काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लेखकहरू विचार उत्पादनका केन्द्रहरू भएको बताउँदै हरेक स्रष्टाले आफ्नो सिर्जनाका माध्यमबाट नविन चिन्तन गरिरहने उल्लेख गर्नुभएको छ । नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई आज राष्ट्रपति कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले भन्नुभयो, ‘लेखक स्वयंमा सत्ता हो, संगठन हो, विचार हो, अभियान हो ।’
देशभरका ३ सय १ प्रतिनिधि सहभागी संघको चैत १६ र १७ गते लुम्बिनीमा आयोजित आठौं राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको थियो । उक्त नवनिर्वाचित कार्य समितिलाई राष्ट्रपति पौडेलले आज एक कार्यक्रमबीच बधाई तथा शुभकामना दिनुभएको हो ।
उक्त अवसरमा राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यस्तो गरिमामय नेपाली लेखक संघको नव निवार्चित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ संघले लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रकाशन स्वतन्त्रताको वकालत गर्दै आएको इतिहास समेत उहाँले स्मरण गर्नुभयो ।
नेपाली लेखक संघले स्थापनाकाल देखि नै लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र प्रवर्धन हेतु सर्जकहरूको सामूहिक प्रयत्नलाई आफ्नो आदर्श मानेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यी कुराहरु लोकतान्त्रिक व्यवस्थाको आर्दशका लागि पूर्व आवश्यकता नै हुन् ।’
राष्ट्रपति पौडेलले भर्खरै जन्मेको शिशु प्रजातन्त्रलाई संस्थागत गर्नुपर्ने ऐतिहासिक आवश्यकताका खातिर सर्जकहरूले आफ्नो सामाजिक दायित्व लेखक संघ मार्फत पूरा गर्न खोजेको यसका पुराना दस्तावेजहरूले देखाएको बताउनुभयो । लक्ष्मी प्रसाद देवकोटा र बालकृष्ण सम जस्ता साहित्यिक महारथीहरू संगठित भएको लेखक संघमा विश्वेश्वरप्रसाद कोइराला र हृदयचन्द्रसिंह प्रधान लगायतका हस्तीहरु पनि एकबद्ध भएको उहाँले चर्चा गर्नुभयो ।
लोकतन्त्रवादी लेखकहरु लोकतान्त्रिक प्रणालीका पक्षधर भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सात दशक लामो प्रक्रियामा लोकतन्त्रका आदर्शहरु धेरै सन्दर्भमा विशिष्टिकृत भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिका अध्यक्ष वियोगी बुढाथोकी, सह–अध्यक्ष मनोज न्यौपाने, उपाध्यक्षहरु डा. शशी थापा पण्डित, डा. विष्णु केसी, उप–महासचिव नारायण सापकोटा केन्द्रिय सदस्यहरु महेन्द्र वाग्ले, इन्द्र लम्साल, सन्तोष बोहरा, शोभा अधिकारी, इन्दिरा निरौला, राजन बस्नेत सँगै संघका सल्लाहकारहरु डा. विष्णुविभु घिमिरे ,सन्ध्या पहाडी, शेखर गिरी लगायतको उपस्थिति रहेको थियो ।
नेपाली लेखक संघको स्थापना २००७ सालको परिवर्तनपछि २००८ सालमा भएको हो । नेपालको पहिलो प्रजातान्त्रिक परिवर्तनपछि स्वतन्त्र विचारधारा भएका लेखकहरू संगठित भएर नेपाली लेखक संघको स्थापना गरेको इतिहास छ ।
२०१७ पछिको लामो पञ्चायती कालखण्डमा निष्कृय जस्तै रहेको नेपाली लेखक संघ, २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापित भएपछि नयाँ संरचना सहित पुनःक्रियाशील बनेको हो ।
नेपाली भाषा, साहित्य, र संस्कृतिको प्रवर्द्धनका लागि विविध भाषा र संस्कृतिका लेखकहरूलाई समान अवसर प्रदान गरी अघि बढ्न प्रेरित गर्नु, लेखकहरूको हक अधिकारको रक्षाका निम्ति सिर्जनात्मक स्वतन्त्रतालाई कानुनी र संस्थागत रूपमा सुरक्षित राख्नु यसको ध्येय रहेको छ ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com