१. कवि परिचय
नेपाली साहित्यमा उदीयमान कवि सोझो गाउँले समकालीन नेपाली चेतनाका कवि हुन्। उनी समाज, राजनीति र मनोविज्ञानलाई सूक्ष्म रूपमा अवलोकन गर्ने सशक्त दृष्टिकोणका कवि हुन्। युगीन जीवन परिवेश, राजनीतिक विसङ्गति, सामाजिक अज्ञानता र सामूहिक मूर्खतामाथि तीक्ष्ण व्यङ्ग्य उनका कविताका मुख्य विशेषता हुन्। सरल भाषा प्रयोग गर्दासमेत गहिरा अर्थपूर्ण बिम्ब र प्रतीकहरूका माध्यमबाट पाठकलाई आत्मसमीक्षा गर्न बाध्य बनाउनु उनको रचनात्मक विशिष्ट क्षमता हो।
२. कविता परिचय
‘कुनै दिन मैले मुक्ति पाउने छु’ कवितामा कविले व्यक्तिगत मनोदशा, सामूहिक अवचेतन, सामाजिक चरित्र र राष्ट्रिय राजनीतिक विकृतिलाई एउटै फ्रेममा समेटेका छन्। ‘म’ को सूक्ष्म मनोवैज्ञानिक यात्राबाट सुरु भएको प्रस्तुत कविताले अन्ततः सामूहिक अज्ञानता, गलत नेतृत्व, अन्धानुकरण, निराशा र असफलताबारे व्यङ्ग्य गर्दै विवेक र चेतनाको जागरणलाई समाधानका रूपमा प्रस्तुत गरेका छन् ।
३. कविताको रचनाशिल्प
(क) आत्मालोचनात्मक शैली: कविले ‘म’ पात्रद्वारा बोलिने आत्मस्वर प्रयोग गरी पाठकको मनमा आत्मविश्लेषण उत्पन्न गर्छन्। भ्रम, अलमल, अन्तर्द्वन्द्व र अन्तरविरोध यस कविताको मूल प्रवाह हो।
(ख) विम्ब र प्रतीकको सशक्त प्रयोग: यसमा 'कुहिरोमा हराएको काग' दिशाहीनता र अनिश्चितताको प्रतीक हो । 'हुरीमा परेको माहुरी' अस्तित्व जोगाउने कठिनता हो ।
'क्याक्टस चपाउने ऊँट' आफ्नै पीडामा रमाउने मूर्खता हो । 'अगुवा भेडो र पछ्याउने झुण्ड' अन्धानुकरण र नेतृत्व सङ्कटको विम्ब हो । 'आफ्नो घाउ आफै कोट्याउने बाँदर' आत्मविनाशकारी समाजको विम्ब हो । 'कमान्डरबिनाको सिपाही' युगीन राजनीतिक अकर्मण्यता र जवाफदेहिताको अभाव हो । यी विम्बहरूले नेपाली समाजको मानसिक राजनीतिक अवस्थालाई सारयुक्त रूपमा देखाउँछन्।
(ग) मिथकीय सङ्केत स् यसमा ‘सिसिफस’ को प्रयोगले कार्य दोहोरिने, निष्फल प्रयत्न र अनन्त असफलताको दार्शनिक कथालाई वर्तमान नेपाली यथार्थसँग जोड्छ।
(घ) व्यङ्ग्य र वक्रोक्ति स् कवितालाई धारिलो बनाउने मुख्य शिल्प व्यङ्ग्य हो। यसमा राष्ट्रप्रेमको आवरणमा राष्ट्रलाई क्षति पुर्याउनेहरूको दृश्य अत्यन्त प्रभावकारी छ।
(ङ) मनोवैज्ञानिक यथार्थवाद स् आफैँलाई आफैमाथि विश्वास नभएपछि” जस्तो पङ्क्तिले आत्मबलको क्षय, अनास्था र निराशालाई मनोवैज्ञानिक तहमा उतार्छ।
(च) विरोधाभासको संरचना स् कविताले यत्रतत्र विरोधाभास छर्छ । प्रयत्न हुनु तर परिणाम नआउनु, उज्यालोको अविश्वास, प्रलयको पत्यार, सपनाको रुमालबाट धागो तानिनु जस्ता अभिव्यक्तिले सामाजिक अराजकता, व्यक्तित्व द्वन्द्व र चिन्तनगत अस्थिरतालाई प्रतिविम्बित गर्छ।
(छ) प्रयोगवादी चेतनप्रवाह शैली स् सोच र भावनाहरू अचानक बदलिँदै प्रस्तुत हुनु चेतनप्रवाह शैलीको आधुनिक प्रयोगवादी अभिव्यक्ति हो।
४. मुख्य भाव/विचार
(क) व्यक्तिगत सङ्कटको सामूहिक विस्तार: कविले ‘म’ बाट सुरुआत गरे तापनि अन्त्यमा भन्छन्- ''म मात्रै यस्तो होइन रहेछ...'' यसले समस्या व्यक्तिगत नभई सामूहिक अर्थात् राष्ट्रिय मानसिकता नै समस्या भएको पुष्टि गर्छ।
(ख) अन्धानुकरण र नेतृत्व सङ्कट : भेडोको विम्ब नेपाली समाज/राजनीतिको अन्धानुकरण गर्ने प्रवृत्तिको प्रतीक हो। कुनै विवेकबिना पछ्याउने प्रवृत्ति समस्याको मूल कारण देखिन्छ।
(ग) आत्मनिष्ठा र आत्मविश्वासको कमी : ''अरूले नै मलाई चिनाइदिनुपर्छ” भन्ने अभिव्यक्तिले स्वत्वबोध कमजोर भएको समाजलाई प्रतिनिधित्व गर्छ।
(घ) निराशावादले ग्रस्त जनमानस : उज्यालोलाई नपत्याएर अन्धकार अर्थात् प्रलयमा विश्वास गर्ने मानसिक गुणले सामाजिक दोषलाई देखाउँछ।
(ङ) मूर्खता र अज्ञानताको पीढीगत निरन्तरता : कविताले भन्छ- यो रोग केवल व्यक्तिगत होइन, परिवार, गाउँ, राष्ट्रमा समेत फैलिएको छ।
(च) विवेक र चेतना समाधानका साधन : कविताको अन्त्य आशावादी छ। विवेक र चेतनाले मात्रै मूर्खता, अज्ञानता, अन्धानुकरण, अविश्वास, निराशा आदिबाट मुक्ति दिलाउन सक्छ।
(छ) निरन्तर सङ्घर्ष र असफलताको चक्र :सिसिफसको मिथकले परिवर्तनका लागि गरिएको कोसिस निरन्तर भए पनि प्रणालीगत असफलता देखाउँछ। यो नेपाली इतिहासको पुनरावृत्ति हो।
५. युगीन सन्देश
नेपालको वर्तमान राजनीति गतिरोधमा छ । विचारभन्दा भिड प्रभावशाली छ । राष्ट्रिय पहिचान राजनीतिक व्यापार बनेको छ र सुधार चेतनात्मक क्रान्तिबाट मात्र सम्भव छ । त्यसैले कविले मुक्तिको धारणा व्यक्तिगत नभई सामूहिक सामाजिक बौद्धिक स्तरमा खोजेका छन्।
६. निष्कर्ष
सोझो गाउँलेको यो कविता समकालीन नेपाली समाज, राजनीतिक जगत् र नागरिक मनोविज्ञानको सशक्त दर्पण हो। कविता व्यक्तिगत निराशाबाट सुरु भई परिवार, समाज, राष्ट्र र अन्ततः मानसिक चिन्तनात्मक मुक्तिको अभिलाषामा समाप्त हुन्छ। मुक्तिको आशा विवेक र चेतना नामक सन्तानसँग जोडिनुले कवितालाई दार्शनिक उचाइ दिन्छ। यो कविता केवल व्यङ्ग्य होइन आत्मसमीक्षा, आत्मजागरण र चेतनाको घोषणापत्र हो।
(डा. तुलसी गौतम)
कविता : 'कुनै दिन मैले मुक्ति पाउने छु'
अचेल मलाई आफैदेखि दया लागेर आउँछ
आफ्नो हालत देखेर आफैलाई हाँसो उठ्छ
आफैलाई आफैमाथि व्यङ्ग्य गर्न मन हुन्छ
आफ्नो अज्ञानता सम्झेर दुःख लाग्छ
आफ्नो मूर्खतासँग झोक चल्छ
आफूभित्रको अन्तरविरोधमा अल्झिएर
कुहिरोमा हराएको काग भएको छु
आफूभित्रको अन्तर्द्वन्द्वमा फसेर
हुरीमा परेको माहुरी भएको छु
यस्तो विरोधाभासपूर्ण जीवन बाँच्नु
आफैँमा ठुलो सजाय हुँदोरहेछक्याक्टस चपाउँदा मरूभूमिमा
आफ्नो ओठबाट निस्केको रगतलाई
क्याक्टसको रस ठानेर स्वाद मान्ने ऊँटझैँ
अथवा साँघु तरिरहेको अगुवा भेडो
खुट्टो चिप्लिएर खोलामा खस्दा
पालैपालो खोलामा हाम फाल्ने
पछाडिका अरु भेडाहरूझैँ
अथवा आफ्नो घाउ आफै कोट्याएर
आफैलाई पीडा थपिरहेको बाँदरझैँ
अथवा कमान्डरबिनाको किंकर्तव्यविमुढ सिपाहीझैँ
मैले गर्नुपर्ने के हो ?
म के गरिरहेको छु ?
कुनै अत्तोपत्तो नपाएर
यसरी नै सधैँ भड्किरहेको हुन्छुआफैमाथि विश्वास नभएपछि
कसैमाथि भरोसा नहुँदो रहेछ
आशङ्काको आगोले झन्
आफ्नै मन डढाउँदो रहेछम को हुँ ?
अरूले नै मलाई चिनाइ दिनुपर्छ
मैले के खोजेको हुँ ?
अरूले नै मलाई बताइ दिनुपर्छ
म आफै बल्न सक्दिन
कसैले सलाइ कोरिदिनुपर्छ
म आफै निभ्न जान्दिन
कसैले पानी खन्याइ दिनुपर्छ
'मिरमिरे उज्यालो भइसक्यो
अब सुनौलो बिहानी उदाउँछ'
भन्यो कसैले भने पटक्कै विश्वास लाग्दैन
तर 'सृष्टिमा प्रलय आउँदै छ' भन्ने खबर
कहीँ कतै सुनेँ भने
म एकदम छिटो पत्याइहाल्छु
कान नछामी कागको पछि कुद्नु
र न्याउरी मारेर पछुताउनु
यी मेरा विशेषता नै हुन्सपनाको रुमालमा एक छेउमा बुट्टा भर्न
अर्को छेउबाट धागो तानिरहेको हुन्छु
रहरको राजमार्गमा एक ठाउँको खाल्डो पुर्न
अर्को ठाउँको पिच खनिरहेको हुन्छु
कहिलेकाहीँ खुसीको एक पेग लिऊँ भन्दा
आफ्नै आँसुले भरिएको प्याला उठाइरहेको हुन्छु
सुख भन्नु मेरा लागि मृगतृष्णा भएको छ
म पहाडको टुप्पोमा ढुङ्गो अड्याउन नसक्ने
सिसिफसजस्तो भएको छुम मात्रै यस्तो हुँ कि सोचेको
म मात्रै यस्तो होइन रहेछु
मेरो परिवार पनि मजस्तै रहेछ
मेरो गाउँ पनि मजस्तै रहेछ
मजस्तै रहेछ मेरो देश पनि
गलामा राष्ट्रिय झन्डा भिरेर
राष्ट्रको शरीरमा आगो झोस्नेहरू
मेरा आफ्नै दाजुभाइ रहेछन्
म मात्र मजस्तो रहेनछु
मेरो मूर्खता मेरो मात्र रहेनछ
मेरो अज्ञानता मेरो मात्र रहेनछयो अज्ञानता र मूर्खताबाट मुक्ति पाउन
हरेक पटक म आफैसँग युद्धको शङ्खघोष गर्छु
हरेक पटक म लडाइँको मैदानमा ओर्लिन्छु
किन्तु, हरेक पटक मेरो बलिदान खेर जान्छ
हरेक पटक मैले गरेको सङ्घर्ष माटोमा मिल्छ
आफ्नै जीवनको नदीमा परेको भूमरीभित्र
बर्सौँदेखि यसरी नै फसिरहेको छु
तर मलाई आशा छ
मेरा दुई सन्तान-विवेक र चेतना हुर्केपछि
तिनीहरूले मेरो उद्धार गर्ने छन्
र जिन्दगीभर रिँगाटा लाउने यो गोलचक्करबाट
मैले सधैँका लागि मुक्ति पाउने छु ।।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com