काठमाडौं । ज्योतिषीहरुले फलादेशका नाममा समाजलाई दिग्भ्रमित पार्न नहुने भन्दै आचारसंहिता भित्र रहेर विधिसम्मत् र शास्त्रसम्मत तरिकाले मात्र काम मात्र गर्नुपर्ने धारणा यस क्षेत्रका विज्ञहरुले राख्नुभएको छ ।
पछिल्लो समय ज्योतिषीय मूल्य, मान्यता र परम्परासँगै शास्त्र अनि आचरणको पनि अवज्ञा गर्दै समाजलाई गलत र नकारात्मक सन्देश जाने किसिमले फलादेश गर्ने गरिएकाले पेशाप्रति नै संगीन प्रश्नहरु उब्जाएको भन्दै सरोकारवालाहरुले गम्भीर चासो व्यक्त गर्नुभएको छ । फलादेशमा आधिकारिता हराउँदै गएकोमा चिन्ताभाव अभिव्यक्त गर्दै जानिफकारहरुले समयमै नसच्चिए विश्वास स्खलित हुनेप्रति सचेत तुल्याउनुभयो ।
ज्योतिष दिवस २०८२ को अवसरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति नेपालले चैत ५ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले अध्ययन र आचरण विनाका काम गराईले एकातिर समाजलाई दिग्भ्रमित पार्ने र अर्कोतर्फ ज्योतिषीहरुलाई हेर्ने राज्यको दृष्टिकोण पनि आशंकायुक्त भएको वक्ताहरुले उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले ज्योतिषीहरुका थुप्रै चुनौतीहरुबारे जिज्ञासा राख्दै तिनको चित्तबुझ्दो समाधान र निकास कार्यक्रममा सहभागी विद्धत ज्योतिषीहरुले खोज्नुपर्ने सुझाउनुभयो । उहाँले पञ्चाङ्गमा रहेका द्धिविधा, पर्वहरु दुई दिन पर्नाले उठ्ने प्रश्न, ज्योतिषीय फलादेशमा विविधता आदिबारे उब्जने आशंका आदि विषयमा विज्ञहरु बसेर छिनोफानो गरी चित्तबुझ्दो समाधान निकाल्नुपर्ने सुझाउनुभयो । सचिव निरौलाले भन्नुभयो, ‘कान्तिपुरमा लाभ, सगरमाथामा अशुभ, अर्कोमा मिष्ठान्न भोजन, अर्कोमा सुख लेखेको हुन्छ । यही मासले त्यो च्यालेन्जलाई कसरी समाधान गर्ने ? साँच्चिकै ज्योतिषीहरुले नहेरी कम्प्युटर अपरेटरहरुले राशीफल राखेको हो कि जस्तो लाग्छ । यहाँहरु क्षमा गर्नुहोला । फेरि, फलानो ज्योतिषी भनेर नाम पनि राखेको हुन्छ । अनि, पात्रो पनि फरक फरक हुन्छ । मेरी आमा बैष्णव हुनुहुन्थ्यो, क्यालेन्डरमा आज एकादशी लेखेको हुन्थ्यो, उहाँहरु भोलिपल्ट बार्नुहुन्थ्यो । अब के भन्ने ? अझ, कृत्रिम बौद्धिकता (एआई) ले सबैकुरा बताइदिन्छ । यस्ता कुरामा पनि हामी अभ्यस्त हुने कि नहुने ? त्यस्तै, श्राद्ध गर्ने विषयमा पनि मान्छेका फरक फरक मत छन् ।’
ज्योतिष विश्वास भएको सचिव निरौलाको भनाइ थियो । यद्यपि, कार्यक्रमका अर्का वक्ता वाल्मीकि विद्यापीठका पूर्व प्राचार्य प्रा.डा. भागवत ढकालले त्यसमा असहमति जनाउँदै भन्नुभयो, ‘ज्योतिष केवल विश्वास होइन, विज्ञान हो । अघि सचिवज्यूले यो केवल विश्वास हो भन्नुभयो तर त्यसो होइन, ज्योतिष त विज्ञान हो । यो तपाईंहरुले प्रमाणित गर्नुपर्छ ।’
ढकालले मेडिकल काउन्सिल वा न्याय परिषद् झैं ज्योतिषीहरुको पनि काउन्सिल (परिषद्) आवश्यक भएको धारणा राख्नुभयो । नक्कली ज्योतिषहरुको बिगबिगी भएकोप्रति ढकालसँगै अन्य वक्ताहरुले पनि सचेत तुल्याउँदै नियम, कानून र मर्यादाभित्र सबैलाई ल्याउनुपर्ने बताउनुभयो ।
यसैगरी, ढकालले पात्रोमा दुई दिन पर्व राखिएको विषयमा पनि बसेर सहमतिमा एउटै तिथि निकाल्न सुझाउनुभयो । पात्रोमा विवादास्पद कुराहरु नराख्न उहाँको आग्रह थियो ।आफू केही महिनाअघि एउटा ज्ञान मिमांशा गोष्ठीका लागि बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) पुग्दा त्यहाँको ज्योतिष विभागाध्यक्षले भारतमा एक दिन शिवरात्री मनाइन्छ नेपालमा अर्को दिन किन भनी आफूलाई प्रश्न गरेको बताउनुभयो । उहाँले सबै ज्योतिषीहरु र विशेष गरी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलाई प्रश्न गर्नुभयो, ‘हामी एउटै सनातन धर्म संस्कृति मान्छौ भने किन त्यस्ता पर्वहरुको तिथि किन एउटै हुन सक्दैन, किन तपाईंहरु बसेर यो निक्र्यौल गर्न सक्नुहुन्न ? अर्को मेरो प्रश्न, अस्ति हामीले फागु पूर्णिमा मनायौं, जुनदिन हामीले होली खेल्यौं, त्यसदिन कतै पनि पूर्णिमाको प पनि थिएन । तर, तपाईंहरुले त्यसदिनको समय किन निकालिदिनुभयो ? तराईसँग विभेद किन ? तराई र पहाड भनेर दुइ दिन होली किन राख्नुपर्यो ? तपाईहरु कोठमा बसेर छलफल गरेर एउटै दिन निकाल्दा के फरक पर्छ ? तराई हाम्रो होइन ? किनभने यसले गलत सन्देश गइरहेको छ ।’
कार्यक्रममा ज्योतिषीय आचरणका सम्बन्धमा थुप्रै जनगुनासा र सरकारका अधिकारीहरुको टिप्पणीहरु प्राप्त भइरहेपनि अहिलेसम्म नरम रवैया अपनाइरहेको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ज्योतिषीय मर्यादा, आचरण आदिबारे छिट्टै आचारसंहिता निर्माण गरेर कडाइका साथ लागू गर्ने अध्यक्ष प्रा.शम्भुप्रसाद ढकाल र कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी गराउनुभयो । उहाँहरुले भन्नुभयो, ‘फलादेशका नाममा समाजलाई दिग्भ्रमित पार्न पाइँदैन ।’
आचारणमा नबस्ने, आचारसंहिता परिपालना नगर्ने तर राज्यले हामीलाई हेरेन वा वा वास्ता गरेन भन्ने प्रश्न गर्न नमिल्ने कार्यकारी निर्देशक पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी आचारसंहिता पालना नगर्ने, जथाभावी फलादेश गर्दै हिड्ने, राज्यले निर्वाचनको मिति घोषणा गरेर तयारी जोडतोडका साथ गरिरहँदा निर्वाचन हुँदैन, वा व्यक्ति केन्द्रीत यसले चुनाव जित्छ वा जित्दैन भन्ने अधिकार तपाईंहरुलाई कसले दियो ? त्यसरी बोल्न मिल्छ ?’
अब आचारसंहिता बनाएर त्यसको पालना भएनभएको अनुगमन समेत गरिने उहाले जानकारी गराउनुभयो । त्यसो त नेपाल ज्योतिष परिष्दले विगतमै ज्योतिषीहरुका लागि आचारसंहिता जारी गरिसकेको भन्दै उक्त संस्थाको केन्द्रीय समितिका अध्यक्ष केशवप्रसाद धितालले त्यसलाई पनि विचार गर्न आग्रह गर्नुभयो ।
समितिका पूर्व अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले पञ्चाङ्ग निर्माणको सिद्धान्तदेखि ज्योतिषीहरुले गर्ने फलादेशका विषयमा समाजको आँखामा धुलो छर्ने काम गर्न नहुने बताउनुभयो ।
समितिका सदस्य प्रा.डा.देवमणि भट्टराईले ज्योतिषीहरुप्रतिको आक्षेप, गलत भविष्यवाणी आदिले हामीलाई सोच्न बाध्य बनाएको उल्लेख गर्नुभयो । उहाँले ज्योतिष दिवसले यी यावत् शंका उपशंकाहरु छिचोलेर अघि बढ्न ज्योतिषका प्रत्यक्ष देवता सूर्यनारायण भगवानबाट सद्बुद्धि प्राप्त हुने कामना गर्नुभयो ।
समितिका पूर्व कार्यकारी निर्देशक ज्योतिषी सूर्यप्रसाद ढुङ्गेलले आज हाम्रो धर्म, संस्कृति र परम्परा रोइरहेको बताउनुभयो । फलादेश गर्ने विषयमा शास्त्रको ज्ञान र प्रविधिको प्रयोग हुन नसकेको उहाँले बताउनुभयो । यस्तै, पञ्चाङ्गमा पनि आवश्यक विषयहरु भन्दा अनावश्यक विषयहरु समेटेर मोटो बनाउने काम गरिएको भन्दै तिखो टिप्पणी ढुङ्गेलले गर्नुभयो ।
विश्व ज्योतिष महासंघका केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा.लोकराज पौडेल लगायतले २०८४ सालको पञ्चाङ्ग २०८३ असोज भित्र निकालिसक्नुपर्ने भन्दै त्यसको लागि तदारुकता देखाउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको ध्यानाकषर्ण गराउनुभएको थियो । साथै उहाँले आफ्ना ज्योतिष व्यवसायहरु सम्बन्धित निकायमा दर्ता गर्न र कर तिरेर कारोबार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष, पूर्व अध्यक्ष, कार्यकारी निर्देशक देखि सबैले ज्योतिषहरुलाई आचारसंहितमा बसेर शास्त्रसम्मत्, तथ्यपरक र आधिकारिक फलादेश गर्न र सामाजिक सञ्जालमा पनि आधिकारिक धारणाहरुमात्र राख्न तथा नकारात्मक टिकाटिप्पणी नगर्न सुझाउनुभएको थियो ।
कार्यक्रमम पञ्चाङ्ग निर्माण प्रक्रियालाई पनि कसरी सर्वस्वीकार्य बनाउने भन्ने विषयमा समितिले गम्भीर भएर बहस छेड्नुपर्ने धारणा वक्ताहरुको थियो । त्यसको अगुवाई समितिले गर्नुपर्ने वक्ताहरुको भनाइ थियो । समितिका अध्यक्ष ढकाल तथा कार्यकारी निर्देशक पन्थीले यावत् विषयमा सबैको सहमतिमा नै निर्णयहरु गरिने भन्दै त्यसमा सरोकारवालाहरुको साथ, सहयोग र समन्वयको लागि आग्रह गर्नुभयो । हिजोका कमीकमजोरी हटाउँदै थप परिस्कृत र परिमार्जित हुनेमा उहाँहरुले विश्वास दिलाउनुभयो ।
कार्यक्रममा ज्योतिष दिवसको शुरुवात गर्नेदेखि पञ्चाङ्ग तथा ज्योतिषीय अनुभव र ज्ञानको प्रचारप्रसार गर्दै योगदान पुर्याउनुभएका विश्व ज्योतिष महासंघका केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा.लोकराज पौडेललाई सम्मानित गरिएको थियो ।
कार्यक्रमको सह आयोजना नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति, नेपाल, दक्षिण एशियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल तथा राष्ट्रिय महिला ज्योतिष संघ केन्द्रीय समितिको रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com