सहकारी अभियानका लागि अंग्रेजी नयाँ वर्ष २०२६ को शुरुवात नै सुखद भएन । न्यू इअरको दोस्रो दिन (जनवरी २) नचाहँदा नचाहँदै ‘सहकारीमा सुर्खेत काण्ड’ बाहिरियो । बाहिरियो पनि यसरी कि छरपष्ट नै भयो ।
रवि लामिछानेले ब्रोड सिट डेली (राष्ट्रिय अखबारहरु) का मुख्य हेडलाइनमा ल्याएको सहकारीलाई नेफ्स्कून सञ्चालक वीरबहादुर रावत भोटेले २०८२ पुस १८ गते शुक्रबार सुर्खेत काण्ड मच्चाएर भाइरल नै बनाइदिए । भीम उपाध्यायले सम्म सुर्खेत काण्डको भिडियो पोष्ट गरे । कर्मचारीमाथि आक्रमणमा उत्रिने नेफ्स्कून सञ्चालकको कदमको देशभरका सहकारीकर्मीहरुले घोर निन्दा गर्दै कडा कारवाहीको माग गरे ।
उक्त परिस्थितिकै कारण आकस्मिक रुपमा आज बसेको नेफ्स्कून सञ्चालक समितिको भर्चुअल बैठकले सञ्चालक भोटेलाई निलम्बन गरी घटनाको छानविनका लागि उपाध्यक्ष शान्ति अधिकारीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समेत गठन गरेको अवस्था छ ।
सुर्खेत काण्डपछि कार्यालय खुलेको पहिलो दिन आज आइतबार नै नेफ्स्कून मुख्यालका कर्मचारीहरुले काम ठप्प पार्दै कर्मचारी कुट्ने सञ्चालक भोटेमाथि निलम्बन तथा छानविन गरी वर्खास्त गर्न तथा उपसमितिको नाममा कार्यकारी भूमिका खोज्ने परिपाटी अन्त्य लगायतका मागसहित प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको लिखित ध्यानाकर्षण गराएका थिए ।
नेफ्स्कून इतिहासमै पहिलो घटना
नेफ्स्कूनको ३७ वर्षे इतिहासमा यस्तो परिस्थिति सिजर्ना भएको यो पहिलो घटना हो । अवस्था संवेदनशील हो । हुनत यसअघि पनि संघको सञ्चालक समितिका पदधारीबाटै बरिष्ठ कर्मचारीमाथि दुर्व्यवहारको प्रयास गरिएको थियो । सोही विषय तन्किदा नेफ्स्कूनले क्षति बेहोर्नुपरेकै हो ।
नेफ्स्कून मात्र होइन सहकारी अभियानकै लागि यी र यस्ता घटना कालो दाग बनेर बस्नेछन् । अभियानलाई अगाध माया गर्ने, सहकारी मूल्य, मान्यता र सिद्धान्त अंगिकार गर्ने अनि आफ्नो क्षेत्रमा कुशलता प्रदर्शन गरिसकेका व्यवस्थापनविद्हरुबाट सामाजिक सञ्जालमा चर्का अभिव्यक्ति आएका छन् । तिखा टिप्पणीहरु सार्वजनिक भएका छन् । देशभरका सहकारी व्यवस्थापकहरुका साझा मञ्चहरुमार्फत विज्ञप्ति जारी भएका छन् । सञ्चालकहरुको शिर निहुरिएको अवस्था छ । एउटा घटनाले अभियान तरंगित भएको छ ।
प्रारम्भिक छानविनले सञ्चालक भोटेको दोष देखिएको स्पष्ट छ । सञ्चालकबाटै कर्मचारी असुरक्षि हुनु अत्यन्त दुःखदायी घटना हो । जसका कारण, नेफ्स्कून कर्मचारीहरु आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भयो । उनीहरुले भने–हामीलाई असुरक्षा महसूश भयो ।
यही मेसोमा उपसमितिका नाममा हुने प्रशासनिक दादागिरी र दब्दबाहरु नियन्त्रण नगरी हुँदैन, विधि र प्रक्रियामा नल्याइ हुन्न भनेर उनीहरु लागि पनि परेका छन् । नेफ्स्कून भित्र यो एक प्रकारको 'जेनजी विद्रोह' को झिल्को हो । सञ्चालकहरु कार्यकारी भूमिकामा अग्रसर हुने हो भने कर्मचारीको के काम ? यसका लागि पदाधिकारी तहमा गृहकार्य गर्ने सहमति भएको नेफ्स्कूनले जनाएको छ ।
मूलतः कर्मचारीको मनोबलसँग पनि गाँसिएको सुर्खेत काण्डको पटाक्षेप बाहिर आउनुपर्छ । नेफ्स्कूनको लेगसीको संरक्षण आवश्यक छ । कार्यदलकी संयोजक अधिकारीले भनिन्, ‘किनकि, यो विषय मुलुकको सहकारी अभियानको साखसँग पनि जोडिएको छ ।’
कर्मचारीले वर्किङ इन्भायरमेन्ट नपाउँदा संघ बलियो हुन सक्दैन । त्यसैले विषयको गम्भीरतालाई समग्र सहकारी अभियानले बुझ्नुपर्छ ।
स्वार्थी सञ्चालकहरु
लोभीपापी सञ्चालकहरु भएका कारण सहकारीमा समस्या आयो भनेर भक्तपुर जिल्ला बचत संघका निवर्तमान अध्यक्ष कृष्ण गोविन्द लाखाजुले विगतदेखि नै भन्दै आएका हुन् । जहाँ पैसाको बढी चलखेल हुन्छ, त्यही यस प्रकारको समस्याले बढी जन्म लिन्छ । जहाँ सत्ता, शक्ति र स्रोतको (कु) प्रभाव बढी हुन्छ, त्यहीं यस्ता घटना हुन्छन् ।
राजनीतिक शक्ति, पद र त्योसँगै आएको अभिमानको आडमा सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई तिलाञ्जली दिदां उत्पन्न घटनाक्रम हो-सुर्खेत काण्ड । सहकारीका व्यक्तिगत सदस्यहरुले अब आफू आबद्ध संस्थाका सञ्चालकहरुलाई हेर्ने दृष्टिकोण पनि बदलिएला कि भन्ने डर समेत एकातर्फ उत्पन्न भएको छ ।
सहकारीमा भएको राजनीतिको असर सुर्खेतमा देखिएको भन्दा अत्युक्ति हुँदैन । दलतन्त्र हावी हुँदा यस्ता प्रवृत्ति नदोहोरिएला भन्नेमा आशा गर्न सकिए पनि विश्वस्त हुने ठाउँ छैन । सहकारी नै प्रशस्त बुझेकाहरु पनि राजनीतिप्रति लिप्त हुँदा मूल्य, मान्यता र सिद्धान्तलाई कुल्चेका उदाहरणहरु छन् । विधि एकातिर व्यवहार अर्कैतिर भएका घटनाहरु थुप्रै छन् ।
नेफ्स्कूनमा लामो समय काम गरी हाल अलग्गिएका एक सिनियर कर्मचारी बेलाबेलामा हसाउथे, ‘सञ्चालकको फेरो समात्न कर्मचारीहरुले छोड्ने हो भने नेफ्स्कून आफै सुध्रन्छ । तर फेरो समाउन म आफै पनि बाध्य छु ।’ अन्ततः उनले दौराको फेरोबाट हात झिके ।
एउटा घटना सम्झौं । नेफ्स्कूनमा १९ वर्ष योगदान दिएका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत भएका शिव अधिकारीको बिदाइ सोचे जस्तो किन भएन ? उनले भने, ‘२० वर्षभन्दा २० सेकेन्ड पनि बस्दिन भनेर आफैले योजना बनाएको थिएँ तर परिस्थिति प्रतिकुल बनेपछि १९ वर्षमै बाहिरिएँ ।’ तर, उनले न राम्रो बिदाइ पाए, न एउटा सम्मानपत्र पाए, न माला लाए, न त जाने बेला स्टाफहरुले नै राम्रो सँग बोले किनकि सञ्चालक समितिसँगको खटपटको कारण उनीसँग कर्मचारीहरु बोल्दा निशानामा पर्ने अवस्था थियो ।
के शिव अधिकारी नेफ्स्कूनबाट त्यस्तै बहिर्गमनका योग्य थिए ? भलै उनका पनि कमजोरी थिए होलान तर उनी बाहिरिनुको मुख्य कारण नै सञ्चालक समितिका पदाधिकारीसँगको असहमति थियो भन्ने बुझ्न कहीं कसैलाई सोधिरहनुपर्दैन ।
सहकारीको पाठशाला नेफ्स्कूनको भूमिका छाता संघको रुपमा सदैव उच्च रहन्छ र रहनुपनि पर्छ । तर, पछिल्ला छिमलमा यसका सञ्चालक भएर प्रवेश गरेकाहरु (हुनत मैले जति सहकारी र नेफ्स्कून कसले बुझेको छ र ! भन्ने सोच भएका केही पुराना सञ्चालकहरु समेत) का सुनिनसक्नुका कहानी छन्, उनीहरुले आत्मसमीक्षा गर्नु जरुरी छ ।
यसै विषयमा, नेफ्स्कूनका पूर्व सहायक कार्यकारी अधिकृत एवम् हाल किसान साकोसका प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सेनाले फेसबुकमा लेखेका छन्, ‘सहकारीमा सन्चालक सदस्यको पैसा र विश्वासको संरक्षक मात्र हुन् । कर्मचारी साधारणसभाले पारित गरेका नीति, योजना र बजेटको परिधिभित्र रही सन्चालकले गरेका निर्णयको कार्यान्वयनकर्ता हुन् । व्यक्तिगत स्वार्थ बेगर सन्चालक र कर्मचारी जुध्नै पर्दैन । दुबै पक्षका आ आफ्ना सिमा, मर्यादा र प्रक्रिया छन् । जब कर्मचारीको क्षेत्राधिकारमा सन्चालक र सन्चालकको क्षेत्राधिकारमा कर्मचारी प्रवेश गर्दछ नि हो, सुशासनको समाप्ति र दुर्घटनाको प्रारम्भ त्यही विन्दुबाट हुन्छ । सुशासन भन्ने विषय होइन यो त अभ्यास हो, अभ्यास । जय सहकारी’
यस्तै, जनउत्थान साकोस रुपन्देहीका व्यवस्थापक रनबहादुर थापा फेसबुकमा लेख्छन्,‘ भिडियोमा देखिएको घट्नाले हातपात नै गल्ती भएकोले पहिला निलम्बन गरि यस घट्नाको यथार्थ छानविन गरि दोषी उपर कडा भन्दा कडा कार्यवाही गरियोस् ताकि अब उप्रान्त यस्ता घट्ना नदोहोरियोस् । एक व्यक्तिको खराब चरित्रका कारण सहकारी अभियान बद्नाम हुनु हुदैन ।........काल नपल्कियोस्।’
अर्का एक बरिष्ठ कर्मचारीले ‘नेफ्स्कून अब प्रा.लि.का रुपमा चल्न थालेपछि यहाँ बसिरहनु बेकार छ’ भनेका थिए । र, उनी आज संघमा छैनन पनि । बाहिरै बसेर खबरदारी गरिरहेका छन् ।
कर्मचारी–सञ्चालक अन्तरद्वन्द
नेफ्स्कूनका कपितय सञ्चालकहरुको मैमत्ता प्रवृत्तिप्रति कर्मचारीहरु भुक्तभोगी छन् । उनीहरु सुनाउँछन्, ‘सञ्चालकहरु साँढे पल्टिन्छन् ।’ खासगरी फिल्डमा खटिएका नेफ्स्कूनका कर्मचारीहरुसँग सञ्चालकहरुले दिएका दुःखका रामकहानीहरु छन् । एअरपोर्ट, बसपार्कमा स्वागत गर्न पुग्नुपर्नेदेखि गाडी, बास र आदिइत्यादि.....को प्रबन्ध गर्नुपर्ने, हिसाब मिलाउनुपर्ने, राजनीतिक भेटघाटको चाँजो मिलाइदिनुपर्ने, एउटै दलको भए कार्यक्रम व्यवस्थापन गर्नुपर्ने । लगानी र उठौतीका विषयमा पनि......
सञ्चालकहरुमा ‘हामी प्रारम्भिक संस्थाको सञ्चालक हो र ? जिल्ला संघको हो र ? प्रदेश संघको हो र ? केन्द्रीय संघको पो सञ्चालक त ?’ भन्ने धारणा छ । अनि त्यतिमात्र हो र, स्रोत भएको संघको पो सञ्चालक’ भन्ने ठालू प्रवृत्ति छ ।
नेफ्स्कूनका कर्मचारीहरु भन्छन्, ‘घरमा काम गर्ने नोकर जस्तो व्यवहार आजको दिनमा कसैले सहँदैन ।’ नोकरशाही प्रवृत्ति, हुकुमी शासन, सामन्ती सोच र संस्कारका अवशेषहरु सहकारीका अन्यत्र संघ महासंघका सञ्चालकहरुमा पनि पाइन्छ । समानता, सामाजिक न्याय, विभेद र शोषणरहित समाजको परिकल्पना गर्ने सहकारीभित्रै यस्ता अवेशषहरुको धङधङी रहनु पक्कै राम्रो होइन ।
डिहाइरारकाइजेशन’को कुरा त्यसै सहकारीमा आएको होइन । कपितयले ‘सहकारीका सामन्ती सञ्चालकहरु’ समेत भन्ने गरेका छन् । संघ महासंघका अधिकांश सञ्चालकहरुको यो रोग तलका संघहुँदै प्रारम्भिक संस्थासम्म सरेको छ । 'मेरो सहकारी र मैले राखेका कर्मचारी' भनेर उनीहरु सुनाउँछन् पनि । सञ्चालक र कर्मचारी बेमेले हुँदाको परिस्थिति महासंघमा पनि सेलाएको छैन ।
तर, स्पष्ट कुरा के हो भने,बागमतीमा धेरै पानी बगिसक्यो । हिजोको नेफ्स्कून पनि रहेन र हिजोको अवस्थाका कर्मचारी पनि छैनन, अबका ‘जेनजी’ कर्मचारीहरु नजाग्लान भन्ने छैन । र, सही अर्थमा उनीहरु जाग्नु भनेको नेफ्स्कून सही बाटोमा हिड्नु पनि हो । कर्मचारीहरु शोषित र पीडित हुनुहुँदैन ।
नेफ्स्कूनमा लामो समय काम गरेका एक पाका कर्मचारीले हिजो अनौपचारिक कुराकानीमा भने, ‘रञ्जन सर, साँच्चै भन्ने हो भने मैले सबै कर्मचारीहरुलाई सम्हालेर राखेको अवस्था छ । देशभरका कर्मचारीहरु तातेका छन् ।’ उनले भने, ‘नेफ्स्कूनको कर्मचारीले सञ्चालकलाई सिधैं हात उठाइहाल्दैन, उठाउन सक्दैन । यो स्कूलिङ नै हो । नैतिक रुपले पनि गर्दैन । आत्मरक्षाको लागि मात्र उ प्रतिकार गर्छ । हात त परै जाओस् मुख समेत पनि लाग्दैनन । पिठ्युँपछाडि कुरा काट्ने भनेको बेग्लै हो ।'
उनले भने, ‘चेन अफ कमान्डमा काम गर्नु नेफ्स्कून सुर्खेतका कर्मचारीको गल्ती हो र ? सञ्चालकले कर्मचारी चलाउँदै हिड्ने होइन, कर्मचारी चलाउने सिईओले हो र सिईओलाई चलाउने सञ्चालक समिति हो । त्यति त सञ्चालकले बुझ्नुपर्यो नि ।’
अर्कोतर्फ नेफ्स्कून सञ्चालकहरुको तर्क फरक छ । उनीहरु भन्छन्, ‘काम जति हामी गर्छौं । कर्मचारीहरु कुर्सी हल्लाएर जागिर खान्छन् । उठेर बसेको पनि पैसा लिन्छन् । हामी स्वयंसेवी भएर खट्नुपर्छ । वित्तीय अवस्थामा सुधार ल्याउन, एनबीएदेखि अन्य व्यवस्थापनमा हाम्रो भूमिका बढी छ, खटाइ छ । गोजीको पैसा रित्तिसक्यो ।’
केही समयअघि नेफ्स्कूनका एक सञ्चालकले कर्मचारी सञ्चालक सम्बन्धबारे गरेको फेसबुक पोष्टले निक्कै तरंग उत्पन्न गरेको थियो । सञ्चालकले दुःख दिएका तर आजसम्म लुकेका लुकाइएका घटनाहरुको बिस्फोटको बिन्दु सुर्खेत काण्ड नहोला भन्न सकिन्न । सहकारीका सञ्चालक र व्यवस्थापकहरुबाट शासक र शोषितको व्यवहार (दुबैबाट) अपेक्षित होइन ।
कर्मचारीलाई कजाउन पल्केका सहकारीका सञ्चालकहरुको बेलैमा होश खुलेन भने भावी दिनमा यस्ता घटनाको कुनै न कुनै रुपमा पुनरावृत्ति नहोला भन्न सकिन्न । किन भने कर्मचारीले पनि एउटा विन्दुसम्म न सहन्छ ।
न्याय खोज्दै नेफ्स्कून
नेफ्स्कून आज आफै न्याय खोज्दै छ । अनि उबाट मुलुकको सहकारी अभियानले पनि न्याय खोज्दैछ । न्यायको आवाज चर्को स्वरमा उठेको छ । तर, अधिकारी नेतृत्वको कार्यदलले के कसरी छानविन गर्छ, दोषी पत्ता लगाएर कारवाही सिफारिश गर्छ कि उन्मुक्ति दिने उपाय सोच्छ त्यो भने हेर्न बाँकी छ । त्यसका लागि निरन्तरको खबरदारी आवश्यक छ ।
अनि, नेफ्स्कूनले स्पष्ट पार्नुपर्ने भनेको सञ्चालक भोटेले उठाएको उपसमितिको बैठकको विषय । उनले आरोप लगाएझै के साँच्चिकै कर्मचारीले उनलाई नटेरेका हुन्, अपमान गरेका हुन् । यो विषय पनि बाहिर आउनुपर्छ । उपसमितिको बैठक नबसेका कुराहरु छानविन प्रतिवेदनमा अटाउनुपर्छ । यसका लागि अभियानवेत्ताहरु वाचडग बन्नुपर्छ ।
अनि, भोलि सञ्चालक माथि पनि कर्मचारीबाटै यस्ता घटना नहोला भन्न सकिन्न । यो पर्सन र पोर्टफोलियो भन्दा पनि विधि र थिति बसाल्ने कुरा हो । बुढी मरी भन्दा पनि काल पल्केला भन्ने डर हो ।
सुर्खेतकाण्डबाट सिक्नुपर्ने पाठ
नेफ्स्कून सुर्खेत काण्डबाट सहकारी सञ्चालक र व्यवस्थापन दुबैले सिक्नुपर्ने पाठ धेरै छ । सहकारी अभियानमाथि नै विभिन्न बाह्रय तत्वबाटै आक्रमणको कामहरु भैरहेको समयमा भित्रबाटै यस किसिमका गतिविधि हुनु अत्यन्त अशोभनीय भएको सहकारीका व्यवस्थापकहरुको प्रतिक्रिया छ ।
ललितपुरको हाम्रो साकोसका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरे सामजिक सञ्जालमा लेख्छन्, ‘वीरता र बहादुरी त होइन। अपराध हो। अपराधीलाई सख्त कारबाही गरियोस्। वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई बाह्य रुपमा विभिन्न तरिकाले आक्रमण भइरहेको समयमा संरक्षकहरूको यो हातलको खुल्ला गुण्डागर्दी रोक्नको लागि तत्काल सरकारले गिरफ्तार गरेर कारबाही अगाडि बढाओस्। साथै केन्द्रीय संघले तत्काल बर्खास्त गरोस्। कर्मचारीले गलत गरेको भए कानुनत कारबाही होस । तर गुण्डा गर्दी सह्य हुन्न।’
उनले भने जस्तै, यो वेक अप कल पनि हो । अलार्म पनि हो अभियानका लागि । अब सबै सचेत हुनुपर्दछ । नेफ्स्कून अध्यक्ष चन्द्र प्रसाद ढकाल र महासचिव घनश्याम अधिकारीले धिप्री डटकमसँग भनेझैं आन्तरिक सुरक्षा र सुशासनका विषयहरु कसिलो बनाउनुपर्ने हुन्छ । निर्मम समीक्षा गर्नुपर्छ । सहकारीमा बोर्ड र व्यवस्थापनबीच नङ र मासुको सम्बन्ध हुन आवश्यक छ । पातलो सीमा घेरा (थिन लाइन अफ डिमार्केशन) को संवेदशनीलता दुबैले मनन गर्नु आवश्यक छ ।
आन्तरिक कार्यविधिहरुको पालना कठोरताका साथ गर्नुपर्छ । आचारसंहिताको पूर्ण परिपालना भए नभएको मूल्याङ्कन गरिनुपर्दछ । सहकारीभित्र राजनीति ओझेलमा पर्नुपर्छ । सुर्खेत घटनामा सञ्चालकको दोषी देखिएसँगै यो खबरदारी गर्दै गर्दा देशभर सहकारी व्यवस्थापनमा काम गर्ने सरकारी तथ्याङ्क अनुसार करिब १ लाख कर्मचारीहरुले पनि आफ्नो अधिकार, कर्तव्य, नैतिक एवम् कानूनी सीमाहरु र व्यवाहारिक सीमा, भूमिका भुल्न नुहने शिक्षा लिनुपर्ने अवस्था छ । यसप्रकारका समस्याहरुमा बेलैमा बिर्को लाग्दा अभियान र सहकारी क्षेत्रका लागि श्रेयष्कर ठहरिनेछ ।
नेफ्स्कून यस्ता यावत् समस्याहरुसँग पौठेजोरी खेल्दै थप बलियो हुनु आवश्यक छ । अनि हिजोबाटै शुरु भएको यो वर्षको स्वस्थानी व्रतको ओजले सहकारीका सञ्चालकहरुमा सुबुद्धि प्रदान गरोस् । कुमारजी आज्ञा गर्नुहुन्छ हे सहकारी सञ्चालकहरु ! अब त चेत्ने कि ?
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com