Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

राष्ट्र बैंकले मनायो ७० औँ वार्षिकोत्सव

राष्ट्र बैंकले मनायो ७० औँ वार्षिकोत्सव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आफ्नो ७० औँ वार्षिकोत्सव मनाएको छ ।  २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंकले आज आइतबार विशेष कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।  गभर्नर महाप्रसाद अधिकारीको चैत्रदेखि कार्यकाल सकिएसँगै अहिले डा. निलम ढुंगाना तिम्सिना कामु गर्भनरको रुपमा रहनुभएको छ । नेतृत्वविहीन बनेको राष्ट्र बैंकले आज एक कार्यक्रम गरी ७० औं स्थापना दिवस मनाएको हो । 

उक्त अवसरमा आयोजित कार्यक्रममा कामु गभर्नर ड. निलम ढुंगाना तिम्सिनाले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले मुलुकको आर्थिक अवस्थामा सुधार आएको बताउनुभयो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ढुंगानाले अवस्था अघिल्ला वर्षहरूमा नेपालको आर्थिक अवस्था कमजोर भए तापनि अहिले केही सुधार देखिएको दाबी गर्नुभयो । 

उहाँले मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको भन्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको आर्थिक वृद्धिको तथ्याङ्कले समेत यसको पुष्टि गरेको बताउनुभयो । त्यस्तै पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको पनि उहाँको भनाइ थियो । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा उहाँको थियो ।

वैदेशिक विनिमय सञ्चिति सुधारोन्मुख रहेको जसले आयात धान्न पर्याप्त रहेको जनाउँदै उहाँले राष्ट्र बैंकले हरित वित्त, डिजिटल भुक्तानी प्रणाली  र नवप्रवर्तन  मा जोड दिएको बताउनुभयो । विभिन्न समयमा नयाँ निर्देशिका जारी गर्नुका साथै व्यवस्थापन सुधारका कार्यक्रम कार्यान्वयन गरिएको समेत उहाँले उल्लेख गर्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार