Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भैरहवाको भाटभटेनी सुपरस्टोरमा आईएनआई सिनेमाज सञ्चालनमा

भैरहवाको भाटभटेनी सुपरस्टोरमा आईएनआई सिनेमाज सञ्चालनमा

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ । भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा उक्त मल्टिप्लेक्स सञ्चालनमा आएको हो ।

मल्टिप्लेक्समा दुईवटा अत्याधुनिक अडिटोरियम रहेका छन् । प्रत्येक हलमा १९८ सिट क्षमता रहेको छ । कुल ३९६ दर्शकले एकैपटक सिनेमा हेर्न सक्ने व्यवस्था गरिएको छ । हलमा बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर, १६ च्यानल डीटीएस–एक्स इमर्सिभ साउन्ड सिस्टम तथा आधुनिक सिटिङ सुविधा जडान गरिएको छ ।

 हल संरक्षक तथा व्यवसायी दीपक कुँवरले भैरहवा तीव्र रूपमा विकसित हुँदै गएको व्यावसायिक तथा पर्यटन केन्द्र भएकाले आधुनिक सिनेमा हलको आवश्यकता महसुस गरी लगानी गरिएको बताउनुभयो । मनोरञ्जन क्षेत्रसँगै स्थानीय अर्थतन्त्र र रोजगारी प्रवर्द्धनमा समेत यसले योगदान पुर्‍याउने उहाँको विश्वास छ ।

कम्पनीका निर्देशक आभाष कुँवरले विदेशमा हासिल गरेको अनुभवलाई नेपालमा उपयोग गर्दै आधुनिक मनोरञ्जन क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले भैरहवामा नयाँ मल्टिप्लेक्स सञ्चालन गरिएको बताउनुभयो ।

आईएनआई सिनेमाजका सञ्चालक सुरेन्द्र थापाका अनुसार यो प्रविधिले दर्शकलाई अन्तर्राष्ट्रियस्तरको सिनेमाको अनुभव प्रदान गर्नेछ । सुरक्षा व्यवस्थालाई समेत प्राथमिकता दिँदै आगलागी प्रतिरोधी सामग्री, आकस्मिक बहिर्गमन मार्ग तथा अन्य आवश्यक सुरक्षा पूर्वाधारको व्यवस्था गरिएको छ ।

सन् २०१९ मा स्थापना भएको आईएनआई सिनेमाजले हालसम्म काठमाडौं, बुटवल, सिमरा, नवलपुरलगायत विभिन्न स्थानमा मल्टिप्लेक्स सञ्चालन गरिरहेको छ । भैरहवामा नयाँ शाखा सञ्चालन भएसँगै कम्पनीको कुल स्क्रिन संख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार