काठमाडौं । आज काठमाडौंमा भेला भएका साहित्यकारहरुले मुकुन्दराज दाहालको ‘मेडन’ कवितासंग्रह ‘दिपमालिका’ उम्दा कृति भएको निष्कर्षसहित साहित्य साधनालाई निरन्तरता दिन उहाँलाई आग्रह गर्नुभएको छ । निक्कै लामो समयदेखि साहित्य सिर्जनामा लागेपनि कृति प्रकाशनका निक्कै ढिलाई गर्नुभएको भन्दै साहित्यकारहरुले कवित्व चेतले ओतप्रोत दाहाललाई शीघ्र अर्को कृति प्रकाशनमा लाग्न समेत उत्प्रेरित गर्नुभयो ।
आज काठमाडौंमा आयोजित कवि मुकुन्दराज दाहालको कवितासंग्रह ‘दिपमालिका’ लोकार्पण कार्यक्रममा बरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहालले भन्नुभयो, ‘सर्जक कहिल्यै मर्दैन । उसँधै सिर्जनामा बाँच्दछ । मुकुन्द दाइ पनि अब बाँच्ने समाजमा प्रवेश गर्नुभएको छ । सम्पत्ति ठुलो कुरो होइन, सिर्जना ठूलो कुरा हो ।’
उहाँले स्रष्टाहरु राष्ट्रको स्पन्दन भएको जीकिर गर्नुभयो । हामी स्रष्टाहरुलाई गहना भन्छौं तर त्यसो होइन, स्रष्टाहरु स्पन्दन हुन् । स्पन्दनमा सास फेर्ने प्रयत्न गर्नुभएकोमा दाइलाई बधाई ।’ प्रतिभा र सबै हिसाबले सामर्थ्र्य दाइलाई कृति प्रकाशनमा घच्घच्याउने काममा बरिष्ठ कविहरु कलानिधि दाहाल र कृष्णप्रसाद भट्टराईसहित आफ्नो पनि हात रहेको पनि बताउनुभयो । वालसखा समेत भएकाले दुबै दाहालहरु (कलानिधि दाहाल तथा पुरुषोत्तम दाहाल) ले त्यतिको हक अर्का दाहालसँग जचाउनुभएको स्पष्ट बोध लोकापर्ण कार्यक्रममा सहभागीहरुलाई भएको थियो । आफै पनि प्रखर कवि रहनुभएका दाहालले भन्नुभयो, ‘मुकुन्द दाइको कृति प्रकाशन अलि ढिलै भएको हो । यद्यपि, उमेरले न कोही बुढो हुन्छ न कोही तन्नेरी । यो कृतिले तपाई आफैलाई अर्को कृतिका लागि पनि उर्जा प्रदान गर्छ ।’
अर्का बरिष्ठ कवि कलानिधि दाहालले पनि साहित्य सिर्जनमा दाहालबाट निरन्तरताको अपेक्षा मात्र होइन विश्वास समेत गर्नुभयो । कविताहरु बेजोड रहेको उहाँको समीक्षा थियो । यस्तै, समीक्षकद्धय डा. शैलेन्दुप्रकाश नेपाल तथा डा.अम्बिका अर्यालले पनि दाहालमा प्रशस्त सम्भावना हुँदाहुँदै कृति प्रकाशन गर्न ढिलाइ भएको बताउनुभयो । समीक्षक नेपालले दाहालले कृति प्रकाशनमा ढिलाइ भएकोमा रिस समेत उठेको बताउनुभयो भने अर्की समीक्षक अर्यालले ढिलै भएपनि उत्कृष्ट कृति आएको बताउनुभयो । पद्मकन्या क्याम्पसकी नेपाली विभाग प्रमुख अर्यालले भन्नुभयो, ‘नेपाली साहित्यले कुरेर बसिरहेको कृति हो दिपमालिका । तपाई हराउनुपर्ने मान्छे होइन, अब तपाईलाई नेपाली साहित्यले छोड्दैन ।’
उहाँले कृतिमा बरिष्ठ कवि कलानिधि दाहालले लेख्नुभएको भूमिकाको अंश सापटी लिनुभयो, ‘सानैदेखि कविता लेख्ने कवित्व चेत बोकेका मुकुन्दराज दाहाल बिचमा विभिन्न प्रलोभन नफसेको र परिस्थितिमा नअल्झिएको भए अहिले दाजु मुकुन्द साहित्यिक क्षेत्रको अझ कवितात्मक साहित्यको कुन कुर्सीमा बस्ने थिए अनुमान मात्र गर्न सकिन्छ ।’ अर्यालले कवि दाहाललाई मञ्चबाटै यस सम्बन्धमा जिज्ञासा समेत राख्नुभयो ।
कार्यक्रममा समालोचक प्रा.डा. कुमार कोइराला, कवि कृष्णप्रसाद भट्टराई, प्रा.डा. प्रयागराज बाशिष्ठ, लेखक प्रा.डा.रामप्रसाद दाहाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पुर्वीय दर्शनका विद्धान प्रा.डा. माधवप्रसाद भट्टराइले कृतिका लागि दाहाललाई शुभकामनासहित चाँडै अन्य कृतिहरु पनि प्रकाशन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम शिष्टाचार नेपालले आयोजना गरेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com