Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
युवाहरुलाई प्रश्न

तपाईहरुमध्ये कतिजना सहकारीलाई रोजगारी वा उद्यमशीलताको राम्रो विकल्प मान्नुहुन्छ ?

तपाईहरुमध्ये कतिजना सहकारीलाई रोजगारी वा उद्यमशीलताको राम्रो विकल्प मान्नुहुन्छ ?

एउटा प्रतिष्ठित कलेजमा अहिले बी.टेक वा एमबीए पढेका विद्यार्थीहरु (युवाहरु) रोजगारीका लागि सहकारी क्षेत्रमा प्रवेश गर्न खोज्लान् ? वा उनीहरुमध्ये कतिजना उद्यमशीलताको लागि सहकारी क्षेत्रमा अडेसा लाग्न पुग्लान ? प्रश्न अहम् छ । तर, जायज छ । सहकारी क्षेत्रको विकास, प्रवर्धन र दिगोपनाको लागि यस्ता प्रश्नहरु उठ्नुपर्छ ।

यही विषयको सेरोफेरोमा हालै भारतको जनकपुरीस्थित महाराजा सुरजमल इन्स्टिच्युट अफ टेक्नोलोजीमा बी.टेक र एमबीए अध्ययनरत करिब ७० जना विद्यार्थीहरुसँग मैले सत्र सञ्चालनको अवसर प्राप्त गरेँ । जसमा सहकारी क्षेत्रमा करियर र उद्यमशीलताका अवसबारे मैले आफूले जानेबुझेसम्म केही उत्प्रेरणात्मक जानकारीहरु प्रस्तुत गरेँ ।

अचम्मको कुरा त के थियो भने, ती ७० जनामध्ये धेरैलाई सहकारीको सैद्धान्तिक अवधारणा, मूल्य, मान्यता, सिद्धान्तसँगै अन्य व्यावसायिक भेञ्चर भन्दा यो किन फरक छ भन्ने विषयमा जानकारी नै रहेनछ । त्यसैले सहकारीबारे आधारभूत ज्ञाननै नभएका ती विद्यार्थीहरुलाई बुझाउने उपायको रुपमा मैले अमूल सहकारीको सहारा लिएँ । अमुल विद्यार्थीहरुमाझ निक्कै लोकप्रिय छ । यसका उत्पादनहरुसँग ती विद्यार्थीहरु परिचित छन् तर पनि उनीहरुले सहकारी मोडलबारे बुझेका थिएनन् । निजी कम्पनी र सहकारीबिचको फरकबारे मैले विद्यार्थीहरुलाई जानकारी गराएँ । सँगै सहकारी क्षेत्रमा कायम रहेको (भारतसँगै अन्य विकसित मुलुकहरुमा) लोभलाग्दो रोजगारी अवसरबारे पनि केही बताएँ ।  त्यसका लागि मैले इफ्को, अमुल, युएलसीसीएस आदिको उदाहरण प्रस्तुत गरेँ ।

यसैगरी, सहकारीमै औपचारिक शिक्षाका लागि उपलब्ध भ्याम्निकमको एमबीए कोर्षबारे जानकारी गराएँ । यस्तै, आईआरएमएमार्फत उपलब्ध हुने सहकारी अध्ययनको अवसर (सहकारी डिप्लोमा कोर्स) बारे पनि ती विद्यार्थीहरुलाई थाहा दिएँ । यस्तै, भारत सरकारले सहकारीको छुट्टै मन्त्रालय स्थापना गरेर सहकारीको प्रवर्धनका लागि चालेका कदमहरुसँगै नयाँ सहकारी विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णयले अवसरहरुको नयाँ ढोका खोल्ने विषयमा पनि मैले चर्चा गरेँ । विद्यार्थीहरु उत्साहित अनि जिज्ञासु भएर मेरा कुरा सुनिरहे ।

यस्तै, उद्यमशीलताका क्षेत्रमा सहकारीमार्फत प्रयासहरु गर्दा प्राप्त हुने निजी कम्पनीका भन्दा बढी फाइदा र सामाजिक छविका सम्बन्धमा पनि मैले चर्चा गरेँ । सहभागी धेरै जसो विद्यार्थी इन्जिनियरिङ अध्ययनरत भएकाले अब कृत्रिम बौद्धिकता (एआई) को विषय सहकारीमा युवाहरु आकर्षण गर्ने कारण हुनसक्ने बारे पनि मैले अवगत गराएँ ।

सत्रको अन्त्यमा मैले सोधेँ ‘तपाईहरुमध्ये कतिजना सहकारीलाई पनि रोजगारी वा उद्यमशीलताको विकल्पका रुपमा लिनुहुन्छ ?’ धेरै हातहरु उठे । तर, मलाई थाहा छ त्यो आवेग वा क्षणिक विचार हुनसक्छ । शायद मलाई खुसी पार्न वा मेरो सत्रको सार्थकता होस् भनेर ती हातहरु उठेका हुनसक्छन् । तर, यस्ता धेरै प्रयासहरुले पक्कै पनि सहकारीप्रति युवाहरुको आकर्षण बढ्नेछ । मलाई यस अर्थमा पनि त्यो सत्र सञ्चालन गर्न पाएकोमा खुसी लाग्यो कि धेरै जनाले सहकारीमा इन्टर्नशीप सम्भावनाबारे पनि जिज्ञासा राखे । यो सत्र सञ्चालनले मलाई व्यक्तिगत रुपमा धेरै आनन्द मिल्यो ।

नोटः भारतीय राष्ट्रिय सहकारी संघका सल्लाहकार सञ्जय बर्मा (तस्बिरमा दायाँपट्टी) सहकारी अनुसन्धाता, लेखक, प्रशिक्षक आदि हुनुहुन्छ । उहाँले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमफील गर्नुका साथै भारतीय विद्या भवनबाट पत्रकारितामा पोष्ट ग्रयाजुएट डिप्लोमा गर्नुभएको छ । उहाँसँग सहकारी क्षेत्रमा काम गरेको ३० वर्ष बढीको अनुभव छ । भारतीय राष्ट्रिय सहकारी संघ-एनसीयूआईका पूर्व निर्देशक वर्मा हालै मात्र अवकाश प्राप्त हुनुहुन्छ । अंग्रेजीमा लेखिएको उहाँको यो विचार सहकारीमा लाग्न खोज्ने युवाहरुको लागि प्रेरणा हुने भएकाले सम्पादनसहित भावानुवाद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार