करिब २ वर्ष अघिको कुरा हो । राष्ट्रिय सहकारी बैंकको जोरपाटी शाखाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्य सहकारी संस्थाहरुका लागि एउटा ह्वाट्स एप ग्रुप बनायो-सहकारी सिकाइ यात्रा । सदस्य सहकारीहरुबीच अनुभव, सिकाइ, समस्या र समाधान, प्रश्न, उत्तर आदि विषयमा औपचारिक एवम् अनौपचारिक अभिव्यक्तिको छिटो, छरितो र सहज सेतु निर्माण गरिएको थियो । जब सहकारी सिकाइ यात्रारम्भ भयो, तब केही समयपछि त्यो ह्वाट्स एप ग्रुपका सदस्यहरुबाट सुझाव आयो-हामीले यसलाई सिक्दै, अघि बढ्दै सहकारी भनेर नामाकरण गरौं र कार्यक्रमिक रुपमै अघि बढाऔं ।
‘सदस्य सहकारीका जिम्मेवार प्रतिनिधिहरुबाट आएको सुझाव वास्तवमै मननयोग्य थियो,’ सहकारी बैंकको जोरपाटी शाखाका प्रमुख युवा सहकारी ‘फङ्सनरी’ आदर्श धमलाले धिप्री डटकमसँग भन्नुभयो, ‘त्यसपछि हामीले मूर्तरुप दियौं-राम्रा सहकारीहरुको प्रत्यक्ष अध्ययन अवलोकन मार्फत संस्थागत तथा व्यवस्थापकीय सक्षमता हासिल गर्दै अघि बढ्ने । सदस्यहरुलाई उदाहरणीय (सफल अनि असल) सहकारीहरुको एक दिने भौतिक अवलोकनसँगै वस्तुपरक सिकाइको स्वाद पस्कने । यो विषयमा ह्वाट्स एप ग्रुपमै चरणबद्ध कुरा भए । भौतिक भेटहरुले परिस्कृत गर्दै लग्यो र आकार ग्रहण गर्यो । अन्ततः हामीले गत वर्षबाट शाखास्तरमै यो प्रयास प्रारम्भ गर्यौं-कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोटस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण गराएर । नतिजाले उत्साहित भएर नै हो हामीले यो वर्ष पनि अर्को सहकारीको भ्रमण गरायौं हाम्रा सदस्यहरुलाई । सिकाइबाट सदस्य सहकारीहरु सन्तुष्ट हुनुहुन्छ । हामी क्याटलिष्ट बन्न पाएकोमा त्यति नै खुसी छौं ।’
सहकारी संस्थाका प्रतिनिधिहरुले समुदायमा उत्कृष्ट सेवा प्रवाहमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय सफलता हासिल गरेको लुभुस्थित कल्याणकारी बचत तथा ऋण सहकारीले गरेका असल अभ्यासहरुबारे जानकारी प्राप्त गर्ने अवसर प्राप्त गरेका छन् । ‘भौतिक भ्रमणका माध्यमबाट अन्तरक्रियात्मक हिसाबले फस्ट ह्यान्ड जानकारी पाउँदा सहभागीहरु निक्कै हर्षित भएको पायौं, ’ धमलाले भन्नुभयो, ‘यो सिकाइले सहकारिताको भावना र मर्म समेत प्रबलीकरण भएको छ ।’ बैशाख १४ गते आयोजित उक्त कार्यक्रममा कल्याणकारी सहकारीका प्रमुख कार्यकारी अधिकृत एवम् कुशल सहकारी प्रशिक्षक कुमार खत्रीले संस्थाको कर्जा लगानीको शुरुवाती प्रक्रियादेखि सदुपयोगिता जाँच र असूली प्रक्रिया र कागज व्यवस्थापन सम्मका सबै प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । साथै खत्रीले सहकारीको संस्थागत विकासका लागि आवश्यक टिप्सहरु पनि उपलब्ध गराउनुभएको बैंकले जनाएको छ ।
१९ वटा सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष, सञ्चालक तथा व्यवस्थापन प्रमुखहरू गरी ४१ जनाको सक्रिय सहभागिता थियो। कार्यक्रममा कर्जा प्रशिक्षण, संस्थागत अवलोकन तथा प्रश्नोत्तर सत्रसमेत समावेश गरिएको थियो, जसले सहभागीहरूलाई व्यावहारिक सिकाइको अवसर प्रदान गरेको थियो।
सहकारी बैंक जोरपाटी शाखाले सहकारी संस्थाहरूको आवश्यकता र माग सम्बोधन गर्ने उद्देश्यले यस्ता सिकाइमुखी कार्यक्रमलाई निरन्तरता दिँदै आएको भन्दै शाखा प्रमुख धमलाले सहभागीहरूको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै आगामी दिनहरूमा अझ नयाँ तथा प्रभावकारी सिकाइ कार्यक्रमहरूमार्फत सहकारी संस्थाहरूलाई जोड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
‘मूलतः बैंकको कर्जा सेवा उपयोग गरिरहेका सदस्यहरुको बोर्ड र व्यवस्थापन प्रतिनिधिहरुलाई केन्द्रित गरी यस्तो कार्यक्रम राखेका हौं । त्यसो त चाहदा र समय मिल्दा अन्य पनि सहभागी हुनसक्दछन् तर प्राथमिकता कर्जा उपभोक्ता सदस्यहरु हुन् । त्यस्ता संस्थालाई सुरक्षित कर्जा लगानीका तौरतरिकाहरुबारे अभ्यस्त गराउने हिसाबले हामीले जोड दिएका हौं । कर्जाको क्वालिटी कसरी इन्हान्स गर्ने भन्ने ध्येय हो, ’ धमलाले उल्लेख गर्नुभयो ।
शाखा प्रमुख धमलाले भन्नुभयो, ‘कुनै खर्च बिना यति राम्रो कार्यक्रम गर्यौं । जाने आउने यातायात पनि आफ्नै हिसाबले हामीले व्यवस्था गर्यौं । बिना लगानी सिकाइ भयो । मितव्ययी पनि भयो, सिकाइ पनि भयो । पैसै नउठाइ पनि प्रभावकारी सिकाइ सम्भव हुँदो रहेछ ।’
बैंकको जोरपाटी शाखाले ५ वटा ह्वाट्स एप ग्रुप बनाएर सदस्यहरुसँग सम्बन्धलाई प्रविधिको माध्यमबाट सन्निकट बनाएको उहाँले बताउनुभयो । ४ वटा नगरपालिका भएकाले प्रत्येकको एक एकवटा र अर्को एउटा गरी ४ वटा ग्रुप । ती ग्रुपमा नगरपालिका अनुसार संस्थाको सञ्चालक समिति तथा उच्च व्यवस्थापन जोडिनुभएको छ । अर्को एउटा भने साझा किसिमको । प्रत्येक ग्रुपमा करिब साढे ४ सय जना जोडिनुभएको छ । यो क्विक रेस्पोन्स ग्रुप हो । त्यसो गर्दा तत्कालका केही विषयहरुमा जानकारी आदानप्रदान गर्न फोन गरिरहनु पनि परेन । छिटो र प्रभावकारी पनि भएको धमलाले बताउनुभयो ।
‘तालिम वा कुनै कार्यक्रम गर्दा पनि हामीले फर्म बनाउँछौं र त्यही ग्रुपमा हालेपछि फोन गरेर सहभागी जुटाउनुपर्ने अवस्था नै रहँदैन । एकदमै सहज, सक्रिय र प्रभावकारी पनि भएको छ । सँगै सहकारीका राम्रा र उत्प्रेरणामूलक अनि कानूनी विषयसँग सम्बन्धित उपयोगी समाचार लेखहरु यहाँहरुजस्तै मिडियामा आए भने तिनको लिङ्क पनि सेयर गर्छौं त्यसले सबैमा जानकारी पुगेको छ, ’ धमलाले भन्नुभयो । सहकारी बैंक जोरपाटी शाखाको यो ‘नोवल सोसियल नेटवर्किङ इनिसिएटिभ’ प्रभावी बन्दै गएको छ ।
विश्वास बढाउँदै बैंकको जोरपाटी शाखा
पछिल्लो समय शाखाले सदस्यता वृद्धि, शेयर वृद्धि, लगानी वृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको जोरपाटी शाखा प्रमुख धमलाले जानकारी गराउनुभयो । त्यसका लागि सदस्यहरुको चासो र गुनासोको ‘प्रम्प्ट रेस्पन्स’ प्राथमिकतामा राखेर काम भैरहेको भन्दै धमलाले भन्नुभयो, ‘सदस्य संघ संस्थाहरुले खोजेको समाधान जोरपाटी शाखाले दिदैं आएको छ । हाम्रो हार्दिक सम्बन्ध अरुका लागि समेत प्रेरणा बनेको छ ।’
जोरपाटी शाखा प्रमुखकको जिम्मेवारी सम्हालेको करिब २ वर्ष पुग्नै लागेका धमला एउटा उदाहरण सुनाउनुभयो–हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरणका लागि पनि कार्यक्षेत्रभित्र र बाहिरका समेत बचत तथा ऋणको मुख्य कारोबार गरिरहेका सहकारीहरुलाई बैंकको जोरपाटी शाखाले भौतिक अभौतिक रुपमा प्राविधिक सहयोग उपलब्ध गराएको थियो । हामीले करिब ८० वटा संस्थालाई सहजीकरण गर्यौं धमलाले भन्नुभयो, ‘यसले पनि यहाँका सहकारीहरुलाई बैंकप्रति विश्वास बढेको छ । परेको बेला हामीलाई सहयोग गर्छ भन्ने परेको छ । यो हामीले आर्जन गरेको आय हो ।’ यस्ता काम र तिनको प्रतिफलले कर्मचारीहरुमा आत्मबल बढाएको समेत उहाँले बताउनुभयो ।
तालिम, शिक्षा, स्तरीकरणसँगै सहज र सरल कर्जा प्रवाहको सेवालाई जोरपाटी शाखाले अघि बढाइरहेको उहाँले बताउनुभयो । त्यतिमात्र नभइ साप्ताहिक रुपमा एउटा सदस्य संस्थाको सञ्चालक समिति तथा व्यवस्थापनसँग बैंककै कार्यालयमा बसेर बृहत् अन्तरक्रिया कार्यक्रम पनि गर्दै आएको धमलाले बताउनुभयो । सहकारी बैंकसँग शुक्रबार कार्यक्रमले गर्दा संस्थागत सुधारका दिशामा उल्लेख्य सहयोग पुगेको अनुभव सदस्य संस्थाहरुले गर्नुभएको दाबी शाखा प्रमुख धमलाको थियो । खासगरी बैंकले सञ्चालन गरेको प्रोटेक्ट स्तरीकरण कार्यक्रममार्फत कार्यक्षेत्र भित्रका सदस्यहरुको समग्र संस्थागत विकासलाई बैंकको जोरपाटी शाखाले नजिकबाट नियाल्दै आवश्यक पर्दा तुरुन्त सेवा र समाधान उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो ।
स्थानीय तहसँग सहकारी बैंक
बैंकको जोरपाटी शाखा अन्तर्गत ४ वटा स्थानीय तहहरु पर्दछन्–कागेश्वरी मनोहरा, शंखरापुर, गोकर्णेश्वर र मेलम्ची नगरपालिका । चारवटै स्थानीय सरकारसँग बैंकको जोरपाटी शाखा नियमित सम्पर्कमा रहेर काम गरिरहेको धमलाले जानकारी गराउनुभयो ।
‘हामीले पालिकाहरुसँगको समन्वयमा सहकारीहरुको समग्र सक्षमता विकासका लागि समय समयमा तालिम र शिक्षाका प्रवर्धनात्मक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौं, ’उहाँले भन्नुभयो, ‘जोरपाटी शाखाले कागेश्वरी नगरपालिकासँग मिलेर स्थानीयसहकारीहरुको प्रोफाइल निर्माणमा पनि काम गरिसकेको छ । स्थानीय निकायसँगको घनिष्ठ सम्बन्धले हामीलाई आफ्ना सदस्यहरुसँग काम गर्न धेरै सहयोग पुर्याएको छ ।’
सहकारी बैंकको जोरपाटी शाखा अन्तर्गत हाल विभिन्न प्रकृतिका गरी १६८ सहकारी सदस्य छन् । थप १ सय जति सहकारी बैंकको नेटवर्क बाहिर छन् । महिनाको एक दुइवटाका दरले सदस्य थपिदै गएको अवस्था छ भने ८५ वटा संस्था स्तरीकरण कार्यक्रममा जोडिएका छन् । ‘त्यो भनेको उनीहरु निःशुल्क आवद्ध भएका हुन्, ’शाखा प्रमुख धमलाले प्रष्ट पार्नुभयो, ‘तीमध्ये ५ वटा संस्था बैंकले सञ्चालन गरेको प्रोटेक्ट स्तरीकरण कार्यक्रममा इनरोल भएका छन् । ८० वटा संस्थाले वित्तीय र समग्र अवस्थाबारे सूचकहरुका आधारमा स्वपरीक्षण गर्छन् त्यसका लागि प्रत्येक शुक्रबार हामी एउटा संस्थासँग वित्तीय विश्लेषणका लागि बस्छौं, सहजीकरण गर्छौं । हामीसँग कर्जा लिनुभएका सदस्यहरुलाई पनि स्तरीकरण कार्यक्रममा जोडेका छौं । उहाँहरुको सञ्चालक समिति यहाँ आएरै छलफल गर्नुहुन्छ । यसले गर्दा प्रभावकारी भएको छ ।’ यसैगरी, डिजिटल मार्केटिङलाई पनि आक्रामक रुपमा अघि बढाएको उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रिय सहकारी बैंककको ठूला शाखादेखि काठमाडौं उपत्यकाबाहिरका शाखाहरुमा समेत काम गरेको युवा तर बैंकसँग १२ वर्षको कार्यानुभव बोक्नुभएका शाखा प्रमुख धमलाले धिप्री डटकमसँगको हालैको अर्ली अफिस आवरको बसाइ बिट मार्दै भन्नुभयो, ‘हिजोको तुलनामा लगानीमा सुधार भएको छ, सुरक्षित लगानीमा ध्यान दिइएको छ, लगानीसँगै बचत सुरक्षालाई प्राथमिकतामा राखिएको छ र सदस्यहरुको आवश्यकता चाहनाको सम्बोधन गरिएको छ । भौतिक भेटघाट अन्तरक्रिया र सिकाइ आदानप्रदानलाई जोड दिइएको छ ।’
सदस्यहरुलाई वित्तीय सेवासँगै त्यसबारे सिकाउने पनि सहकारीको धर्म र कर्तव्य हो । त्यसले सहकारीहरुको स्थायित्व र दिगोपनामा भूमिका खेल्छ । त्यही काम गरिरहेको सहकारी बैंक जोरपाटी शाखा प्रमुख धमला बताउनुहुन्छ । ‘हाम्रा संस्थाहरु जोखिममा नपर्ने, समस्यामा नपर्ने बनाउने कामनै हाम्रो अर्जुनदृष्टि हो, ’उहाँले सुनाउनुभयो, ‘हिजोका दिनमा भएका कमजोरी हामीले सुधार्दै छौं । साना तर सम्भावना भएका सहकारीमा पनि हामीले लगानी गरेका छौं । हिजो समस्यामा परेका तर उनीहरुमा लगानी गरेर उठाउन सकिने संस्थालाई पनि हामीले वित्तीय सेवा र प्राविधिक सहजीकरणसँगै एउटा तहमा उठाएका छौं । त्यस्ता संस्थाहरु अहिले हामीप्रति कृतज्ञ हुनुहुन्छ । यसले हाम्रो कामको उपादेयता पुष्टि गरेको छ ।’
सञ्चालनको ५ वर्ष पूरा गर्न लागेको जोरपाटी शाखा अन्तर्गत २ अर्बदेखि सानोमा ३०/३५ लाख कुल सम्पत्ति भएका सहकारी संस्थाहरु सदस्य छन् । उनीहरु सबैलाई विनाकुनै भेदभाव सेवामार्फत शाखाले ‘केटर’ गरिरहेको प्रमुख धमला बताउनुहुन्छ । शंखरापुर, साँखु र थलीतिरका ससाना साकोसहरुलाई प्रविधिकरणमा जोरपाटी शाखाले सहजीकरण उपलब्ध गराउँदै आएको छ । व्यवसाय र उद्यमशीलता शीर्षकका कर्जाहरुमा सदस्यहरुको बढी माग रहेको भन्दै यो क्षेत्रमा कृषि कर्जाको पनि सम्भावना बढ्दो रहेको धमलाले बताउनुभयो ।

सुनौलो कर्जा, सदस्यहरुमा उर्जा
आफ्ना सदस्य सहकारीहरूको मागलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडले भर्खरै ५ वर्षे सुनौलो कर्जा योजना अघि सारेको छ । सदस्य सहकारीको प्रगतिमा बैंकले दरिलो साथ प्रदान गर्ने लक्ष्यसहित गत पुसमा लञ्च गरिएको यो नयाँ योजनामा धेरै सहकारीहरुको अभिरुचि बढेको बैंकले जनाएको छ । हाल ५७ वटा शाखा रहेको बैंकको मुख्य केन्द्र लगायत सबै शाखाबाट यो कर्जा सुविधा उपलब्ध छ ।
मात्र ४.५ प्रतिशत ब्याजदरमा ५ वर्षसम्मका लागि ल्याएको यो योजनामा बैंकको जोरपाटी शाखा अन्तर्गतका धेरै सदस्यहरु पनि सहभागी भएको भन्दै शाखा प्रमुख धमलाले अन्यले पनि रुचि देखाइरहनुभएको उल्लेख गर्नुभयो । बैंकबाट कर्जा लिइरहेका वा हालसम्म नलिएका सबै सहकारी संस्थाहरू यो नयाँ योजनामा सहभागी हुन सक्ने भन्दै त्यसका लागि सरल र सहज सहजीकरण गरिने विश्वास पनि उहाँले दिलाउनुभयो । एकल कर्जा सीमा, बाह्रय दायित्व, क्रेडिट हिस्ट्री, भाखा नाघेको ऋणको अवस्था आदि विश्लेषणका आधारमा यो कर्जा उपलब्ध गराइएको छ । हामीले अधिकतम २५ लाख रुपैयाँसम्म बिना धितो यो कर्जा उपलब्ध गराएका छौं, ’धमलाले भन्नुभयो, ‘यसले गर्दा ग्रामीण भेगदेखि वरपरका सहकारीहरुमा यसबारे धेरै जिज्ञासा पाएका छौं । धेरैले उपयोग पनि गरिसक्नुभयो । यस्तो सरल र सहज कर्जामार्फत सदस्यहरुको सहयोगी बन्न पाएकोमा हामी खुसी छौं ।’
धमलाले थप प्रष्ट पार्नुभयो, ‘सञ्चालक समितिको ग्यारेन्टीमा लगानीमा गरिने यो नयाँ ऋण सेवा अन्तर्गत संस्थाहरुले माग गरेको अवस्थामा तत्तत् संस्थामै गएर सबै सम्वद्धहरुसँग बसेर कागजात निरीक्षण गरेर, नबुझेका कुराहरु प्रष्ट पारेर सबै विधि र प्रक्रिया पुरा गरेर सहज रुपमा ऋण उपलब्ध गराउँछौं । साढे ४ प्रतिशत ब्याजरदरको यो प्रडक्टप्रति धेरै सदस्यहरुको रुचि पायौं । खासगरी ग्रामीण क्षेत्रका सदस्य संस्थाहरुले यो प्रडक्टबाट बढी लाभ लिनुभएको छ ।’
उहाँले थप्नुभयो, ‘पहिलो पटक हामी संस्थामा गएर सबै बिश्लेषण गर्छौ, कार्यविधि र कागजात लगायत प्रक्रियाबारे सुझाव दिन्छौं, सहजीकरण गर्छौं अनि समाधानका रुपमा ऋण सेवा उपलब्ध गराउँछौं ।’ यसक्रममा कागजात व्यवस्थापनदेखि निर्णय लेखन आदि प्रक्रियामा हामीले सहजीकरण गर्छौं । त्यतिमात्र होइन प्रतिबद्धता व्यक्त गरेर ऋण लिइसकेपछि ऋण सदुपयोगिता सिकाउँछौं र असूलीका समस्त प्रक्रियाबारे पूर्व जानकारी गराउँदछौं । सहकारी बैंकले उपलब्ध गराएका विविध सेवामा जोडिन पनि राम्रा सहकारीहरुले यो कर्जाको सदुपयोग गर्नुभएको छ । यसले गर्दा, दुबै पक्षलाई फाइदा भएको छ ।’
कर्जा आवेदन अझ सरल र व्यवस्थित
यसैबीच, सहकारी बैंकले सदस्यहरुको कर्जा आवेदन प्रक्रियालाई अझ प्रभावकारी, सुरक्षित तथा सदस्य-मैत्री बनाउन Online Credit Application Service उपलब्ध गराएको धमलाले बताउनुभयो । त्यसले गर्दा सदस्य संघ संस्थाहरुले कुनै पनि स्थानबाट सहज रूपमा कर्जा आवेदन पेश गर्न सक्नेछन् । ‘समय पनि बचत हुने, प्रक्रिया पनि प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित हुनेछ, ’धमलाले भन्नुभयो,' उक्त सेवाको माध्यमबाट कुनै पनि स्थानबाट सहज रूपमा कर्जा आवेदन पेश गर्न सकिनेछ । यसले समय बचत गर्नुका साथै प्रक्रिया थप पारदर्शी र व्यवस्थित बनाउँछ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com