काठमाडौं । नेपाल सरकारले आफ्नो स्वास्थ्य बजेट एक चौथाइले कम गर्न चाहन्छ भने त्यो सम्भव भएको दाबीसहित त्यसका लागि सहयोग गर्न तयार रहेको एक भारतीय गव्यसिद्धाचार्यले उद्घोष गर्नुभएको छ । भारतको तमिलनाडु राज्यको काञ्चिपुरमस्थित सेवारत्न पञ्चगव्य विद्यापीठमका गुरुकुलपति निरंजन कुमार वर्माले भन्नुभयो, ‘आगामी पाँच वर्षमा नेपालको हेल्थ बजेट एक चौथाईले कम गर्न काञ्चिपुरमस्थित सेवारत्न पञ्चगव्य विद्यापीठम मद्दत गर्न सक्छ ।’
त्यसको उपाय निकै सरल भएको बताउँदै उहाँले भन्नुभयो, ‘पञ्चगव्य चिकिस्ता विज्ञान ।’ त्यसका लागि आयुर्वेदलाई बुझ्नुपर्ने उहाँको भनाइ थियो । नेपालमा सबैभन्दा बढी वनस्पति रहेको हिमाली क्षेत्रबाटै वनस्पतिज्ञानको प्रचार विगतमा भए पनि समयक्रममा नेपालले आफ्नो आयुर्वेद बिर्सदै गएको उहाँले टिप्पणी गर्नुभयो । ‘नेपाली स्वरुपको आयुर्वेदको पहिचान खोज्ने हो भने त्यसको प्राण भनेको गाई हो, ’आज काठमाडौंमा आयोजित पञ्चगव्यको महत्व एवम् गौविज्ञान कथा कार्यक्रममा गुरुकुलपति वर्माले स्पष्ट पार्नुभयो, ‘आयुर्वेदको प्राण गाईलाई जुनदिनदेखि बाहिर फ्याकियो, त्यसदिनदेखि आयुर्वेद प्राणरहित भयो । त्यसैकारणले आज आयुर्वेदको गोलीले काम गर्न छोडेको छ । आयुर्वेदप्रति मानिसहरुको विश्वास हराएको । डुब्दैगरेको यो आयुर्वेदमा गाईरुपी प्राण जोडिदिने हो भने पुरानै आयुर्वेद बन्छ ।’
नेपाली स्वरुपको पुरानो आयुर्वेदका कारण नेपालदेखि गंगाबेसिनसम्मका मानिसहरु निरोगी रहेको उदाहरण दिदैं उहाँले भन्नुभयो, ‘त्यसैले तपाईहरु आफ्नो गाईको ताकत चिन्नुहोस् । आयुर्वेदमा, उसको प्राण गाई जोड्ने हो भने गौमातामार्फत निरोगी नेपालको परिकल्पना साकार सम्भव छ । त्यसका लागि जस्तो प्रकारको खोज अनुसन्धान र अध्ययन आवश्यक छ त्यसमा सहयोग गर्न म र विद्यापीठ तयार छौं ।’
भौतिक विज्ञान पढ्नुभएका इन्जिनियर वर्मा पछिल्ला केही दशकदेखि उक्त पेशा छोडेर गौसेवामा समर्पित हुनुहुन्छ । गव्यसिद्धाचार्य वर्माले गाई वंशको संरक्षणमार्फत नै नेपालको समृद्धि सम्भव भएको दाबी प्रस्तुत गर्नुभयो । ‘गौमाताको शक्ति अथाह छ जुन हामीले चिन्न सकेकै छैनौं, ’वर्माले भन्नुभयो ।
गौमाता र तिनका पञ्चगव्यहरुको आध्यात्मिक, वैज्ञानिक तथा स्वास्थ्य महत्वबारे जानकारी गराउने उद्देश्यले आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले निरोगी नेपाल निर्माण गर्ने हो भने गौवंशको संरक्षणमा विशेष जोड दिनुभयो ।
गौवंशको संरक्षणमार्फत स्वास्थ्य बजेट कम गर्ने, निरोगी नेपाल बनाउने र नेपालको समृद्धिको सपना साकार पार्न सकिने उहाँले बताउनुभयो । स्वाभिमानी, स्वावलम्बी र समृद्ध नेपाल निर्माण गर्ने हो भने गौवंशको संरक्षण आवश्यक छ । त्यति मात्र नभई गौवंशले चाहे प्रलय समेत रोक्न सक्ने सामथ्र्य भएको उहाँको भनाइ थियो ।
पञ्चगव्यलाई व्यापारसँग जोड्ने हो भने समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै तिनको उपादेयताको उदाहरणहरु उहाँले आज प्रस्तुत समेत गर्नुभयो । गाईबाट उत्पादित हुने दूध, दही, घिउ, गोबर र गहुँत समावेश पञ्चगव्यका उपादेयताको उहाँले छुट्टछुट्टै चर्चा समेत गर्नुभयो । पञ्चगव्यलाई जैविक मल, बिरुवाको विकासको लागि खाद्य तत्व र मानव स्वास्थ्यका लागि औषधि रूपमा प्रयोग गर्न सकिने भन्दै यसको उपयोगले बोटबिरुवाको प्रतिरोधात्मक शक्ति बढाउने, माटोको उर्वराशक्ति सुधार गर्ने, र स्वस्थ बिरुवा हुर्काउन मद्दत गर्ने उहाँको भनाइ थियो । मानवका लागि अहिलेको आवश्यकता भनेको पञ्चगव्यको उपयोग भएको तर्क उहाँले गर्नुभयो । ‘त्यसैले हामीले गाईलाई पाल्ने होइन, गाईले हामीलाई पालनपोषण गर्ने हो, ’वर्माले बोल्नुभयो ।
आधुनिक भौतिक विज्ञानले सुधार समृद्धि भन्दा लडाइँ, झगडा र माटो बिगार्ने काम गरेको आरोप उहाँले लगाउनुभयो । अग्नि, जल, वायु खराब गर्ने कारक विज्ञान भएको भन्दै उहाँले विज्ञान सुधारको कारक बन्न नसकेको बताउनुभयो । ‘त्यसैले म भौतिक विज्ञानलाई विध्वंशकारी विज्ञान भन्छु, ’उहाँले संज्ञा दिनुभयो । यस्तो विध्वंशकारी विज्ञानको युगबाट पृथ्वीलाई बाहिर निकाल्न गाईको भूमिका अहम् हुने उहाँले बताउनुभयो । गाईमार्फत नै माटो, जल, अग्नि र वायु शुद्धीकरण सम्भव भएको उदाहरणहरु उहाँले प्रस्तुत गर्नुभयो ।
दुई वर्षअघिको अनुभव सुनाउँदै उहाँले भारत सरकारका सबै मन्त्रालयमा गाईको उपादेयता स्थापित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसैगरी, बदलिदो नेपालको हर सन्दर्भ, क्षेत्र र मार्गमा गाईको महत्व र औचित्य पुनःस्थापना गर्ने हो भने भोलिको नेपाल विश्वको एक सशक्त एवम् समृद्ध मुलुक बन्नसक्छ ।’ त्यसका लागि सन् २०२७ मा नेपालमा पञ्चगव्य चिकित्सा विज्ञान केन्द्र स्थापना होस् भन्ने कामना पनि उहाँले व्यक्त गर्नुभयो ।
यसैगरी, उहाँले विदेशी गाई नल्याउन पनि सुझाउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशी गाईको चक्करमा नपर्नुहोस् । जो जो मुलुक विदेशीको चक्करमा परे ति मुलुकहरु डुबे । जो जो मुलुक आफ्नो परिवेश र व्यवस्थाको खडा गर्न लागिपरे तिनै मुलुकहरु विकसित भएका छन् । विकसित नेपालको परिकल्पना गर्ने हो भने नेपालको सबै व्यवस्थाको स्वावलम्बी मोडल खडा गर्नुपर्छ ।
गौ संरक्षण अभियानको आयोजना रहेको कार्यक्रममा भारत सरकार पूर्व सचिव डा.कमल टावरीले पञ्चगव्यको प्रयोगलाई व्यापारसँग जोड्नु आवश्यक रहेको बताउनुभयो । उहाँले पञ्चगव्यको प्रयोगमार्फत निरोगी भएकाहरुबारे प्रचारप्रसार आवश्यक भएको भन्दै आयोजकहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com