Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
रिपोर्ताज

पशुपति सुन्दर भयो भने मुलुक सुन्दर हुन्छः सदस्य सचिव श्रेष्ठ

पशुपति सुन्दर भयो भने मुलुक सुन्दर हुन्छः सदस्य सचिव श्रेष्ठ

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थप्रसाद श्रेष्ठले पशुपतिको सुन्दरतासँग मुलुकको सुन्दरता गाँसिएको बताउनुभएको छ । पशुपतिलाई सुन्दर र व्यवस्थित राख्न सक्दा मुलुक नै सुन्दर र व्यवस्थित भएको सन्देश जाने भएकाले आराध्य देव भगवान पशुपतिनाथको परिसरलाई व्यवस्थित गर्नुपर्ने टड्कारो आवश्यकता औंल्याउनुभयो । त्यसकै लागि पशुपति क्षेत्र विकास कोषको नयाँ सञ्चालक समिति लागिपरेको भन्दै त्यसमा विज्ञहरुको राय सल्लाह सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कविमनका संस्कृतिप्रेमी सदस्य सचिव श्रेष्ठले धार्मिक पर्यटनलाई जगाउन सक्दा मुलुक समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो ।

योजनाको पोयो
हिजो २०८३ साउन ७ गते दिउँसो ३ बजेतिर कोषको कार्यालय पुगेका पत्रकारहरुसँग श्रेष्ठले पशुपतिसँग जोडिएका आफ्ना योजनाहरु, पोखराको विन्दवासिनी मन्दिर व्यवस्थापनमा आफूले हासिल गरेका अनुभव र देशदेशाटन विचरणबाट प्राप्त विचारहरुको पोयो फुकाउनुभयो । निक्कै बेर गफिनुभएका उहाँले भन्नुभयो, ‘पशुपतिलाई सफा राख्न सकियो भने मुुलुक सफा छ भन्ने सन्देश जान्छ । पशुपतिलाई सौन्दर्यकरण गर्न सकियो भने यो मुलुक सुन्दर छ भन्ने सन्देश जान्छ ।'

पशुपतिमा गर्न सकिने 'सुन्दर परिवर्तन' (उहाँकै शब्द सापटीमा) का सम्भावनाहरुको फराकिलो क्षितिज उहाँले हामीले देखाउनुभयो । सदस्य सचिव श्रेष्ठको ठम्याइ थियो-पशुपतिलाई हामीले चिन्न सकेनौं । उहाँले यति सम्म भन्नुभयो, ‘मलाई यहाँ आएपछि लाग्न थालेको छ, हामीले पशुपतिनाथलाई नबनाएर पो देश नबनेको हो कि ? हामीले जसलाई आराध्यदेव भनेका छौं उसैलाई फोहोरको बीचमा राखेका छौं, अनि हामी कसरी सफा हुन्छौं ?’

मुलुक सम्पन्न हुन अर्थतन्त्र चलायनमान हुनुपर्ने क्लिशे कुरा गर्दै सदस्य सचिव श्रेष्ठले भन्नुभयो, ‘त्यसका लागि हामीले गर्नसक्ने भनेको बिजुली उत्पादन हो तर त्यसको विकल्पमा सौर्य उर्जा, हावाबाट उर्जा, एटमिक पावरबाट पनि बिजुली बनाउन सकिन्छ । विकल्परहित भनेको पानी हो जुन हाम्रा पवित्र हिमाल र त्यहाँबाट बग्ने पानी छ । तर, हाम्रो सबैभन्दा ठूलो सम्भावना भनेको पर्यटन र त्यसमा पनि धार्मिक पर्यटन नै हो ।’ यद्यपि,  मुलुकको अर्थतन्त्रमा धार्मिक एवम् सांस्कृतिक पर्यटनको योगदानको हिसाब गर्ने बेला आएकोतर्फ सदस्य सचिवले ध्यानाकर्षण गराउनुभयो ।

‘अहिले हाम्रो अवस्था कस्तो छ भने हामीले हामीले पशुपतिको राम्रो विज्ञापन गर्न सकेका छैनौं, ’उहाँले भन्नुभयो, ‘यहाँ त झण्डै झण्डै ५ सयवटा मन्दिर छन् । तिनमा प्रत्येकमा १० जना पर्यटक अड्के भने ५ हजार मानिस अड्किन्छन् । तर, त्यसका लागि प्राथमिक कुरा सूचनाको आवश्यकता हो । फलानो ठाउँमा यस्तो छ, त्यहाँ जानुपर्यो भनेर । कति मानिस पशुपति आउँदा गुरु ग्रन्थसाहिबको दर्शन गर्दैनन् किनकि त्यसबारे थाहै हुँदैन । ढक्लेश्वस शिवलिङ्गको विशेषताबारे मलाई पनि थाहै थिएन । त्यसलाई महत्वपूर्ण पूरातात्विक सम्पदा हो भनेर हामी कसैले भनेनौं । मै झुक्किएँ त्यहाँ, कस्तो ढल्केको यो भुकम्प आदिले यस्तो भयो होला  किन नमिलाएको होला यसलाई भन्दैथिएँ ।’ उहाँले भन्नुभयो, ‘कैलाशमा भएका एघारवटा शिवलिङ्गलाई व्यवस्थित गरेर एकादश शिव उद्यान भनी गेट बनाएर मानिसहरु एकआधा घन्टा भुल्ने ठाउँ बनाउन सकिन्छ ।’

पशुपति पर्यटकहरुको बसाइ
पशुपति परिसर घुम्न पूरै एक दिन लाग्ने बनाउन सक्दा बाहिरबाट आउनेहरुको बसाइ अर्को दिन बढाउन सकिने उहाँले बताउनुभयो । ‘मानौं अहिले २० लाख पर्यटक नेपाल आउँछन्, ’ उदाहरण दिनुभयो सदस्य सचिव श्रेष्ठले, ‘त्यसमध्ये १५ लाखले पशुपति भ्रमण गर्छन् भने तिनको एक दिनको बसाइ लम्बिदा ३० लाख टुरिस्ट आए बराबर हुन्छ । तर, हामीले त्यसरी हिसाब गरेका छैनौं । पशुपतिको राम्रो व्यापक प्रचार गर्न सक्यौं भने मलाई विश्वास छ, कमसेकम पन्ध्र वर्षको योजना बनाएर जाने हो भने ३० देखि ५० लाखका बीचमा पर्यटकहरु पशुपतिमा भित्र्याउन सकिन्छ । यतिका धार्मिक पर्यटक भएभने काठमाडौं त चलायमान भैहाल्यो नि । काठमाडौंको अर्थतन्त्र चलायमान हुनलाई कुनै वासुकी नाग ल्याउनुपर्ने आवश्यकता हुँदैन । हामीले पशुपतिका माध्यमबाट पर्याप्त धार्मिक पर्यटकहरु ल्याउन सक्छौं । यसले मुलुककै अर्थतन्त्र चलायमान बनाउन एक धक्का चाहिँ पुग्छ । यो चिन्तन हामीले गर्न नसकेरै हामी अल्झेका हौं ।’

पशुपतिको विकासमा स्थानीय समुदायको योगदान ठूलो भएपनि उनीहरुले उपेक्षा महसूश गरेको भन्दै उनीहरुका विषयहरु पनि सम्बोधन हुनुपर्ने सदस्य सचिव श्रेष्ठको धारणा थियो । ‘योगदान गर्नेहरु नै उपेक्षित भएको महसूश हुने अवस्थाबाट त पशुपतिले मुक्ति पाउनुपर्यो नि, ’उहाँले भन्नुभयो ।

हिसाबै छैन अमूर्त सम्पदाको
यस्तै, पशुपतिसँग जोडिएका अमूर्त सम्पदा कति छन् भन्ने पनि यकिन तथ्याङ्क नभएको उहाँले बताउनुभयो । सदस्य सचिव श्रेष्ठले भन्नुभयो, ‘अहिले त नेपाल सरकारले अभौतिक सम्पदाको राष्ट्रिय सूची बनाउने भनेको छ । त्यही नेपाल सरकारको संस्कृति मन्त्रालय मातहत रहेको पशुपति क्षेत्र विकास कोषमा कति अभौतिक सांस्कृति सम्पदा छन् भन्ने हामीलाई थाहै छैन ।’ पशुपतिमा अभौतिक सम्पदाहरुको संरक्षणमा पनि जोड दिनुपर्ने आवश्यकता उहाँले बताउनुभयो ।

पशुपति र प्रविधि 
सदस्य सचिव श्रेष्ठले अबको जोड डिजिटलाइजेशनमा भएको बताउनुभयो । ‘हामी त्यो प्रक्रियामा छौं, ’उहाँले भन्नुभयो, ‘आईटी इन्जिनियरसँग छलफल भैरहेको छ । अर्को भनेको जानकारीमूलक मोबाइल एप बनाउन सकिन्छ । अडियो भिजुअल सामाग्री निर्माणको सोचमा पनि हामी छौं ।’

पशुपतिलाई सुन्दर, सुरक्षित र सभ्य बनाउने विषयसँग उहाँले प्रविधिलाई जोड्नुभयो । ठाउँठाउँ मा सीसीटीभी क्यामेराहरु प्रयोग गरी कर्मचारीहरुको निगरानी गर्ने, कुनै दुर्घटना घटिहाल्यो भने तत्क्षण पुगिहाल्ने, कतै अवैध काम भएका छन् भने तिनको रोकथाम गर्ने जस्ता काम गर्न सकिने उहाँले बताउनुभयो । उहाँले ठूला चाड तथा मेला पर्वहरुमा ड्रोनको पनि प्रयोग गरेर रेखदेख र निगरानीलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो । अडियोभिडियो सामाग्रीहरु ठाउँठाउँमा राखेर पशुपतिबारे सबै जानकारी उपलब्ध गराउँन सक्दा सबै ठाउँ जान नसक्नेहरुले पनि एक ठाउँबाटै मन्दिरको विशेषताबारे बुझ्नसक्ने उहाँको भनाइ थियो ।

पशुपतिको पुरातात्विक एवम् सांस्कृतिक महत्तालाई असर नपुर्याई प्रविधिको अधिकतम प्रयोग कसरी गर्न सकिन्छ भन्नेतर्फ सोच राखेको सदस्य सचिव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले भन्दा यो नयाँ नयाँ आएको छ, नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने कुरा पनि आउनसक्छ । त्यो स्वाभाविक पनि हो । एउटा ठाउँमा पुगेपछि केही गरौं भन्ने उत्साह पनि हुन्छ, अहिले मैले जति बोलेँ, त्यो मेरो उत्साह पनि होला, तर कमसेकम एक वर्षभित्र केही नयाँ कुराहरु हुन्छन् र गर्न सकिन्छ भन्ने विश्वास छ ।’ पशुपति आउने भक्तजनहरुलाई सहज पहुँच कसरी होला, पशुपतिको आँगनमा बद्मासी छैन भन्ने स्थिति कसरी बनाउन सकिएला भन्नेमा सोच गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै परिणाम एकै वर्षमा ननिस्किएपनि हाम्रो कार्यकालभरमा एउटा सुन्दर परम्पराको जग राख्ने कोशिस हामी गर्नेछौं ।’

सदस्य सचिव नबन्दै बुनेका योजना
आफू पशुपति विकास कोषमा आउने नआउने थाहा नहुँदै पलाएका सोचहरु समेत उहाँले सुनाउनुभयो । सायद संयोग थियो कि पूर्व तयारी त्यो त श्रेष्ठ आफैले जान्नुहोला कि उहाँलाई नियुक्त गर्ने मन्त्री तर पनि उहाँको कुराहरु सुनिरहँदा कतै उहाँलाई कोषको सदस्य सचिव नियुक्तिको विषयमा दुई दोस्तबीच पहिल्यै सरसल्लाह पो भएको थियो कि भन्ने आभाष पनि मिल्थ्यो । तर, पनि कविमनका श्रेष्ठले भन्नुभयो, ‘यहाँ आउने भन्ने मेरो दिमागमै थिएन ।’

जे होस् केही योजनाहरु उहाँले पत्रकारहरुको सानो जमातसामू खुलेरै राख्नुभयो । त्यसले केही हुटहुटी उहाँमा भएको स्पष्ट आभाष भने हामीलाई मिल्यो । आफू सदस्य सचिव नियुक्त नहुँदै कहिलेकाही विन्दवासीनमा बस्दा पशुपति कस्तो होस् भनेर छलफल चल्ने गरेको सुनाउँदै उहाँले भन्नुभयो, ‘बागद्वारदेखि पशुपतिनाथसम्म पाइप (मानिसहरुले पाइप नाघ्न नमिल्ने व्यवस्थापनसहित) राखेर पानी ल्याउने र त्यसलाई एउटा कुण्ड बनाएर राख्ने जसलाई बागमती कुण्ड भन्ने र त्यसको जलबाट पशुपतिको स्नान गराउने मेरो योजना राख्थेँ । जसरी हामी बनारस जाँदा गंगाजल ल्याउँछौं, त्यसैगरी कसैले पशुपतिनाथको चरणको जल बागमती कुण्डबाट लान खोज्दा पाउने गरी व्यवस्था गर्न सकिन्छ । त्यतिमात्र होइन, बागमतीको अहिलेको पानीले दाहसंस्कार गर्दा जलार्पणसहित श्रद्धाञ्जली दिन मनले मान्दैन । त्यसैले त्यही बागमती कुण्डको पानी अर्पण गर्न सकियो भने कस्तो होला भन्ने सोच मनमा उहिल्यै थियो ।’

_DSC7740_11zon.jpg
undefined

उत्पादनलाई पर्यटनसँग 
सदस्य सचिव श्रेष्ठले भन्नुभयो, ‘हाम्रा मठमन्दिरहरुसँगै हाम्रो सिङ्गो पर्यटन क्षेत्र हाम्रो उत्पादनसँग जोडिएको छैन । मुख्य चासो भनेको उत्पादनलाई पयर्टनसँग कसरी जोड्ने भन्ने हो ।’ उहाँले भन्नुभयो, ‘भारतबाट आउने हिन्दू पर्यटकहरु र चिनबाट आउने बौद्ध पर्यटकहरुलाई हामीले के कोसेली पठाउने ? उनीहरुले खिचेर लगेको फोटोबाहेक हामीसँगबाट जाने के हो ? जानु त पर्यो नि केही चिज ?’

आफूले त्यस सम्बन्धमा सोचेको कुरा उहाँले यसरी सुनाउनुभयो, ‘पशुपतिमा एउटा अखण्ड हवन मण्डप होस्, जहाँ आचारसंहिताको अधिनस्थ जोकोहीलाई पनि हवन गर्ने अनुमति प्राप्त होस् । र, त्यो हवन गरिसकेपछि त्यहाँको विभूति प्याकेट बनाएर लाने व्यवस्था गरियो भने राम्रो हुन्छ । उसले छिमेकीलाई पनि मैले पशुपतिनाथ मन्दिरबाट विभूति ल्याइदिएको छु भनेर दिनसक्नेछ । सन्चो भएन भने उ आफैंले त्यो विभूति लाउन वा सेवन गर्नसक्छ । त्यसरी एक कान दुई कान मैदान गर्दा पशुपतिको प्रचारमा पनि त्यसले योगदान दिन्छ ।’ व्यक्तिका लागि पनि पशुपतिमा हवन गर्न पाएँ भनेर जिन्दगीभरको गर्विलो संस्मरण बन्ने उहाँले बताउनुभयो ।

अर्को भनेको, उहाँले भन्नुभयो, ‘पशुपतिमा त्रिशुल छ, शिवजीको प्रतिकको रुपमा । त्यसलाई ब्राण्डिङ गर्न सकिन्छ । वर्षमा एक वा दुई पटक त्रिशुल महोत्सव आयोजना गर्न सकिन्छ । विभिन्न प्रकारका त्रिशुलहरु बनाउन लगाउने । कोटमा लगाउन मिल्ने सानो त्रिशुल पनि बनाउन सकिन्छ । घरको पुजाकोठामा राख्नेदेखि घरको छानो, आँगन वा अन्यत्र कतै राख्न मिल्ने त्रिशुलहरु प्राण प्रतिष्ठा गरेर पशुपतिको स्पेशल छाप लगाएको त्रिशुल पनि बजारीकरण गर्न सकिन्छ । यो स्वदेशी र विदेशीहरुले प्रयोग गर्न सक्छन् ।’

त्यसले एकातिर धर्मप्रति आस्था जागृत गराउन प्रेरणा दिने भयो  अर्कोतर्फ बजार बढाउने भयो । आफूले यी कुरा सदस्य सचिव हुनु अगावै सोचेको श्रेष्ठले बताउनुभयो । यतिमा नरोकिदैं उहाँ अघि बढ्नुभयो । जुनसुकै बाटोबाट पशुपतिनाथ मन्दिर प्रवेश गरेपनि मन्दिरसम्बन्धी सम्पूर्ण जानकारी वा सूचना दिने ब्रोसर वा लिफलेट आदि केही प्रकाशन उपलब्ध गराइ यसको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन सकिने विश्वास सदस्य सचिव श्रेष्ठले व्यक्त गर्नुभयो । त्यसले पशुपति दर्शनका निम्ति मार्गनिर्देशनको पनि काम गर्ने र सक्दा दर्शन गरेर फर्कने ठाउँमा रुद्राक्ष, वेलपत्र, त्रिशुल, विभूति आदिको प्याकेट बनाएर न्यूनतम शुल्क राखी बिक्री वितरण गर्न सकिने उहाँले बताउनुभयो  ।

उहाँले प्रश्न गर्नुभयो, ‘पशुपतिमै रुद्राक्ष किन उत्पादन नगर्ने ? पशुपतिमै वेल किन उत्पादन नगर्ने ? हामी शिवजीलाई वेलपत्र चढाउँछौं, तर त्यसलाई प्रसादका रुपमा ग्रहण गर्दैनौं, केहीको भनाइ छ, वेलपत्र स्वास्थ्यका निम्ति एकदम लाभदायक छ । यी यावत् विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरु सल्लाह गरी आवश्यक निर्णय लिन्छौं ।’ 

उत्पादनसँगको विषयमा उहाँको रोचक तर्क सुनौं-'हामी कहिलेकाही घरबास (होमस्टे) मा जान्छौं, तर होमस्टेको मालिक चाहिँ हाम्रो बजारमा आफूलाई चाहिने सामानहरु किन्न आएको हुन्छ । हामीले चाहेको होमस्टे भनेको स्थानीय उत्पादनको उपभोग हो नि । त्यही भएको निगुरो, टुसा, तामा, कर्कलो, कोदोको पिठो होला, जहाँ त्यहाँका मानिसको परिश्रम होला, त्यसको मूल्य होला । त्यो ढंगले हामीले उत्पादनसँग जोड्न सकेका छैनौं ।’

जतिसुकै पर्यटक आएपनि पर्यटनलाई उत्पानसँग जोड्न नसक्दा त्यो लाभदायक नहुने उहाँले बताउनुभयो । आर्थिक विकास र प्रगति हुँदैन । स्थानीयको जीवनस्तर उकास्ने खालको पर्यटन हुँदा मात्रै त्यसले महत्व पाउने उहाँको भनाइ थियो । ‘फाइभ स्टार होटलको पयर्टनले हामीलाई के गर्छ ?, ’सदस्य सचिव श्रेष्ठले इलाबोरेट गर्नुभयो, ‘सके त्यहाँ कामदार पनि विदेशी हुन्छन्, खाद्यवस्तुहरु पनि विदेशी हुन्छ, होटल बनाउने बेलामै कामदारहरु पनि अधिकांश विदेशी हुन्छन्, सामानहरु सबै विदेशी हुन्छ । पर्यटक वा पाहुनाले खर्च गरेको ७५ प्रतिशतभन्दा बढी रकम विदेशतिरै जान्छ भने त्यो पर्यटन कति दीर्घकालीन महत्वको हुन्छ ? त्यसको ठाउँमा बरु एउटा गाउँमा गएको पर्यटकले गरेको खर्चको ७५ प्रतिशत स्थानीयले लाभ पाउँछन्, बाँकी मात्रै विदेश जान्छ ।’

लाभका दृष्टिकोणले हाम्रो पयर्टनले ७५ प्रतिशत आम्दानी विदेश जाने भयो मुस्किलले २५ प्रतिशतमात्रै यहाँ रहने भयो । त्यसैले स्थानीय उत्पादनसँग सिधैं जोडिएको पर्यटन बढी लाभदायक हुने श्रेष्ठले स्पष्ट पार्नुभयो ।

पशुपति, प्रकाशन र परराष्ट
त्यस्तै, पशुपतिसम्बन्धी अध्ययन सामाग्री तथा पुस्तकहरुलाई अंग्रेजीमा अनुवाद गरी दर्शन गर्न आउने विशिष्ट तथा अति विशिष्ट पाहुनालाई उपलब्ध गराउन सकिने सम्भावना पनि सदस्य सचिव श्रेष्ठले औंल्याउनुभयो । ‘पशुपतिको परिचय बोकेका पुस्तकहरु पाहुनाहरुलाई उपहार उपलब्ध गराउन सकियो भने त्यो भन्दा महत्वपूर्ण उपहार के हुन सक्छ र ?’ उहाँको उत्तरमिश्रित प्रश्न थियो । त्यतिमात्र नभइ मुलुकको परराष्ट्र मन्त्रालयले हाम्रो मुुलुकमा आउने सबै विदेशी पाहुनाहरुलाई पशुपति चिनाउने पुस्तक र प्रकाशनहरु उपहार दिनुपर्ने सुझाव श्रेष्ठले राख्नुभयो । ‘राष्ट्रको आराध्यदेव भन्न नछुटाउने तर त्यसप्रति चिन्तन गर्ने र प्रचारप्रसार गर्ने काम नगर्ने त भएन नि ?, ’उहाँले प्रश्न गर्नुभयो, ‘हाम्रा प्रत्येक दूतावासमा किन पशुपतिको पुस्तक नराख्ने ? सकिन्छ, लुम्बिनीको पनि पुस्तक राखौं ।’

_DSC7715_11zon.jpg
undefined

पशुपति सेवा दल
पशुपति क्षेत्रलाई अझ विकास गर्न पशुपति सेवा दल निर्माणको परिकल्पना पनि उहाँले सुनाउनुभयो । भन्नुभयो, ‘त्यो सेवा दलमा सेवा निवृत्त न्यायाधीश, निजामती कर्मचारी, विविध क्षेत्रका विज्ञहरु, पूर्व सैनिक तथा प्रहरीहरु आदि सदस्य बन्न सक्ने र सबै विषयका ज्ञाताहरु त्यसमा आवद्ध हुँदा पशुपतिलाई आवश्यक हरतरहको सहयोग र विकास गर्न सकिन्छ  । सेवा आवश्यक पर्दा उहाँहरुबाट लिन सकिन्छ ।’ पशुपतिका यावत् समस्या समाधानमा त्यो दल उपयोगी बन्नसक्ने भन्दै सदस्य सचिव श्रेष्ठले सम्भावना देखाउनुभयो, ‘पशुपतिको सेवामा हरतरहले समर्पित तिनै व्यक्तिहरुमध्येबाटै कोषमा सदस्य सचिव तथा सदस्यहरु नियुक्त हुनसक्ने पनि अवस्था आउनसक्छ ।’
  
कविमन श्रेष्ठका बोलीमा गेयात्मकता थियो । विचारहरुमा परिपक्वता महसूश हुन्थ्यो । भलै उहाँका लागि सोचेअनुरुप योजना तर्जुमा गर्न, बजेट विनियोजन गर्न र साथ सहयोग प्राप्त गर्न सहज छैन भन्ने कुरा पशुपतिलाई बेजोडसँग बुझ्नुभएका धामिक एवम् आध्यात्मिक मनका पत्रकार अर्जुन लामिछाने (सम्पादक, गौरी मासिक) ले बताउनुभयो । त्यसमा धार्मिक सांस्कृतिक पत्रकार समाज (रेक्जोन) का अध्यक्ष राष्ट्रिय समाचार समितिका पत्रकार पूर्ण प्रसाद मिश्रले पनि स्वीकारभाव जनाउनुभयो ।

दुबै जनाले केही आफ्ना सुझावहरु राख्नुभयो । कोष र रेक्जोन सहकार्यका आयामहरुबारे चर्चा गर्नुभयो । सदस्य सचिवले आफू २०३४ सालतिर पत्रकार भएको प्रसङ्ग पनि कोट्याउनुभयो र राष्ट्रपुकार साप्ताहिकसँगको आवद्धताबारे सुनाउनुभयो । अनि भन्नुभयो, 'पत्रकारहरुसँगको सहकार्यलाई मैले सकारात्मक रुपमा लिएको छु । के कस्ता विषयमा सहकार्य गर्न सकिन्छ भन्नेबारे म पनि सोच्छु तपाईंहरु पनि योजना बनाएर एउटा प्रस्ताव ल्याउनुहोस् ।'

श्रेष्ठको प्रस्तुतिमा सालीनता थियो, भावना क्लेशरहित कञ्चन थियो, अनुभवमा निखार थियो र ज्ञानमा रिचनेश । यति हुँदाहुँदै पनि क्रक्स अफ द म्याटर भनेको परिणामा हो । प्रोसेस पनि थोरबहुत हो तर उपलब्धिको मापन, कार्यसम्पादनको आधार भनेको परिणामले देखाउँदछ । अब हेर्न बाँकी छ, चुनौतीहरुको चाङमा उभिनुभएका श्रेष्ठले पशुपतिलाई कति सुन्दर बनाउनुहुन्छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ धेरै हिसाबले सफा छैन । सफाका विविध 'मेटाफर' मिहिन ढंगले केलाउन सक्ने मूर्धन्य हुनुहुन्छ श्रेठ । अब उहाँको टीमले कति फोहोरहरु सफा गरेर पशुपतिको 'ब्युटीफिकेशन' गर्नुहुने हो । फोहोरहरु के कति समयका लागि सफा गरिएझैं हून्छन् कि दीर्घकालीन बन्छन् त्यो हेर्न उहाँले भनेझै केही वर्ष कुर्नुपर्ने हुन्छ । अनि त्यति गरिसकेपछि आफ्नो कार्यकाल सम्झेर कस्तो कविता कोर्नु हुन्छ ? काम गर्न दिऔं र हामी-लेस्ट वेट एण्ड वाच ।

श्रेष्ठ नियुक्त भएको एक महिना पनि पुगेको छैन । हामीले उहाँलाई तातात्तो दिनसक्ने भनेको कार्यकाल सफलताको शुभकामना थियो, जुन दियौं । संक्षिप्त भेटका लागि गएका हामी एक घन्टा बढी नै समय गफिएपछि बिदा लिएर बाहिरियौं ।

_DSC7722_11zon.jpg
undefined

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार