Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कतै हामीले अग्रज स्रष्टाहरुप्रतिको सम्मानको संस्कृति भुलेका त होइनौं ?

कतै हामीले अग्रज स्रष्टाहरुप्रतिको सम्मानको संस्कृति भुलेका त होइनौं ?

काठमाडौं । हामीले अग्रज स्रष्टाहरुको सम्मानको संस्कृति भुल्दै गएको हो कि भन्ने सम्बन्धमा साहित्यकारहरुले गहिरो चासो व्यक्त गरेका छन् । अग्रजहरुको सम्मान समृद्ध राष्ट्रको पहिचानसँग जोडिएको भन्दै उनीहरुले यस किसिमको संस्कृतिको निरन्तरता मात्र नभइ व्यापकताको आवश्यकतामा जोड दिएका छन् । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा सखी प्रतिष्ठानले आज काठमाडौंको मैतीदेवीस्थित देवकोटा संग्रहालयमा आयोजना गरेको स्रष्टा सम्मान एवम् कविता वाचन समारोहमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले भने, ‘अग्रज स्रष्टाहरुको सम्मानको संस्कृति हामीले बसाउनै सकेनौं । त्यस्तो संस्कृति बसाउनुपर्छ । प्रज्ञा प्रतिष्ठानको नेतृत्वको हिसाबले म सबैलाई आग्रह गर्छु, हामी प्रत्येकले अग्रज स्रष्टाहरुको सम्मानको संस्कृति स्थापित गर्नुपर्छ ।’

DSC02528_11zon.jpg
स्रष्टा सम्मान एवम् कविता वाचन समारोह

कुलपति राईले देवकोटाको नाममा निर्माण गरिएको संग्रहालयबारे धेरै नेपालीलाई थाहा नै नभएको जीकिर गरे । ‘देवकोटाको संग्रहालयमा मैतीदेवीमा छ भन्ने धेरै नेपालीहरुलाई नै थाहा छैन, ’उनले भने, ‘यस्तो संग्रहालयमा आउने, घुम्ने, देवकाटाको बारेमा बुझ्ने, संस्कृतिनै निर्माण भएको छैन ।’

गत वर्ष आफू चिनको छेन्दु शहर जाँदा चीनको १३ सय वर्ष अघिका महान कवि तुफुको नाममा निर्माण गरिएको सानो संग्रहालय अवलोकन गर्न दैनिक बीसौं हजार आन्तरिक पर्यटक पुग्ने गरेको प्रसङ्ग कोट्याउँदै कुलपति राईले भने, ‘हाम्रोमा देवकोटाको संग्रहालयमा त्यस प्रकारको भीड किन नभएको ? राज्यको दोष हो कि हाम्रो दोष हो ?« राज्य भन्नु नै हामी भएको बताउँदै उनले दोष हाम्रो समाजमा रहेको उल्लेख गरे । विदेशमा भने स्रष्टाहरुको सम्मान हुने उदाहरण उनले प्रस्तुत गरे ।

सामाजिक तथा साहित्यिक संघ संस्थाहरुले अग्रज स्रष्टाहरुको सम्मान गर्नु भनेको स्रष्टाहरुको सामाजिक अनुमोदन गर्नु सरह भएको उनले बताए । कुलपति राइले भने, ‘राज्यले गर्ने लाखौंको सम्मान भन्दा सानो सामाजिक तथा साहित्यिक संघ संस्थाले गर्ने सम्मान समाजबाट बढी अनुमोदित हुन्छ । कुनै पनि विषयलाई समाजले अनुमोदन गरेपछि मात्र त्यो सामाजिक बन्छ र ठूलो हुन्छ । त्यो विशेष बन्छ । त्यो समाजको बन्छ ।’ यद्यपि, सम्मान र चर्चामा अतिरञ्जना भने हुन नहुने उनले बताए ।

DSC02494_11zon (1).jpg
स्रष्टा सम्मान एवम् कविता वाचन समारोह

कार्यक्रममा सम्मानित व्यक्तित्वमध्येका एक वैरागी काइँलाले देवकोटा, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा नजन्मेको भए नेपाली साहित्यको अवस्था कस्तो हुन्थ्यो भनी त्रिमूर्तिहरुप्रति सम्मान प्रकट गरे । उनले देवकोटाको साहित्य, भाषा र अध्ययन अनि अन्तर्राष्ट्रिय प्रभावको विराटताको चर्चा गर्दै महाकविसँग जोडिएर सम्मानित हुन पाउँदा गौरव महशुस भएको बताए । उनले देवकोटाको हिमालचुलीमा र आफू तल झोला बोक्दै गरेको सानो मान्छे भनेर महाकविको अग्लो उचाइको कुरा झिके । 

कार्यक्रम सञ्चालक एवम् कवि मणि लोहनीले भने, ‘अहिले हामीमा सबैभन्दा बढी छुट्दै र घट्दै गएको चीज भनेकै अग्रजप्रतिको सम्मान हो । उनले कार्यक्रममा बैरागी काइँलाले देवकोटा, सम र पौड्याल यदि हुँदैनथे भने नेपाली साहित्यको अवस्था के हुन्थ्यो भनी सम्मानभाव व्यक्त गरेको प्रसङ्ग उल्लेख गर्दै भने, ‘वैरागी काइँलाज्यूले महाकविका बारेमा जुन सम्मानभाव व्यक्त गर्नुभएको छ, त्यसले पनि हामीले अग्रजहरुलाई नबिर्सौ भन्न प्रेरित गर्छ ।’

DSC02475_11zon.jpg
कवि मणि लोहनी

कार्यक्रममा देवकोटाका छोरा डा. पद्म देवकोटाले विज्ञान र धर्मको द्धन्दसँग जोडिएको आफ्ना पितासँग सम्बन्धित आदेश्वर मन्दिरको संस्मरण सुनाए । देवकोटाको अंग्रेजी निबन्ध ‘चिकनब्रथ’ सँगै अन्य रचनाहरुमा पनि  धर्म र विज्ञानको टकरावको विषय समाहित भएको उनले बताए ।

कार्यक्रममा वैरागी काइँला, मदनकृष्ण श्रेष्ठ, ज्ञानु राणा, पुजा चन्द र सुनील सङ्गमलाई सम्मानित गरिएको थियो । सम्मानित व्यक्तित्वहरु मदनकृष्ण श्रेष्ठ, ज्ञानु राणा र पुजा चन्दले पनि आफ्नो धारणा राखेका थिए । श्रेष्ठले दुई कविता सुनाए, राणाले गीत गाइन् अनि चन्दले पनि कविता सुनाइन् ।

DSC02388_11zon.jpg
स्रष्टा सम्मान एवम् कविता वाचन समारोह

कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलले देवकोटाको योगदान, सम्मान्ति स्रष्टाहरुको चर्चा, देवकोटाका कविताका पंक्तिहरुसँगै कार्यक्रममा सहभागिताका लागि सबैप्रति कृतज्ञता समेत व्यक्त गरेकी थइन् । महाकवि देवकोटाकी पनातिनी समेत रहेकी  प्रतिष्ठानकी अध्यक्ष अनिलले जनजनमा र मनमनमा महाकवि देवकोटा रहेको भन्दै यात्री कविता र मुना मदनका केही हरफ सुनाइन् ।यस्तै, कवि मुरारि सिग्देलले सम्मानित व्यक्तित्वहरूको परिचयसहित नेपाली साहित्य र कला क्षेत्रमा उनीहरुको योगदानको चर्चा गर्दै कृतित्व र सिर्जना बारे प्रकाश पारेका थिए।

DSC02511_11zon.jpg
सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिल

कवि मणि लोहनीले सञ्चालन गरेको कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, वन्दना गौतम, एलिशा ढुङ्गाना, राधा दुलाल कार्की, लक्ष्मण सिटौला, शान्ति रिसाल, कृष्ण बाउसे, रवीन्द्र आशिष 'शैली', सुभाषचन्द्र पौडेल 'भीमफेदीया', मीना श्रेष्ठ, मदनराज थापा, हरिश कल्पित, नरेन्द्रबहादुर श्रेष्ठ, कलानिधि दाहाल, विजयध्वज थापा, मनिला वन्त तथा रश्मि रिमालले कविता वाचन गरेका थिए । अधिकांशले देवकोटासँग सम्बन्धित कविता वाचन गरेका थिए भने कतिले देवकोटाकै कविता पनि वाचन गरेका थिए । प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले स्वागत मन्तव्य राख्दै मुनामदनको केही हरफहरू गाएर सुनाएकी थिइन्। सखी प्रतिष्ठानले प्रत्येक वर्ष देवकोटा जन्मजयन्तीका अवसरमा स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रम राख्दै आएको छ ।

DSC02484_11zon.jpg
कवि कलानिधि दाहाल
DSC02489_11zon.jpg
कवि सुभाषचन्द्र पौडेल 'भीमफेदीया'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार