काठमाडौं । पाटन संयुक्त क्याम्पस नेपाली विभागले 'संज्ञान विमर्शको उन्नाइसौँ शृङ्खला' मा मैथिली तथा नेपाली भाषासाहित्य र कलासंस्कृतिका विशिष्ट धरोहर स्व. राजेन्द्र विमलको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । विभागीय सदस्य डा. हेम भण्डारीको सभाध्यक्षतामा आयोजित यस कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. जीवनकुमार श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित भएका थिए ।
स्व. विमलको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै विभागका सदस्य डा. चतुर्भुजलाल दास केवरतले नेपाली तथा मैथिली भाषासाहित्य र संस्कृतिका क्षेत्रमा रहेको विमलको अविस्मरणीय तथा अतुलनीय योगदानको समीक्षा गरे । उनले कविता, कथा, गीत, गजल, नाटक, समालोचना र भाषाविज्ञानका क्षेत्रमा समानान्तर कलम चलाउने विमललाई बहुआयामिक व्यक्तित्वका रूपमा मूल्याङ्कन गरे । केवरतले नेपाली भाषासाहित्य र संस्कृतिप्रति विमलले देखाएको सद्भाव र प्रेमको मुक्त कण्ठले प्रशंसा गरे ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान सदस्यसचिव डा. धनप्रसाद सुवेदीले तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने स्रष्टाहरूमध्ये भवानी भिक्षुपछि दोस्रो खम्बाका रूपमा विमलको मूल्याङ्कन गरे । त्यस्तै, गणित विभागका विभागीय प्रमुख प्रा.डा. रमेशचन्द्र तिमल्सिनाले आफू महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा रहँदा भएको विमलको उपस्थिति तथा प्रवचनको स्मरण गर्दै उनका साहित्यिक रचनामा अभिव्यक्त सामाजिक तथा सांस्कृतिक मूल्यको चर्चा गरे ।
विमलका शिष्यसमेत रहेका गणित विभागका सदस्य डा. कमलेशकुमार कर्णले विमलको अद्वितीय प्राध्यापन शिल्पको स्मरण गर्दै उनको काव्य सिर्जनाको प्राकृतिक तथा सांस्कृतिक धरातलको विवेचना गरे । विमलप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली विभागका विभागीय सदस्यहरू शोभा चापागाईं बराल, डा. महानन्द जोशी, विष्णु ज्ञवाली, डा. शारदादेवी लामिछाने लगायतले उनको सिर्जन क्षमताको शक्ति र प्रभावको समीक्षा गरे ।
सन् १९४७ मा धनुषा जिल्लाको देवडिया गाउँपञ्चायतमा जन्मिई, वि.सं. २०८३ साउन २६ गते सोमबार यस धरतीबाट बिदा भएका विमल नेपाली, मैथिली, हिन्दी र अङ्ग्रेजी भाषाका ज्ञाता मानिन्छन् । त्रिभुवन विश्वविद्यालयको रा.रा.ब. क्याम्पस, जनकपुरमा नेपाली विभागको विभागीय प्रमुखको भूमिकामा रही विमलले चार दसकभन्दा लामो अवधि सेवा गरेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com