्ट सञ्चालक

मैले पहिला पनि धेरै ठाउँमा भन्या हो कि सहकारीमा सञ्चालक बन्ने मान्छे अन्य संघसंस्था वा राजनीतिमा सञ्चालक वा विशेष जिम्मेवारीमा हुनु हुँदैन भनेर । त्यस विषयलाई धेरैले आफ्नो अधिकार हो हुन पाउनुपर्छ भन्ने तर्क दिए । नीति र कानुनले बन्देज लगाउन नसकेपनि विधि, नैतिकता र सुशासनको हिसाबले यो मान्नुपर्ने विषय हो किनभने सहकारी आफैंमा फोकस्ड भएर लाग्नुपर्ने ठाउँ हो नकि भ्याएका बेलामा लाग्ने मन लागेका बेला आउने । त्यहाँ जनताको थोपा थोपा गरी जम्मा गरेको पैसा हुन्छ र आफ्नो पनि हुन्छ । 

धेरैतिर आवद्द हुँदा सहकारीमा पूर्ण समय दिन सकिंदैन । पद लिनेबेला चाहिँ मरिहत्ते गरेर सहकारीमा आउने अनि पर्याप्त समय नदिने, सधैं व्यस्त जस्तो बन्ने र अन्त बढी प्राथमिकता दिने सहकारीका टुरिष्ट सञ्चालक हुनुभन्दा नहुनु सहकारीलाई हितकर हुन्छ । सहकारी खेलाँची गर्ने ठाउँ होइन त्यहाँ जनताले खाई नखाई दुख गरेर कमाएको पैसा जम्मा गरेका हुन्छन् । त्यसको संरक्षण गर्नु, सही परिचालन गर्नु र उचित प्रतिफल दिनु सञ्चालकको प्रमुख दायित्त्व हो र यी कामका लागि सहकारीले सञ्चालकको पर्याप्त समय, मेहनत र प्रयास माग्दछ । 

त्यस्तै, सहकारी अभियान भित्रैपनि तहगत रुपमा आफैं पदमा किन बस्नुपर्यो र ?  त्यो न जागिर हो, न पेशा । हर ठाउँमा आफूनै हुनुपर्ने ? आफ्नै फोटो देखाउनुपर्ने ? नभए नयाँ खोलेर भएपनि आफू त्यस तहमा हुनैपर्ने ? यस्तो गलत र संकीर्ण सोच किन ? आफ्नो फोटो देखाउन, म त्यहाँपनि यो पदमा छु भनी प्रोफाइल बनाउन सहकारीको पदीय जिम्मेवारीमा नआओैं, तपाईले पर्याप्त समय दिन सक्नुभएको छैन वा सहकारी तपाईको मुख्य प्राथमिकतामा पर्दैन भने तपाईको उपस्थितिले संस्थालाई फाइदाभन्दा बेफाइदा गरेको हुन्छ, याद गर्नुभाछ ? 

उसैपनि सहकारी तपाई जस्ता हुने खाने र टाठा बाठाको अखडा होइन र हुनुहुँदैन । आफैं धेरैतिर हुँदा स्वार्थ बाझिने कुरा पनि रहन्छ। त्यतिमात्र होइन तपाईको त्यस खालको धेरैतिर जोडिएको उपस्थितिले अर्को संभावित सक्षम व्यक्तिलाई सहकारीमा जिम्मेवारीमा आउन छेकबार भएको हुनसक्छ, अर्को संभावित व्यक्ति अवसरबाट वञ्चित भएको पनि हुनसक्छ, कहल्यै यस विषयमा सोच्नुभाछ? तसर्थ म अझैपनि भन्छु, सहकारीमा कम्तिमा सञ्चालक बन्ने व्यक्ति अन्य संघसंस्था राजनीति लगायतमा विशेष जिम्मेवारी र भूमिकामा बस्नु उचित होइन या त्यस्ता मान्छे सहकारीको सञ्चालक बन्नु उचित होइन । कतिले आफू धेरैतिर भएको भनेर गर्व गर्छन्  तर यो गर्व गर्ने विषय होइन, बरु उल्टै लज्जाको विषय हो, विचार गरौं !

dohoro pad sahakari.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार