डा. फणिन्द्र काफ्ले र गोमा काफ्लेको विवाह भएको ३२ वर्ष पुगेको छ । २०२१ सालमा ओखलढुङगामा जन्मनुभएका फणिन्द्र काफ्ले ६० वर्ष टेक्न केही महिनामात्र बाँकी छ । पत्नी गोमा २०३१ साल फागुनमा ओखलढुङगामै जन्मनुभएको हो । जिल्ला एउटै भएपनि उहाँहरुको विवाह भने मागी थियो ।
२०४४ मा काठमाडौं आउनुभएका फणिन्द्र काफ्लेले आफ्नै संघर्षमा जीवनको लय समात्नुभयो । ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं ८ जुकेपानी पुर्ख्यौली घर भएका उहाँसँग सपना र संकल्प थियो । काठमाडौंमा आफ्नै बलबुतामा खुट्टा टेक्नु चानचुने कुरा थिएन त्यो बेला । त्यो आर्थिक अवस्था, त्यो परिवेश र त्यो भूगोलबाट झरेकाहरुलाई । काम पनि गर्नुपर्ने, अध्ययन पनि अघि बढाउनुपर्ने घरतिर पनि हेर्नुपर्ने जस्ता जिम्मेवारीहरु थिए । तर, उहाँले हार नमानी संघर्ष गर्नुभयो ।
विवाहको उमेर भएपछि भावीले लेखेको भनेझैं एउटै जिल्ला भएपनि गाउँ फरक र पहिला कहिल्यै देखभेट नभएकी विगुटारकी गोमा पौडेलसँग २०५० सालमा बन्धनमा जोडिनुभयो । त्यसबेला उहाँ कुपण्डोलको होटल हिमालयमा जागिरे हुनुहुन्थ्यो जहाँ ९ वर्ष काम गर्नुभयो । पढाइलाई एउटा टुङ्गोमै पुर्याएर छोड्ने अठोट बोक्नुभएका उहाँले त्यसबेला कमैले आँट्ने विद्यावारिधीको बाटो रोज्नुभयो । र, निक्कै मिहेनत, सहीरुपमा समय व्यवस्थापन र पत्नीको साथ सहयोगको बलमा पीएचडी पूरा गरेरै छोड्नुभयो–डा.काफ्ले बनेरै छोड्नुभयो ।
अहिले सम्झदा रोमाञ्चित बन्नुहुन्छ डा. काफ्ले । ‘रञ्जन, २९ वर्ष भएछ हेर न ! नेपाल मेडिकल कलेज अत्तरखेलमा प्राध्यापन गरेको । समाजशास्त्रमा पीएचडी पूरा गरेकै १८ वर्ष भैसकेछ । जुग बितेछ ।' Socio Cultural Attributes of Teenage Pregnancy विषयमा विद्यावारिधीको शोधकार्य गरेको सुनाउनुभयो । सोही कारण उहाँले स्वास्थ्य क्षेत्रमार्फत सामाजिक चेतना विस्तार गर्ने काममा पनि आफूलाई संलग्न गराउनुभएको छ । र डा.काफ्लेलाई १८ वर्षअघि डाक्टर बनाउनेमा ठूलो हात छ, अर्धाङगिनी गोमा काफ्लेको । अनि गोमा काफ्लेको पनि आफ्नै कहानी छ ।
अहिले काफ्ले दम्पत्ती काठमाडौंको कपनका स्थायी बासिन्दा हुनुहुन्छ । सोच, सपना र संघर्षको बुतामा ओखलढुङ्गाबाट केही नबोकी आएको व्यक्तिले काठमाडौंमा २०६२ सालमा घर बनाउनुभयो । थोरै बचत र धेरै ऋणले बनेको कपनको घरले काफ्ले परिवारलाई गतिलो आडभरोसा दिएको छ । सपना, सोच, परिचय, स्थायित्व, संघर्ष, साधना र सफलता मिसिएको छ उक्त घरमा । ४ जनाको सानो परिवार । एक छोरा र एक छोरी अध्ययनरत छन् । सुखी छ परिवार र त्यो भन्दा बढी खुसी छ परिवार । हिजोको संघर्ष अरुलाई सुनाउँदा गर्वानुभूति हुन्छ काफ्ले दम्पतीलाई । डा. काफ्ले मात्र होइन मिसेस काफ्लेको पनि मिठो कथा छ अनि आज सम्झदाँ मीठो ‘व्यथा’ छ ।
घर नजिकको महिला सहकारीमा लामो समय काम गर्नुभएकी गोमा काफ्लेले दुई महिनाअघि ‘अब जागिर खान्नँ ’ भन्ने निधो गर्नुभयो । सहकारीले उहाँलाई धेरै सिकायो, जनसम्पर्क बढाउन सहयोग गर्यो, घरमा एक्लै बस्नुभन्दा केही परिश्रम गर्ने र आर्जन गर्ने आधार दियो । हुनत उहाँले काम नगरी घर नचल्ने अवस्था होइन यद्यपि कर्मप्रति प्रेम र श्रद्धाभाव उहाँमा जगायो ।
‘अब भने पुग्यो, घरमा दुई जनामात्र छौं, आज बिहान धिप्री डटकम सँग गोमाले सुनाउनुभयो, ‘श्रीमान पनि अफिस गैहाल्नुहुन्छ, घरनै रित्तो जस्तो हुन्छ, आफ्न्तहरुकोमा जाने, कौसी खेती र करेसाबारीमा रम्ने, फुसर्दिलो हुने, मन्दिर र तीर्थव्रत गर्ने चाहनाले जागिर छोडेँ ।’ कौसीमा र करेसाबारीमा देखिने हरियालीले जीवनलाई नै हराभरा बनाएको अनुभूति गोमाको छ ।
अहिले उहाँको दिनचर्या कपन नारायण चोकस्थित घरमा रहेको कौसी खेतीको स्याहार गर्ने, फूल, बोट विरुवादेखि हरियोपरियो तरकारीको, छिमेकी काइली भाउजु र माहिली दिदीसँग विगतदेखि आगतसम्मका कुराहरु गर्नु, आफ्न्तहरु भेटघाट गर्नु, मठमन्दिर र सभा समारोहमा उपस्थिति जनाउनु अनि छोराछोरीसँग गफिनु हो । नयाँ नयाँ तरकारी लगाउने, फुलहरु रोप्ने र छिमेकी भाउजु, माइली दिदी अनि आगन्तुकहरुसँग हरियोपरियोको बारेमा कुरा गर्दा उहाँलाई आनन्द लाग्छ । अनि श्रीमान् र छोराछोरीलाई पनि आफ्नो कर्मबारे सुनाउँदा उहाँ खुसी मान्नुहुन्छ ।
ओखलढुङ्गाको विगुटारबाट बसाईँसराइ गरेर इटहरी हुँदै उहाँ काठमाडौं कपनकी स्थायी बासिन्दा बन्नुभएको हो । इटहरीबाट एसएलसी पूरा गर्नुभयो । आफूले कम पढेपनि दुःख गरेरै छोराछोरीलाई प्रशस्ती पढाउनुभएको छ । पीएचडी गरेर नामका अगाडि डाक्टर लेख्ने श्रीमानको दृढ अठोटमा आफूले सक्दो साथ दिनुभयो । छोराछोरी र श्रीमानको खुसीका लागि त्याग गर्नुभयो । कर्ममा विश्वास राख्ने गोमा काफ्ले आफन्त छरछिमेकदेखि सबैको प्यारो हुनुहुन्छ । ‘मृदुभाषी गोमा आँखामा राखेपनि नबिजाउने हुनुहुन्छ’, भन्छन् आफन्त अनि चिनजानकाहरु ।
हरेक घरको कथा जस्तै उतारचढावपूर्ण विगतबाट आज आनन्दको क्षणमा हुनुहुन्छ काफ्ले दम्पत्ती । गुनासो छैन धेरै जीवनसँग । अहिले विगत सम्झँदा काफ्ले दम्पतीलाई रोचक लाग्छ । सुख दुःखको सम्मिश्रण हो जीवन भन्न रुचाउनुहुन्छ । ‘कसैको दुःख बढी होला कसैलाई सुख बढी होला तर एकनासे जीवन सायदै कसैको हुन्छ होला, ’२५६९औं बुद्धजयन्तीको बिहान काफ्ले निवास कपनको कौसीमा यस पंक्तिकारसँग भन्नुभयो, ‘जीवनका आरोहअवरोहसँग समभाव राख्नसक्नु सबैभन्दा ठूलो कला हो । अहिलेको युवा पुस्ताले यो बुझ्न जरुरी छ ।’
छुट्टिने बेला यो पंक्तिकारले सोच्यो, ‘हो, अहिले काफ्लेहरुकै समय छ ! काफ्लेको कहानी नै हिट हुने समय छ ! हलमा एउटा काफ्लेको कहानीले चर्चा बटुलिरहँदा, घिप्री डटकममा अर्को काफ्लेको कहानी हिट हुने सुरसार कस्दै छ ।’ त्यसपछि म गुनगुनाउँदै बिदा भएँ, ‘धान सुक्यो रापले, फकाउँछ काफ्ले जानु कि नजानु........................
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com