Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'जिल्ला सहकारी संघ ललितपुरको पुरानो साख फर्काउछौं'

'जिल्ला सहकारी संघ ललितपुरको पुरानो साख फर्काउछौं'

काठमाडौं । जिल्ला सहकारी संघ ललितपुरको गुमेको साख फर्काउने गरी नयाँ सञ्चालक समितिले काम गर्ने दाबी नवनिर्वाचित अध्यक्ष जगतलाल महर्जन तथा सचिव अनिल वीर बज्राचार्यले गर्नुभएको छ ।

२०८२ चैत १५ गते सम्पन्न संघको ३४औं वार्षिक साधारणसभाबाट निर्वाचित उहाँहरुले केही दिनअघि धिप्री डटकमसँग संवाद गर्दै सहकारी अनुभवले धनी नयाँ टिमले सदस्यहरुको भरोसा टुट्न नदिई सहकार्य, सहमति र एकताका आधारमा काम गर्ने विश्वास दिलाउनुभयो ।

अध्यक्ष महर्जनले भन्नुभयो, ‘ललितपुर जिल्ला सहकारी संघले धेरै आरोहअवरोह पार गरेको छ । विगतमा देशकै तेस्रो चौथोमा गनिने संघको साख खस्कदै गएको सबैलाई थाहा छ । त्यसबीच नेतृत्व परिवर्तनको आवाज जर्बजस्त रुपमा उठेको थियो । निर्वाचनमा सहभागी ४ सय २९ प्रतिनिधिमध्ये ३ सय ९८ जनाले हाम्रो पक्षमा अभिमतसँगै मत जाहेर गरेकाले हामी निर्वाचित भयौं । संघको सक्रियता र सुशासनका दृष्ट्रिले सदस्यहरुले जे जस्तो अपेक्षा हामीबाट राख्नुभएको छ, त्यो भरोसालाई टुट्न नदिने गरी काम गरेर देखाउँछौं ।’

सँगै रहनुभएका नवनिर्वाचित सचिव बज्राचार्यले भन्नुभयो, ‘हिजो पूरा नभएका अपेक्षाहरु हामी सम्बोधन गर्छौं । हामी काम गर्न आएका हौं, काम गरेर देखाउँछौं । त्यसका लागि टिमवर्कमा विश्वास गर्छौं । एकताबद्ध भएर संघलाई संघ जस्तो हामी बनाउँछौं ।’

सविच बज्राचार्यले संघभित्रको बेथिति नयाँ समितिले चिर्छ भन्ने विश्वास सदस्यहरुको रहेको भन्दै त्यो काम गरेर देखाउने वाचा गर्नुभयो । सचिव बज्राचार्यले भन्नुभयो, ‘हामी साढे ६ करोड घाटामा छौं । त्यो हाम्रो मुख्य चुनौती हो ।’ 

अध्यक्ष महर्जनले भन्नुभयो, ‘हामी छलफल गरेर सामूहिकताका आधारमा अघि बढ्छौं । संघको मुहार पक्कै फेर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौं ।’ सुशासनलाई केन्द्रमा राखेर अब काम गरिने भन्दै सचिव बज्राचार्यले भन्नुभयो, ‘सुशासन माथिबाट शुरु हुनुपर्छ भन्ने मान्यतामा हामी छौं । सञ्चालक समितिमा बस्नेहरु पहिला सुशासित हुनुपर्छ, नीतिविधिमा बस्नुपर्छ अनि अरुलाई भन्न सुहाउँछ । यो नयाँ सञ्चालक समिति यस कुरामा सचेत छ । हामी संघलाई बेफाइदा हुने र कानून भन्दा बाहिर गएर काम गर्दैनौं ।’

अबको जोडः सहकार्य, सहमति र एकता
अध्यक्ष महर्जनले भन्नुभयो, ‘निर्वाचनका बेला सर्वसम्मत नेतृत्व चयनको अधिकतम प्रसाय भएको हो, कोही पनि बाहिर बस्नुनपरोस भनेर कोशिस भएको हो तर सम्भव नभएपछि प्रजातान्त्रिक विधिमा गयौं र सदस्य संस्थाका प्रतिनिधिहरुले हामीलाई पत्याउनुभयो । तर, अब हामी यो उ वा राजनीतिक आस्था भन्ने छैन, सहकारी भित्र आएपछि हामी सबै सहकारीकर्मी हौं । हामीले शुरुदेखि नै सहकार्य, सहमति र एकता भन्दै आएका छौं । मुलुकको राजनीतिक परिवर्तन र त्यसमा पनि परिवर्तनकामीहरुको माहोल सिर्जना भएको बेलामा हामीले सहकारीमा पनि सबैसँग सहकार्य गरेर सदस्यहरुको परिवर्तनको अपेक्षालाई सम्बोधन गर्नुपर्छ भनेर काम गर्ने हो । एकताबद्ध भएर अघि बढ्न सक्यो भने नै हामी सफल हुन्छौं भन्ने मान्यता राख्छौं । आस्थाका आधारमा कसैलाई भेदभाव गर्दैनौं ।’

उहाँले थप्नुभयो, ‘यहाँ आउनुअघि म बागमती प्रदेश सहकारी संघको बरिष्ठ उपाध्यक्ष थिएँ । त्यहाँ र अन्यत्र जुनजुन भूमिकामा रहेँ सबैतिर सबैलाई मिलाएर नै लानुपर्छ भन्ने गरी काम गरेको छु । त्यो अर्थमा म समन्वयकारी भूमिका निर्वाह गर्दै आएको व्यक्ति हुँ । मेरो त्यो स्वभाव यहाँ पनि अवश्य काम लाग्छ नै ।’

सचिव बज्राचार्यले पनि टिमवर्कको अपेक्षा सदस्यहरुले गरेको भन्दै अबको समितिको जोड सामूहिकतामा हुने बताउनुभयो । सदस्यहरुको अपेक्षा टिमवर्क हुनुपर्छ भन्ने छ, हामी त्यसलाई नै ध्यानमा राखेर काम गर्छौं ।’

साझा टिम, सबल टिम 
नयाँ टिम एकदमै राम्रो बनेको भन्दै अघिल्लो समितिमा पनि सचिवनै रहनुभएका बज्राचार्यले भन्नुभयो, ‘सबै जना प्रारम्भिक संस्था चलाएको अनुभवी हुनुहुन्छ । हामी साझा टिम बनेका छौं । उपभोक्ता सहकारी, बहुउद्देश्यीय, बचत तथा ऋण आदि गरी सबै प्रकृतिका सहकारीहरुको प्रतिनिधित्व यहाँ छ । अनि, अर्को भनेको कोही कसैले पनि प्रतिनिधित्व गरेको संस्थामा समस्या आएको छैन । सहकारी चलाएर खारिएका व्यक्तिहरु आउनुभएको छ । २०७६ सालपछिको प्रतिकूल अवस्थालाई पनि चिरेर आफ्नो संस्था राम्रो बनाउन सकेकाहरु नै यहाँ आउनुभएको छ । त्यस्तै, सञ्चालकहरुले ऋण नचलाई अरु सदस्यहरुलाई लगानी गरेर आउनुभएको छ । सुशासन त्यहीबाट पुष्टि हुन्छ । त्यसैले टिम उदाहरणीय छ । अनि, अहिले कमजोर भएको संघलाई सबै मिलेर उकास्नुपर्छ भन्ने नै मनशाय राखेर सबै जना निर्वाचित हुनुभएको छ । कुनै निश्चित धारको भन्ने छैन । यो नै राम्रो पक्ष हो ।’ 

साधारणसभाबाट संघको उपाध्यक्षमा शशि खड्का गुरुङ, कोषाध्यक्षमा पुरुषोतम वजगाई र लेखा समिति सदस्यमा इन्द्रकुमारी थापा निर्विरोध निर्वाचित हुनुभएको थियो भने सचिवमा अनिल विर बज्राचार्य र संचालकहरुमा सविना तण्डुकार, इन्द्रकुमारी शाक्य,राम गोविन्द्र मर्हजन,उपेन्द्र अवाले र दिपेन्द्र रमण डंगोल निर्वाचित हुनुभएको थियो । त्यसैगरी संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा  प्रल्लाद विष्ट र सदस्यमा ठक्कर घिमिरे  निर्वाचित हुनुभएको थियो ।

आफू सुशासन पढाउँदै हिड्ने व्यक्ति भएकाले पनि ऋणलाई लगातार फलोअप गर्दै सकेसम्म समयमै उठाउनुपर्छ भनेर लागिपरेको सचिव बज्राचार्यले जानकारी गराउनुभयो । ‘मैले सचिवको जिम्मेवारी लिइरहँदा १४ करोडको उढ्न बाँकी ऋण थियो, बज्राचार्यले भन्नुभयो, ‘त्यसलाई ७ करोडमा झार्न सफल भइयो । समितिका सबै साथीहरुको साथले । तर, जति गर्नुपर्ने हो त्यति सकिएन । विविध कारण थिए । तर अबको टिम त्यो काम गर्न सक्षम छ ।’

भाखा नाघेको ऋणको पूर्ण रुपमा सुरक्षण खर्च लेखेका कारण बढी घाटा देखिएको भन्दै अब भने नयाँ टिमले त्यसलाई प्राथमिकतामा राखेर सदस्य संस्थाहरुसँग छलफल गरी काम गर्ने उहाँले बताउनुभयो ।

अर्को भनेको संघको वित्तीय अवस्थाबारे सदस्यहरुलाई कुनै किसिमको गुमराहमा नराखी पूर्ण पारदर्शी ढंगले जानकारी गराएको सचिव बज्राचायले बताउनुभयो । नयाँ टिमलाई अब कसरी जानुपर्छ भनेर पनि मार्गचित्र स्पष्ट हुने भएकाले पनि जस्ताको तस्तै राख्न आफूले विशेष भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । ‘तपाईंलाई थाहै छ कतिपय संघहरुको अडिट रिपोर्टमा कस्तो चलखेल हुन्छ । तर, हामीले पारदर्शी ढंगले जे छ त्यो देखाएका छौं । अडिटरले पनि त्यही सल्लाह दिनुभएको थियो । त्यसले अब नयाँ टिमलाई काम गर्न भने सहज हुनेछ ।’ 

विगतमा संघको लेखा सुपरिवेक्षण समिति संयोजक समेत रहनुभएका बज्राचार्यले अघिल्लो कार्यकालमा केही सञ्चालकहरुको संस्थाले समयमा साँवा र ब्याज नतिर्दा उहाँहरुलाई किन निलम्बन नगर्ने भनेर प्रश्न उठाउँदा त्यसको असर आफूलाई परेको समेत उहाँले खुलाउनुभयो । बज्राचार्यले कुरा खोल्नुभयो, ‘यो मैले तपाईलाई भन्नैपर्छ ।’ 

अन्तरलगानी नगर्ने तयारी
२०७६ सालदेखि अन्तरलगानी कार्यक्रम सञ्चालन गरेको संघको ब्यालेन्स सीट करिब ६६ करोड सम्म पुगेको थियो । अघिल्लो समितिको अन्त्यसम्म भने कुल सम्पत्ति करिब साढे ८ करोड रहेको थियो । संघले लगानीमा रहेको ऋणलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी विभागको निर्देशनअनुरुप प्रोभिजन गरेको छ । सचिव बज्राचार्यले सुनाउनुभयो, ‘अघिल्लो असार सम्मको कुरा गर्ने हो भने हामीले पाउनुपर्ने ब्याज नै १ करोड छ । सबै गर्दा हामी साढे ६ करोड घाटामा छौं ।’

लगानीमा रहेको ऋण समयमै नउठ्दा तथा ब्याज आम्दानी नहुँदा समस्या भएको भन्दै उहाँले त्यसमा सहकारी संस्थाहरुको पनि समस्या बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसरी हाम्रो ब्याज उठेन उसैगरी हामीले लगानी गरेका संस्थाहरुको पनि सदस्यहरुबाट ब्याज नउठेको अवस्था छ । संघको रुपमा हामीले सही अर्थमा अपनत्व प्रदान गर्न नसक्दा पनि केही समस्या देखिएका छन् जसलाई अब हामी एउटा रणनीति बनाएर कार्यान्वयन गर्छौं ।’

अध्यक्ष महर्जनले आफू ललितपुर जिल्ला बचत संघमा उपाध्यक्ष हुँदै जिल्ला सहकारी संघमा अन्तरलगानी शुरु भएको स्मरण गर्दै भन्नुभयो, ‘त्यतिबेलै हामीले जिल्ला बचत संघ हुँदा हुँदै किन सहकारी संघले अन्तरलगानी गर्नुपर्यो भनेर भनेको थियौं, तपाईंहरु बहसपैरवी, प्रर्वधन तथा कानूनी अनुकूलता निर्माणमा काम गर्नुस् भनेर सुझाएका थियौं तर होइन आत्मनिर्भर बन्न अन्तरलगानी चाहिन्छ भनेर शुरु गर्नुभयो । तर, अब हामी अन्तरलगानी गर्दैनौं भनेर सदस्य संघसंस्थाहरुलाई जानकारी गराउँने र सोही अनुरुप आवश्यक प्रबन्ध गर्ने हो कि भनेर छलफल गरेका छौं ।’

बहसपैरवीमा जोड
संघको मुख्य काम बहसपैरवी भएको बताउँदै अब भने अन्तरलगानीलाई अघि नबढाउने गरी तयारी भैरहेको अध्यक्ष र सचिवले जानकारी गराउनुभयो । जिल्ला सहकारी संघको काम अन्तरलगानी नभई बहसपैरवी तथा प्रवर्धनात्मक काम भएकाले कानूनले दिएको अधिकारभित्र रही तिनै कामलाई प्राथमिकतामा राखिएको दुबैजनाले बताउनुभयो ।

‘बहसपैरवीमा सबै काम जिल्ला संघले मात्र गर्न सक्दैन, ’ अध्यक्ष महर्जनले भन्नुभयो, ‘हामीले मात्र गरेर पुग्दैन, हाम्रो पहुँच कम हुनसक्छ, त्यस्तोमा हाम्रा माथिल्ला संघहरु तथा महासंघसँग पनि समन्वय गरी जिल्लाका सहकारीहरुलाई सदस्य सेवा गर्न सहज नीतिगत एवम् कानूनी वातावरण तयार गर्ने दिशामा हामी कटिबद्ध भएर लाग्छौं ।’

सचिव बज्राचार्यले सुनाउनुभयो, ‘अब हामी छिट्टै नयाँ सञ्चालक समितिले आगामी ४ वर्षमा संघलाई कहाँ पुर्याउने भनेर रणनीतिक योजना निर्माण गर्छौं र त्यसकै आधारमा अघि बढ्छौं ।’ स्थानीय सरकारसँग मिलेर काम गर्छौं ।

यस्तै, सचिव बज्राचार्यले बचत फिर्ताको कुरा मात्र सरकारले गरेर नहुने बरु ऋण उठाउने दिशामा पनि सहकारी क्षेत्रलाई सरकारको सहयोग आवश्यक पर्ने भन्दै अर्को कुरा पनि उहाँले राख्नुभयो । उहाँले भन्नुभयो, हामीलाई चल्न सरकारको सहयोग चाहिन्छ । चाहे त्या बजेटरी रुपमा होस् वा कार्यक्रमिक अनुदानको रुपमा । यो आवश्यक छ ।

चिर्छौ चुनौतीहरु
आफूहरु निर्वाचित हुनुअघि नै संघका समस्या र चुनौतीहरुबारे राम्रोसँग थाहा भएको भन्दै तिनलाई अवसरमा कसरी बदल्नुपर्छ भन्ने पनि थाहा भएको अध्यक्ष महर्जन र सचिव बज्राचार्यले बताउनुभयो । सचिव त झन् अघिल्लो दुई कार्यकाल कामनै गरिसक्नुभएको छ । 

जिल्लाको पूर्व नेतृत्वकर्ताहरुले कायम गरेको साख जोगाउने चुनौती एउटा छ भने अर्को भनेको वित्तीय रुपमा सवल बनाउनुछ । जिल्लाको अभिभावक संघ बनाउनुछ बहसपैरवीका माध्यमबाट । त्यसका लागि सबै टिमसँग बसेर छलफल गर्ने, साझा अवधारणामा आधारित रणनीति बनाउने, त्यसको कार्यान्वयन गर्ने अध्यक्ष महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘चुनौतीहरु थुप्रै भएपनि तिनलाई कसरी अवसरमा बदल्नुपर्छ भन्नेबारे हामी जानकार छौं । त्यही यथेष्ट जानकारीका आधारमा सबै जना मिलेर निस्वार्थ काम गर्छौं ।’

सचिव बज्राचार्यले पनि राम्रो टिम बनेकाले काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले लगानी उठाउने विषयमा भने एकैचोटि सबैलाई पेलेर जान नसकिने स्पष्ट पार्नुभयो । सचिव बज्राचार्यले भन्नुभयो, ‘पेलेर सबै ऋण उठाउन सकिन्छ भन्ने हुँदैन । प्रारम्भिक संस्था मरे भने हामी पनि सँगसँगै मर्छौं । तर प्रारम्भिक संस्थाहरुले पनि संघलाई मर्न दिनुभएन । दुबैलाई विनविन हुने गरी काम गर्छौं । ऋणीहरुलाई निश्चित समय दिएर के कसरी तिर्न सक्छन् भनेर उनीहरुसँगै बसेर राम्ररी छलफल अघि बढाउँछौं । ऋण उठ्ने बित्तिकै हामी सस्टेन भैहाल्छौं ।’

संघमा अर्को भनेको मानव संशाधन व्यवस्थापन पनि चुनौती भएको सचिव बज्राचार्यले बताउनुभयो । ‘अब संघले अन्तरलगानी नगर्ने भएपछि कर्मचारीको भार पनि हामीलाई हुनेछ, ’उहाँले भन्नुभयो, ‘संघसँग आफ्नै भवन भएपनि र भाडा आएपनि त्यो भन्दा बढी कर्मचारीको तलबसुविधामा खर्च हुने भएकाले त्यसतर्फ पनि सोच्नुपर्नेछ । त्यसैले कि आम्दानी बढाउनुपर्यो कि कर्मचारीहरुलाई कसरी परिचालन गर्ने भन्ने रणनीति बनाउनुपर्यो ।’

वर्तमान अवस्था
संघमा हाल ७९८ सदस्य छन् । तथ्याङ्क अनुसार ३ सय संस्था संघको नेटवर्क बाहिर छन् । करिब १० करोड कुल सम्पत्ति छ । ८ करोड ऋण छ । राष्ट्रिय सहकारी बैंकसँग ऋण लिएको छ भने अहिले पनि संघस लिक्विडिटी समस्या छ ।

यसैबीच, समग्र जिल्लाकै सहकारीहरुको अवस्थाको चित्रण गर्दै अध्यक्ष महर्जनले भन्नुभयो, ‘ललितपुरमा केही ठूला सहकारीहरु पनि समस्यामा परे जुन मैले भनिरहन पर्दैन । त्यसले ठूलै असर पनि गर्यो तर अब जे जति भए अरु त्यस्तो नयाँहरु समस्यामा पर्ने देखिदैन । जति हुनुथियो भैसक्यो अब भने केही अल्पकालीन समस्यामा भएका हुनसक्छन् तिनलाई सही मार्गमा ल्याउन सकिन्छ । अब हामी सबै मिलेर ललितपुर जिल्लाको सहकारी अभियानलाई सुशासित, व्यावसायिक, सदस्य केन्द्रित र दिगो बनाउनुपर्नेछ ।’

अन्त्यमा, अध्यक्ष महर्जन तथा सचिव बज्राचार्य दुबैले धिप्री डटकममार्फत सबै सदस्य संघ संस्थाहरुलाई आश्वस्त पार्नुभयो, ‘एकता, सहमति र सहकार्य गर्दैै असल मनका साथ काम गरेर संघको हिजोको साख पुनस्र्थापित गर्दै हाम्रो कार्यकाललाई स्वर्णयुग बनाउँछौं । यसमा हामी प्रतिबद्ध छौं ।’

1774849504-T8TnV.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार