काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले आगामी पाँच वर्षका लागि महत्वाकांक्षी रणनीतिक योजना सार्वजनिक गर्दै सहकारीलाई विश्व अर्थतन्त्रको अपरिहार्य आर्थिक प्रणालीका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेको छ ।
विश्व सहकारी अभियानको नयाँ दीर्घकालीन मार्गचित्र कोर्दै आईसीएले सन् २०३० सम्ममा सहकारीलाई विश्व अर्थतन्त्रको मुख्य शक्ति बनाउने उद्देश्यसहित ‘अभियान’ सार्वजनिक गरेको छ । यसका लागि उसले थ्री पी (प्राक्टिस, प्रमोट एण्ड प्रोटेक्ट) योजना अघि सारेको छ । सन् २०२५ को जुलाई २ मा इंलल्याण्डको म्यानचेष्टरमा सम्पन्न आईसीएकाको वार्षिक साधारणसभाले यो मार्गचित्र पारित गरेसँगै कार्यान्वयनमा गएको छ ।
सहकारी मोडेललाई अबको पाँच वर्षभित्र निर्विकल्प शक्तिका रुपमा स्थापित गर्न यसका मान्यतालाई व्यवहारमा लागू गर्नुपर्ने, सबैको भलाइ (सर्वजन हितायः) का लागि सहकारी मोडेलको प्रवर्धन गर्नुपर्ने र सहकारीलाई पृथक प्रमाणित गर्ने यो साझा पहिचान अर्थात् सहकारिताको मर्म तथा भावनाको संरक्षण गर्नुपर्ने आवश्यकता छ ।
आईसीएका अनुसार यी तीन काम सरल तर सशक्त (सिम्पल बट पावरफुल) छन् । सोही कारण पनि आईसीएको यो नयाँ रणनीतिक मार्गचित्र (२०२६–२०३०) लाई सहकारी अभियानको दिशानिर्देशक दस्तावेजका रूपमा हेरिएको छ । आईसीएको पाँच वर्षे रणनीतिक मार्गचित्र केवल डकुमेन्ट मात्र नभइ भविष्य दिशाबोध गर्ने ‘कम्पास’ भएको उसको दाबी छ ।
आईसीएको पछिल्लो रणनीतिक मार्गचित्रले जलवायु परिवर्तन, आर्थिक असमानता, लोकतान्त्रिक संकट, डिजिटल रूपान्तरण र दिगो विकासका विद्यमान चुनौतीहरुको समाधान सहकारीमार्फत गर्न सकिने दाबी प्रस्तुत गरेको छ ।
उक्त मार्गचित्रमा सहकारी केवल समुदायको आवश्यकता पूरा गर्ने संस्था मात्र नभइ विश्व अर्थतन्त्रलाई न्यायपूर्ण, समावेशी र दिगो बनाउने नेतृत्वदायी शक्ति बन्नुपर्ने समय आएको उल्लेख छ । स्मरणीय छ, हाल विश्वभर ३० लाख बढी सहकारी संस्थामा एक अर्बभन्दा बढी सदस्य आवद्ध छन् भने यो क्षेत्रले विश्वको करिब १० प्रतिशत रोजगारी सिर्जना गरेको छ ।
आईसीएको रणनीतिक योजनाले विश्व अहिले तीव्र परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै परम्परागत नाफामुखी आर्थिक प्रणालीले जलवायु संकट, सामाजिक विभेद, बेरोजगारी तथा असमानताको समाधान दिन नसकेको निष्कर्ष निकालेको छ । यस्तो अवस्थामा सदस्य स्वामित्व, लोकतान्त्रिक नियन्त्रण र समुदाय केन्द्रित व्यवसायिक मोडेलका कारण सहकारी विश्वसनीय विकल्पका रूपमा उभिएको रणनीतिमा उल्लेख छ ।
सहकारीको मूल दर्शन नाफाभन्दा सदस्यको हित, पूँजीभन्दा मानिस, प्रतिस्पर्धाभन्दा सहकार्य र अल्पकालीन लाभभन्दा दीर्घकालीन सामाजिक प्रभावमा आधारित भएकाले आगामी दशकमा यसको आवश्यकता झन् बढ्ने आईसीएको निष्कर्ष छ ।
आईसीएले आफ्नो रणनीतिक मार्गचित्रमा उल्लेख गरेको छ, ‘हामीसँग अहिले जलवायु परिवर्तन, आर्थिक सामाजिक असमानता र द्धन्दसँगै स्वतन्त्रतापूर्वक जीवनयापन गर्न अधिकार समेत कुण्ठित भएका छन् । यी ठूला चुनौतीको सामना गरिरहँदा हामीसँग सम्भावना पनि अथाह छन् । यस्तो अवस्थामा विश्वभर छरिएर रहेका ३० लाख बढी सहकारीहरुले मर्यादित श्रम, लैङ्गिक समता, विश्वलाई गुणस्तरीय खाद्यान्नको उपलब्धता, पर्यावरण संरक्षण र शान्ति प्रवर्धनका दिशामा उल्लेख्य योगदान गरेका छन् । प्रजातान्त्रिक मूल्यमा आधारित स्थानीय गतिविधिहरुमार्फत वैश्विक संकटसमाधानमा भूमिका निर्वाह गर्न सक्छन् भनेर सहकारीहरुले उदाहरण प्रस्तुत गरेका छन् ।’
पाँच रणनीतिक उद्देश्य
आईसीएले आगामी पाँच वर्षका लागि सहकारी आन्दोलनलाई सशक्त बनाउन पाँच प्रमुख रणनीतिक उद्देश्य निर्धारण गरेको छ ।
१. सहकारीप्रति जनचेतना विस्तार एवम् सदस्यता वृद्धि ।
२. महिला, युवा, सीमान्तकृत समुदाय तथा सबै वर्गका नागरिकका लागि समान अवसरको सुनिश्चितता ।
३. सरकार तथा अन्तर्राष्ट्रिय निकायबाट सहकारीमैत्री नीति र कानुनी अनुकूलनताको सुनिश्चितता ।
४. स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकारीबीचको सहकार्य र सञ्जाल विस्तार ।
५. नवप्रवर्तन, प्रविधि, अनुसन्धान र सुशासनमार्फत सहकारीको प्रतिस्पर्धी क्षमता अभिवृद्धि ।
आईसीएका अनुसार यी पाँच उद्देश्य एकअर्कासँग अन्तरसम्बन्धित छन् । एउटा क्षेत्रमा भएको सुधारले अर्को क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्नेछ ।
पाँच हस्तक्षेप क्षेत्र
आईसीएले अवलम्बन गर्ने रणनीतिका उद्देश्य कार्यान्वयनका लागि पाँच हस्तक्षेप क्षेत्र समेत निर्धारण गरेको छ ।
१. जनता (सदस्य)ः नेतृत्व विकास, सहकारी शिक्षा, युवा तथा महिलाको सहभागिता विस्तार गरिनेछ ।
२. तथ्यांकः विश्वभरका सहकारीको तथ्यांक, अनुसन्धान तथा ज्ञान व्यवस्थापनलाई सुदृढ बनाइनेछ ।
३. नीतिगत पैरवीः सहकारीमैत्री कानुन, नीति तथा अन्तर्राष्ट्रिय स्वीकार्यता विस्तार गरिनेछ ।
४.वित्तः सहकारीमैत्री लगानी, वित्तीय स्रोत र पूँजी पहुँच विस्तारमा जोड दिइनेछ ।
५.भविष्यः डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, हरित अर्थतन्त्र तथा नवीन व्यावसायिक अभ्यासलाई सहकारीसँग जोडिनेछ ।
यो अभियानलाई थप सार्थक बनाउन सबै सहकारीकर्मीहरुको साथ सहयोग र समन्वय आवश्यक पर्ने आईसीएले जनाएको छ । आईसीएले थ्री पी योजना सहकारी अभियानका लागि तयार पारिएको योजना नभई सहकारी अभियानले तयार पारेको योजना भएको दाबी गरेको छ ।
रणनीतिका 'रिजल्टहरु'
आईसीएले तयार पारेको नयाँ रणनीतिको सफल कार्यान्वयन भए सन् २०३० सम्म विश्व सहकारी आन्दोलनप्रति जनविश्वास बढ्ने दस्तावेजमा उल्लेख छ । यस्तै, सदस्य संख्या उल्लेखनीय रूपमा विस्तार हुनेछ, युवा तथा महिलाको नेतृत्व बढ्नेछ, डिजिटल प्रविधिको प्रयोगले व्यापकता पाउनेछ, सहकारीबीच अन्तर्राष्ट्रिय सहकार्य बलियो बन्नेछ भने अनुसन्धान र तथ्यांकमा आधारित निर्णय प्रक्रिया विकास हुनेछ । यसैगरी, सरकारहरूले सहकारीलाई विकास साझेदारका रूपमा अझ बढी स्वीकार्ने प्रवल सम्भावना हुन्छ ।
दीर्घकालीन रूपमा भने सहकारी विश्व अर्थतन्त्रको ठूलो हिस्सामा विस्तार हुने, वित्तीय पहुँच सहज बन्ने, जलवायु परिवर्तनका क्षेत्रमा सहकारी अग्रणी बन्ने तथा सहकारीको पहिचान विश्वव्यापी रूपमा थप संस्थागत हुने लक्ष्य दस्तावेजले निर्धारण गरेको छ।
यसैगरी, दिगो विकास लक्ष्य कार्यान्वयन, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, ग्रामीण विकास, वित्तीय पहुँच, खाद्य सुरक्षा, सस्तो आवास, स्वास्थ्य सेवा तथा जलवायु अनुकूल विकासमा सहकारी प्रभावकारी माध्यम बन्ने आईसीएको निष्कर्ष छ । यद्यपि, त्यसका लागि
सबै देशका सरकारलाई राष्ट्रिय विकास योजनामा सहकारीलाई प्राथमिकता दिन, पृथक कानुनी पहिचान सुनिश्चित गर्न, सहकारीमैत्री नीति निर्माण गर्न तथा जलवायु र दिगोपनासम्बन्धी कार्यक्रममा सहकारीसँग साझेदारी गर्न सुझाव दिइएको छ । यस्तै, आईसीएले भविष्यका नेतृत्वकर्ता तयार पार्न सहकारी शिक्षालाई व्यवसाय व्यवस्थापन, अर्थशास्त्र, राजनीतिशास्त्र, विकास अध्ययन तथा सामाजिक कार्यजस्ता विषयसँग जोड्नुपर्ने आवश्यकता औंल्याएको छ । सहकारी अध्ययनले लोकतान्त्रिक नेतृत्व, सामूहिक निर्णय, सामाजिक नवप्रवर्तन तथा दिगो व्यवसायिक अभ्यास सिकाउने उल्लेख गरिएको छ।
सहकारी अभियान भनेको आफ्नो भविष्य आफैले निर्माण गर्ने अभियान हो । पारस्परिकता र स्वालम्बी भविष्य निर्माणको आत्मअभियान हो । विश्वभरका ३० लाख बढी सहकारीहरुले थ्री पी रणनीति अंगिकार गर्दा यो अभियान बलियो बन्ने पक्का छ ।
थ्री पी: नेपालको पनि बन्नुपर्छ दीर्घकालीन योजना
सन् २०२६देखि सन् २०३० सम्मको आईसीएको रणनीतिक मार्गचित्र भएकाले यो नेपालको सहकारी अभियानको पनि दीर्घकालीन योजना बन्नुपर्छ । सहकारीको भविष्यलाई सशक्त बनाउने उद्देश्यसहित थ्री पी मोडल अघि सारिएकोले यसको आवश्यकता नेपाली सहकारी अभियानलाई अझै बढी रहेको छ भन्नेमा दुइमत छैन । सहकारी अभियानले भन्दै आएको नकारात्मक भाष्य चिर्न थ्री पी रणनीति अवलम्बन सहयोगीसिद्ध हुनसक्छ ।
नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले पनि यो विषयमा छलफल चलाउनु आवश्यक छ । अझ बढी आवश्यक त, थ्री पी मोडल कसरी लागू गर्ने भन्ने विषयमा साझा बुझाइ र अवधारणा तयार गर्नु आवश्यक छ ।
नयाँ आर्थिक वर्षका लागि नीति, कार्यक्रम, योजना र बजेट तर्जुमाको अवस्थामा पनि विश्व सहकारी अभियानको छाता संगठनले पहिल्याएको रणनीतिक मोडलका विषयमा छलफल हुनु नेपाली सहकारी अभियानका लागि पनि वाञ्छनीय देखिन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com