काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदका उम्मेदवार डा. परितोष पौड्यालले आफूसँग सहकारी क्षेत्र सुधारको स्पष्ट मार्गचित्र भएको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने चरणको नजिक पुगेको बताउनुभएको छ ।
‘अहिलेको सहकारी इकोसिष्टममा माइन्सेट परिवर्तन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘स्टिग्माहरु हटाउन जरुरी छ । फरक मोडलले सहकारी अभियान सञ्चालन आवश्यक छ । जसको खाका मसँग तयार छ । त्यसैले मतदानमार्फत तिनको भ्यालिडेट गर्न देशभरका सबै प्रतिनिधि साथीहरुसँग अनुरोध गर्दछु ।’
मतदानको पूर्व सन्ध्यामा धिप्री डटकमसँग कुरा गर्दै सहकारी अभियन्ता पौड्यालले आफ्नो ३० वर्षको अनुभवको सदुपयोग गर्दै मुलुकको सहकारी क्षेत्रको साख अभिवृद्धिमा काम गर्न आतुर भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । उहाँले सहकारी बैंकमा सुशासन र पारदर्शिताका विषय आधारभूत कुराहरु भएको तर्क गर्दै विश्व परिवेशमा सहकारीको योगदानको चर्चा गर्न सकिने गरी काम गर्न सहकार्य र समन्वय आवश्यक भएको चर्चा गर्नुभयो । ‘सहकारी क्षेत्रको बहस, पैरवी र वैचारिक सामर्थ्य स्थापित गर्न मैले उम्मेदवारी दिएको हुँ, मतदानमार्फत त्यसको अपनत्व लिइदिनुभयो भने अभियानको शुद्धीकरण र सबलीकरण सम्भव छ ।’
उहाँले मुलुकमा उत्पादकत्व वृद्धि नभइ समृद्धिको यात्रा असम्भव भएको बताउँदै त्यसका लागि वित्तीय पहुँच र वित्तीय अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘आधारभूत तहका मानिसहरुको वित्तीय पहुँच र अवसरको माध्यम सहकारी हो भन्ने हामीले भुल्नुहुँदैन । हिजो सहकारीले ओगटेको यो स्थानमा बिस्तारै बैंक तथा अन्य वित्तीय संस्थाहरुको दबदबा बढ्दो छ । यसका कारण समुदायस्तरमा सहकारीको इकोसिष्टम कमजोर भएर गयो । त्यसलाई बढाउनुपर्छ भन्ने हो ।’
समस्याग्रस्त सहकारी र समस्या उन्मुख सहकारीहरुका समस्यामा पनि सरकार र सरोकारवालाहरुसँग हातेमालो गर्दै तिनको स्थायी समाधानसँगै भोलिका दिनमा त्यसखाले परिस्थिति सिर्जना हुन नदिन पनि आफ्नो नेतृत्व आवश्यक भएको दाबी डा.पौड्यालले प्रस्तुत गर्नुभयो ।
‘सहकारी अभियानलाई पुनर्जागृत गराउन, यसलाई रिभाइटलाइज गराउन आवश्यक छ, त्यसका लागि परम्परागत सोच र दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक छ, ’डा.पौड्यालले भन्नुभयो, ‘हामीले युवाहरुको ढुकढुकी सहकारी बनाउनुपर्नेछ, सहकारीमार्फत नवप्रवर्तनका विषयहरुमा काम गर्नुपर्नेछ, उत्पादनशील र उद्यमशीलताका क्षेत्रमा संस्थाहरुलाई लगानी गर्न प्रेरित गर्नुपर्नेछ । यी सब गर्न योजना र कार्यान्वयनका काइदाहरु मसँग छन् । यी सबै काम गर्न सक्दा समुदायमा प्रभाव पार्न सक्दा हामीले गुमेको विश्वास पुनःस्थापित गर्न सक्छौं । सम्भव छ ।’ सहकारीको आवश्यकता र औचित्य झनै बढ्दै गएपनि हिजोका दिनमा सुशासनमा देखिएका कमजोरी र केही व्यक्तिहरुको गलत मनसायका कारण समग्र क्षेत्रले संकट भोग्नुपरेको उहाँले बताउनुभयो ।
उहाँले सहकारी क्षेत्रमा संस्थागत शुद्धीकरण र सुदृढीकरण आवश्यक रहेको स्वीकार्नुभयो । ‘त्यही भएर त मैले सुशासनको विषय उठाएको छु, डा.पौड्यालले भन्नुभयो, ‘पारदर्शिता र जवाफदेहिताको कुरा उठाएको छु, र नेतृत्वदायी परिकल्पनालाई जीवन्त बनाउने कुरा उठाएको छु । आज यहाँ छ वर्तमान तर भोलिको भविष्य निक्कै टाढा र सुमधुर बनाउने विषय उठाएको छु र त्यो सपना साकार बनाउन प्रत्यनशील रहेको विषयमा जोड दिएको छु ।’
उहाँले थप्नुभयो, ‘अहिलेको आवश्यकता भनेको समस्याउन्मुख धेरै सहकारीहरुलाई सहयोग, सहजीकरण र साथ आवश्यक छ । सहकारीमा आन्तरिक व्यवस्थापन सुधार गरी उठ्न सकिन्छ भन्ने भावना हामीले जागृत गराउनुपर्नेछ, त्यसको लागि बलियो बैंक बन्नुपर्छ । म बलियो बैंक बनाउन सक्ने सामथ्र्य राख्छु । टिम पनि त्यस्तै बनेको छ, अन्य प्रदेशहरुमा सर्वसम्मत सञ्चालकहरु चयन भैसक्नुभएको छ, औपचारिक घोषाणमात्र हुन बाँकी छ ।’
सहकारी क्षेत्रको एक मात्र बैंक भएको हिसाबले पनि यसमार्फत प्रारम्भिक संस्थादेखि संघहरुको सक्षमता विकास, प्रवर्धन तथा वित्तीय सवलीकरणका थुप्रै कामहरु गर्न सकिने भन्दै उहाँले त्यसका लागि भोलिको निर्वाचनमा आफूलाई विजयी बनाउन आग्रह गर्नुभएको छ ।
उहाँले सहकारी क्षेत्रमा विद्यमान समस्या समाधान गर्न, नीतिगत तथा कानूनी सहजीकरण गर्न, नियामकीय अनुकूलनको अवस्था कायम गर्न, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा बैंकमार्फत थुप्रै काम गर्न सकिने सम्भावना रहेको बताउँदै उहाँले त्यसका लागि मतदानमार्फत काम गर्ने परिस्थिति निर्माणमा सहयोगको याचना गर्नुभएको छ । 'यी कामहरु गर्न सक्यौं भने मात्र अहिले सहकारीको नाम लिदा छि: भन्ने अवस्थाबाट मुक्ति मिल्दछ । यी सबै कामहरु गर्नका लागि माध्यम सहकारी बैंक हुनेछ र त्यसको नेतृत्वदायी मियोको रुपमा मलाई विश्वास गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,' डा.पौड्यालले भन्नुभयो ।
यसै सन्दर्भमा डा.पौड्यालले अहिलेको सहकारी अभियानको आवश्यकता, चुनौती र भविष्यलाई केन्द्रमा राखेर '९ गते ९ प्रतिबद्धता' सार्वजनिक गरिएको दाबी गर्नुभयो । उहाँका आफ्ना एजेण्डाहरू केवल चुनावी नारामा सीमित नभई सहकारी क्षेत्रलाई व्यवस्थित, प्रविधिमैत्री, पारदर्शी र दीगो बनाउने स्पष्ट मार्गचित्रका भएको उद्घोष गर्नुभयो ।
डा. पौड्यालले सहकारीमैत्री नीति, ऐन तथा नियमावली संशोधनको विषयलाई प्राथमिकतामा राख्दै सहकारी क्षेत्रको स्थायित्व र विश्वसनीयता मजबुत बनाउन जोड दिनुभएको छ । पछिल्लो समय सहकारी क्षेत्रले भोगिरहेका नीतिगत चुनौतीबीच तिनलाई कसरी चिर्न सकिन्छ भनेर बुँदागत रुपमा आफ्ना प्रतिबद्धताहरु आएको उहाँको भनाइ छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com