Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

हामीले बिर्सियौं ‘रोचडेल किन भयो’ भनेर ?

हामीले बिर्सियौं ‘रोचडेल किन भयो’ भनेर ?

सहकारी आन्दोलनको अहिलेको सबैभन्दा ठूलो खतरा बजारसँगको प्रतिस्पर्धा होइन, बजारजस्तै बन्नु हो । सोही कारण सहकारी आन्दोलनको संसारमा एउटा मौन भय विस्तारै विकसित हुँदैछ । यो भय रोचडेली अगुवा (अग्रदूत) हरूलाई मानिसहरूले बिर्सिए भनेर होइन । आज पनि उनीहरूको नाम सहकारीका विशेष कार्यक्रमहरु, सभा सम्मेलन जमघट लगायतमा उच्चारण हुन्छन् । हरेक वर्ष हामी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँछौँ, सहकारीका सिद्धान्तहरू उद्धृत गर्छौँ र सहकारी सुशासनबारे सम्मेलन तथा छलफल आयोजना गर्छौँ। तर ताली र वार्षिक प्रतिवेदनको बीचमा कतै हामीले त्योभन्दा महत्वपूर्ण कुरा बिर्सिरहेका छौँ । हामीले सहकारी आन्दोलनलाई जन्म दिने मूल्यहरू बिर्सिरहेका छौँ ।

सहकारी आन्दोलन २८ जनाले किराना पसल खोल्न चाहेकाले मात्र जन्मिएको थिएन । यो त्यतिबेला जन्मिएको थियो, जब समाजले आफ्नो विवेक गुमाउँदै थियो । औद्योगिक क्रान्तिले श्रमिकलाई मेसिनमा, उपभोक्तालाई मिसावटका सामाग्रीहरुका कारण पीडितमा र किसानलाई साहु-महाजनको दयामा सीमित बनाइरहेको थियो । त्यही समयमा सामान्य मानिसहरूले एउटा क्रान्तिकारी प्रश्न उठाए-के लोभको सट्टा विश्वासमा आधारित अर्थव्यवस्था निर्माण गर्न सकिन्छ ? उनीहरूको उत्तर थियो-सहकार्य । यो केवल एउटा व्यावसायिक मोडल थिएन । यो कुनै सरकारी योजना पनि थिएन । यो एउटा नैतिक दर्शन थियो । मानिस पुँजीभन्दा महत्वपूर्ण छन् भन्ने घोषणा थियो । समुदाय कर्पोरेसनभन्दा मूल्यवान् हुन्छ भन्ने विश्वास थियो । केही व्यक्तिले समृद्धिको लाभ उठाउँदै गर्दा बहुसंख्यक मानिस संघर्ष गरिरहनुपर्छ भने त्यस्तो समृद्धिको अर्थ हुँदैन भन्ने मान्यता थियो ।

सहकारीका अग्रदूतहरूले त्यतिबेला बुझेको एउटा महत्वपूर्ण कुरा आज हामीले बिर्सन थालेका छौँ-बजार उत्कृष्ट सेवक हुन सक्छ, तर खराब मालिक । ‘मानिसले मानिसलाई सहयोग गर्ने’ बाट ‘मानिसले मानिससँग प्रतिस्पर्धा गर्ने’ सम्म ।

आजको संसार इतिहासकै सबैभन्दा धनी र प्रविधिसम्पन्न अवस्थामा पुगेको छ । हामी पहिलेभन्दा धेरै खाद्यान्न उत्पादन गर्छौँ । प्रविधिले करोडौँ मानिसलाई केही सेकेन्डमै जोड्न सक्छ । कृत्रिम बौद्धिकताले हिजोसम्म असम्भव ठानिएका समस्यासमेत समाधान गर्ने क्षमता राख्छ । तर एकातिर मानिसमा एक्लोपन बढिरहेको छ । किसानहरू अझै संघर्षरत छन् । युवाका लागि आफ्नै घर किन्नु झन् कठिन बन्दै गएको छ । साना उत्पादकहरू बजारबाट विस्थापित हुँदैछन् भने विश्वव्यापी एकाधिकारहरू झन् शक्तिशाली बन्दैछन् ।

उपभोक्तासँग विकल्प धेरै छन्, तर नियन्त्रण कम हुँदै गएको छ । श्रमिकको उत्पादकत्व बढेको छ, तर रोजगारीको सुरक्षा कमजोर हुँदै गएको छ । त्यसो भए के हामी वास्तवमै प्रगति गरिरहेका छौँ ?वा दुई शताब्दीअघि विद्यमान असमानतालाई केवल आधुनिक प्रविधि र नयाँ उपकरणमार्फत पुनः उत्पादन गरिरहेका छौँ ? औद्योगिक क्रान्तिले श्रमको शोषण गर्यो । डिजिटल क्रान्तिले धेरै अवस्थामा मानिसको ध्यान, तथ्याङ्क र निर्भरताको शोषण गरिरहेको छ । उपकरणहरू परिवर्तन भएका छन् । तर दर्शन उस्तै छ । कर्पोरेशनको नक्कल गर्न सहकारी बनेका थिएनन् ।

समयक्रममा धेरै सहकारीले सफलता मापन गर्ने त्यही मापदण्ड अपनाउन थाले, जसलाई चुनौती दिन सहकारी आन्दोलनको जन्म भएको थियो । सदस्यको सहभागिताभन्दा वासलात महत्वपूर्ण बन्न थाल्यो । सामुदायिक प्रभावभन्दा बजार हिस्सा महत्वपूर्ण हुन थाल्यो । लोकतान्त्रिक सहभागितालाई व्यावसायिक व्यवस्थापनले विस्तारै विस्थापित गर्न थाल्यो । सदस्य ग्राहकमा परिणत भए । साधारणसभा कर्मकाण्डजस्तो बन्न थाल्यो । शिक्षा र प्रशिक्षण ऐच्छिक विषयजस्तो देखिन थाल्यो । सहभागिता औपचारिकतामा सीमित हुन थाल्यो ।

संस्था बाँच्यो । तर आन्दोलन कमजोर हुँदै गयो । कुनै सहकारीले सबै कानुनको पूर्ण पालना गर्न सक्छ, तर त्यति हुँदाहुँदै पनि वा त्यस अवस्थामा पनि आफू जन्मिएको मूल्य र उद्देश्यप्रति विश्वासघात गर्न सक्छ । किनकि सहकारी केवल कुनै ऐनअन्तर्गत दर्ता भएको संस्थाले परिभाषित हुँदैन । सहकारीको वास्तविक पहिचान स्वावलम्बन, आत्मजिम्मेवारी, लोकतन्त्र, समानता, समता र ऐक्यबद्धतामा आधारित सम्बन्धबाट निर्माण हुन्छ । यी मूल्यहरू हराएपछि ‘सहकारी’ शब्द एउटा कानुनी पहिचानमा मात्र सीमित हुन सक्छ । हाम्रा अग्रजहरू संस्था होइन, समाज निर्माण गर्दै थिए । सहकारीका अग्रदूतहरूले विशाल संस्था निर्माण गर्ने सपना मात्र देखेका थिएनन् । उनीहरूको सपना थियो-राम्रो समाज निर्माण गर्ने । उनीहरू सामान्य मानिसलाई पीडित होइन, मालिक बनाउन चाहन्थे । केवल उपभोक्ता होइन, नागरिक बनाउन चाहन्थे । दर्शक होइन, सक्रिय सहभागी बनाउन चाहन्थे । उनीहरूका लागि उद्यम जति महत्वपूर्ण थियो, शिक्षा पनि त्यत्तिकै महत्वपूर्ण थियो । उनीहरू लोकतन्त्रको अभ्यास निर्वाचनमा मात्र होइन, कार्यस्थल र आर्थिक गतिविधिमा पनि हुनुपर्छ भन्ने मान्यता राख्थे ।

आर्थिक शक्ति केही व्यक्तिको हातमा केन्द्रित नभई सबैमा बाँडिनुपर्छ भन्ने उनीहरूको विश्वास थियो। सबैभन्दा महत्वपूर्ण कुरा-सम्मान र स्वाभिमान एवम् गरिमाविनाको विकासलाई उनीहरू वास्तविक विकास मान्दैनथे । त्यसैले सहकारी आन्दोलन विभिन्न महादेशमा फैलियो । यसले सबैभन्दा बढी प्रतिफल दिने वाचा गरेकाले होइन, मानिसहरूमा आशा पुनःस्थापित गरेकाले ।

वास्तविक संकट वित्तीय मात्र होइन
सहकारी क्षेत्रमा अहिले वित्तीय चुनौतीहरू छन् भन्ने गरिन्छ । निश्चय पनि छन् । तर वित्तीय संकटलाई राम्रो व्यवस्थापन, सुशासन र उचित रणनीतिमार्फत समाधान गर्न सकिन्छ । अझ गहिरो संकट भने वैचारिक हो । जब सदस्यले ‘हामी एकअर्कालाई कसरी सहयोग गर्न सक्छौँ ?’ भन्ने प्रश्न सोध्न छाडेर केवल ‘मैले के पाउँछु ?’ भनेर सोध्न थाल्छन्, समस्या त्यहीँबाट सुरु हुन्छ । जब नेतृत्व उद्देश्यभन्दा पद प्राप्तिमा केन्द्रित हुन्छ । जब सहकार्य अनुपालनमा सीमित हुन्छ । जब ऐक्यबद्धता केवल नारामा बाँकी रहन्छ । त्यसपछि आन्दोलनले आफ्नो आत्मा गुमाउन थाल्छ । त्यस्तो क्षतिको मापन कुनै वासलातले गर्न सक्दैन ।

अब हामीले सोध्नुपर्ने प्रश्न
रोचडेली अग्रदूतहरूलाई अर्को सालिक आवश्यक छैन । सहकारी आन्दोलनलाई आफ्नो इतिहासको प्रशंसा गर्ने अर्को एउटा सेमिनार मात्र पनि आवश्यक छैन । आवश्यक छ-सहकारीका मूल्यहरूलाई व्यवहारमा उतार्ने साहस भएका मानिसहरूको । आजको चुनौती सन् १८४४ लाई सम्झनु मात्र होइन । सन् १८४४ किन आवश्यक भयो भन्ने कुरा सम्झनु हो । विश्वलाई ‘सहकारी’ नाम धारण गरेका थप संस्थाहरू मात्र आवश्यक छैनन् । विश्वलाई व्यवहारमै सहकारी हुने संस्थाहरू आवश्यक छन् । किनकि सहकारी आन्दोलनको भविष्य हामीले सहकारी मूल्यका बारेमा कति पटक बोलेका छौँ भन्ने कुराले निर्धारण गर्ने छैन । त्यो भविष्य हामीले ती मूल्यहरूलाई व्यवहारमा कति इमानदारीपूर्वक अभ्यास गरेका छौँ भन्ने कुराले निर्धारण गर्नेछ ।

सायद इतिहासले हाम्रो पुस्तालाई हामीले कति धेरै सहकारी संस्था विरासतमा पायौँ भनेर मूल्याङ्कन गर्ने छैन । बरु हाम्रा अग्रजहरूले सुम्पिएको सहकारी भावनालाई हामीले कति जोगायौँ र कति जीवन्त बनायौँ भन्ने आधारमा मूल्याङ्कन गर्नेछ ।

अग्रदूतहरूले हामीलाई सिद्धान्त दिए । हाम्रा अग्रजहरूले एउटा आन्दोलन निर्माण गरे । अब प्रश्न हाम्रो अगाडि छ-हामी उनीहरूले निर्माण गरेका संस्थाहरूलाई मात्र जोगाएर बस्नेछौँ, कि उनीहरूले स्थापित गरेका मूल्यहरूलाई पुनर्जीवित पनि गर्नेछौँ ?

अनुराग दाङ
(चार्टड अकाउन्टेन्ट, राईफाईसन एम्बेसडर तथा भारतीय राष्ट्रिय सहकारी संघ-एनसीयूआईका उपनिर्देशक)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार