Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
तरहरामा राष्ट्रियव्यापी खुल्ला कविता प्रतियोगिता

झ्यालको सौन्दर्यशास्त्र (कविता)

झ्यालको सौन्दर्यशास्त्र (कविता)

रङ्गीन टेलिभिजनको जीवन्त पर्दा बनेर बस्छ
घरको झ्याल
यसैले सुनाउँछ रसातलदेखि क्षितिजसम्मको कथा

यसले देखाउँछ
घुर्यानका अर्ग्यानिक सागपातहरू
फार्ममा विष ओकलिरहेका तरकारीहरू
जीर्ण झुपडी
आलिसान महल
छाप्रोको छानामा टाँगिएका थोत्रा कपडा
महलको छतमा नाचिरहेका रङ्गीन कपडा

झ्यालबाट देखिन्छ-
कौसीको घाम
घामको मसाजमा मस्त
नवजात शिशु
चौर र गल्लीमा खेलिरहेका
बालबालिका
लठ्ठी टेक्दै सुस्तसुस्त हिँडिरहेका
जेष्ठ नागरिकहरू
अरूको काँधमा आरामले
यात्रा गरिरहेको लास

झ्यालबाटै देखिन्छ-
चर्को घाममा श्रम बगाईरहेका मजदूरहरू
श्रमिक कजाउने मालिक
श्रमिक-मालिकबीचको भनाभन र झगडा

कहिले देखिन्छ –
स्वास्नी कुटिरहेको जड्याहा लोग्ने
डाको छोडेर रोइरहेका बालबच्चाहरू
हात हल्लाउँदै परदेश लागेको छोरो
बिदाईमा भक्कानो फुटेर रोएका परिवारजन

झ्यालबाटै देखिन्छ-
खम्बामा टाँसिएका दलका पर्चाहरू
पर्चामा उगिँरहेका मार्क्स र माओ,
बी.पी. र भूपू राजा
अग्रगमनकारीहरूको सभा
प्रतिगमनकारीहरूको भाँडभैलो

रङ्गीन टेलिभिजनको जीवन्त पर्दा बनेर बस्छ
घरको झ्याल
यसैले देखाउँछ रसातलदेखि क्षितिजसम्मको व्यथा

झ्यालबाट छिर्छ-
एक अङ्गालो चिसो बतास
एक कोठा न्यानो घाम
एक ढिक्का रात
एक टुक्रा जून

झ्याल त उघ्रिदो रहेछ आँखा भएर
र हेर्दो रहेछ-
यो जीवन
यो सृष्टी
झ्याल त बस्दो रहेछ-
चित्रकारको क्यानभास बनेर
र आकार दिँदो रहेछ-
विचारलाई
सौन्दर्यलाई
आकारबिहिन आकारलाई

जब म झ्यालबाट हेर्छु-
देख्छु विभिन्न खाडलका आकारहरू
मान्छे(मान्छेबीचको खाडल
सौन्दर्यहरूबीचको खाडल
आशाहरूबीचको खाडल

भर्खरै खै कुन पो आन्दोलनमा
थुप्रै झ्यालहरू फोडिएका छन्,
चर्किएका छन्
अचेल ती झ्यालहरू देखिन्छन्-
ठ्याक्कै यो देशको निधारजस्तै।

(सुनसरीको इटहरी २० तरहरामा बैशाख १२ गते शुक्रबार सम्पन्न तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता-२०८२ मा प्रथम घोषित कवि अविनाश भट्टराईको कविता झ्यालको सौन्दर्यशास्त्र । श्री जनसहयोग २०५० समूह तरहराले आयोजना गरेको प्रतियोगितामा प्रथम हुनुभएका कवि भट्टराईलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिएको थियो। आयोजकले नेपालमै सबैभन्दा बढी राशिको कविता प्रतियोगिता भएको दाबी गरेको छ ।यो कविता कवि भट्टराईको फेसबुक पेजबाट लिइएको हो ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार