काठमाडौं । नेपालमा सम्भावना छ तर आजको भोलिनै नतिजा वा परिणाम खोजेर पाइन । त्यसका लागि धीरता आवश्यक छ भन्नुहुन्छ काठमाडौंकी उद्यमी सजना महर्जन । महर्जन जस्तै विचार राख्ने, उद्यम गर्न रुचाउने र आत्मनिर्भर बन्न चाहने काठमाडौं महानगरपालिका २५ नम्बर वडाबासी २३ जना महिलाहरु मिलेर उद्यमशिलताको प्रयास गर्नुभयो । सीप सिक्नुभयो, जाँगर मिसाउनुभयो र सामूहिकताको बलमा श्रोतको जोहो गरेर ढाकाका लुगाकपडाहरु बनाएर बिक्री गर्ने काममा हात हाल्नुभयो । बिस्तारै सफलता हात पर्दै गयो । करिब दुई दर्जन महिलाहरु मिलेर सामूहिकताको बलमा गरेको प्रयासले परिणाम दिन थालेको छ । र, उहाँहरु भन्नुहुन्छ–‘हामी आत्मनिर्भर बनेको छौं किनकि हामीसँग सीप छ र सीपले वित्तीय स्वतन्त्रता र हिम्मत प्रदान गरेको छ ।’
तिनै हिम्मतवाली महिलाहरु आज भेटिनुभयो पशुपति क्षेत्र परिसरमा सगौरव आफ्ना उत्पादनहरुको बिक्री वितरण गर्दै । आज भेटिनुभएका पाँचै जना ढाकाको कुर्तामा हुनुहुन्थ्यो । आफ्नो उत्पादनको सबैभन्दा बलियो बजारीकरण आफैंमार्फत गर्दै हुनुहुन्थ्यो । उहाँहरुलाई त्यसमा गर्वानुभूति भएको हामीलाई भान भयो ।
२३ जना महिलाहरु मिलेर उद्योग दर्ता गर्नुभएको छ-झीगु ढाका ज्या गुठी जसको अध्यक्ष हुनुहुन्छ सजना महर्जन । महर्जनले हामीलाई बताउनुभयो काठमाडौं महानगरपालिकाको प्रयासमा उहाँहरु उद्यमी बन्नुभएको हो । घरमा त्यसै खेर गएको समयको सदुपयोगको अवसर प्राप्त हुँदा उहाँहरुले छोड्नुभएन र सीप सिक्नुभयो । ‘हो, हामीलाई काठमाडौं महानगरपालिकाले सीप सिक्ने अवसर प्रदान गरेको हो, ’वाकपटुतामा निपूर्ण महर्जनले धिप्री डटकमसँग भन्नुभयो, ‘महानगरले विशेषत महिलाहरुलाई उद्यमशीलतासँग जोड्न सीप सिक्ने अवसर प्रदान गरेको थियो । हामीले शुरुमा उद्यमशीलता के हो भन्ने बुझ्यौं र पछि सिलाई तालिम लियौं ।'
काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘एक वडा एक नमूना उद्यम कार्यक्रम’ अन्तर्गत उहाँहरुले सीप विकास तालिम लिनुभयो । शुरुमा ५ दिन उहाँहरुलाई उद्यमशीलताबारे जानकारी गराइएको थियो भने डेढ महिना सिलाइ कटाइ तालिम उपलब्ध गराइएको थियो । त्यही तालिम लिनुभयो र उद्यम थालनी गर्नुभयो । भोलिका दिनमा स्तरोन्नति सीप विकास तालिम पनि लिने उहाँहरुको सोच छ ।
महानगरपालिकाले यस्ता उद्यममार्फत उत्त्पादित वस्तु तथा सामग्रीको बिक्री तथा प्रवर्द्धन एवम् बजारीकरणका लागि मानिसहरुको जमघटहरु हुने पर्व, मेला महोत्सवहरुमा स्टल राख्ने अवसर प्रदान गर्दै आएको छ । सोही अनुरुप लाखौं पयर्टकहरु आउने महाशिवरात्रिको अवसरमा बजारीकरणको मौका उद्यमी महिलाहरुलाई मिलेको थियो । यसअघि पनि दुई वटा यस्तै जमघटहरुमा बिक्री प्रवर्धनको अवसर प्राप्त भएको भन्दै महर्जनले महानगरपालिकाप्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो । भन्नुभयो, ‘महानगरका अधिकारीहरुले हामीलाई सधैं हौसला र प्रेरणा दिनुभएको छ । महाशिवरात्रिको समय पारेर तीन दिन उपलब्ध गराएको छ हामी आभारी छौं ।’ यो ठूलो अवसर भएको र यसले आफ्ना उत्पादनहरुको बिक्री तथा बजारीकरणमा सहयोग पुगेको महर्जनले बताउनुभयो ।
अचेल ढाकाका लुगाकपडाहरु सबै उमेरसमूहको रोजाइमा पर्दै गएको अवस्था एकातिर छ भने बजारमा कमसल उत्पादनहरुको प्रवेश भएकाले चुनौती रहेको महर्जन बताउनुहुन्छ । गुणस्तरमा सम्झौता नगरिएका कारण आफ्ना उत्पादनहरु केही महंगो भएको महर्जन स्वीकार्नुहुन्छ र त्यही कारण पोलिष्टर मिसाइएका अन्य कमसल उत्पादनसँग प्रतिस्पर्धा गर्न केही कठिनाइ भएको उहाँले स्वीकार्नुभयो । तर, क्रेताहरुले सबै कुरा बुझ्दै गएपछि बजार बढ्ने उहाँको समूहको विश्वास छ ।
र, फेरि हामीले सोध्यौं, 'नेपालमै सम्भावना छ त ?' महर्जनको उत्तर थियो -'विदेशमा पनि रुखमा पैसा फल्दैन मिहेनत गर्नुपर्छ । केही चुनौतीहरु नेपालमा छन् तर सम्भावना नै नभएको होइन । धैर्य गर्नुपर्छ, मिहेनत गर्नुपर्छ, समस्या आउँछन् संघर्ष गर्नुपर्छ सफलता अवश्य मिल्छ ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com