Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
एपेक नेपालको २७औँ वार्षिकोत्सव

द्विदेशीय काव्य गोष्ठीमा सुनिए नेपाल र भारतका कविहरु

द्विदेशीय काव्य गोष्ठीमा सुनिए नेपाल र भारतका कविहरु

काठमाडौं । एपेक नेपालको २७औँ वर्षको उपलक्षमा आयोजित द्विदेशीय काव्य गोष्ठीमा नेपाल र भारतका कविहरुले आफ्ना कविता वाचन गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अघिल्लो दिन बुधबार लोकार्पित अनुदित काव्यकृति ‘अनुभूति’भित्रका कविताहरु दुई छिमेकी मुलुकका कविहरूले वाचन गरे । उनीहरु अधिकांशले फरक भाषामा कविता वाचन गरी सम्बन्धको प्रगाढता समेत पस्किएका थिए । प्रायः नेपाली कविहरुले हिन्दी र भारतीय कविहरुले नेपालीमा कविता वाचन गरी फरक स्वाद पस्केका थिए ।

‘अनुभूति’मा ३१ नेपाली कविका कविता हिन्दी भाषामा र ३१ भारतीय कविका कविता नेपाली भाषामा रश्मी शर्माले अनुवाद गर्नुभएको छ । उक्त कृतिभित्रबाटै कविहरू स्नेह सायमी, डा.धनेश द्विवेदी, विनोद परासर, दीप दर्पण, राजकुमार श्रेष्ठ, भूपिन खड्का, गीता कार्की, गरिमा संजय, मणि लोहनी, मोमिला, शकुन्तला मित्तल, डा. वनिता शर्मा, डा. तूलिका सेठ, निमेष निखिल, भावना तिवारी, विमल वैद्य, किशोर श्रीवास्तव, चन्द्र गुरुङ, डा. कविता मलहोत्रा, शकुन्तला जोशी, उमा सुवेदी, मोनालिसा पंवार, अशेष मल्ल, नमिता राकेश, भोजराज न्यौपाने, ज्योति जंगल, उषा शेरचन, राजेन्द्र शलभ, प्रज्वल अधिकारी, सुधाकर पाठक, छविरमण सिलावाल, विश्वविमोहन श्रेष्ठ र लीला अनमोलले आफ्ना अनुदित कविता वाचन गर्नुभएको थियो ।

हिन्दुस्तानी साहित्य अकादेमीका अध्यक्ष सुधाकर पाठकले नेपालबाट मिठो अनुभूति र सिकाइ लिएको प्रतिक्रिया व्यक्त गर्नुभयो । उहाँले भाषाका माध्यमबाट दुई भूगोल जनिक भएको भन्दै आगामी दिनमा यो सम्बन्धलाई थप प्रगाढ बनाउने दिशामा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले अघिल्लो दिन उद्घोष गरेको हिमा रोकाको लघुकथाकृति ‘प्रतिज्ञा’को हिन्दीमा अनुवाद गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले पाठकले भनेअनुसार ‘प्रतिज्ञा’को हिन्दी अनुवादका लागि संस्थाको सहमति रहेको जानकारी दिँदै अनुवादको जिम्मा रश्मी शर्मालाई नै दिइएको बताउनुभयो । एपेकका निर्देशक राजेन्द्र शलभले संस्थाले केही फरक ढंगले लाग्नुपर्ने सोचसहित अनुवादमा काम गरिएको उल्लेख गर्नुभयो । 

उक्त अवसरमा ‘हिन्दुस्तानी भाषा भारती’ त्रैमासिक पत्रिकाको विमोचन गरिनुका साथै भारतीय कविहरुलाई सम्मानित गरिएको थियो । हिजो विमोचित पत्रिकाको आगामी अंक एएपेक नेपालको २७औँ वर्ष र द्विदेशीय काव्य गोष्ठीको विशेषांका रुपमा प्रकाशित गर्ने हिन्दुस्तानी साहित्य अकादेमीका अध्यक्ष पाठकले घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार