Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

नयाँ पुस्तालाई हाम्रो आफ्नो सभ्यताको शिक्षामा जोड्नुपर्नेछ: स्वामी रमणानन्द गिरि

नयाँ पुस्तालाई हाम्रो आफ्नो सभ्यताको शिक्षामा जोड्नुपर्नेछ: स्वामी रमणानन्द गिरि

समग्र वेद वेदाङ्गको रक्षा गर्ने हाम्रो आर्ष परम्पराका अनुयायीहरुले जहिले पनि ज्ञान र चेतनालाई ज्यादा महत्व दियौं । यहाँ बसेर धुलौटोमा कोरेर आजभन्दा हजारौं वर्षअघि कसरी हाम्रा पुर्खाहरुले सूर्यको गति चन्द्रको गति पत्ता लगाए होलान् ? कसरी ग्रहणसम्बन्धी सिद्धान्तहरु प्रतिपादन गरे होलान् ? कसरी कैयौं नक्षत्रहरुको आकारको आधारमा १२ वटा राशि भनेर बताए होलान् ? धुलौटोमा कोरेको भरमा रातबिहान कैयौं नक्षहरुको परिणाम परिमाण बताए होलान् ? अहिले त अब टेलिस्कोप लगायत ठूला ठूला यन्त्रहरु आए, तर त्यो नवग्रहको चक्र बनाएर पूजा गर्ने ब्राम्हणले उही बेलादेखि मंगल ग्रहलाई रातो बनाउन कसरी जाने होलान् ? हाम्रा ऋषि महर्षिहरुले आजभन्दा लाखौं हजारौं वर्षअघि देखि ग्रहहरुको रंगरुप कसरी भने होलान् ? एउटा आश्चार्यलाग्दो विषय छ । हामीसँग धेरै कुरा छ । 

हो, हामीसँग धेरै कुरा छ जसलाई महत्व दिएर हामीले जान्नुबुझ्नुपर्ने छ । तर, दुर्भाग्यको कुरा मुलधारको शिक्षा भनेर हामीले नेपालमा जे जस्तो शिक्षा नीति अवलम्बन गरिरहेका छौं, त्यसले हाम्रो यो लाखौं वर्षको इतिहासप्रति यथावत रुपमा न्याय गरिरहेको छैन । नेपाल त प्रकृतिले पत्याएको, देवताले पत्याएको, मानिसहरु बस्नुभन्दा अघि देवताहरु बसेर तपस्या गरेर सिद्धक्षेत्र बनाएको ठाउँ हो । यो दिव्य शिवक्षेत्र हो ।

अनादिकालदेखिको सभ्यता भएको हाम्रो भूमिमा आधुनिक कालमा आएका सबै कुराहरु हाम्रो प्राचीन विरासतलाई सम्मान र श्रद्धा गरेर, हाम्रो जराको भित्रको पर्यावरणको महत्वलाई बुझेर चलुन् भनी कामना गर्नुभयो । किनकि जस्तो ठाउँ छ त्यसको माटो सुहाउँदो चीजहरु चल्नुपर्छ । नेपाल विशेष प्रकारको भूमि हो, त्यही भएर हामीकहाँ शिक्षा नीति, अर्थ नीति, राजनीति, समाज नीति सबै यहाँको माटोमा चल्ने र रोपिने गरी हुनुपर्छ । 

यो माटो ऋषिमुनिहरुको तपस्याले भिजेको माटो हो, केवल पानीले मात्र भिजेको होइन । हाम्रो ढुङ्गामा पनि आध्यात्मिकताको स्पन्दन छ । हाम्रा रुखहरुमा देवताको बास हुन्छ । त्यही भएर हामीकहाँ जे हुन्छ त्यो संसारको अन्य भूगोलमा हुनेभन्दा दिव्य हुन्छ, आभायुक्त हुन्छ, प्रभावशाली हुन्छ, अध्यात्मको आशिर्वाद र स्पन्दनले भिजेको हुन्छ । यहाँका जल, जंगल र जमिन दिव्य छन् । यस्तो दिव्यभूमिमा बसोबास गर्न पाउने हामी पनि दिव्य हौं । 

सामरिक द्धन्दमा फसेका मुलुकभन्दा हामी माथि छौं, चौतारीमा सिरानी हालेर बस्ने यहाँका कोदाली खन्ने हाम्रा किसान दाजुभाइहरु चेतनामा धेरै माथि हुनुहुन्छ । हाम्रो सभ्यता धेरै माथिल्लो सभ्यता हो । संसारै बन्धु मान्ने हाम्रो सम्भता हो । हाम्रो अस्तित्व र विरासतको रक्षाका लागि र अर्को विश्व ब्रम्हाण्डको रक्षाका लागि पनि हामीले हाम्रो सभ्यतालाई जसरी हुन्छ जोगाउनुपर्छ । किनकि भविष्यमा विश्व ब्रम्हाण्ड रक्षा गर्ने हो भने हाम्रो मुलुकजस्तै शान्तवृत्तिको यस्तै पारिवारिक वातावरणको सभ्यता चाहिन्छ जहाँ नचिनेको मान्छे पनि आफ्नो जस्तो लागोस् । जहाँ नयाँ मान्छे आएपनि ‘अतिथि देवो भव’ भन्ने बानी बसोस्, जहाँ मातापिता र गुरुजनहरुलाई देवता समान मान्ने आदरको भाव रहोस्, सत्य बोल्ने धर्मको आचरण गर्ने अध्ययन अनुसन्धानमा निरन्तर रुचि राख्ने, दक्षताका कर्मबाट कहिल्यै नभाग्ने, कल्याणका बाटोबाट नभाग्ने, देव कार्य र पितृकार्यबाट कहिल्यै पनि छुट्न भाग्न वा उम्किन नखोज्नु, आफूले अध्ययन गरेपछि आचार्यलाई सन्तुष्ट हुने गरी गुरु दक्षिणा दिनु र प्रजाहरुको सन्ततिहरुको तन्तुलाई वा परम्परालाई विच्छेद नगर्नु यस्ता आज्ञा वचनहरु हामीसँग छन् । 

हाम्रा जति अनिन्दनीय कर्महरु छन्, तिमीले तिनीहरुको सेवा गर्नु र हाम्रा पनि यदि निन्दनीय कर्म छन् भने ती नसिक्नु, राम्रा बानी मात्र सिक्नु अनुशरण गर्नु भनेर गुरुहरुले आदेश दिनुभएको छ । पिता र पुत्रवत् सम्बन्ध हुने आचार्य र शिष्यको यो सभ्यता हो, यो सभ्यतालाई जोगाउनका लागि नेपालको शिक्षा पद्धतिलाई हामीले न्याय गर्नैपर्ने अवस्था छ । हाम्रो शिक्षालाई राम्रोसित सुधार्ने हो भने मात्रै हाम्रो भविष्यका सन्ततिले हाम्रो राष्ट्रको महिमा र सभ्यताको महिमा थाहा पाउनसक्नेछन् । त्यही कुरा आधुनिक भनिने वा मुलधारको भनिने शिक्षा पद्धतिमा कम भयो भनेर असन्तुष्ट भएर ब्रम्हलीन सद्गुरुदेवले गुरुकुलको यो पद्धतिको स्थापना गर्नुभएको हो । त्यही गुरुकुलीय पद्धति वा प्रणालीमै अनलाइनबाटै भएपनि यहाँहरु जोडिनुभएको छ । तर, हामीले गर्नुपर्ने काम धेरै छ । नेपालको भविष्य हामीले जोगाउनुपर्नेछ । भविष्य भनेको नयाँ पुस्ताबाट जोगिने हो । त्यो नयाँ पुस्तालाई हाम्रो आफ्नो सभ्यताको शिक्षादीक्षामा जोड्नुपर्नेछ । त्यतिमात्र नपुगेर विश्वलाई नै हामीले जोगाउनुपर्नेछ । यो सगरमाथाको देशले आफ्नो वैचारिक सर्वोच्चतालाई अनन्तकालसम्म यसैगरी कायम गरिराखोस् । यो गोरखनाथको यो शिवको भूमिले, यो शक्तिको भूमिले संसारभरि अनादि अनन्तकालसम्म आर्शीवचन दिइरहन पाओस् । नेपाललाई नेपाल भनेर सुरक्षितसाथ हामीले सधैं यसैगरी प्यारो देश भनेर मानिरहन पाऔं । 

(महेश संस्कृत गुरुकुलमद्वारा सञ्चालित घर-घरमा गुरुकुलीय शिक्षा कार्यक्रम अन्तर्गत महर्षि वसिष्ठ सदनले आज आयोजना गरेको ‘अनलाइन ज्योतिष प्रशिक्षण कार्यक्रम’ को दीक्षान्त तथा प्रमाणपत्र वितरण कार्यक्रमका सभाध्यक्ष देवघाटस्थित महेश सन्न्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलका अध्यक्ष स्वामी श्री १००८ रमणानन्द गिरिको मन्तव्यको सम्पादित अंश)

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार