साहु महाजनको चर्को ब्याजको ज्यादती अन्त्य गर्न सहकारीको शुरुवात भएको इतिहास पाइन्छ । सहकारीहरुको स्थापनासँगै यसका माध्यमबाट ऋण लिएर आफ्नो आवश्यकता परिपुर्ति गर्न समुदायमा धेरै मानिसहरूलाई सहज भएको छ । आफूसँग मात्रै भएको पूँजीले सुरु गर्न नसकिने योजना, व्यापार, आवश्यकता र सपना सहकारी ऋणको माध्यमबाट साकार बनेका छन् । तर, ऋण लिन जति सजिलो हुन्छ, त्यसलाई समयमै तिर्न,सहकारीको विश्वास कायम राख्न र विश्वसनीय ऋणी बन्न त्यति नै गार्हो छ ।
असल ऋणी बन्ने विषय पैसासँग मात्र सम्बन्धित हुँदैन । यो विषय जिम्मेवारीबोध, वित्तीय अनुशासन र आर्थिक विवेकको समिश्रण पनि हो । वित्तीय अनुशासन जीवनमा धेरै महत्वपूण छ । यसले न केवल हाम्रो वित्तीय स्वास्थ्य सुधार्छ, यसले हाम्रो सामाजिक र व्यक्तिगत छविलाई पनि राम्रो बनाउँछ । सहकारीबाट ऋण लिनु भनेको एक भरोसा प्राप्त गर्नु हो, जुन संस्थाले सदस्य प्रति देखाएको हुन्छ । यो भरोसालाई कायम राख्न असल ऋणी बन्न जरुरी छ । अर्को महत्वपुर्ण कुरा भनेको सदस्यहरुले ऋण सुविधा हो अधिकार होइन भन्ने कुरालाई अनुशरण गर्न अत्यन्त जरुरी छ ।
१. सहकारीमा बचत र ऋण बीचको अन्तरसम्बन्ध:
सहकारी संस्था एक सेवामुखी र सदस्य केन्द्रीत संस्था हो । यसले संस्थामा आबद्ध सदस्यहरुलाई कुनै पनि प्रकारको भेदभाव, नातावाद, कृपावाद नगरी सदस्यहरुको परियोजना तथा आयस्तरको विश्लेषण गरी सहज ढङ्गबाट ऋण प्रवाह गर्दछ र अर्को पाटो यो एउटा व्यावसायिक संगठन पनि हो । सहकारी संस्थामा जम्मा भएको रकमलाई व्यावसायिक ढङ्गबाट ऋणको रुपमा परिचालन गरी तहाँबाट आर्जित रकममध्ये संस्थागत खर्च कटाई, कोष बाँडफाँड गरी बाँकी रहेको रकम अन्तत्वगत्वा संस्थामा आबद्ध शेयर सदस्यहरुलाई नै लाभांश तथा संरक्षित पूँजी फिर्ता कोष मार्फत उचित प्रतिफल प्रदान गरिन्छ ।
सहकारी संस्था ‘एकका लागि सबै, सबैका लागि एक’ को अवधारणाबाट पे्ररित भई संस्थामा आबद्ध हरेक सदस्यले नियमित बचत गर्ने र त्यही बचतलाई आवश्यकता परेको सदस्यले ऋणको रुपमा लिने गरी सञ्चालन भएको हुन्छ । साना–साना बचतको हिस्सालाई एकत्रित गरी सहकारीमा ठूलो पूँजी निर्माण भएको छ र यहाँबाट ऋण लिएर धेरै भन्दा धेरै सदस्यहरु उद्यमी तथा स्वरोजगार बनेका पनि छन् । संस्थामा संकलन भएको बचतलाई उचित परियोजनामा ऋणको रुपमा परिचालन नभएमा संस्थाको व्ययभार बढ्ने भएको हुँदा बचत र ऋणलाई सन्तुलनमा राख्नु पनि उत्तिकै महत्वपुर्ण हुन्छ । अर्कोतर्फ सदस्यहरुमा लगानी भएको ऋण असुली नभएमा सदस्यहरुले जम्मा गरेको सानो÷ठूलो बचत रकम फिर्ता गर्न संस्था असमर्थ हुन्छ तसर्थ बचत र ऋणको काम गर्ने सहकारी संस्थामा बचत र ऋणको अन्तरसम्बन्ध निकै महत्वपुर्ण हुन्छ ।
२. सहकारीका सदस्यहरु असल ऋणी बन्ने कला
क. तोकिएको समयमा नै किस्ता बुझाउने: तोकिएको समयमा नै ऋणको किस्ता बुझाउने बानीले सदस्यप्रति विश्वास बढ्दछ र किस्ता ढिला बुझाउँदा लाग्ने अतिरिक्त शुल्क, हर्जानाबाट पनि बच्न सकिन्छ ।
ख. ऋण लिनुभन्दा पहिले सोचबिचार गर्ने: ऋण लिनुपूर्व आफु वास्तवमै ऋण लिन परिपक्व भए नभएको र ऋण लिएपश्चात नियमित किस्ता बुझाउन सक्ने क्षमता भए नभएको कुराको विश्लेषण गर्नुपर्दछ ।
ग. बजेट बनाउने र अनुसरण गर्ने : आफ्नो आम्दानी र खर्चको हिसाब राख्ने र बजेट बनाउने बानीले खर्च भएर बच्ने पैसाको अवस्था प्रष्ट भईन्छ र लिईएको ऋणको किस्ता भुक्तानीमा सहज बनाउँछ ।
घ. ब्याजदर र ऋणको सर्त बुझेर मात्र सम्झौता गर्ने: ऋण लिनुपुर्व नै ऋणमा लाग्ने ब्याजदर लगायतका सर्तहरु विषयमा पुरा जानकार भएर मात्र ऋण लिने, यसले नियमित किस्ता तिर्न प्रोत्साहन गर्दछ ।
ङ. आपतकालीन कोष बनाउने: आपतकालीन अवस्थामा पनि ऋणको किस्ता तिर्न सक्ने गरी कोष बनाउने, यसले आपतकालीन अवस्थामा पनि किस्ता रोकिन दिँदैन ।
च. ऋणको नियमितता जाँच गर्ने: समय समयमा आफुले ऋण लिएको संस्थामा गएर ब्याजदर घटबढ भएको, आफुले भुक्तानी गरेको ऋणको किस्ता अपुग भए नभएको एकिन गर्नुपर्दछ ।
छ. ऋणको हिसाब किताब राख्ने: आफ्नो ऋण कति बाँकी छ? किस्ता कति पर्छ भनेर टिपोट राख्ने बानीले ऋणको विवरण प्रति अध्यावधिक भईन्छ र ऋण भुक्तानी गर्न बिर्सने समस्या हुँदैन ।
३. असल ऋणी बन्दाका फाइदा के के छन् ?
| व्यक्तिगत | संस्थागत | समुदायगत |
| व्यक्तिगत छवि राम्रो हुन्छ |
संस्थाले सुरक्षित महसुस गर्दछ |
सामाजिक विश्वसनियता बढ्दछ |
| भविष्यमा सहजै ऋण पाइन्छ |
कम जोखिम/उच्च नाफा हुन्छ | वित्तीय संस्था मजबुद हुन्छ |
| मानसिक शान्ति र कम तनाव |
छरितो सेवा पाइन्छ | सामाजिक स्थायित्व र आर्थिक समृद्धी सम्भव हुन्छ । |
| आर्थिक योजना बनाउन सहज | विश्वासिलो सदस्य बनिन्छ | समुदाय उत्प्रेरित हुन्छ |
सहकारी तथा कुनै पनि वित्तीय संस्थाबाट लिएको ऋणलाई सानो सोचेमा अथवा ऋणको किस्ता पछि बिस्तारै तिरौँला भन्ने जस्तो सोचले हामीलाई सहकारीमा खराब ऋणी बनाउन सक्दछ जसको फलस्वरुप माथि उल्लेखित फाईदाहरुको ठीक विपरित हुन जान्छ ।
४. ऋण कहिल्यै मिनाह हुँदैन
सहकारी संस्थाबाट प्रवाह भएको ऋण त्यहि संस्थामा आवद्ध उर्जाशील युवा, वृद्ध बुवाआमा, भर्खरै जन्मेका बच्चाहरु, ज्याला मजदुरी गर्ने सदस्यहरुले संस्थालाई विश्वास गरेर आफ्नो कमाईको स–सानो अंश जम्मा गरेको बचतबाट नै लगानी हुने रकम हो । यस्ता पैसालाई सहकारी संस्थाले ऋणको रुपमा परिचालन गरेपश्चात उक्त ऋणलाई सदस्यहरुले नियमित किस्ताको रुपमा सावाँ र ब्याज भुक्तानी गरेमा सोही पैसाबाट सदस्यहरुले गरेको बचतको ब्याज तथा बचत फिर्ता गर्नुपर्दछ । यो नियमित चक्र हो । यदि यो चक्र नियमित घुमेन भने संस्था सञ्चालन हुन सम्भव हुँदैन । बचत तथा ऋणको कारोबार गर्न सहकारी संस्थालाई कतैबाट पनि अनुदान तथा सहयोग प्राप्त हुँदैन । तसर्थ सहकारीबाट लिएको ऋण तिर्नु हुँदैन भन्नु सहकारीलाई निस्क्रिय बनाउन अग्रसर हुनु हो र कुनै पनि वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी नगरेमा यो सावाँ, ब्याज र हर्जाना गरेर बढ्नै जान्छ । यसलाई चुक्ता गर्नुको कुनै विकल्प नै छैन ।
५. निष्कर्ष
“दिलले होइन दिमागले सोचेर र योजना बनाएर, समयमै तिर्न सकिन्छ” यही हो असल ऋणीको चिनारी । सहकारी संस्था सदस्य–सदस्यहरुबाट नै सञ्चालित हुने एक स्वायत्त संस्था भएको हुँदा यहाँ प्रत्येक सदस्यहरुको उत्तिकै भुमिका रहेको हुन्छ । संस्थामा आवद्ध भएपश्चात संस्थाप्रति निकटतमता बढाउने, बचतमा सहभागी हुने, ऋणलाई सही ढंगबाट परिचालन र नियमित भुक्तानी गर्ने, साधारण सभामा सहभागी हुने, संस्था प्रति चासो देखाउने जस्ता कार्य गर्दा संस्था र सदस्यबीचको सम्बन्ध समधुर हुनुका साथै सबल सहकारी बन्न बल पुग्दछ । सदस्यले मेरो संस्था र म यहाँको मालिक हो भन्ने भावनाको विकास गर्नु अत्यन्त जरुरी छ । धन्यवाद । जय सहकारी ।।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com