काठमाडौं । यो पुनम कार्कीको कथा हो । काठमाडौंको मैतीदेवी मन्दिरको आडैमा होटल चलाउने 'कार्की दिदी' को अवस्थाको कथा हो यो । अनि यो, बानेश्वर हाइटमा रहेको एउटा सहकारीमा लामो समयदेखि सदस्य रहेकी कार्की दिदीको होटल (बोलीचालीको भाषामा चिया पसल) र उक्त संस्थाबिचको साइनोको ‘स्टोरी’ हो ।
कथा शुरु गर्नुपूर्व
पत्रकारिता कर्ममा कतिपय कथा (वास्तविकतामा आधारित 'न्यूज स्टोरी') हरु गोप्य सूचना स्रोतका आधारमा लेखिन्छन्, कतिपय पूर्व जानकारीको आधारमा बुनिन्छन् भने कतिपय आकस्मिकताले सिर्जना गरिन्छन् । पुनम कार्कीको कथा तेस्रो खालको सृष्टि हो । देवकोटाको ११७औं जन्मजयन्तीको उपलक्ष्यमा सखी प्रतिष्ठानले विहिबार आयोजना गरेको स्रष्टा सम्मान तथा कविता वाचनको रिपोर्टिङ गर्न समयभन्दा करिब १ घन्टा नै अघि पुगेँ । समयको सदुपयोग गर्न नजिकै चिया पसलमा भित्र पसेपछि बाहिर निस्केको कथा हो यो । र, यो कथा चिया पसलको कथा हो, सहकारीको कथा हो, अनि चिया पसलकी साहुनी र सहकारीकी सदस्य कार्की दिदीको कथा हो ।
कथाभित्रको कथानक
घर र माइत दुबै हालको कोशी प्रदेशमा रहेकी कार्की २०४६ सालमा आफ्नो एक्लो सन्तान छोरीसँग काठमाडौं आइन् । काठमाडौंको खाल्डोमा अवसरको कोदालो खन्न पाइन्छ कि भनेर उनी उ बेला देशको एउटै मात्र राजधानी आइन् । केही वर्ष सिनामंगल बसिन् । तर, जब श्रीमानलाई इराक पठाइन तब आडभरोसा मिल्छ भनेर दिदी बस्दै आएको मैतीदेवीमा कोठा लिएर बस्न थालिन् । विदेशिएका श्रीमान ५ वर्ष इराकमा पसिना बगाएर फर्किए । केही पैसा ल्याएका थिए, त्यसले उनीहरुले बिर्तामोडमा ३ ठाउँमा जग्गा किने । तर, एक पटक छोडेपछि इराक पुनः प्रवेश गर्न नपाइने भएकाले कार्कीका श्रीमान्को त्यहाँ जाने ढोका बन्द भयो । अब गर्ने के ? कार्की दम्पती सोचमग्न भए । ‘उहाँले त पूर्वै जानुपर्छ भन्दै हुनुहुन्थ्यो तर मैले जान्न भनेपछि पसल थाल्यौं, ’चिया र मिठो पकौडासँगै मैले थप जान्न खोज्दा कार्की दिदीले भनिन्, ‘घरसल्लाह धेरै भयो, उहाँ भने अब घरतिरै फर्कनुपर्छ भन्दै हुनुहुन्थ्यो तर मलाई भने काठमाडौं आएपछि यही अवसर सिर्जना गर्नुपर्छ भन्ने लाग्यो र मैले जिद्दी गरेपछि होटल किन्यौं ।’
पुनम कार्कीको होटल बाहिरबाट हेर्दा कुनै शानदार स्टाइलको देखिदैन । ओठमै पानी आउने जस्तो खानेकुराका भेराइटी सजाएर राखिएको पनि छैन उनको होटलमा । बाहिरबाट हेर्दा भित्र फराकिलो होला जस्तो पनि लाग्दैन । करिब ४ वटा कोठा छन् । तर, पार्किङ र अगाडि भने मनग्य खुला ठाउँ छ । यद्यपि, इन्टेरियर र एक्स्टेरियमा विशेष आकर्षण छैन । खै किन हो कुन्नि कार्कीको परिवारले आफ्नो व्यावसायिक प्रतिष्ठान त्यसैलाई बनाए । ‘यही ठाउँमा अरुले पनि होटल नै चलाइरहेका थिए । हामीले ५ लाख रुपैयाँमा किन्यौं, ’उनले भनिन्, ‘यो २०५१ सालको कुरा हो ।’
र, पसल थालेपछि पुनम कार्कीको परिवारले अन्य विकल्पहरु खोज्नै परेन । चिया, चुरोट, समोसा, पकौडा, चाउमिन, मःम आदि बेच्ने थालिन् । खासै ठूलो केही थिएन । ‘र, अहिले पनि हामीले बेच्ने त्यही चिया, कफी, चाउमिन, मःम, थुक्पा, चप, समोसा नै हो, ’मिजासिली कार्की दिदीले भनिन्, ‘भेराइटी केही छैन । त्यही नै हो । तर, पसल सञ्चालन गरेदेखिनै करिब साढे ४ सय समोसा दैनिक बनाउनुपर्ने भयो ।’ पहिला पसल गर्नेले समोसा र अन्य खाजा बनाउन सिकाइदिए नत्र त्यो पनि उनी र उनको श्रीमानले जानेका थिएनन । निक्कै पुरानो लर्ड बुद्ध कलेज र पारी सनवे कलेजका विद्यार्थीहरुको चाप लाग्थ्यो बिहानीपख चिया खाजाको लागि । उबेलामा अन्यत्र होटलहरु नहुँदा विद्यार्थी चाप अहिले भन्दा बढी नै हुने गरेको उनले सुनाइन् । ती मात्र नभइ मैतीदेवी चोकमा रहेको युनिर्भसल कलेजदेखिका विद्यार्थीहरु चिया खाजा खाउन आउथे । ‘पहिला त युनिभर्सलका पनि धेरै विद्यार्थी आउथे, ’शहरीकरणको असर उने सुनाइन, ‘ अहिले भने त्यतातिर पनि होटल खुलेकाले कम आउँछन् ।’
मोरङको सुनवर्सी नगरपालिका अमरदह घर भएकी कार्की दिदीको माइत पथरी हो । हसमुख कार्की दिदीलाई मैले अनलाइनका लागि स्टोरी समेटिरहेको छु भनेपछि उनी एकछिन छक्क परिन् । मैले कन्भिन्स गरेपछि थप सुनाउन तयार भइन् ।
‘दिनमा २५ किलो आलु बेच्थे म । समोसा र आलुचप मात्रैका लागि त्यति आलु । चाउमिन, मःम, चिया चुरोट । मुख्य यति नै हो बेच्ने । त्यहाँभन्दा आइटम मैले थपेको छैन । पहिला सहयोगी दुई जना भएपनि अहिले एउटा बहिनी मात्र छिन् । बहिनीको छोरो पनि यही थियो, दशैंमा गएको आएको छैन ।’
र, उनले विस्तारै वास्तविकता बताइन्, ‘खाइलाइ घुमीफिरी, छोरीको बिहेदान पनि यही पसलको कमाइले गरेँ । छोरीको बिहेमा साढे ११ लाख जति खर्च भयो, नातिनीको पास्नी पनि खर्च गरेर गरेँ ।’ यो सबै यही होटलको कमाइ हो ।’ म पनि थप स्टोरी खोज्न उनको जीवन भित्रै पसेँ ।
‘गर्दा नुहने होइन, थोरै लगानीमा प्रतिफल राम्रो भएको, दिदीले सुनाइन्, ‘ खानेकुरा मिठो हुन्छ भन्छन्, चिया पनि राम्रो छ, एकपटक आएकाहरु बारम्बार आउनुहुन्छ । त्यही भएर होला । व्यापार राम्रो छ । चित्तबुझ्दो छ । ५ लाख लगानी गरेको ठाउँमा पछि २ लाख जतिको सामान थपेँ । त्यति हो । दिनमा ४० पोका दुध अझै बेच्छु । काममा खटिन्छौं । आफूले गरेर आनन्दसँग खान पाएका छौं । सम्पत्ति जोडेका छौं । केहीलाई रोजगारी पनि दिन पाएका छौं । सन्तुष्टि छ मनमा ।’
उनले थपिन्, ‘यो होटलको कमाइबाट ५ वटा ठाउँमा पछि जग्गा थप्यौं ।’ ५ ठाउँमा जग्गा यही होटलको कमाइबाट ? मलाई आश्चार्य लाग्यो । त्यही भावमा उनलाई सोधेँ । उनले भनिन्, ‘हो थप पाँच ठाउँमा । सबै पूर्वतिरै छन् । बेलबारीमा दुईवटा छन् । एउटा २२ लाखमा १४ धूर किनेँ, अर्को २७ लाखमा किनेँ । अर्को साढे १२ धूर १३ लाख ५० हजारमा इटहरीमा छ भने पथरीमा १ कठ्ठा र विर्तामोडमा पनि थोरै छ ।
कथामा सहकारीको 'इन्ट्री'
अब यहाँ कार्की दिदीको कथामा सहकारीको प्रवेश हुन्छ । पुरानो बानेश्वर हाइटस्थित चेतन महिला बचत तथा ऋण सहकारी संस्था लि.। जसको उनी काठमाडौं आएको केही समयपछि नै सदस्य बनिन् । हो, त्यही सहकारीले उनको होस्टेमा हैंसे गर्दै आएको छ । पूर्वका ठाउँ ठाउँमा जग्गा किन्नदेखि छोरीको विवाह वा अरु कुनै ठूलो कार्य गर्दा उनी त्यही सहकारीको शरणमा पुग्छिन् ।
‘एक पल्ट ११ लाख लिएँ, एक पल्ट ९ लाख, ’हाँस्दै उनले सुनाइन्, ‘त्यस्तौ त्यसैगरी थुप्रै पटक लिइसकेँ । लिदै, तिर्दै । लिदै, तिर्दै । अहिले ऋण छैन ।’ सहकारीको कुरा सुनेपछि स्वाभाविक रुपमा मैले थप जिज्ञासा राखेँ । दिदीले भनिन्, ‘मेरो त्यो सहकारीले त मलाई कति सहयोग गरेको छ कति । सहकारीबाट ऋण लियो, समयमै किस्ता तिर्यो अरु केही झन्झट पनि छैन । एकदम सजिलो छ । साँच्चै भन्ने हो भने सहकारीबाट लिएको ऋण तिरेको जस्तो नै लाग्दैन । नसकेको बेला ब्याज मात्र बुझाउँछु तर पसल भएकाले धेरैजसो समय पूरा किस्ता हाल्छु । आफै सहकारीमा गएर बुझाउँछु ।’ एकदम सजिलो भएको छ । त्यो सहकारी नभएको भए त मैले यति जग्गा कसरी जोड्न सक्ने होला र अनि व्यवहार चलाउन यति सहज कहाँ हुन्थ्यो र ?’
उनी महिनामा २ हजार अनिवार्य बचत गर्छिन् । पैसा हुँदा एच्छिक बचत पनि गर्छिन् । सहकारीका बारेमा अरुले जेजस्तो नराम्रा कुरा सुनाए पनि उनलाई खासै असर पर्दैन । उनी आफू मालिक भएको सहकारीका बारेमा ढुक्क छिन् र निर्धक्कसँग कारोबार पनि गर्छिन् । कार्कीले भनिन्, ‘आउँदो साउन १४ गते होटल शुरु गरेको १४ वर्ष पुग्छ भाइ ।
कथाको विर्सजन
कार्की दिदीको मिहेनतमा सहकारीको साथ सुन्दा मन हर्षित भयो । सहकारी क्षेत्रमा छरपष्ट समस्याहरु सुन्ने र तिनबारे रिपोर्टिङ गर्ने क्रममा बेलाबेलामा आइलाग्ने यस्ता स्टोरीहरुले सहकारीको छवि कायम राख्न मद्दत मिलेको भान हुन्छ । सहकारीको हिजोको अस्मिता जोगाउन कार्की दिदीहरु जस्ता सदस्यहरु अनि उनी आवद्ध संस्थाको भूमिका महत्वपूर्ण हुन्छ । पहिलो व्यवसायबाटै सन्तुष्ट कार्की दिदीका यति कुरा सुनिसकेपछि केही थान फोटो खिचेँ । दिदी मख्ख परिन् । मुस्कानसहित पोज पनि दिइन् । दिदीसँग स्टोरी चाँडै पोष्ट गर्ने वाचासहित बिदा भएँ । अनि स्टोरीको लिड र शीर्षक के राख्ने होला भनेर सोच्दै देवकोटा संग्रहालयतर्फ लागेँ ।
कार्की दिदीको चिया पसल वा भनौं होटलको निरन्तरता र त्यो होटलबाटै आर्जन गरेको सम्पत्ति अनि जीवनको सुव्यवस्थाको स्टोरीले थुप्रै सहकारी र तिनको सदस्यहरुलाई प्रेरणा सञ्चार गर्दछ ।अब भन्नुहोस् त, लागेन तपाईहरुलाई कार्की दिदीको करामतको स्टोरी ? सहकारीकी सदस्य कार्की दिदीको करामतको कथा ? उनको स्याबास भन्न मनलाग्ने ‘क्याबात’ कथा ?
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com