ललितपुर । मंसिर २८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भई त्यसै दिन पदभार ग्रहण गरेका प्रा. डा. कुमार इङ्नाम आज पहिलो पटक सहकारी अभियानको सार्वजनिक कार्यक्रममा सहभागी भए । त्यो पनि सानो तिनो जमघट नभई देशैभरबाट ठूलो संख्यामा सहभागी सहकारी अभियानकर्मीहरुमाझ । अनि सँगै मञ्चाशीन थिए मन्त्रालयका सचिव, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष तथा सञ्चालकहरु, सहकारी विभागका रजिष्ट्रार, नेपाल राष्ट्र बैंकका उच्च अधिकारी तथा अभियानका अगुवाहरु । कार्यक्रम थियो, नेफ्स्कूनले आयोजना गरेको साकोस शिखर गोष्ठी २०८२ ।
उनले ठाने ‘मन्त्रीको रुपमा पाएको यो पहिलो र गतिलो अवसरलाई मैले प्रयोग गर्नुपर्छ ।’
जेनजी आन्दोलनको राप र तापमा बनेको सरकारको मन्त्री बनेका अनि कानूनको ज्ञाता प्राज्ञिक व्यक्तित्वले आफ्नो भाषणमा सहकारीका सञ्चालकहरु, अभियानकर्मीहरु, अभियन्ताहरु, नियामकहरु देखि नेपाल राष्ट्र बैंक, राज्य सञ्चालकहरु, लगायत थुप्रैलाई अप्रिय शैलीमा असुहाउँदो ढंगले गाली गरे । मन्त्री र सचिव मदन भुजेलकै पहिलो सार्वजनिक उपस्थिति तथा अभिव्यक्ति थियो आज । दुबैको आशय एकै भएपनि मन्त्री आक्रामक देखिए सचिव शिष्ट ।
आफ्नो शैलीप्रति सहभागीहरुको तत्कालैको प्रतिक्रिया बुझेझैं गरी मन्त्रीले भने पनि, ‘मैले यहाँहरुलाई भन्नुपर्छ, म त्यति प्रिय मान्छे होइन । यहाँहरुले अहिले म यहाँबाट निस्कदा निस्कदै बल्ल गयो फटाहा भनेर भन्नुहोला । भन्नुहोस् मलाई केही आपत्ति छैन । मलाई कुनै डर छैन ।’
विगतमा नेताहरुले राज्यका नियाकमहरुलाई काम नलाग्ने पङ्गु शैलीको बनाएको आरोप उनको थियो । भन्नलाई एक ठाउँमा उनले केही सहकारीका सञ्चालकहरुको गलत नियतलाई दोष दिएपनि अधिकांश सम्बोधन उनले सहकारी क्षेत्रलाई नै गाली गर्नमा खर्चिए ।
उद्घाटन कार्यक्रमपछि चिया गफमा रहेका केही सहकारी अभियन्ताहरुले भने, ‘ग्राउन्डबाट गाली खाने पनि हामी, नियामकबाट गाली खाने पनि हामी अनि मरिमेटेर काम पनि हामी । यो त भएन नि !’
मन्त्रीले ताली पाउन, सार्वजनिक खपतका लागि भाषण गर्न भएन भन्ने उनीहरुको भनाइ थियो । तर, संघ महासंघमै बसेका केहीले मन्त्रीको आजको सम्बोधन ताली बजाएर अनुमोदन गरेकोमा उनीहरुले आश्चार्यभाव समेत प्रकट गरे । कतिले प्रा.डा.मन्त्रीको यस्तो अभिव्यक्ति अनि यस्तो शैली समेत भने । मन्त्रीको अभिव्यक्तिमा अशिष्ट पन थियो, गालीगलौज तथा लाञ्छना थियो अनि उत्तेजना थियो । अनि शैली पनि असुहाउँदो । मन्त्री नियुक्त भएको केही दिनमै सहकारी क्षेत्र र अभियानप्रति यस किसिमको अभियव्यक्तिको सन्देश के जान्छ होला ?
उनको बुझाइमा अल्पता देखिन्थ्यो । मन्त्रालयका कर्मचारीहरुको ब्रिफिङमा पनि समस्या देखिन्थ्यो । उनले सहकारी अभियानलाई गाली गरे, नेफ्स्कूनलाई गाली गरे, स्वनियमनको सिद्धान्तको व्यावहारिक प्रयोगको दृष्टान्त दिदैं खिल्ली उडाए । राष्ट्र बैंकप्रति रोष प्रकट गरे । मालपोतका कर्मचारीहरुलाई गाली गरे । रजिष्टारदेखि सबै नियामकहरुलाई गाली गरे । हिजोका नेताहरुलाई गाली गरे । क्षेत्रगत समस्या भोगिरहेको सहकारीप्रति सामान्यीकृत धारणा राखे ।
कार्यक्रम र सहभागीहरु विचार गरेर मन्त्री, सचिव वा कसैले पनि बोल्नुपर्ने हुन्छ । उनले आजको कार्यक्रम, सहभागीहरु र अवस्था हेरेर नबोलेको भान हुन्थ्यो । मन्त्रीलाई लाग्यो–मैले पिछडिएका समुदायको प्रतिनिधित्व गरेँ , उनका आवाजहरु बोलेँ, विगतका मन्त्रीहरुलाई दोष दिएँ । तर, आम सहभागीहरुले त्यस्तो ठानेनन् ।
उनले आम रुपमा सहकारीहरुलाई एउटै घानमा हाले र भने, ‘सहकारीको धेरै ताण्डव्य परिस्थितिहरु सार्वजनिक भएका छन् । हामीलाई लाज लाग्नुपर्थ्यो । पहिल्यै लाज लाग्नुपर्थ्यो ।’ यद्यपि, राज्यकातर्फबाट सहकारी नियमन कमजोर भएको कुरा भने मन्त्रीले सही ढंगले राखे । उनले भने, ‘हाम्रो सबैभन्दा ठूलो त्रुटि भनेको नियामक निकाय, यद्यपि विगतको ऐनमा पनि रजिष्ट्रारको व्यवस्था थियो, त्यो प्रभावकारी नभएको कारणले हो । नियमन इफेक्टिभ नभएको प्रतिफल स्वरुप सहकारीहरुले राम्ररी काम गर्न सकेनन् ।’
मन्त्रीले गलत गर्ने व्यक्तिहरुको बेलैमा नियमन गर्न नसक्नु राज्यको साह्रै ठूलो कमजोरी भएको बताए । यद्यपि, सहकारी ऐनको पछिल्लो संशोधनले केही राम्रा व्यवस्था गरेको मन्त्रीले बताए । सहकारी कुकृत्यमा संलग्नहरुको खोजीनीति आवश्यक भएको उनले बताए ।
उनले आम सर्वसाधारणको पैसाको सुरक्षा सहकारीमा नभएको तर्क गरे । सहकारीमा जोखिममाथि जोखिम बढ्दै गएको बताए । उनले भने, ‘जसले पैसा गोजीमा मुठ्याउन सक्यो, बोरामा हाल्न सक्यो, उ अझ ठूलो हुँदै गयो । यस्तो कुव्यवस्था, कुसंस्कार हामीले प्रयोगमा ल्यायौं । धिक्कार छ । यस किसिमको व्यवहार हामीले गर्यौं । म व्यक्तिगत रुपमा पनि धेरै मानिसहरु चिन्छु, जसले मकै पोलेको छ, मकै पोलेको पैसा जम्मा गरेर दिनको दुई चार पैसा जम्मा गरेर, दुई चार सय बचाएर राखेको पैसा सबै जोखिममा छ । गाउँघरतिर कुखुराको अण्डा बेचेको छ, एक मुठा साग बेचेको छ, त्यस्तो पैसा खानलाई कसरी मनले मान्छ । कसरी मानेको होला, त्यस्तो कुरा सुन्दा पनि घृणा लागेर आउँछ । त्यस्ता मानिसहरुको अनुहार कल्पना गर्दा पनि म व्यक्तिगत रुपमा आवेशमा आउँछु ।’ हो, उनी आवेशमा आए । र, त्यो आवेशमा होस गुमाएर कति कुरा अपाच्य शैलीमा अभिव्यक्त गरे ।
मन्त्री इङ्नामले भने, ‘म आएको केही दिनमात्र भएको छ, तर यहाँ सचिवज्यू हुनुहुन्छ, मैले उहाँलाई भनिसकेको छु, अहिले जसरी सहकारी पीडितहरु बाटोमा आएर रोइकराइ गरिरहेका छन्, त्यस्ता पीडितहरुको पैसा अरबौं अरबौंमा मुठ्याउने, अपचलन गर्ने, राज्य निरीह बनेर बस्ने त्यस्तो हुनसक्तैन ।’
उनले थपे, ‘कसैले भनेको थियो होला, सहकारीबाट लिएको ऋण सबै मिनाहा गराउँछु । राज्य त्यति धनी छैन र कसैले गरेको गल्ती राज्यले ढाकछोप गर्न मिल्दैन । जसले अपचलन गरेको छ, उनीहरुको घर घडेरी, संसारको जुन कुनामा राखेको भएपनि त्यहाँबाट ल्याएर तिनीहरुलाई घोप्ट्याएर, नाक भुँइमा जोतेर त्यो पैसा असुल गर्नुपर्छ । त्यो राज्यको पैसा हो । राज्यका नागरिकको पैसा बाहिर गएपछि राज्यको पैसा हो । राज्यको पैसा त्यसरी मास्न पाइन्छ ? राज्यको पैसा खाने राक्षसी बेहोरा गर्न पाइदैन । कुनै पनि सहकारी सञ्चालकहरुलाई त्यसो गर्ने अधिकार छैन ।’सहकारी मूल्य, मान्यता, सिद्धान्त, दर्शन र नीतिभन्दा गलत ढंगले सञ्चालित भएका कारण समस्यामा पारेको उनले पनि बोले । सोही कारण सहकारी सर्भाइभ हुन नसेकेको उनले भने ।
उनले नेफ्स्कूनको लामो इतिहास स्मरण गराउँदै भने, ‘किन तपाईंहरुले बचतकर्ताहरुको रकम सुनिश्चित गर्न सक्नुभएन ? यहाँहरुले सोच्नुपर्छ । बचतकर्ताको जोखिमयुक्त लगानी तपाईंहरुले देख्नुभएको थियो कि थिएन ?
उनले केही मान्छेका कारण राज्यमा लाखौं मानिसले दुःख दिनु नहुने भन्दै भने, ‘त्यस्तो कुकार्य गर्न हुँदैन ।’
पूववर्ती नियमनकारीहरुको कमजोरीका कारणले र उनीहरु आफै विभिन्न सहकारी संस्थामा सहभागी भएकाले समस्या आएको मन्त्रीले दाबी गरे । आफ्ना नातागोता समेतलाई सहकारी खोल्न लाउँदै पैसा जम्मा गर्न लाउँदै कुकृत्य गरेका कारण समस्या आएको हो भन्दै मन्त्रीले त्यस्ता सम्पूर्ण व्यक्तिहरुको अनुसन्धान गर्न समिति गठन गर्नुपर्छ भनेर आफूले सचिवलाई भनेको समेत उनले खुलाए ।
‘गलत गर्नेलाई कारवाही हुन्छ, ’ मन्त्री इङ्नामले भने, ‘गरिन्छ । गर्नुपर्छ । आम नागरिकलाई मार्न पाइदैन ।’ उनले सहकारी सिद्धान्त नबुझेका कारण समस्या आएको भन्दै भर गर्नुपर्ने क्षेत्र नै सहकारी भएपनि नबुझी काम गर्दा अभियन्ताहरु सिद्धान्तच्यूत भएको बताए । सहकारीमा भएको रकमको सुरक्षण गरिनुपर्दथ्यो भन्दै उनले सहकारीमार्फत आत्मनिर्भर बन्न प्रोत्साहित गरिनुपर्नेमा त्यस्तो नभएको बताए ।
सहकारीका सदस्यहरुलाई धनी बनाउने धन्दामा लाग्नुपर्नेमा सञ्चालकहरु आफै धनी बन्न लागेको मन्त्रीले बताए । नियामकहरु, अभियन्ताहरु सबैप्रति मन्त्रीको आक्रोश पोखे । करौडौं मानिसको पैसा लुट्ने, सोझासाजा मानिसहरुको पैसा रीत पुरयाएर लुट्ने थुत्ने काम गर्न नमिल्ने उनको भनाइ थियो ।
उनले अनुगमनको अधिकार पाएका संघहरुप्रति पनि आक्रोश पोखे । स्वनियमनमा चल्न पाउनुपर्ने दाबी गर्दै आएका सहकारी अभियानप्रति उनको रुखो टिप्पणी थियो, ‘यद्यपि, अघि भन्नुभयो हामी स्वनियमनमा चल्ने संस्था हो । स्वनियमन त भएछ त ? यस्तै किसिमको स्वनियमन हो भने यस्तो स्वनियनम गर्न पाइँदैन । किन चाहिंयो स्वनियमन । आफू खान, आफू धनी हुन, गरिबको पैसा लुट्न ।'
मन्त्री इङ्नामले रजिष्ट्रारलाई पनि बाँकी राखेनन् र भने, ‘हिजो रजिष्ट्रारज्यूले देखाउँदै हुनुहुन्थ्यो, हामीसँग यति धेरै नियमहरु छन्, निर्देशिकाहरु छन् के के भन्दै हुनुहुन्थ्यो । त्यहाँ भएर हुँदैन भएन रजिष्ट्रारज्यू, त्यो सबै पढ्नुपर्यो, अनि लागू गर्नुपर्यो । उहाँ यहीँ हुनुहुन्छ । मुख्य कुरा नियमन गर्ने निकाय प्रभावकारी हुनुपर्यो । नियमन गर्ने निकायले सहकारी संस्थाको स्वार्थसँग आफूलाई नजोडी नियमन गर्नुपर्यो । जब नियमनकारी निकाय र संस्थाको स्वार्थ जोडिन्छ तब नियनम हुँदैन । नियमन त्यही अन्त्य हुन्छ । त्यस्तो कार्य गर्न भएन ।’
र, वियषान्तर भएर वैदेशिक रोजगारीमा कामदार पठाउने विषय उप्काउँदै मन्त्री इङ्नामले राष्ट्र बैंकलाई पनि गाली गरे । अनि, मालपोतका कर्मचारीलाई पनि दलाल भन्न भयाए । र गाली बर्षाए ।
मन्त्रीले यति संख्यामा यी मुलुकमा हामीले कामदार पठाएको र रेमिट्यान्स भित्राएको विषयमा कसैले पनि गर्व गर्न नहुने भन्दै ‘थुक्क’ समेत भनेर गाली गर्न भ्याए । मन्त्रीको अभिव्यक्तिले अघाएका अभियानकर्मीहरु भन्दै थिए, ‘सहकारीमा आउने अधिकांश मन्त्रीहरु नै सहकारीप्रति सकारात्मक छैनन् अनि कसरी अभियान उभो लाग्छ ?
अर्को एक प्रसङ्गमा मन्त्री इङ्नामले भने, ‘हामी संसारको गरिब नागरिकमा गनिएका छौं । यसको श्रेय विगतका केही जिम्मेवार नेताहरुले लिनुपर्छ । उहाँहरुले राज्यलाई धनी बनाउने कुरा कहिल्यै सोच्नुभएन । उहाँहरुले राज्यलाई लुट्ने, राज्य खाने र राज्य बाँड्ने, आफ्नो गोजीमा हाल्ने, काम गरोस् नगरोस् आफ्नो मान्छे राख्ने त्यस्तो गलत सोचका साथ काम गरेको कारणले हामी स्वभानी नागरिकहरुलाई गरिब बनाउनुभैरहेको छ । यस्तो कुराहरुको अन्त्य हुनु जरुरी थियो । धेरै पहिला जरुरी थियो, तर हुन सकेन । जेनजी आन्दोलनले नागरिकहरुको असन्तुष्टि पोखेको छ ।’
देश हिजोका नेताहरुले बिगारे भनेर आरोप उनको थियो । उनले भने, ‘देश बिग्रनुमा हाम्रो हिजोको नेतृत्व र उनीहरुको स्वार्थ जिम्मेवार थियो भनेर म भन्न चाहन्छु ।’
सफल, उदाहरणीय र अनुकरणीय सहकारी सञ्चालन गरेकाहरु र नियममा बाँधिएका सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुको बाक्लो उपस्थिति रहेको गोष्ठीले नयाँ र प्राज्ञिक मन्त्रीबाट सहकारी भिजन बुझ्न चाहेको थियो, उनको रणनीतिबारे थोरै भएपनि जान्न खोजेको थियो, सहकारीमार्फत समद्धिका सम्भावनाहरुको नयाँ ध्येय आउला भन्ने सोचेको थियोर अरु धेरै नवप्रवर्तनका विषयहरु बुझन् चाहेको थियो नकि गालीको वर्षा र उत्तेजनाको उत्कर्ष । अनि केही अरुचिका र अप्रासङ्गिक विषयहरु ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com