Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

ज्योतिषशास्त्र र पेशाको गरिमा अभिवृद्धिमा विज्ञहरुको जोड

ज्योतिषशास्त्र र पेशाको गरिमा अभिवृद्धिमा विज्ञहरुको जोड

काठमाडौं । ज्योतिष शास्त्र र पेशामा देखिएका अलमल, आशंका र विसंगतिहरु निवारण गर्दै क्षेत्र र पेशाको गरिमा बढाउदै लानुपर्नेमा यस क्षेत्रका विज्ञ एवम् पेशाकर्मीहरुले जोड दिएका छन् । त्यसका लागि छाता संगठनको रुपमा नेपाल ज्योतिष परिषद्को संस्थागत विकास तथा सांगठनिक सुदृढीकरण आवश्यक भएको उनीहरुको ठम्याइ छ । सँगै उनीहरुले परिषद्ले नेपाल सरकारको आधिकारिक निकाय नेपाल पञ्चाङ्ग निर्णायक विकाससमितिसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने सुझाव राखेका थिए ।

२०८२ पुस २४ गते काठमाडौंमा आयोजित नेपाल ज्योतिष परिषद्को २८औं स्थापना दिवस कार्यक्रममा सहभागी विज्ञ एवम् पेशामर्कीहरुले ज्योतिषीय सिद्धान्त र व्यावहारिकताका सम्बन्धमा विगतमा केही विसंगतिहरु देखिएपनि सामूहिकताको आधारमा विज्ञहरु बसेर समाधान गर्दै व्यवस्थित बनाउँदै लानुपर्नेमा सुझाव राखेका थिए ।

उनीहरु सबैको भनाइ थियो-ज्योतिष शास्त्र र पेशालाई अब थप व्यवस्थित गर्दै लान यसको अभिभावक संघ बलियो बन्नुपर्छ । उनीहरुले ज्योतिष परिषद्लाई खम्बा जस्तो बलियो बनाएर लानुपर्ने धारणा राखेका थिए ।

पञ्चाङ्ग स्पष्ट पार्न, समयमै पात्रो निकाल्नका लागि समितिलाई दबाब दिने काम समेत यसले गर्नुपर्ने सहभागीहरुको सुझाव थियो । उनीहरुले भने, अबको पञ्चाङ्ग कसरी निर्माण गर्ने भन्नेमा परिषद्को समन्वय आवश्यक छ । ज्योतिषीय मर्यादालाई ख्याल गरी यस क्षेत्रका विज्ञ र पेशाकर्मीहरुले सामाजिक सञ्जालमा लेख्ने भन्दा छलफलको माध्यमबाट टुङ्ग्याउनुपर्ने धारणा राखे ।

केही वक्ताहरुले हाम्रा चाडपर्वहरु दुइ दिन पर्दा समस्या भएको भन्दै सोही कारण युवाहरुलाई हाम्रो धर्म संस्कृति र परम्पराप्रति विश्वास सिर्जना गर्ने प्रयासमा बाधा पुगेको गुनासो राखेका थिए ।

यसैगरी, मुलुकको धर्म संस्कृतिप्रति कसैको गिद्दे नजर नलागोस् भन्दै त्यसतर्फ पनि परिषद्को पहलको आवश्यकता रहेको भनाइ उनीहरुको थियो । परिषदको आफ्नै भवन निर्माण गर्न सक्दा पनि दिगोपना सुनिश्चित हुनेतर्फ केही वक्ताहरुले ध्यानाकर्षण गराएका थिए ।


परिषद्का केन्द्रीय अध्यक्ष ज्यो.केशवप्रसाद धितालको अध्यक्षतामा आयोजित कार्यक्रममा ज्योतिष शास्त्रको संरक्षण, संवद्र्धन तथा ज्योतिष पेशाको व्यवस्थित विकासका विषयमा सघन छलफल भएकोे थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले ज्योतिष शास्त्र पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै परिषद्ले विगत २८ वर्षदेखि ज्योतिषहरूको हकहित, मर्यादा र पेशागत विकासका लागि गर्दै आएको योगदानको प्रशंसा गरे । निरन्तर सक्रियता परिषद्को ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।

विशिष्ट अतिथि नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष एवम् विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा.लोकराज पौडेलले परिषद् स्थापना गर्दाका चुनौती, ज्योतिषीहरूलाई संगठित गर्ने प्रयास र संस्थागत यात्राबारे स्मरण गर्दै आगामी दिनमा परिषद्ले ज्योतिष क्षेत्रको उज्ज्वल भविष्य निर्माण गर्ने विश्वास व्यक्त गरे ।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष ज्यो. केशवप्रसाद धितालले ज्योतिष पेशालाई अझ व्यवस्थित, मर्यादित र समयसापेक्ष बनाउन परिषद् प्रतिबद्ध रहेको बताए । उनले ज्योतिषीहरूको क्षमता अभिवृद्धि, सीप विकास र व्यवहारिक ज्ञान विस्तारका लागि छिट्टै ज्योतिष प्रशिक्षण तालिम कार्यक्रम सञ्चालन गरिने जानकारी गराए ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले समयमै पञ्चाङ्ग प्रकाशन गर्नका लागि पञ्चाङ्गकारहरु एवम् ज्योतिषीय संघसंस्थाहरुको साथ सहयोग र सुझाव आवश्यक रहने धारणा राखे ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा.सहदेव विष्ट, नेपाल ज्योतिष परिषद्का निवर्तमान अध्यक्ष ज्यो.माधवराज पाण्डे, कालाग्नीरुद्रपीठ लडकेश्वरधामका पिठाधीश मुकसन्द शर्मा हुमगाईं, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व कार्यकारी निर्देशक ज्यो.पं.सूर्यप्रसाद ढुङ्गेल, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई, वाल्मीकि विद्यापीठका सहप्राडा पुरुषोत्तम भट्टराई, त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका पूर्व अध्यक्ष प्राडा राजाराम प्रधानाङ्ग, राष्ट्रिय महिला ज्योतिष संघका अध्यक्ष रतिदेवि जोशी, परिषद्का कार्यकारी सभापति कमलप्रसाद काफ्ले लगायतले ज्योतिष विद्यालाई आधुनिक समय सापेक्ष बनाउँदै वैज्ञानिक ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

स्थापना दिवसको अवसरमा ज्योतिष विद्याको संरक्षण, संवद्र्धन र विकासमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । औपचारिक कार्यक्रमका बीच खैजडी भजन तथा विविध सांस्कृतिक प्रस्तुतिहरूले समारोहलाई थप आकर्षक बनाएको थियो । कार्यक्रममा देशभरका केन्द्र, प्रदेश तथा जिल्ला तहका करिब २०० ज्योतिषी गुरुहरूको सहभागिता थियो ।  

परिषद्को उज्जवल भविष्यको कामना गरिएको उक्त कार्यक्रममा परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण सचिव शिवलाल पौडेलको रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार